१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
एजेन्सी दोहा
२o८१ जेठ ८ मंगलबार o८:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स दुवैको तेस्रोपटक च्याम्पियन बन्ने लक्ष्य

Read Time : > 3 मिनेट
एजेन्सी दोहा
नयाँ पत्रिका दोहा
२o८१ जेठ ८ मंगलबार o८:o९:oo

कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ । फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो । अर्जेन्टिनाले क्रोएसियालाई पाखा लगाउँदै अन्तिम दुईको स्थान पक्का गरेको थियो । फ्रान्स समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । २० नोभेम्बरबाट सुरु भएको प्रतियोगितामा ३२ टोलीले उपाधिमाथि दाबेदारी दिएका थिए । तर, अन्तिममा फ्रान्स र अर्जेन्टिना मात्र ट्रफी जित्ने संघारमा पुगेका छन् । आइतबारको ६४औँ खेलको फाइनल ‘ह्विसेल’ बज्दा चार वर्षको पर्खाइ समाप्त हुनेछ । 

३६ वर्षपछि उपाधि जित्ने अवसर 
सन् १९७८ मा अर्जेन्टिना पहिलोपटक विश्व च्याम्पियन भएको थियो । सन् १९८६ मा डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले दोस्रोपटक विश्वकप ट्रफी हात पा¥यो । ३६ वर्षपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने दाउमा छ । सन् २०१४ मा विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । यो हारसँगै अर्जेन्टिनाको तेस्रोपटक उपाधि जित्ने सपना चकनाचुर भएको थियो । सन् १९३० र १९९० मा पनि अर्जेन्टिना उपविजेता भएको थियो । अर्कोतर्फ, साबिक विजेता फ्रान्स सन् १९९८ मा पहिलोपटक विश्व च्याम्पियन भयो । सन् २००६ मा फ्रान्स उपविजेतामा सीमित बनेको थियो । सन् २०१८ मा फ्रान्सले दोस्रोपटक उपाधि जितेको थियो । फ्रान्स यसपटक पनि उपाधि जित्दै इटाली र ब्राजिलको नाममा रहेको लगातार दुईपटक उपाधि जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छ । 

हेड टु हेडमा अर्जेन्टिना बलियो
अर्जेन्टिना र फ्रान्सबीच १२ पटक प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिना सर्वाधिक ६ पटक विजयी हुँदा फ्रान्सले तीनपटक जित निकालेको छ । यी दुई टोलीबीच तीन खेल बराबरीमा सकिएका छन् । सन् २०१८ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । विश्वकपमा भएको तीनमध्ये दुई खेल अर्जेन्टिनाको पक्षमा गएको छ । 

फ्रान्सका अधिकांश खेलाडी अस्वस्थ 
विश्वकप फाइनलअगाडि नै फ्रान्सका खेलाडी अस्वस्थ भएका छन् । रक्षक राफयल भराने र इब्राहिमा कोनाटे शुक्रबारको अभ्यासमा जोडिएनन् । यसैगरी, मोरक्कोसँग खेलमा बाहिर रहेका अड्रियन राविओट, डायोट उपमेकानो र किङ्स्ले कोम्यानसमेत ठीक नहुँदा प्रशिक्षक डिडिएर डेस्चाम्प्स चिन्तित छन् । लियोनल स्कोलानीको प्रशिक्षणमा रहेको अर्जेन्टिना भने विंगर एन्जल डी मारिया र लेफ्ट ब्याक मार्काेस अकुना फर्कने भएसँगै उच्च मनोबलमा छ ।

मेसी र एम्बाप्पेको प्रतिस्पर्धा
३५ वर्षीय मेसी पहिलोपटक विश्वकप उपाधि जित्ने लक्ष्यमा छन् । क्लब फुटबलकै सर्वोत्कृष्ट खेलाडी स्थापित भइसकेका मेसीले नजितेको उपाधि विश्वकप मात्र हो । पाँचपटक विश्वकप खेल्दासमेत मेसीले ट्रफी उचाल्न पाएका छैनन् । फ्रान्सका युवा स्टार खेलाडी केलियन एम्बाप्पे भर्खर २३ वर्षका भएका छन् । पहिलोपटक सन् २०१८ को विश्वकप खेलेका एम्बाप्पेले ट्रफी चुमिसकेका छन् । मेसी र एम्बाप्पेले व्यावसायिक फुटबल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट सँगै खेल्छन् । एक प्रकारले समकक्षी साथी भए पनि दुईबीच आइतबार एक प्रकारको प्रतिस्पर्धा हुनेछ । मेसी पहिलोपटक र एम्बाप्पे लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्न चाहन्छन् । उपाधिमा मात्रै हैन, दुवै खेलाडी गोल्डेन बुट जित्ने दौडमा शीर्ष स्थानमा छन् । जारी विश्वकपमा मेसी र एम्बाप्पेले समान पाँच गोल गरेका छन् । असिस्ट मेसीको तीन र एम्बाप्पेको दुई छ । फाइनलअघिको समीकरणमा मेसीले सीधै गोल्डेन बुट जित्नेछन् । यसैगरी, फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले चार–चार गोल गरेका छन् । 

प्लेयर्स टु वाच
ओलिभर जिरुड (फ्रान्स)

फ्रान्सका केलियन एम्बाप्पेपछि सर्वाधिक गोल गर्ने खेलाडी ओलिभर जिरुड हुन् । अनुभवी ३६ वर्षीय फ्रान्सका स्ट्राइकर जिरुडलाई विपक्षी टोलीले खासै मार्किङ गर्न नसक्दा चार गोल गरिसकेका छन् । पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध दुई गोल गरेका जिरुडले पोल्यान्ड र इंग्ल्यान्डविरुद्ध एक–एक गोल गरेका थिए । मुख्य खेलाडी करिम बेन्जिमा घाइते भएपछि जिरुडले फ्रान्सको पहिलो सेटमा स्थान बनाएका हुन् । अर्जेन्टिनाविरुद्ध फाइनलमा पनि प्रशिक्षक डिडिएरले केलियन एम्बाप्पे र एन्टोनियो ग्रिजमनसँगै फ्रान्सका लागि सर्वाधिक ५३ गोलकर्ता जिरुडलाई अग्रपंक्तिमा विश्वास गर्नेछन् । 

जुलियन अल्भारेज (अर्जेन्टिना)

पछिल्लो खेलमा अर्जेन्टिनाको अग्रपंक्ति सम्हालेका २२ वर्षीय जुलियन अल्भारेजले चमत्कारी प्रदर्शन गरिरहेका छन् । पहिलो खेलमा साउदी अरेबिया र दोस्रो खेलमा मेक्सिकोविरुद्ध बेन्चबाट सुरु गरेका अल्भारेजले जारी विश्वकपमा चार गोल गरेका छन् । म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका अल्भारेज गोल्डेन बुटको दौडमा मेसी र एम्बाप्पेलाई दबाब दिइरहेका छन् । पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध एक–एक गोल गरेका अल्भारेजले सेमिफाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । सन् २०२१ मा डेब्यु गरेपछि अल्भारेजले १८ खेलमा सात गोल गरेका छन् । फाइनल खेलमा समेत प्रशिक्षक स्कालोनीले अल्भारेजलाई मेसीसँग अग्रपंक्तिमा विश्वास गर्नेछन् ।

मार्सिनियाकले फाइनल खेलाउने

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले सञ्चालन गर्ने भएका छन् । विश्वकप इतिहासमा फाइनल खेल खेलाउने मार्सिनियाक पहिलो पोल्यान्डका रेफ्री हुन् । फाइनलका दुवै सहायक रेफ्री पनि पोल्यान्डकै छन् । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्कबीचको खेल सञ्चालन गरेका थिए । 

यसैगरी, प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल पनि उनले नै खेलाए । भिएआर हेर्ने जिम्मा पनि पोल्यान्डकै रेफ्रीलाई नै दिइएको छ । फ्रान्स र डेनमार्कबीचको रोमाञ्चक खेललाई नियन्त्रण राखेर उनले खेल सञ्चालन गरेका थिए । यस खेलबाट फिफाको रेफ्री जुरी निकै प्रभावित बन्यो । यसैगरी, प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेलमा उनले आफ्नो प्रभाव जमाएका थिए । 

चालू विश्वकपमा उनले अहिलेसम्म पाँच पहेँलो कार्ड मात्र देखाएका छन् । अहिलेसम्म विश्वकपमा दुई खेल मात्र रेफ्री गरेका मार्सिनियाकले रातो कार्ड पनि देखाएका छैनन् । उनले पेनाल्टी पनि दिएका छैनन् । सन् १९८१ मा जन्मेका मार्सिनियाक सन् २०१३ मा फिफा रेफ्री बनेका थिए । 

ad
ad