१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समाचार प्रभाव : सार्वजनिक कार्यक्रम गरेरै कमजोरी सुधार्ने औषधि व्यवसायीको प्रतिबद्धता  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:५३:oo

दाङका औषधि व्यवसायीले आफ्नो व्यवसायमा गरिरहेकाे कमी–कमजाेरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

नयाँ पत्रिकाको अनलाइन संस्करणमा पुस १ गते ‘दाङका यी मेडिकल, जहाँ मनोमानी बेचिन्छ सयौँ औषधि’ शीर्षकको समाचार प्रकाशित भएपछि दाङका औषधि व्यवसायीले मंगलबार तुलसीपुरमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी आफ्ना कमी–कमजोरी रहेको भन्दै ती कमजोरी सुधार गरेर लैजाने बताएका छन्। 

कार्यक्रममा औषधि व्यवसायी संघका प्रदेश अध्यक्ष शालिकराम आचार्यले मिडियाले यो विषय उठाएपछि बहसमा आएको भन्दै यो आमनिजी स्वास्थ्य संस्थाको समस्या रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए।

‘मिडियाले जे विषय उठायाे ठीक विषय उठायो, यो विषयमा हाम्रो ध्यानाकर्षण भयो,’ उनले भने, ‘पहिलोपटक यो विषय मिडियामा आएको छ, अब यसलाई सुधार गरेर लैजान हामीले बहसको कार्यक्रम अघि बढाएका छौँ।’ स्वास्थ्यजस्तो संवेदनशील विषयमा आफूहरूले पनि खेलवाड नगर्ने भन्दै यसमा आफूहरू सचेत रहने उनको भनाइ थियो।

त्यस्तै, केही नीतिगत समस्या रहेको भन्दै त्यसलाई सुधार गर्न पनि सञ्चारमाध्यमले साथ दिनुपर्ने उनको भनाइ छ। ‘केही नीतिगत समस्या पनि छ, अनुगमन गर्ने निकायलाई पनि झकझकाउनुपर्छ,’ उनले भने,  ‘यसमा पनि मिडियाले साथ दिनुपर्छ।’

‘स्वास्थ्य सेवा प्रवाहमा गुण्स्तरीयता र प्रभावकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्यकर्मी देवु बस्नेतले राज्यको नीति सुधार गर्नुपर्ने बताए।

उनले भने, ‘राज्यले निजी क्षेत्रलाई औषधि उत्पादन गर्न करोडौँ खर्च गर्न भनिरहेको छ, तर आफूले २५ हजारको एउटा मिलमा औषधि उत्पादन गरिरहेको छ। यसमा राज्यको विभेदकारी नीति छ। अर्कोतर्फ एचएले नै स्वास्थ्य क्षेत्र धान्नुपरेको अवस्था छ।’ 

त्यस्तै, दीपेन्द्र न्यौपानेले निजी स्वास्थ्य संस्था नभएको भए राज्यले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा नै दिन सक्ने अवस्था नभएको दाबी गरे। ‘मेडिकलहरू नभए, सरकारी स्वास्थ्य चौकीहरूले मात्रै ग्रामीण क्षेत्र होस् वा अन्य क्षेत्रमा पनि अझै सहज स्वास्थ्य दिन सक्दैनन्,’ उनले भने, ‘त्यसैले निजी स्वास्थ्य संस्थालाई राज्यले पनि सम्मानका साथ  हेर्नुपर्छ।’

कार्यक्रममा  फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले फर्मासिस्टभन्दा अरूले औषधि बेच्दा गुणस्तर स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने बताए। अहिले जनशक्ति पनि पर्याप्त भएकाले त्यसतर्फ निजी स्वास्थ्य संस्थाले ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

त्यस्तै, नागरिक केयर अस्पतालका दया ज्ञवालीले उपचारका लागि डाक्टर खोज्ने अवस्था रहेको भन्दै औषधि पनि दक्ष फार्मेसीले नै प्रदान गर्नुपर्ने बताए।  

कार्यक्रममा औषधि व्यवसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने सवालमा आफूहरू गम्भीर भएको बताए।

त्यस्तै, संघका प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जनस्वास्थ्यसँग जोडिएको विषय भएका कारण खेलवाड नगरी सेवा प्रवाह गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताए। तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका विष्णु गिरीले मिडियामा यो विषय आएपछि अनुगमनलाई पनि तीव्रता दिने बताए। उनले जनस्वास्थ्यसँग जोडिएको विषयमा नीतिगत परिपक्वता हुन औषधि व्यवसायीलाई अनुरोध गरे।
 

ad
ad