मार्सी धान, स्वादिलो स्याउ, जुम्लाको सिमीलगायतले जुम्लालाई देशभित्र फरक रूपमा प्रस्तुत गरिरहेको छ । यही क्रममा खेलकुद गतिविधिमा यहाँका खेलाडीको जबर्जस्त उपस्थितिले जुम्लालाई विश्वस्तरमै परिचित गराएको छ । खेलक्षेत्रबाटै विश्वस्तरमा परिचित छन् हरिबहादुर रोकाया । जसले विश्वसामु आफू मात्र परिचित भएनन् नेपाल, मातृभूमि जुम्लालाई पनि परिचित गराए ।
चन्दननाथ नगरपालिका–४ मा वि.सं. २०२२ असोज १५ गते जन्मेका रोकाया १५ वर्षको उमेरदेखि धावन यात्रा तय गरेका एक परिचित खेलाडी हुन् । एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भूत क्षमतावान् व्यक्तित्व हुन् । साविकको कर्णाली अञ्चललाई पहिलोपटक मेडल दिलाउने देशकै सान हुन् उनी । उनले १३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
पहिलोपटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (पाँच हजार १८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (तीन हजार ४४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा भाग लिए । त्यसमा उनी तेस्रो भए । सन् १९९७ मा भएको प्रतियोगितामा दोस्रो भए । सन् १९९९ मा उनी पहिलो भए । त्यतिमा मात्र हरिबहादुरले चित्त बुझाएनन् ।
संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्वप्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राखे । तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा कीर्तिमानी धावकको रूपमा नाम लेखाए । उनी भन्छन्, ‘यहाँसम्म ल्याइपुर्याउन उत्प्रेरणा दिने धेरै छन् । उनीहरूकै प्रेरणाका कारण मैले तीनपटक उपाधि उचालेँ । अन्तिममा प्रवेश शुल्क तिर्न सकिनँ र खेलमा भाग लिन पाइनँ ।’ अहिले उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटलीलगायत देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगेका छन् । केहीले त राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेका छन् । उनी भन्छन्, ‘मैले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्दा गर्व लाग्छ ।’
रोकायाले संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्वप्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राखे । तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा कीर्तिमानी धावकको रूपमा नाम लेखाए ।
हरिबहादुर दौडिन थालेको २७ वर्षमा १३ राष्ट्रिय तथा ३१ अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका छन् । १३ राष्ट्रिय प्रतियोगितामध्ये नौवटामा रोकायाले उपाधि उचालेका छन् । सन् १९८५ मा इन्डोनेसियाको जकार्तामा एसियन ट्र्याक एन्ड फिल्डको पाँच किलोमिटर दौडमा सहभागिता जनाएर उपाधि उचाले ।
रोकाया विगत २८ वर्षदेखि खेलकुद विकास समितिका जागिरे थिए । उसो त त्यसअघि पनि जागिरे नै थिए । तर, बहुदल आएपछि पञ्चायती व्यवस्थामा खाएको जागिरबाट हात धुनुपरेको थियो । सुरुमा केही रुढता देखाए पनि बहुदलले रोकायाको प्रतिभालाई चिन्यो । उनी पुनः जागिरे भए । जुम्ला बजारबाट बिहान दौडिएर मुगुको रारा ताल पुगेर फेरि साँझ जुम्ला बजार आइपुग्न सक्ने अहिलेसम्म पनि एक व्यक्ति रोकाया नै हुन् । (जुम्लाबाट रारातालसम्मको दूरी ४९ किलोमिटर छ ।)
अन्नपूर्ण सर्किट सबभन्दा छिटो (२४ घन्टा पाँच मिनेट)मा सम्पन्न गर्ने कीर्तिमानी व्यक्तित्व उनै हुन् । थुप्रै रेकर्ड तोड्ने, आफ्नै रेकर्डसम्म तोडेका, सन् ८० को दशकको उत्तराद्र्धदेखि ९० को दशकभर नेपालमा भएका लामो दूरीका लगभग सबैखाले दौड जितेका र एक गर्विलो इतिहास बोकेका खेलाडी हुन् रोकाया ।
उनी आफैँले आफ्नो पहिलो रेकर्ड धेरै समय टिक्न दिएनन् । एभरेस्ट म्याराथन सन् २००० को संस्करणमा रोकायाले तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा पूरा गर्दै गिनिज बुकमा रहेको आफ्नै रेकर्ड तोडे । रोकायाले आफ्नो खेल जीवनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मेडल जितेका छन् । त्यो हो, बैंककमा भएको इन्टर कप प्रतियोगिता । जहाँ पाँच र १० किलोमिटरको दौडमा प्रथम भएका थिए ।
रोकायाको एभरेस्ट म्याराथनको ह्याट्रिक रेकर्ड अहिलेसम्म कसैले ब्रेक गर्न सकेको छैन । यसैबाट नै उनले देश चिनाएका छन् । त्योभन्दा बढी देश चिनाउने उत्तराधिकारी तयार पारेका छन् । झन्डै २५ वर्षसम्म नेपाली राष्ट्रिय एथ्लेटिक्स संघको खेलाडीका रूपमा रहेका रोकायाले वि.सं. २०६० सालमा भएको एभरेस्ट म्याराथनबाटै सन्यासको घोषणा गरे । उक्त प्रतियोगितामा रोकायाले ४० वर्ष उमेरभन्दा माथिको समूहमा दौडिएका थिए । त्यही वेला उनी म्याराथनको बीचमै बिरामी भए । जसले गर्दा उनी चाहेर पनि दौडिन सकेनन् । त्यसयता उनी चुप लागेर बसेनन् । दौडिन छाडेनन् । आफ्ना उत्तराधिकारीलाई कठिन भिरपाखामा दौडाउन लागे । परिणाम आज राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा छाप बसाउन सफल खेलाडीहरूको जन्म भएको छ ।
रोकायालाई ०७५ सालमा ‘गुलिएन–बेर्रे सिन्ड्रोम (जिबिएस)’ भयो । त्यसले शरीरको प्रतिरक्षा प्रणाली हात–खुट्टातिर प्रवाह हुने स्नायुलाई आक्रमण ग¥यो । यो रोगको लक्षण हातखुट्टाको चाल, दुखाइ, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुने हुन् । जसले शरीरका मांशपेशीहरू कमजोर र लाटा हुन्छन् । सम्भावित जटिलताको समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्छ । सुखद संयोग मान्नुपर्छ समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापी माध्यमबाट उनी निको भए । त्यसपछि पनि लगातार खेलाडीलाई प्रशिक्षण दिई नै रहेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल सावित हुँदै आएका उनका खेलाडीलाई उत्साह दिन उनी आफ्नो दैनिकी खेलाडीसँग बिताइरहेका छन् । उनले भने, ‘दौड प्रशिक्षणमा लगनशील युवा–युवतीमा डर नपसोस् । अभिभावकले नै उनीहरूलाई दौडिन निरुत्साहित नगरून् । भावी पुस्ताका खेलाडीमा खेलप्रतिको रुचि नघटोस् भन्ने लागेर नै उनीहरूसँग समय बिताउन मन लाग्छ । केही भए पनि नयाँ सिकाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।’
रोकायाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका म्याराथन जित्न अल्टिच्युडले असर पार्ने बताउँदै आएको लामो समय भयो । त्यसैले उनी जुम्लाजस्तो अग्लो स्थानमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर खोलेर थुप्रै खेलाडी तयार पार्ने सपना बोकेर लागेका छन् । यस्ता ठाउँमा ट्रेनिङ गरेमा सबै प्रकारका खेल जितिने र खेलाडीबाट उपलब्धि हात लाग्ने उनको अनुभव हो । तर, आजसम्मका सबै सरकारले उनको यो योजनालाई प्राथमिकतामा राखेका छैनन् ।
रोकायाको नामको रंगशाला बन्दै छ । तर, त्यसमा एथलेटिक्सका खेलाडीले प्रशिक्षण लिन मिल्नेछैन । किनभने, त्यहाँ बन्ने ट्र्याक अन्तर्राष्ट्रिय मापदण्डको नहुने उनको बुझाइ छ । केही थप जग्गा लिएर भए पनि सरकारले एथलेटिक्सको खेलाडीलाई मध्यनजर गरेर रंगशाला बनाइदिएको भए आफ्नो सपना पूरा हुने उनको आशा छ । विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी, राममाया बुढा, मञ्जु बुढा, सबै रोकायाले उत्पादन गरेका खेलाडी हुन् । उनीहरू सबै अन्तर्राष्ट्रिय खेलाडी हुन् । धावक रोकायासँग बाह्रै महिना २५–३० जना खेलाडी हुन्छन् । निरन्तरको अभ्यासले धेरैजसो खेलाडी उपाधि उचाल्न सफल हुन्छन् ।
२० पुसमा ५८ वर्ष पुगेपछि उनले आफ्नो जागिरे जीवनबाट अनिवार्य अवकाश लिए । जिल्ला खेलकुद विकास समिति जुम्लाका उनी वरिष्ठ एथेलेटिक्स प्रशिक्षक हुन् । उनको बिदाइ तथा सम्मान कार्यक्रम गरिएको थियो । उनले भने ‘जीवन पूरै खेल क्षेत्रमा लागेर बित्यो । कहाँ टाढा हुन सकुँला र ? म रहुन्जेल खेल क्षेत्रको विकासका लागि सकेको गर्नेछु ।’
दुर्गा बुढा उनैले उत्पादन गरेका खेलाडी हुन् । उनी अहिले इन्डियन आर्मी क्लबमा आबद्ध छन् । अन्तर्राष्ट्रिय धाविका विश्वरुपा बुढा पनि रोकायाकै उत्पादन हुन् । उनी त्रिभुवन आर्मी क्लबमा छिन् । रोजिना भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, विष्णु बुढा, राजन रोकाया सबै उनैले नै उत्पादन गरेका खेलाडी हुन् । उनीहरू अहिले त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । गोविन्दप्रसाद भण्डारी र लोकबहादुर भण्डारी पनि गेम स्काउटमा आबद्ध छन् ।