
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन् ।
उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्नेबारेमा नेताहरूसँग भेट बढाएको बताए । नेता केसीले स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको बताए।
उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ कि हाम्रा स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’
नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधिविहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पारे ।