नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन् अञ्जिला तुम्बापो सुब्बा । दशकयता टिमकी भरपर्दो गोलकिपर हुन्, उनी । ५० भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेकी उनी हाल एपिएफबाट फुटबल खेलिरहेकी छिन् । कप्तान अञ्जिलासँग उनको खेलयात्रा र नेपाली महिला फुटबलको सेरोफेरोमा रही पवन बराइली र रमेश सुवेदीले गरेको कुराकानी:
पहिलो पुरस्कार पाँच सय रुपैयाँ
म पाँचथरमा जन्मिएँ, इलाममा हुर्किएँ । मलाई सात–आठ वर्षको उमेरदेखि नै फुटबलमा खुब चासो लाग्थ्यो । त्यसैले हामी गाउँका साथीहरू मिलेर फुटबल खेल्थ्यौँ । मलाई अगाडि गोल हान्न नै मन लाग्थ्यो । त्यसैले म मिडफिल्डर र स्ट्राइगर पोजिसनमा खेल्थेँ । ०६८ सालतिरको कुरा हो । इलामको पान्दाममा महिला फुटबल प्रतियोगिताको आयोजना भयो । त्यो प्रतियोगितामा हामीले पनि फुटबल खेल्ने निर्णय गर्यौँ । त्यो जिल्लास्तरीय प्रतियोगिता थियो । यसवेला १२–१३ वर्षको मात्रै थिएँ होला । म टिममा सबैभन्दा सानी थिएँ । त्यसवेला खेल सुरु हुन लाग्यो, तर हाम्रो टिमको गोलकिपर आइपुगिनन् । त्यसपछि मलाई टिमका सबैले गोलकिपर राखे । किनभने टिममा म सबैभन्दा कान्छी थिएँ । त्यो प्रतियोगिताभरि म गोलकिपर बसेँ । त्यो मेरो जीवनको पहिलो गोलकिपर भएर खेलेको खेल थियो । जीवनको पहिलो प्रतियोगिता पनि थियो । त्यतिवेला मैले टाङमुनिबाट पहिलो गोल खाएकी थिएँ । तर पनि हामीले त्यसवेला प्रतियोगिता नै जितेका थियौँ । मैले धेरै गोल बचाउ गरेकी थिएँ । मलाई धेरैले प्रशंसा पनि गरेका थिए । त्यसवेला मैले पाँच सय रुपैयाँ पाएकी थिएँ । पैसा पाउँदा फुरुङ्ग भएकी थिएँ ।
च्यातिएको बुट सिलाएर लगाउँथेँ
त्यो दिनको खेलपछि गाउँमा दाइदिदीहरूले गोलकिपर नै बस्न सुझाव दिनुभयो । त्यस दिनदेखि मेरो फुटबलमा गोलकिपरको यात्रा सुरु भयो । गाउँमा खेल्दा गतिलो फुटबल बुट पनि हुँदैनथ्यो । कैयौँपटक च्यातिएको बुट सिलाएर फुटबल खेलेँ । गाउँमा दाइहरूले लगाएको पुरानो बुट लगाएर खेल्थेँ ।
काठमाडौं आएपछि बल्ल एडिडास बुट लगाउन पाएँ । मलाई काठमाडौं झिकाउन सहयोग गर्नुहुने प्रेम सर (श्रेष्ठ) ले नै यो अवसर जुराउनुभएको थियो । त्यो वेला गेम खेल्नुअघि प्रेम सरले एडिडासको सोरुममा लगेर १० हजारको बुट दिलाउनुभयो । अचम्ममा परेँ । गाउँमा च्यातिएको बुट लगाउने मैले एडिडासको बुट लगाएर पहिलोपटक खेल्न पाएँ । त्यो नै जीवनको पहिलो महँगो बुट थियो ।
एपिएफमा आएपछिको जित
इलामबाट जिल्ला हुँदै छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न विराटनगरमा गएकी थिएँ । पूर्वाञ्चलबाट खेल्दा गोलकिपरमा निकै राम्रो प्रदर्शन भयो । केही पेनाल्टी पनि बचाएँ । त्यसपछि ममाथि विभागीय टोलीको नजर पर्यो । सशस्त्र प्रहरी बलको एपिएफले खेल्न प्रस्ताव गर्यो । मैले सहजै यो प्रस्ताव स्वीकार गरेँ ।
०६९ सालमा एपिएफ आएँ । त्यसवेला एनसिएल कप भएको थियो । मैले खेल्न पाइनँ । त्यसवेला मभन्दा सिनियर दिदीहरूले खेल्नुभएको थियो । मैले चाहिँ खेलेकी थिइनँ । जमुना गुरुङ दिदी, अनु लामा दिदीहरूले खेल्नुभएको थियो । उहाँहरूले गर्दा नै आजको दिनसम्म फुटबलमै लागेका छौँ । गोलकिपरमा चन्द्रदेवी दाहाल हुनुहुन्थ्यो । उहाँहरू राष्ट्रिय टिमको हुनहुन्थ्यो ।
अन्डर १४ खेल्दाको त्यो गोल्ड मेडल
सन् २०१४ को कुरा हो । हामी पहिलोपटक यू १४ एएफसी क्षेत्रीय च्याम्पियनसिप खेल्न श्रीलंका गएका थियौँ । म गोलकिपर थिएँ । टिममा रेखा पौडेल, सरु लिम्बू, पूजा राना थिए । त्यसवेला नेपालले एक गोल पनि खाएन । त्योवेला भारतले पेनाल्टी पायो । त्यसवेला जित्नुपर्ने थियो । मलाई पनि गोलकिपर भएको नाताले ठुलो चुनौती थियो । मैले भारतको पेनाल्टी सेफ गरेँ । त्यो प्रतियोगितामा मैले एक गोल पनि नखाएर रेकर्ड बनाएँ । त्यसवेला गोल्ड मेडल लिएर आएका थियौँ । त्यो क्षण सम्झिँदा आफूलाई निकै भाग्यमानी ठान्छु । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
भारतसँगबराबर गर्दा ...
सन् २०१९ ओलम्पिकअन्तर्गत एसियन छनोट प्रतियोगिता म्यानमारमा भएको थियो । त्यसवेला हामीले खेल बराबरी गरेका थियौँ । हाम्रा लागि त्यो ठुलो कुरा थियो । सधैँ हामी भारतसँग डराउँथ्यौँ । भारतलाई जित्न सकिरहेका थिएनौँ । त्यो वेला हरि खड्का कोच हुनुहुन्थ्यो । उहाँले भारतसँग नडराउने वातावरण बनाइदिनुभएको थियो । त्यसवेला हामीलाई बेग्लै मोटिभेसन मिलेको थियो । हामीले ट्रेनिङ पनि राम्रै पाएका थियौँ । त्यसवेला हामीले म्यान्मारसँग पनि बराबरी गर्यौँ । बंगलादेशसँग पनि बराबर बनाएका थियौँ । बराबर बनाउनु पनि हाम्रा लागि जितेसरह नै थियो । त्यसवेला सेकेन्ड क्वालिफाईमा पुगेका थियौँ । त्यसपछि महिला राष्ट्रिय टिम पनि राम्रो हुँदै गयो । खेलाडीलाई खेलाउने मात्रै होइन, मोटिभेसनमा पनि चाहिन्छ ।
हिरो गोल्ड कपमा भारतसँग जित्दा
सन् २०१९ मा भारतमा हामी हिरो गोल्डकप खेल्न गएका थियौँ । त्यो वेला पहिलोपटक भारतलाई २–१ ले जितेका थियौँ । त्यो नेपालका लागि महत्वपूर्ण उपलब्धि थियो । त्यो खेलमा मेरो पफर्मेन्स एकदमै राम्रो भएको थियो । पहिलो खेलमा म्यान्मारविरुद्ध ३–० ले पराजित भयौँ । दोस्रो खेलमा भारतलाई हराउँदा तेस्रो खेलमा इरानलाई ३–० ले हरायौँ ।
इरानसँगको खेलमा मैले निकै राम्रो सेफ गरेकी थिएँ । हुन त त्यो वेलाको भिडियो क्लिप छैन । म आफैँलाई पनि त्यो गेम अहिलेसम्मको उत्कृष्ट लाग्छ । त्यहाँ खेल्दाको सम्झना अझै ताजा छ । हामी सबैले निकै मिहिनेत गरेका थियौँ ।
लगातार भारतसँग असफल
सन् २०१९ मा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप विराटनगरमा आयोजना भएको थियो । नेपालमा पहिलोपटक साफ महिला च्याम्पियनसिप हुँदा प्रतियोगिता विराटनगर पुर्याइयो । फाइनलमा सहिद रंगशालामा दर्शक भरिएका थिए । तर, हामी भारतसँग फेरि स्तब्ध भयौँ । त्यसपछि नै सन् २०१९ मा पोखरामा साग गेम्स भयो । त्यसमा पनि हामी भारतसँग स्वर्ण भिडन्तमा पराजित हुँदा रजत पदकमै चित्त बुझाउन बाध्य भयौँ । तर, हिरो गोल्डकपपछि हामी भारतसँग हार्नुपरेको छैन । सन् २०२२ र २०२४ को साफ सेमिफाइनलमा हामीले भारतलाई हराएका छौँ ।
सन् २०१४ मा पास्कितानमा भएको साफ च्याम्पिनसिपपछि म राष्ट्रिय टिममा निरन्तर छु । तर, पहिलोपटक टोलीमा स्थान बनाए पनि खेल्न भने पाइनँ । बेन्चमै रहनुपर्यो । सिनियर राष्ट्रिय टिममा पनि क्लिन सिट राख्दै उपाधि जित्ने चाहाना थियो । त्योचाहिँ पूरा हुन सकेको छैन । यू–१४ मा क्लिन सिट राखेँ । त्यसपछि साफ र सागमा भारत र बंगलादेशसँग मात्रै गोल व्यहोरेका छौँ । सन् २०१६ मा मैले पहिलोपटक साफमा प्लेइङसेटमै खेल्न पाएँ । त्यसपछि श्रीलंकाविरुद्ध मेरो अन्तर्राष्ट्रिय प्रतियोगिता डेब्यु भयो । त्यो प्रतियोगिता पूरा गरेँ । तर, हामी त्यसपटक पनि उपाधि जित्न सकेनौँ । सेमिफाइनलमा भारतसँग पराजित हुनुपर्यो ।
राष्ट्रिय टिममा पर्दा पनि गोलकिपरको खासै अनुभव थिएन । देशभित्र मात्रै खेल्दा पनि गोलकिपरको त्यति नलेज थिएन । किनभने मैले एकैचोटि ठुलो भएर फुटबल सिकेकी हुँ । गोलकिपरका लागि मसँग ग्रासरुट अनुभव र ज्ञान थिएन । त्यो वेला जस्तो आफूले सिकेको त्यस्तै नै खेलेकी थिएँ । म मात्र होइन, धेरै खेलाडीमा यस्तो समस्या थियो । जित्नुपर्छ भन्ने भावना नै हुँदैनथ्यो । रहरै रहरमा महिला फुटबल खेलाडीले खेलिरहेका थिए । पछिल्लो वर्ष मात्रै उपाधि जित्नुपर्छ भन्ने भावना बढेको छ । महिला फुटबल व्यावसायिकतातर्फ बढेको छ ।
साउदीमा खेल्दा पाएको ऊर्जा
सन् २०२४ फेब्रुअरीमा साउदी अरेबियामा वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) ले महिला च्याम्पियनसिप आयोजना गर्यो । मसँगै प्रीति राई, दीपा शाही, रश्मी कुमारी घिसिङ, गीता राना, अमृता जैसीले भारतको लिग खेलेका थियौँ । सावित्रा भण्डारीले फ्रेन्च महिला लिग खेलेर आएकी थिइन् । त्यो वेला हामी सबैको राम्रो प्रदर्शन थियो । तीन–चार दिन मात्रै टिमसँग ट्रेनिङ गरेका थियौँ । सबैको उत्कृष्ट प्रदर्शन थियो । च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध ट्राइबेकरमा पुगेका थियौँ । निर्धारित समयमा २–२ को बराबरी भएको थियो । मैले आफूलाई गोलकिपरको रूपमा प्रमाणित गर्ने मौका थियो । तर, मैले ट्राइब्रेकरमा गोल सेफ गर्न सकिनँ । जितिन्छ भन्ने विश्वास थियो । तर, जित्न सकेनौँ । अझै पनि त्यो वेला हामीले किन जित्न सकेनाैँ होला भन्ने लाग्छ । तर, त्यसपछि वुमन्स फुटबलमा ‘टर्निङ पोइन्ट’ सुरु भयो । वुमन्स फुटबलमा सबैको आशा जागेको छ । सबैले महिला फुटबलले केही गर्न सक्छ भन्ने आशा गरेका छन् । त्यो प्रितीगयोगिता नजिते पनि हामी खेलाडीमा ऊर्जा मिलेको थियो । यो जितिसकेको गेम पनि हारियो । पेनाल्टी सुटआउट भनेको ५०–५० हो । आफूले राम्रोसँग जज गर्न सकेको भए जितिने रहेछ भन्ने लाग्छ ।
पूरा हुन सकेन साफमा गोल्ड मेडल सपना
हरेक खेलाडीलाई आफ्नो क्याप्टेनसिपमा उपाधि जिताऊँ भन्ने हुन्छ । त्यो मलाई पनि थियो । यो वर्ष साफ महिला च्याम्पियनसिपमा गोल्ड मेडल दिलाउने ठुलो सपना थियो । निकै ठुलो अपेक्षा थियो । हारबाट फर्किन निकै समय लाग्दो रहेछ । यसपटक अपेक्षा धेरै राखिएको थियो । दर्शकको माया अत्यधिक थियो । जित्नैपर्छ भन्ने दबाब थियो तर सकिएन ।
सायद प्रेममा ब्रेकअप हुँदा पनि त्यस्तो हुँदैन होला । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि अहिले मलाई त्यस्तै भइरहेको छ । हारबाट निस्किनै सकिरहेको छैन । डिप्रेसनमै गएकोजस्तो भएको छु । तर पनि आफूलाई सम्हालिरहेको छु । हरेक खेलाडीलाई देशलाई प्रितीनधित्व गरेर खेल्दा गोल्ड मेडल लिन्छु भन्ने हुन्छ । हामीभन्दा अग्रजले पनि सिल्भर मेडल मात्रै छ । हामी पनि गोल्ड मेडलको ठाउँमा सेकेन्ड मेडल मात्रै लिएका छौँ ।
यसपटक पनि हामीलाई दशरथ रंगशालामा उपाधि जित्ने अवसर थियो । सेमिफाइनलमा भारतलाई हराएका थियौँ । फेरि फाइनलमा बंगलादेशसँग खेल्ने पक्का भयो । दुवै खेलमा १५ हजारमाथि दर्शकको माया पनि पायौँ । तर, फेरि उही नतिजा, बंगलादेश च्याम्पियन भयो । निर्णायक खेलमा हामी चुक्यौँ । १–१ को अवस्था थियो । खेल सकिन १० मिनेट मात्रै बाँकी थियो । बंगलादेशकी रितु पुर्ना चक्माले गोल गरिन् । त्यो गोल साँच्चै हाम्रा लागि दुर्भाग्य बन्यो । प्राय रितु क्रस बल मात्रै हान्थिन् । उनको अधिकांश बल क्रस नै आउँथ्यो । मेरो दिमाग पनि क्रसिङ नै हुन्छ भन्ने थियो । तर, मैले पूर्ण रूपमा बललाई जज गर्न पाइनँ । हातमा बल लाग्यो । मैले सेफ गर्न खोजेँ । मलाई पनि बल आउट भयो भन्ने लाग्यो । तर, दुर्भाग्य, बल बारमा ठोक्किएर गोल हुन पुग्यो । म अलि पछाडि राम्रो पोजिसनमा भएको भए बल सेफ हुन्थ्यो । सायद मैले सेफ गर्न सकेको भए नेपाली महिला फुटबलको टर्निङ पोइन्ट सुरु हुन्थ्यो । सोच्दै नसकेको गोल हुन पुग्यो ।
बंगलादेशसँगको हारपछि मलाई यसको ह्याङबाट निस्कन चार–पाँच दिन लाग्यो । सेल्फ मोटिभेट हुनैपर्छ । सबैभन्दा बढी आरोप लाग्ने पनि गोलकिपरलाई हो । गोलकिपर बनेर खेल्न ठुलो मुटु चाहिन्छ । सेल्फ मोटिभेट हुन सक्ने मात्रै खेल्ने हो । कतिपय मिस्टेक हुन्छ । तर, म्याच हार्दाचाहिँ गोलकिपरलाई आरोप बढी आउँछ । स्ट्राइगरले यसरी गोल हाने हुन्थ्यो भन्ने लाग्छ । वेलावेलामा पछाडि गएर म आफैँ गोल हानौँ भन्ने कहिलेकाहीँ दिमाग आउँछ । तर, सम्भव हुँदैन ।
महिला फुटबलमा लगानी खोइ ?
पछिल्लो समय महिला फुटबललाई हेर्ने नजरमा परिवर्तन भइरहेको छ । हामीले नतिजा पनि दिएका छौँ । तर, निर्णायक खेलमा पराजित हुँदै आउनुपरेको छ । १२ पटक फाइनलमा पराजित भइसकेका छौँ । अब, उपाधि जिताउन राज्यले पनि ध्यान दिनुपर्छ । ग्रासरुट लेभलबाट नै सुरुवात गर्नुपर्छ । घरेलु लिग पनि हुँदैन । पछिल्लोपटक तीन वर्षमा लिग भएको छ । त्यो पनि कहिले बिचमै टुंगिने र कहिले प्रतियोगिता नै हुने या नहुने डर छ । महिला खेलाडीको प्राइज मनी पनि धेरै राखिँदैन । केटाहरूको एक करोडसम्म हुन्छ । महिलाको पाँच–१० लाखको हुन्छ । यसले महिला खेलाडीलाई निरुत्साहित गराउँछ । नियामक निकायले युवा खेलाडी उत्पादनमा ध्यान दिने र निरन्तर महिला लिग गर्ने हो भने हामीले १३औँ प्रयासमा प्रतियोगिता किन जित्न सक्दैनौँ ? तर, लगानी भने गर्नुपर्छ । सन् २०२७ को विश्वकप खेल्ने सपना मात्रै देखेर पुग्दैन । राज्यको अवस्था देखेर नै अहिले महिला खेलाडी बिदेसिन थालेका छन् । यो आफैँमा दुर्भाग्य पनि हो ।
हामीले गोल्ड मेडल मात्रै खोज्यौँ । महिला खेलाडीले एक्स्पोजर पाएको छ कि छैन भन्ने ख्याल गरेनौँ । महिलाले फुटबल कसरी खेलिरहेको छ भनेर कसैले सोचेको छैन । हामी आफ्नै बलबुताले मात्रै खेलिरहेका छौँ । यो कुराचाहिँ मलाई खड्किराख्छ । प्रिती राई, दीपा शाही, रश्मीकुमारी घिसिङ, अभिषा कार्की, सविता रानामगरजस्ता राम्रा खेलाडी अहिले आइरहेका छन् । यी खेलाडीलाई कसरी अगाडि बढाउने भन्नेबारे राज्यले सोच्नुपर्छ ।
अबको यात्रा युरोप
पाँचथरबाट सुरु भएको मेरो खेल करियर एपिएफ हुँदै भारतको सेथु एफसीसम्म पुग्यो । भारतमा दुई सिजन सेथुको कप्तानी गरेँ । त्यसपछि विदेश जाने चाहना पनि भयो । कतै दुबई पुलिस जाऊँ भन्ने पनि भयो । अस्ट्रेलिया जाने सोच पनि नआएको होइन । तर, नेपाली महिला फुटबलकै लागि केही गरौँ भन्ने सपना बन्यो । अहिले युरोपमा खेल्न सम्झौता भएको छ । युरोपियन मुलुक ग्रिसको पहिलो श्रेणीको निस अट्रोमिटाउमा अनुबन्ध भएको छु । साफ च्याम्पियनसिप अघि खेल्न जान भिसा पनि लागेको थियो । तर, देशका लागि समय दिने सोचेँ । तत्काल ग्रिस नजाने निर्णय पनि लिएँ । अब, केही समयपछि ग्रिस जाँदै छु ।