
माओवादी केन्द्रसँग एकताको पूर्वतयारी कहाँ पुग्यो ?
खासै त्यस्तो तयारी नै त भएको छैन । तर, प्रदेशस्तरका निश्चित नेताबिचको भेलामा एक चरणको छलफल सकिएको छ । छलफलमा दुई पार्टीबिच समस्या भए क्रमश: सुधार्दै जाने सहमति भएको छ । दुई पार्टीबिचको सम्बन्धलाई बलियो बनाउँदै जाने र दुवै दलबिचको सहकार्य बढाउँदै जाने समझदारी पनि भएको छ । तर, औपचारिक र ठोस रूपमा चाहिँ खासै त्यस्तो उल्लेख्य केही भएको छैन ।
विचार र सिद्धान्तमा के–के अन्तर छन्, मिलनबिन्दु के हुन सक्छ ?
सामान्यतया दुई पार्टी एकतामा जाँदा माओवादलाई मार्गदर्शक सिद्धान्त नबनाउने, माओवादी नाम छाड्ने र समाजवादी कार्यदिशा अँगालेर जाने मोटामोटी सहमति अलि पहिले भएको हो । त्यसबाहेक अहिले कुनै नौलो सहमति या ठोस निर्णय केही भएको छैन ।
माओवादी र एकीकृत समाजवादीको एकतापछि कस्तो पार्टी बन्ला ?
दुई दलबिच वैचारिक राजनीतिक कार्यदिशा र एजेन्डामा सहमति भयो भने एकताको चरणसम्म पुग्ने गरी अनौपचारिक संवाद भइरहेका छन् । हामीबिच एकता भयो भने संसद्मा एउटा बलियो शक्ति खडा हुनेछ । एकीकृत दल संसद्को ‘थर्ड पोल’का रूपमा स्थापित हुनेछ । दुवै दलका अनुभवी पुराना र युवा नेता तथा जुझारु कार्यकर्ता एक ठाउँमा रहँदा राष्ट्रिय राजनीतिमा एउटा बेग्लै रौनक र सिंगो पार्टीपंक्तिमा ऊर्जा थपिनेछ । जसले गर्दा ०८४ को स्थानीय र संसदीय निर्वाचनमा त्यसको निकै सकारात्मक प्रभाव देखिनेछ ।