मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रि–क्वार्टरफाइनल स्थान पक्का गरेपछि खुसी हुँदै दक्षिण कोरियाली खेलाडी र समर्थक ।
२०७९ मङ्सिर १७ शनिबार १०:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया नकआउट चरणमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १७ शनिबार १०:३१:००

दक्षिण कोरिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल स्थान पक्का गर्ने तेस्रो एसियन राष्ट्र बनेको छ । दक्षिण कोरियाले पोर्चुगललाई नाटकीय रूपमा २–१ ले स्तब्ध पार्दै समूह ‘एच’को उपविजेता बन्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । पोर्चुगल एक खेलअगाडि नै नकआउट चरणमा पुगिसकेको थियो । 

यसै एजुकेसन रंगशालामा उरुग्वे र घानाबीच खेल भएको थियो । उरुग्वेले घानालाई २–० ले हरायो । उरुग्वेका लागि डे अरास्काटेले दुई गोल गरेका थिए । उनले खेलको २६औँ र ३२औँ मिनेटमा गरेका हुन् । तर, दुईपटकको विश्वकप विजेता उरुग्वे समग्रमा गोलअन्तरमै पछाडि रहँदा नकआउट चरणमा पुग्न सकेन ।

पोर्चुगलले सर्वाधिक ६ अंक जोड्यो । दक्षिण कोरिया र उरुग्वेले समान ४ अंक बटुले । दक्षिण कोरिया र उरुग्वेबीचको गोलअन्तर समान रह्यो । तर, विपक्षी टोलीविरुद्ध गरेको गोलकै आधारमा दक्षिण कोरियाले उरुग्वेलाई नकआउट चरणमा पुग्नबाट वञ्चित गर्‍यो । 

दक्षिण कोरियाले विपक्षीविरुद्ध चार गोल गरेको छ । उरुग्वले प्रतिद्वन्द्वीविरुद्ध दुई गोल मात्र गर्‍यो । विपक्षी टोलीविरुद्ध धेरै गोल गरेको दक्षिण कोरिया समूह ‘एच’को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।

यससँगै उरुग्वेका स्टार खेलाडी लुइस सुआरेजको विश्वकप यात्रा पनि समाप्त भएको छ । रेफ्रीले खेलको अन्तिम ह्विसल फुक्दा सुआरेज भावुक बने । उनले आफ्नो अनुहार जर्सीले छोपे । इन्जुरी समयमा उरुग्वेले पेनाल्टी अपिल गरेको थियो । तर, रेफ्रीले उरुग्वेको अपिल स्विकारेनन् । खेल समाप्तिसँगै दुई किसिमको दृश्य देखियो । उरुग्वेका खेलाडी र समर्थक मैदानमा निराश बने । अर्कोतिर दक्षिण कोरियाली खेलाडी र समर्थकले खुसीले रमाए । 

वर्तमान समयकै एक राम्रा खेलाडी सुआरेजको विश्वकप उपाधि जित्ने सपना पूरा भएन । सम्भवतः उनी अर्कोपटकको विश्वकपमा देखिनेछैनन् । अन्तिम खेलमा अप्रत्याशित नतिजा दिलाउने क्रममा दक्षिण कोरियाका ह्वाङ ही चानले खेलको अन्तिम इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । 

डिबक्समा सोन हेउन मिनले निकै चलाखी गर्दै ही चानलाई पास दिएका थिए । ही चानले कुनै गल्ती नगरी पोर्चुगलको पोस्टमा गोल ठोके । यसअघि खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । दक्षिण कोरियाले खेलको २७औँ मिनेटमै १–१ को बराबरी गोल फर्काएको थियो । दक्षिण कोरियालाई किम योङ वानले गोल गरेका हुन् ।