१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश ज्वाला
२०७९ पौष ११ सोमबार ११:११:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के होला एकीकृत समाजवादीको भविष्य ?

Read Time : > 4 मिनेट
प्रकाश ज्वाला
२०७९ पौष ११ सोमबार ११:११:००

हामी बृहत् वाम एकताको पक्षमा भए पनि अहिले नै कुनै पार्टीविशेषसँग एकता गरिहाल्ने भन्ने औपचारिक निर्णय भने गरिसकेका छैनौँ
 
कम्युनिस्ट पार्टीभित्र उत्पन्न र हाबी भएको दक्षिणपन्थी अवसरवाद, सामन्ती, सर्वसत्तावादी र अहंकारी प्रवृत्तिविरुद्ध हामीले विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेका हौँ । एकातिर कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने, कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने अर्कातिर क्रान्तिबाट प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउँदै राष्ट्रलाई प्रतिगमनतिर लैजाने कदमविरुद्ध हामीले विद्रोह गर्‍यौँ । विद्रोहलाई संस्थागत गर्न हामीले पार्टी गठन गर्‍यौँ । हाम्रो मुख्य उद्देश्य कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु नै हो । पार्टी पुनर्गठनका क्रममा उत्साह, हौसलासहित देशव्यापी रूपमा संगठन विस्तारको अभियान चल्यो । बलियो कम्युनिस्ट पार्टी बनाउन सकिन्छ भन्ने हामीलाई विश्वास छ । त्यही विश्वासका साथ हामी अगाडि बढ्यौँ । पार्टीको नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा सही थियो । त्यही आधारमा हामीले पार्टी पुनर्गठन गरेका थियौँ र पार्टी निर्माण तीव्र गतिमा अगाडि बढाएका थियौँ । 

जनताबीच स्थापित, निष्कलंक नेता–कार्यकर्ताले विद्रोह गरेको हुनाले शुभेच्छुकहरूको हामीप्रति विश्वास थियो । हामीले संगठन निर्माण भर्खर सुरु गर्दै थियौँ । पार्टी पुनर्गठन गरेको एक वर्ष पनि नपुग्दै स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने स्थिति बन्यो । देशव्यापी रूपमा उम्मेदवार उठाउँदा पार्टी निर्माणमा सहयोग नै हुन्थ्यो । त्यो ठूलो अवसर थियो हामीसँग । हामीले धेरै नेता उत्पादन गर्‍यौँ, धेरै ठाउँमा संगठन निर्माणमा मद्दत पनि पुग्यो, तर भर्खर गठित पार्टीका पक्षमा परिणाम त्यति राम्रो ल्याउन सक्ने अवस्था हुँदैनथ्यो । हामी गठबन्धनबाटै निर्वाचनमा जाने निष्कर्षमा पुग्यौँ । गठबन्धनमा रहेका दलहरूले हामीलाई राम्रै रेस्पोन्स गर्छन् र राम्रो संख्यामा हामीले सिट पाउँछौँ भन्ने आशा र विश्वास थियो । तर, त्यसअनुसारको भएन । गठबन्धनमा संख्या नै कम भएकाले निर्वाचनमा हामीले अपेक्षा गरेअनुसार परिणाम ल्याउन सकेनौँ । देशव्यापी रूपमा उम्मेदवार नउठाउँदा निर्वाचनमार्फत संगठनलाई बलियो बनाउने अवसर पनि हामीले गुमायौँ । 

फेरि लगत्तै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आयो । त्यतिवेला पनि हामीलाई त्यही समस्या आयो । मिलेर लड्दा राम्रो परिणाम ल्याउन सक्थ्यौँ । एक्लै लड्दा देशव्यापी उम्मेदवार त उठाउन सकिन्थ्यो । तर, राम्रो परिणाम ल्याउने अवस्था हुँदैनथ्यो । किनभने, हामीले संगठन नै राम्रो बनाइसकेका थिएनौँ । जनताबीच काम गरेर स्थापित हुने समय पनि हामीसँग थिएन । प्राविधिक रूपमा निर्वाचन चिह्न पनि नयाँ थियो, चिह्न चिनाउन पनि सकेका थिएनौँ । त्यस्तो अवस्थामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा हामी जानुपर्‍यो । त्यहाँ पनि गठबन्धनबाट हामीले अपेक्षा गरेअनुसारको सम्बोधन भएन । त्यसका बाबजुद पनि हामीले प्रतिनिधिसभामा २० सिट र त्यसको दोब्बर प्रदेश सभामा उम्मेदवार उठाउने अवस्था बन्यो । हामीले उम्मेदवार भएको संख्याको ५० प्रतिशतभन्दा बढी जित्ने अवस्था बन्यो । अझ धेरै सिट जित्न सक्ने सम्भावना थियो । निर्वाचन चिह्न नयाँ, धेरै भोट बदर भएका कारण ५–६ वटा जित्ने सिट हामीले गुमायौँ । प्रदेश सभामा पनि हामीले सन्तोषजनक नतिजा ल्याएका छौँ । कतिपय ठाउँमा एकल उम्मेदवारी र कतिपय स्थानमा हाम्रा साथीहरूले स्वतन्त्र उम्मेदवारी दिँदा पनि जितेकोे अवस्था छ । 

ठूला दुई दल कांग्रेस र माओवादीको असमझदारी र दम्भले गठबन्धन टुट्यो र नयाँ गठबन्धन बन्यो । नयाँ गठबन्धनबारे हामीले ठोस रूपमा कुनै निर्णय गरिसकेका छैनौँ । हामी गठबन्धन कसरी जान्छ, सरकार कसरी जान्छ भन्ने हेरिरहेका छौँ । त्यसै आधारमा हामी धारणा बनाउँछौँ ।

समानुपातिकमा ध्यान पुगेन 
समानुपातिकमा धेरैभन्दा धेरै भोट ल्याउने तयारीसाथ हामी जानुपर्थ्यो । तर, कमजोरी रह्यो । पार्टी निर्माणको छोटो अवधि भएकाले संगठन बनाउन त हामीले अवसर नै पाएका थिएनौँ । निर्वाचनका निम्ति हामीले प्रत्यक्ष र समानुपातिकको फरक–फरक रणनीति बनाएर कार्यान्वयन गर्नुपर्ने थियो । त्यसमा कमजोरी भयो । हाम्रो संगठन, नेता तथा कार्यकर्ता जुन ढंगले परिचालित हुनुपर्ने थियो, त्यो हुन सकेन । प्रत्यक्षमा उम्मेदवार भएको क्षेत्रमा प्रत्यक्षमै ध्यान गयो । प्रत्यक्षमा उम्मेदवार नभएको क्षेत्रमा हाम्रा नेता तथा कार्यकर्ता पंक्ति निष्क्रियजस्तै देखिनुभयो । त्यसले पनि समानुपातिकमा भोट कम भयो । हाम्रो भोट पनि धेरै बदर भए । प्रदेश सभामा भन्दा प्रतिनिधिसभामा हाम्रो भोट कम आयो । प्रतिनिधिसभाको मतपत्र पनि अलि झन्झटिलो थियो । 

निर्वाचन आयोगले बेइमानी गरेर चुनाव चिह्न हाम्रो हैसियतभन्दा तल राखेको थियो । मतगणनाका वेलामा पनि हामीले जति ध्यान दिनुपर्थ्यो, त्यति दिन सकेनौँ । निर्वाचन आयोगबाटै केही तलमाथि भयो कि भन्ने आशंका पनि छ । विभिन्न कारणले गर्दा थोरै भोट नपुगेर राष्ट्रिय मान्यताप्राप्त दलका रूपमा हामी आउन सकेनौँ । यो एउटा प्राविधिक पाटो हो । राजनीतिक दलका निम्ति कति प्रतिशत मत पुग्यो भन्नेले मात्र अर्थ राख्दैन । हामीले निश्चित विचार, सिद्धान्तका आधारमा पार्टी निर्माण गरेका छौँ । त्यसैले, प्राविधिक रूपमा हामीले तीन प्रतिशत मत पुर्‍याउन नसक्दा क्षति व्यहोरेको भनेको संघमा प्राप्त गर्ने समानुपातिक सिट प्राप्त गर्न नसकेको मात्रै हो । त्यसबाहेक हामीले अरू क्षति व्यहोरेका छैनौँ । हामीले जति उपलब्धि प्राप्त गर्‍यौँ, त्यसको जगमा टेकेर पार्टी निर्माणमा अगाडि बढ्छौँ । 

कांग्रेस र माओवादीका कारण गठबन्धन टुट्यो 

स्वाभाविक रूपमा अगाडि बढ्नुपर्ने यो सत्तागठबन्धन हठात् टुट्यो । ठूला दुई दल कांग्रेस र माओवादीको असमझदारी र दम्भले गठबन्धन टुट्यो र नयाँ गठबन्धन बन्यो । नयाँ गठबन्धनबारे हामीले ठोस रूपमा कुनै निर्णय गरिसकेका छैनौँ । हामी गठबन्धन कसरी जान्छ, सरकार कसरी जान्छ भन्ने हेरिरहेका छौँ । त्यसै आधारमा हामी धारणा बनाउँछौँ । 

विकसित राजनीतिक घटनाक्रमबारे हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अघि बढ्ने निर्णय हाम्रो केन्द्रीय सचिवालय बैठकले गरेको छ । परिस्थितिअनुसार हामी उचित निर्णयमा पुग्छौँ ।

पार्टी एकता कि मोर्चा ? 
पार्टीलाई अगाडि बढाउने सन्दर्भमा हामी दुई खालको नीति तय गर्दै छौँ । पहिलो, विचार मिल्ने, एजेन्डा मिल्ने राजनीतिक दलहरूका बीचमा मोर्चा बनाएर अगाडि बढ्नुपर्छ । वाम समाजवादी मोर्चा बनाएर अगाडि जान सकिन्छ । वामपन्थी र समाजवादी सोच भएका राजनीतिक दल, समूह र व्यक्ति एक ठाउँमा रहेर देश र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । यद्यपि, त्यसले निश्चित आकार ग्रहण गरिसकेको छैन । 

हामी नीतिगत रूपमा बृहत् वाम एकताकै पक्षमा छौँ । हामीले पार्टी पुनर्गठन गर्दा पनि बृहत् वाम एकताका निम्ति नै अगुवाइ गर्नुपर्छ भन्ने सन्देश दिएका थियौँ । जसरी प्रतिगमनविरुद्ध हामीले अगुवाइ गर्‍यौँ, निर्णायक भूमिका खेल्यौँ, त्यसैगरी वाम एकताका निम्ति हामी निर्णायक भूमिका खेल्ने गरी अभियान चलाउँदै छौँ । त्यसका निम्ति हामी नेतृत्वदायी भूमिका खेल्छौँ । तर, त्यसका निम्ति परिस्थिति परिपक्व बन्नुपर्छ । विचार, सिद्धान्त र कार्यक्रम मिल्ने दलहरूले त्यसको आवश्यकता महसुस गर्नुपर्छ । हामीले अगाडि सारेका मूल्य–मान्यतासँग अर्को दलको मूल्य–मान्यता, नीति, सिद्धान्त र विचार मिल्छ कि मिल्दैन भन्ने विषयमा पनि बहस हुनुपर्छ । हामी बृहत् वाम एकताको पक्षमा छौँ । तर, अहिले नै कुनै पार्टीविशेषसँग एकता गरिहाल्ने भन्ने औपचारिक निर्णय भइसकेको छैन । हामी बहस, छलफल गर्दै जान्छौँ । अगाडि बढ्दै जाँदा जोसँग नीति, विचार, सिद्धान्त, कार्यक्रम मिल्छ, त्यस्ता कम्युनिस्ट पार्टीहरूसँग हामी एकता गर्दै जान्छौँ ।

पार्टीको भविष्य 
निर्वाचनमा लागेको एउटा सानो धक्कालाई भविष्यसँग जोडेर हेरिरहनुपर्दैन । हामीले निश्चित मान्यताका आधारमा, निश्चित एजेन्डासहित विद्रोह गरेका हौँ । हाम्रा सिद्धान्त, विचार, कार्यक्रम सही छन् । हाम्रो कार्यदिशा ठीक छ । हाम्रो नेतृत्व र कार्यकर्ता पंक्ति असल छ । त्यस हिसाबले हामी पार्टी संगठनलाई बलियो बनाउने काममा लाग्छौँ । अब हामी पाँच वर्ष पार्टी निर्माणमा लाग्न सक्छौँ । प्रशिक्षण चलाउन सक्छौँ । संगठनलाई सुदृढ र शुद्धीकरण गरेर पार्टी निर्माण अभियानमा जान्छौँ । उच्च मनोबल र हिम्मतका साथ उज्ज्वल भविष्यसहित हामी अगाडि बढ्छौँ । वस्तुस्थितिको ठोस विश्लेषण गरेर कमजोरी सच्याउँदै अगाडि बढ्छौँ । भविष्य समाजवादीकै छ ।

(ज्वाला एकीकृत समाजवादीका उपमहासचिव एवं प्रमुख सचेतक हुन्)