१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अञ्जन मनाङबाट चर्च ब्वाइजमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४२:oo

सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले मनाङ मस्र्याङ्दी क्लबका मुख्य स्ट्राइकर अञ्जन विष्टलाई अनुबन्धित गरेको छ । अञ्जनले मंगलबार सोसल मिडियामा आफू मनाङ छाड्दै चर्च ब्वाइजमा आबद्ध भएको जानकारी दिएका हुन् ।

०७५ सालमा अञ्जन मनाङमा आबद्ध भएका थिए । तीन वर्षभित्र मनाङमा रहँदा अञ्जनले धेरै उपाधि चुमेका थिए । उनले विभागीय क्लब नेपाल एपिएफबाट ए डिभिजन लिगमा डेब्यु गरेका थिए । मनाङमा रहँदा अञ्जनले एएफसी कपमा पनि प्रतिस्पर्धा गर्ने अवसर पाए । 

२४ वर्षीय खेलाडी अञ्जनले चर्च ब्वाइजसँग एक वर्ष सम्झौता गरेका छन् । उनले राष्ट्रिय टोलीबाट ११ गोल गरेका छन् । मनाङबाट पहिलो सिजनमै ए डिभिजन लिग उपाधि जितेका अञ्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । मनाङबाट उनले मोफसलमा आहारारा गोल्डकप र बुढासुब्बा गोल्डकपजस्ता मुख्य प्रतियोगिता जितेका थिए । 

मनाङको जर्सीमा खेल्ने सपना पूरा
अञ्जनले आधिकारिक रूपमा पोखरामा बिहीबारदेखि सुरु हुने आहारारा पोखरा गोल्डकप फूटबल प्रतियोगितामा चर्च ब्वाइजबाट प्रतिस्पर्धा गर्नेछन् । मनाङका कप्तानसमेत रहेका अञ्जनले क्लब छाड्नुपर्दा निकै दुःख लागेको प्रतिक्रिया दिएका छन् । ‘सानोमा फुटबल खेल्न सुरु गरेदेखि एक दिन मनाङबाट खेल्ने सपना देखेको थिएँ, पहिलोपटक मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ,’ भावुक हुँदै अञ्जनले लेखेका छन्, ‘विगतका केही वर्षमा विनास्वार्थ यस क्लबबाट खेलेँ, केही वर्षयता कप्तानी सम्हाल्ने मौका पाएँ ।’ 

मनाङमा निःस्वार्थ रूपमा खेलिरहँदा केही व्यक्तिले क्लब चलाउन खोज्दा नै आफूले विकल्प खोजेको उनको भनाइ छ । उनले मनाङलाई आफ्नो दोस्रो घर सोचेर अगाडि बढेको र क्लबलाई केही व्यक्तिले आफ्नो स्वार्थअनुसार चलाउन खोजेको आरोप लगाएका छन् । उनी लेख्छन्, ‘व्यक्तिगत स्वार्थअनुसार क्लबको हितभन्दा आफूअनुसार क्लबलाई चलाउन खोजेपछि खेलाडीको मनोबल गिराउने कार्य हुन थाल्यो, बाध्य र दुःखी मनका साथ क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु ।’ 

उनले समर्थकलाई धन्यवाद दिँदै क्लब व्यवस्थापनप्रति निराशासमेत जनाए । मनाङमा अञ्जनसँगै अन्य खेलाडीले पनि व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका छन् । यसैबीच, चर्च ब्वाइजले टोली बलियो बनाउन राष्ट्रिय फुटबल टोलीका खेलाडी भित्र्याउने अभियान तीव्र बनाएको छ । गत वर्ष चर्च ब्वाइज बी डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
 

ad
ad