एक समय भनिन्थ्यो, गल्फ खेल शाही परिवारको चौघेरामा मात्रै हुन सक्छ । आज समय बदलियो । शाही परिवारको चौघेराबाट बाहिर निस्कियो गल्फ । आजभोलि गल्फ उच्च वर्ग र व्यवसायीको खेलका रूपमा स्थापित छ । गल्फ कोर्समा पुरुष मात्र होइन, महिला पनि देखिन्छन् । व्यवसायी महिलाहरू पार्टटाइम गल्फरका रूपमा परिचय बनाइरहेका छन् । व्यवसायी महिलाले गल्फ कोर्सलाई शारीरिक अभ्याससँगै व्यावसायिक भेटघाटको थलोका रूपमा पनि विकास गरेका छन् ।
अन्जलिका सिन्हा कानुन व्यवसायी हुन् । कोर्ट कचहरी र कानुनका ठेलीबाट समय निकालेर साताको तीन दिन सिन्हा गल्फ कोर्समा भेटिन्छिन् । गल्फमा रुचि भए पनि सिन्हाले यसलाई आफ्नो पूर्णकालीन पेसा भने बनाउन सकेकी छैनन् । ‘हाम्रो समाजमा अझै पनि महिलाहरूले खेललाई नै पेसा बनाउन सक्ने अवस्था छैन,’ उनी सुनाउँछिन् । यही कारणले सिन्हाजस्ता धेरै महिलाले रहर मारेर पार्टटाइम गल्फरमै चित्त बुझाउन बाध्य छन् । सिन्हा बिहानीपख गल्फ कोर्समा हुन्छिन् । ‘गल्फ प्लेयर बन्न नसके पनि म साथीभाइहरूलाई भेटघाट गर्न गल्फ कोर्समै बोलाउँछु । अफिसको कामबाट ब्रेक लिने ठाउँ भएको छ गल्फ कोर्स,’ उनले सुनाइन् ।
रेखा घिमिरे दुई दशकदेखि गल्फ कोर्समा छिन् । श्रीमान् र छोरीसँग समय बिताउन भनेर गल्फ कोर्स छिरेकी घिमिरेलाई गल्फले लोभ्यायो । कन्टिनेन्टल ग्रुपकी निर्देशक घिमिरे पार्टटाइम गल्फर हुन् । पार्टटाइम गल्फर भए पनि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी थुप्रै ट्रफी जितिसकेकी छिन् । उनले हात पारेका उपाधीहरू मध्ये कतार एअरवेज ओपन गल्फ टुटामेन्ट, एसजी ओपन गल्फ च्याम्पियनशिप, इन्डियन एम्बासडर फयरवेल गल्फ टुटोमन्ट, कप, रुस्लान भोड्का कप, एभरेस्ट गल्फ च्यालेन्ज लगायत छन् । रहरै रहरमा गल्फ कोर्स छिरेकी घिमिरे आजभोलि हप्तामा तीनदेखि चार दिन गल्फ कोर्समा हुन्छिन् ।
घिमिरेका लागि गल्फ खेल मात्र होइन, स्वास्थ्य सुधार गर्ने थलो पनि हो । गल्फले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताउँछिन् घिमिरे । ‘एकपटक गल्फ कोर्स छिरेपछि झन्डै आठ–नौ किलोमिटर हिँडिन्छ । यसले स्वास्थ्यलाई फाइदा नै गर्छ,’ उनी आजभोलि खेलसँगै फिटनेसका लागि पनि गल्फ कोर्स छिर्छिन् ।
मिस नेपालको फेसन डिजाइनर सुष्मा सिंहले त गल्फ कोर्सलाई नै आफ्नो व्यवसाय विस्तार गर्ने प्लेटफर्म बनाएकी छिन् । पार्टटाइम गल्फर भए पनि सिंहले झन्नै एक दर्जन ट्रफी हात पारिसकिन् । सिंहले गल्फलाई खेलसँगै आफ्नो व्यवसाय विस्तार गर्ने माध्यम बनाएकी छिन् । गल्फ कोर्समा भेटिने व्यवसायीसँग उनी आफ्नो व्यवसाय विस्तारको योजना पनि तयार पार्छिन् । ‘बिजनेस प्रमोसन त भइहाल्यो । गल्फले स्ट्रेस हटाउँछ, मुड पनि फ्रेस बनाउँछ,’ उनी भन्छिन् । पार्टटाइम गल्फर भए पनि उनी आन्तरिक प्रतियोगितामा भाग लिन भने छुटाउँदिनन् ।
थाइल्यान्डमा अध्ययन गर्दा नै रिया श्रेष्ठ गल्फ कोर्टसँग परिचित भइन् । थाइल्यान्डमा गल्फलाई नै आफ्नो भविष्य बनाउने युवाहरू देखेकी रियाले नेपाल आएर गल्फ र विजनेसलाई सँगसँगै लिएर जाने सोचेकी थिइन् । पर्यटन व्यवसायसँग जोडिएकी रियाले नेपालमा भने गल्फलाई नै भविष्य बनाउन सक्ने सम्भावना देखिनन् । उनले दुई वर्षपहिले एउटा प्रतियोगितामा ट्रफी जितिन् । ‘पैसा तिरेर गल्फ प्रतिस्पर्धामा भाग लिएँ । ट्रफी पनि जितेँ । तर, मलाई ट्रफी दिएनन्,’ जितेर पनि ट्रफी नदिएपछि श्रेष्ठले नमिठो अनुभव सुनाइन् । ‘मलाई ट्रफी किन नदिएको भनेर मैले आयोजकलाई चिठी पनि लेखेँ,’ रिया सुनाउँछिन्, ‘त्यसको जवाफ अहिलेसम्म आएको छैन । गल्फमा पैसा उठाउने प्रतियोगिता गराउने र नयाँले जिते ट्रफि दिन इन्कार गर्ने गलत परम्पराको सिकार आफु मात्र नभएर अरु धेरै जना भएको उनले बताइन् । त्यसपछि रियाले गल्फलाई पेसा बनाउने सोच त्यागिन् । ‘अहिले त म फ्रेस हुन र एक्सर्साइज गर्न गल्फ खेल्छु,’ उनले भनिन् ।
पुरुषप्रधान खेलका रूपमा विकास भएको गल्फमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली महिला गल्फरले सकारात्मक रूपमा लिएका छन् । महिलाहरू गल्फ कोर्समा छिरे पनि उनीहरूका लागि गल्फलाई नै आफ्नो करिअर बनाउन सजिलो भने छैन । गल्फ क्लब र गल्फ टुर्नामेन्ट आयोजकले महिलालाई प्राथमिकता दिदैनन् ।’ खेलाडी तयार पार्न गल्फ क्लबहरूले नै महिला खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने ठान्छिन् श्रेष्ठ । भन्छिन्, ‘क्लबहरूले विभिन्न प्याकेजहरू बनाएर, महिला केन्द्रित प्रतियोगिता बनाएर महिला गल्फर तयार पार्न सक्छन् ।’ तर व्यवसायसँगै गल्फलाई अगाडि बढाउन सजिलो नभएको र महिलाका लागि नै भनेर गल्फ प्रतियोगिता पनि नेपालमा धेरै नहुने श्रेष्ठ सुनाउँछिन् । भन्छिन्,‘त्यसमाथि महिलालाई गल्फ कोर्समा खेलाडीका रूपमा भन्दा पनि उसको फेसन सेन्सका रूपमा हेर्नेहरू धेरै छन् ।’
यी असहजताबीच पनि गल्फ कोर्समा महिलाको संख्या बढ्नुलाई सकारात्मक नै मान्छिन् व्यवसायी घिमिरे । ‘महिलाको संख्या बढिरहेको छ, बिस्तारै अवस्था पनि सुधार हुन्छ । यसरी कोर्समा उत्रिएपछि नै महिलाहरू पनि बिस्तारै व्यावसायिक खेलाडी हुन्छन्,’ घिमिरे आशावादी सुनिन्छन् ।