१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्व एड्स दिवस : एड्सबाट बाँकेमा १७० जनाको मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

एड्सबाट बाँकेमा एक सय ७० जना एचआइभी संक्रमितको मृत्यु भएको छ। बाँकेमा १८ वर्षअघि पहिलो संक्रमित फेला परेका थिए। एचआइभीको संक्रमण दर घटे पनि बाँकेमा संक्रमितको संख्या हरेक वर्ष थपिँदै गएको छ। 

आर्थिक वर्ष ०७८–७९ मा ११ हजार ७४५ जनाको एचआइभी जाँच गर्दा एक सय ५७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी/ एड्स फोकलपर्सन मानव नेपालीले जानकारी दिए। योसँगै संंक्रमितको संख्या एक हजार चार सय ९१ पुगेको छ। 

बाँकेका पाँच सय ३८ जना संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको भेरी अस्पतालका एचआइभी/ एड्स फोकलपर्सनसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेतकुमार रिसालले बताए।

तीमध्ये ११ बालिका र १४ बालक गरी २५ बालबालिकाले पनि भेरी अस्पतालबाट एआरटी विधिमार्फत उपचार सेवा लिइरहेका छन्। 

एचआइभी संक्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुन नदिन अस्पतालमा पिएमटीसिटी सेवा लागू गरिएको छ। गर्भ रहेदेखि चिकित्सकको निगरानीमा रहेका ९९ प्रतिशत एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउने गरेको उनको भनाइ छ। 

एचआइभी संक्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतिबाट लागुऔषध दिने गरिएको एएचएफ नेपालगन्जका प्रमुख संजयकुमार पौडेलले बताए।

उनले भेरी अस्पतालबाट ८० जना लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतिबाट लागुऔषध सेवन गर्दै आएको जानकारी दिए। 

उनले सिडिफोर कम भएका संक्रमितलाई एआरटी विधिमार्फत उपचार दिँदै आएको बताए। उनले नेपालमा जोखिम समूहमा संक्रमण दर ५ प्रतिशतभन्दा बढी भए पनि सामान्य जनसंख्यामा संक्रमण दर १ प्रतिशतभन्दा कम रहेको बताए। 

नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि बिदेसिनेहरू एचआइभीको उच्च जोखिममा छन्। ‘यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा संक्रमण दर अरू जोखिम समूहभन्दा उच्च छ,’ उनले भने।