Skip This
उपत्यकामा ११ लाख मतदाता, पाँच सय २७ मतदानस्थल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
भोलि हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि डिल्लीबजारस्थित पद्मकन्या कलेजमा मतदानस्थल निर्माण गर्दै सुरक्षाकर्मी । यहाँ काठमाडौं १ का मतदाताले मतदान गर्नेछन् । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा ११ लाख मतदाता, पाँच सय २७ मतदानस्थल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:१४:oo

सुरक्षा चुनौती न्यून, अति संवेदनशील मतदानस्थल शून्य

उपत्यकाका तीन जिल्लाका करिब ११ लाख मतदाताले आइतबार हुने निर्वाचनमा १५ प्रतिनिधिसभा सदस्य र ३० प्रदेश सभा सदस्य चुन्दै छन् । तीन जिल्लामा मतदानका लागि निर्वाचन आयोगले पाँच सय २७ मतदानस्थल तोकेको छ, जहाँ १० लाख ९६ हजार नौ सय ७७ मतदाता छन् । 

आयोगका अनुसार प्रतिनिधिसभाको १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ६ लाख ५२ हजार एक सय २८ मतदाता छन् । तीन क्षेत्र रहेको ललितपुरमा दुई लाख ५० हजार चार सय १० तथा दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । काठमाडौंमा तीन सय २०, ललितपुरमा एक सय ३१ त्था भक्तपुरमा ७६ मतदानस्थल तोकिएको छ । 

उपत्यकाका पाँच सय २७ मतदानस्थल संवेदनशील
देशभरि तीन हजार ६५ मतदानस्थललाई गृह मन्त्रालयले अति संवेदनशीलको सूचीमा राखे पनि उपत्यकामा भने एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलको सूचीमा छैन । गृहले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा विभाजन गरेको छ । उपत्यकाका पाँच सय २७ मतदानस्थललाई संवेदनशील र सामान्यमा मात्र राखिएको छ । 

घनश्याम उपाध्याय प्रजिअ, काठमाडौं
सुरक्षाकर्मीहरू खटिनुभएको छ, उपत्यकाका नाकामा कडाइ गरेका छौँ । सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको छ । मतगणनास्थलसमेत पूर्ण तयारी अवस्थामा छ । 

काठमाडौंमा तीन सय २० मध्ये एक सय ४४ संवेदनशील र एक सय ७६ सामान्य छन् । त्यस्तै, ललितपुरमा एक सय ३१ मध्ये ६५ संवेदनशील र ६६ सामान्य छन् भने भक्तपुरका ७६ मध्ये ३६ संवेदनशील र ४० सामान्य छन् । 

उपत्यकाका तीन जिल्लामा एक हजार दुई सय ७९ मतदान केन्द्र छन् । मतदानस्थलभित्र मतदाताको संख्याका आधारमा थप मतदान केन्द्र राखिएको छ । देशभरि १० हजार आठ सय ९२ स्थायी मतदान केन्द्र र एक सय ४१ अस्थायी मतदान केन्द्र छन् । 

शान्तिपूर्ण रूपमा निर्वाचन गर्न उपत्यकामा सुरक्षाको पूर्वतयारी भइसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले बताए । उनका अनुसार तीन जिल्लामा करिब चार हजार प्रहरी प्रत्यक्ष रूपमा निर्वाचनमा खटिएका छन् । त्यस्तै, करिब साढे पाँच हजार म्यादी प्रहरीले सघाइरहेका छन् । 

काठमाडौंमा दुई हजार एक सय ७६ प्रहरी र तीन हजार दुई सय ७९ म्यादी, ललितपुरमा नौ सय ८९ प्रहरी र एक हजार तीन सय आठ म्यादी तथा भक्तपुरमा ६ सय ९४ प्रहरी र आठ सय ८६ म्यादी खटिएका छन् । 

उपत्यकाको सुरक्षाका लागि गृह मन्त्रालयको सुरक्षा योजनाअन्तर्गत प्रहरी परिचालन गरिएको एसपी रिजालले बताए । उनका अनुसार महानगरपालिकामा १४ जना एसपीको कमान्डमा मोबाइल टोली खटाइएको छ । काठमाडौंमा १० र ललितपुर र भक्तपुरमा दुई–दुईवटा यस्ता टोली खटिएका छन् । कलंकी, कोटेश्वर र महाराजगन्जमा एसपीकै कमान्डमा स्ट्राइकिङ टोली पनि परिचालन भइसकेको छ । 

एसपी सीताराम रिजाल प्रवक्ता, काठमाडौं उपत्यका प्रहरी कार्यालय
देशको केन्द्रीय राजधानी भएकाले उपत्यकाको निर्वाचनमा अन्तर्राष्ट्रिय नजर र चासोसमेत रहन्छ । निर्वाचनलाई भयरहित र त्रुटिरहित बनाउन सम्पूर्ण तयारी पूरा गरेका छौँ ।

त्यस्तै, एसपीको कमान्डमा तीनवटा रिजर्भ टोली तयारी अवस्थामा राखिएको छ । चाबहिल, कलंकी र जावलाखेलमा यस्तो टोली रहनेछ भने सातवटा टोली अनुगमनका लागि खटाइएको छ । ‘देशको केन्द्रीय राजधानी भएकाले यहाँको निर्वाचनमा अन्तर्राष्ट्रिय नजरसमेत रहन्छ,’ एसपी रिजाल भन्छन्, ‘निर्वाचनलाई त्रुटिरहित बनाउन हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ ।’ 

उपत्यकाका नाकामा चेकजाँच, संवेदनशील स्थानमा प्रहरीको विशेष टोली
निर्वाचन सुरक्षालाई लक्षित गरी उपत्यकाका नाकाहरूमा प्रहरीले विशेष चेकजाँच थालेको छ । निर्वाचनको सुरक्षा भड्काउने सम्भावित गतिविधि रोक्न यस्तो नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । 

साथै संवेदनशील मतदानस्थलहरूमा विशेष प्रहरी टोलीहरू खटाएर भयरहित वातावरणमा निर्वाचन गराउन आफूहरू सक्रिय रहेको उनले बताए । ‘हामीले आज (शुक्रबार) सबै मतदानस्थलको अनुगमन गरेका छौँ,’ उनले भने, ‘सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको छ, कर्मचारी र सुरक्षाकर्मी साथीहरू पुगिसक्नुभएको छ । मतगणनास्थलसमेत पूर्ण तयारी अवस्थामा छ ।’ उपत्यकाका विभिन्न ठाउँमा सुरक्षा घुम्ती टोली परिचालन गरिएको र अनुगमन समितिले पनि काम गरिरहेको उनको भनाइ छ । 

काठमाडौं १ मा थोरै र भक्तपुरमा १ मा धेरै मतदाता
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये काठमाडौं १ मा सबैभन्दा थोरै मतदाता छन् । यो क्षेत्रमा ४५ हजार १८ मतदाता रहेका छन् । त्यस्तै, भक्तपुर क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मतदाता छन् । जहाँ एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेको आयोगले जनाएको छ । काठमाडौं जिल्लामा भने सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर २ मा छ । जहाँ ८१ हजार नौ सय ७० मतदाता छन् । 

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
काठमाडौं १ : ४५,०१८
काठमाडौं २ : ८१,९७० 
काठमाडौं ३ : ५८,८९१ 
काठमाडौं ४ : ६९,७५२ 
काठमाडौं ५ : ७०,९१९ 
काठमाडौं ६ : ६२,१०२
काठमाडौं ७ : ६१,२९१
काठमाडौं ८ : ५३,१०६
काठमाडौं ९ : ७२१७३
काठमाडौं १० : ७६,९०६ 
जम्मा : ६,५२,१२८ 

ललितपुर १ : ७४,३९७
ललितपुर २ : ८१,८९७
ललितपुर ३ : ९४,११६ 
जम्मा : २,५०,४१९

भक्तपुर १ : १,०२,५२८ 
भक्तपुर २ : ९१,९११ 
जम्मा : १,९४,४३९
 

ad
ad