
जेन–जी आन्दोलनको पहिलो दिन २३ भदौमा युवामाथि सरकारी दमनले बानेश्वरको सडक एकाएक रणमैदानमा परिणत भयो । टाउको र छातीमा गोली लागेका युवा पक्लक–पक्लक ढल्न थाले । रक्ताम्य साथीलाई उठाएर हातहातै बोक्दै युवाहरूले नजिकका दुई अस्पताल सिभिल र एभरेस्ट पुर्याएका थिए ।
कोही सास छाड्नै आँटेका, कोही गोलीको चोटले रनाहामा परेका एकपछि अर्को घाइतेले अस्पतालको इमर्जेन्सी भरिन थाल्यो । एम्बुलेन्समा राखेर पनि तारन्तार घाइतेहरू पुर्याइएका थिए । गोलीका छर्रा लागेकाहरू आफैँ दौडिँदैसमेत अस्पताल पुगे । संवेदनशील अंग टाउको र छातीमा गोली लागेका गम्भीर बिरामीहरूको लस्कर लाग्न थालेपछि इमर्जेन्सीमा खटिएका स्वास्थ्यकर्मी आत्तिइसकेका थिए । अझ अर्घाखाँचीका १८ वर्षीय माधव सारूमगरले सिभिलको इमर्जेन्सीमै प्राण त्यागेपछि स्वास्थ्यकर्मी थप हतोत्साहित भए । सडकमा गोली बर्साएका प्रहरी स्वास्थ्य मापदण्डको घेरा तोडेर अस्पतालको इमर्जेन्सीसम्मै पुगेर पनि दमन गर्न थाल्यो । उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि समेत लाठी र बुट प्रहार गरे ।
‘एकातर्फ टाउको र छातीमा गोली लागेका बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो, अर्कोतर्फ प्रहरीले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत लाठी र बुट प्रहार गर्न थाल्यो । कसरी काम गर्ने भन्ने तनाव भयो,’ सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले त्यो दिन सम्झिए, ‘मलाई त नेपालमा होइन, कुनै युद्धग्रस्त देशमा छु जस्तो लाग्यो । कतै प्यालेस्टाइनको गाजामा त छैन भन्ने भयो ।’
तर, जटिल परिस्थितिमा पनि संयमित भएर पेसागत भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारीबाट पन्छिने छुट स्वास्थ्यकर्मीलाई थिएन । प्रहरी दमन सहेरै भए पनि घाइतेको उपचारमा खटिएको रेग्मी बताउँछन् । घाइतेको अवस्था हेरेर केहीलाई इमर्जेन्सीबाट आइसियूमा सार्न लगाउँदै र केहीलाई अन्य अस्पतालमा रिफर गर्दै व्यवस्थापन गरेको उनको भनाइ छ ।
‘दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म घाइते आउने क्रम जारी थियो । दिनभरमा सिभिलमा मात्रै ४२० घाइते आइपुगे । अस्पताल ल्याउनेबित्तिकै मृत्यु हुनेको संख्या बढ्दै गएको थियो । त्यस दिन अस्पतालमै ६ जनाले प्राण त्यागे, ती सबैको टाउको र छातीमै गोली लागेको थियो,’ डा. रेग्मीले भने ।
एभरेस्ट अस्पतालमा पनि बिरामीको चाप थेगिनसक्नुथियो । यहाँ भने प्रहरीले ज्यादती गरेको थिएन । चिकित्सकहरूका अनुसार दिउँसो ४ बजेसम्म सयभन्दा बढी घाइते आइसकेका थिए । त्यही दिन तीनजनाको ज्यान गयो । घाइतेको चाप थेग्न नसकेपछि गल्लीमै राखेर उपचार गर्नुपरेको अस्पतालका प्रशासन प्रमुख दीपक बरालले बताए ।
घाइतेको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर नरेश गिरी, मेडिसिन टिमका वरिष्ठ फिजिसियन डा. नरेश गौडेल, अर्थोपेडिक टिमका प्रमुख सम्पूर्ण महर्जनलगायतको टिम खटिएको थियो । सडकमा गोली चलेको सूचना पाएपछि एभरेस्ट अस्पतालले घाइतेहरू आउन सक्ने अनुमान गरेर तत्कालै टिम तयारी हालतमा राखेको थियो ।
‘१२:३० बजे गोली लागेका पाटनका ३४ वर्षीय विनोद महर्जनलाई ल्याइएको थियो । उनको कम्मरमा गोली लागेको थियो । तर, इमर्जेन्सी बेडमा सुताउन नपाउँदै उनको प्राण गयो । यो दृश्यले चिकित्सकहरू आत्तिन थालेका थिए । तर, एकैछिनमा अरू घाइतेको पनि भिड लाग्न थाल्यो,’ प्रशासन प्रमुख बरालले भने, ‘केहीबेरमै अस्पतालका सबै सय बेड भरिएपछि भुइँमा सुताएर उपचार गर्नुपर्ने अवस्था भयो । ३ बजेसम्म तीनजनाको ज्यान गयो । टाउको, छाती र कम्मरमा गोली छोडिएका युवा देख्दा रणभूमिमा रहेजस्तो महसुस भयो । त्यो दिन सम्झिँदा असह्य हुन्छ ।’
बरालका अनुसार त्यस दिन एभरेस्टबाट गम्भीर तीन बिरामीलाई ट्रमा सेन्टरमा रिफर गरिएको थियो । तर, ट्रमा नपुग्दै उनीहरूको पनि ज्यान गएको थियो । साँझ ७ बजेतिर मात्रै घाइते आउन छाडे पनि केही सामान्य परिस्थिति बनेको एभरेस्टका मेडिकल डाइरेक्टर नरेश गिरीले बताए ।
प्रशासन प्रमुख बरालका अनुसार अस्पतालमा तीन घाइतेको मृत्युपछि आफन्तहरूको भिड लागेको थियो । पीडा र आक्रोशमा थिए मृतकका आफन्त । मुचुल्का उठाउन जोखिम थियो । प्रहरी अधिकारीलाई नै अस्पताल आउन डर थियो । मुचुल्का उठाउने प्रहरी अधिकारीलाई चिकित्सकले सुरक्षा दिएर ल्याउनुपरेको उनले बताए ।
‘तीनजनाको मृत्युपछि मैले प्रहरी र स्वास्थ्यसचिवलाई पटक–पटक फोन गरेँ । तर, मुचुल्का उठाउन प्रहरी आएन । प्रहरी अधिकारी मृतकका आफन्तले कुट्लान् भन्ने डरले अस्पताल आउन मानेनन्,’ बरालले भने, ‘राति १२ बजे चिकित्सकले नै सुरक्षा दिएर ल्याउने र पुर्याउने जिम्मा लिएपछि प्रहरी मुचुल्का उठाउन आउन तयार भएको थियो । दुई प्रहरी अधिकारी आएर मुचुल्का उठाएर जानुभयो ।’
सिभिल र एभरेस्टबाहेक ट्रमा सेन्टर र केएमसी अस्पतालमा पनि घाइतेको भिड थियो । २३ भदौमा यी अस्पतालका चिकित्सकको भोगाइ पनि सम्झनलायक छैन । त्यस दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल नयाँ बानेश्वरमा झडप भयो भन्ने थाहा पाएपछि हतारहतार अस्पताल पुगेका थिए । उनी अस्पताल पुग्दा घाइतेहरू ल्याउन थालिसकिएको थियो ।
‘झडप सुरु हुन थाल्यो भन्ने सुनेपछि म ट्रमा अस्पताल आइहालेँ, तर त्यहाँ आउँदा घाइते आइसकेका थिए, तीनजनाको अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो, त्यति वेलै अस्पतालका दुई एम्बुलेन्स पनि तोडफोड भयो, सिभिल अस्पतालसँग तुरुन्तै एम्बुलेन्स माग गरियो,’ उनले भने, ‘गम्भीर अवस्थाका घाइते आउन थालेपछि नियमित ओपिडी र ओटी बन्द गरेर डिजास्टर ट्रिटमेन्ट टिम परिचालन गरियो, वीरबाट थप चिकित्सकहरू बोलायौँ । पेट, घाँटी, छाती र टाउकामा गोली लागेका घाइतेको अवस्था देख्दै डरलाग्दो थियो । अस्पताल ल्याएपछि सोही दिन पाँचजनाको ज्यान गयो ।’
डा. रिजालका अनुसार दिउँसो १२ देखि २ बजेसम्म ८० घाइते ट्रमामा ल्याइएका थिए । बेडको अभाव हुन थालेपछि पुराना बिरामीलाई अवस्था हेरेर डिस्चार्ज गर्दै व्यवस्थापन गरिएको उनले बताए । केहीलाई इमर्जेन्सी, केहीलाई आइसियू र केहीलाई वीर अस्पतालतिर पनि सारिएको उनको भनाइ छ । ‘रातभर लगाएर २४ घाइतेको सर्जरी गरियो,’ रिजालले भने ।
२३ भदौको दमनले भोलिपल्ट झन् ठुलो जनधनको क्षति भयो । त्यसदिन ट्रमामा थप ६० घाइते पुर्याइएका थिए । चारजनाको अवस्था गम्भीर रहेकोमा तत्काल उपचार गरेर बचाइएको डा. रिजालले बताए । ‘ट्रमामा दुई दिनमा गरेर १८० घाइते आए, जसमध्ये बाटोमा ल्याउँदाल्याउँदैका तीनसहित ८ जनाको मृत्यु भयो । बुधबारसम्म २७ घाइते उपचाररत छन्,’ उनले भने, ‘हामीले सोच्न नसक्ने संख्यामा गम्भीर अवस्थाका घाइते आएपछि जनशक्ति परिचालन कठिन भएको थियो ।’
सिनामंगलस्थित केएमसी अस्पतालमा पनि टाउको र छातीमा गोली लागेका बिरामी एकपछि अर्को गर्दै ल्याउँदा ड्युटीमै थिए डा. सरोज कार्की । घाइते देख्दा आत्तिने अवस्था रहेको उनले सम्झिए । ‘गोली लागेका घाइते आउँदा म ड्युटीमा थिएँ, प्रदर्शनमा घाइते भएकाहरू आए भनेपछि सामान्य होलान् भन्ने लागेको थियो । तर, त्यसदिन आएका घाइते देख्दा डर लाग्यो । पहिलो घाइतेको दाहिने कम्मरभन्दा मुनि गोली लागेको थियो, अन्यको छाती, घाँटी र टाउकोमा गोली लागेको थियो,’ उनले सुनाए, ‘कतिपय त निकै क्रिटिकल अवस्थामा थिए । गेटैमा राखेर पनि सिपिआर दियौँ । गोली लागेका घाइते ह्वात्तै आउन थालेपछि अस्पतालका सबै जनशक्ति लाग्दा पनि उपचार अवस्था कठिन बन्यो, किनभने धेरैको त छातीमा गोली लागेको थियो ।’
केएमसीमा ८४ घाइतेलाई लगिएको थियो । अस्पतालका निर्देशक डा. निमा थापाको नेतृत्वमा चिकित्सक टिम खटिएको थियो । दुई घाइतेको २३ भदौमै मृत्यु भएको थियो । अहिले १७ जना उपचाररत रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको थिएन तयारी
२३ भदौमा माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्ने भनेर जेन–जी युवाले पूर्वघोषणा नै गरेका थिए । तर, सम्भावित भवितव्यलाई स्वास्थ्य मन्त्रालयले आकलन नै गर्न सकेन । त्यसैले भवितव्यलाई व्यवस्थापन गर्ने तयारी पनि थिएन ।
मन्त्रालयले घाइते पुर्याइएका अस्पतालसँग कुनै छलफल र समन्वय नै गरेको थिएन । नयाँ बानेश्वरमा घटना हुँदा स्वास्थ्यसचिव विकास देवकोटासहितको टिम संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिको बैठकमा सहभागी थियो । तर, अस्पतालमा घाइतेको संख्या धेरै हुन सक्ने र जनशक्ति परिचालन तथा पूर्वतयारीबारे अघिल्लो र त्यसदिन कुनै समन्वय भएको थिएन ।
‘त्यसदिन हुन सक्ने सम्भावित घटनाबारे मन्त्रालयमा बैठक बसेर कुनै तयारी भएको थिएन,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘नयाँ बानेश्वरमा हजारौँ युवाहरूको प्रदर्शन हुँदा मन्त्रालयले उपचार रणनीति बनाएर अस्पतालहरूसँग समन्वय गरेको भए कम्तीमा ज्यान गुमाउनेको संख्या कम हुने थियो, तर त्यसो भएन ।’
मन्त्रालयका सचिव डा. देवकोटाले भने प्रदर्शनमा हुन सक्ने सम्भावित घटनाबारे अस्पतालहरूसँग समन्वय भएको दाबी गरे । उनले भने, ‘सबै तयारी गरेका थियौँ, अस्पतालहरूसँग समन्वय पनि भइरहेको थियो, घटना हामीले सोचेभन्दा बढी अत्याउने किसिमको भइदियो ।’