१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तीनपटक म्याद थप्दा पनि  बनेन साँगे–पतेनी सिँचाइ आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:४२:oo

निर्माण सुरु भएको तीन वर्ष पूरा हुँदा पनि साँगे–पतेनी सिँचाइ आयोजना सम्पन्न भएको छैन । ७ साउन ०७६ मा ठेक्का सम्झौता भएर २५ असार ०७७ मा सम्पन्न हुनुपर्ने आयोजना निर्माण व्यवसायीले समयमै काम नथाल्दा अलपत्र परेको हो । अहिलेसम्म बाँध मर्मत, बालुवा जम्मा गरेर सफा गर्ने पोखरी निर्माण, कुलो ढलानलगातयका कामहरू मात्रै भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँका इन्जिनियर जगन्नाथ चापागाईंले बताए । 

‘अन्य आयोजना समयमै सम्पन्न भए पनि यो आयोजना भने निर्माण व्यवसायीले प्राथमिकता नदिँदा अलपत्र परेको हो,’ उनले भने । आयोजनाको अहिलेसम्म ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । समयमै काम सम्पन्न नभएपछि कार्यालयले पहिलोपटक २१ पुस ०७७ मा म्याद थप गरेको थियो । सो समयसीमामा पनि निर्माण सम्पन्न नभएपछि दोस्रोपटक १५ फागुन ०७७ मा म्याद थप भयो । फेरि तेस्रोपटक ३० चैत ०७८ मा म्याद थप गरियो ।

तर, त्यो समयमा पनि काम सम्पन्न हुन नसकेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले बताए । ‘आयोजनाको काम छिटो सम्पन्न गर्न पटक–पटक निर्माण व्यवसायीलाई भन्यौँ । त्यति भन्दा पनि उनीहरूले काममा ढिलासुस्ती गरे, जसका कारण आयोजना समयमै सम्पन्न हुन सकेन,’ उनले भने, ‘अब भने सार्वजनिक खरिद नियमावली १२औँ संशोधनअनुसार असार ०८० सम्म म्याद थप गर्न सकिनेछ ।’

एक करोड २५ लाख लागतमा देउराली बिल्डर्स ब्यास–१० ले आयोजना निर्माणको ठेक्का पाएको थियो । सुरुमा कोभिड–१९ को प्रभाव र त्यसपछि निर्माण सामग्रीमा भएको महँगीका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी कृष्ण घिमिरेले बताए । ‘अब म्याद थप भएपछि माघसम्म सम्पन्न गर्छु,’ उनले भने ।

ad
ad