महिला भलिबल खेलाडीका अन्तर्कथा

रमेश सुवेदी रमेश सुवेदी
शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

घरेलु मैदानमै भएको काभा महिला नेसन्स लिगपछि नेपाली टोलीको चर्चा छ । तर, उनीहरूको अन्तर्कथा धेरैलाई थाहा नहुन सक्छ ।  अधिकांश खेलाडी सुरुमा भलिबल खेल्नै चाहँदैनथे ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल त्यस दिन ताली र सिट्ठीले गुञ्जायमान थियो । नेपालको झन्डा बोकेका दर्शक मच्ची–मच्ची हुटिङ गरिरहेका थिए । भलिबल कोर्टमा नेपाली महिला खेलाडी भारतविरुद्ध संघर्ष गर्दै थिए । नेपाली खेलाडी उत्साहित देखिन्थे । विपक्षी खेलाडी थकित देखिन्थे । जब भारतीय खेलाडीले सर्ट हान्थे, हलमा एकछिन मौनता छाउँथ्यो । तर, जब सरस्वती चौधरी, उषा भण्डारी र निरुता ठकुन्नाको हातमा बल पुग्थ्यो, माहोल तातिन्थ्यो । जब अन्तिमपटक उषाले स्पाइक हानिन्, भारतीय खेलाडीले रोक्न सकेनन् । इतिहासमै पहिलोपटक दक्षिण एसियाको जायन्ट मानिने भारत नेपालसँग पराजित भयो । यद्यपि काभा भलिबलकै फाइनलमा नेपाल भारतसँगै पराजित भयो ।

भारतलाई लिग चरणमा पराजित गरेपछि ती खेलाडीको चर्चा एकाएक चुलियो । चिया चौतारा, चोक र क्याफेमा नेपाली महिला भलिबल टिमको चर्चा सुरु भयो । दर्शकले कभर्ड हलमै नारा लगाए, आई लव यू उषा, आई लव यू सरस्वती, आई लव यू निरुता, आई लव भलिबल टिम । दर्शक खुसीको आँसु पुछ्दै कभर्ड हलबाट बाहिरिए । खेलाडी अर्को जितको तयारीतर्फ लागे ।

समाचारका हेडिङमा खासै नछाएका, फ्यानले खासै नपछ्याएका, अन्तर्राष्ट्रिय पदक धेरै नभित्र्याएका यी महिला भलिबल खेलाडी कहाँ–कहाँका हुन् ? कसरी सम्भव भयो यत्रो जित ? यो जितका लागि उनीहरूले कतिपटक हार खाए होलान् ? नेपालजस्तो अनेक विसमताले जेलिएको देशलाई यति खुसी दिने खेलाडी कुन जंघार तरेर यहाँसम्म आइपुगे होलान् ? के उनीहरू पहिलादेखि नै भलिबल खेलाडी बन्न चाहन्थे ? सिंगो नेपाललाई खुसी दिलाउने ती खेलाडी हिँडेर आएको बाटो भने त्यति खुसीले भरिएको छैन ।

अरुणाको कप्तानी : कप्तान अरुणा शाहीको जीवन बुझ्न उनको एउटा भनाइ काफी छ । उनले भनेकी छिन्, ‘भलिबलको विकास गर्न एकदमै सजिलो छ । गाउँघरमा उकालीओराली गर्ने मान्छेलाई भलिबलमा ल्याउन सकियो भने धेरै राम्रो हुन्छ । तर, ती ठाउँको ट्यालेन्टलाई हामीले ल्याउन सकेका छैनौँ ।’

गाउँघरमा लुकेर बसेको ट्यालेन्टप्रति चिन्ता र चासो गर्ने अरुणाको खेल जीवन पनि गाउँबाटै सुरु भयो । शालीन, कम बोल्ने, अरुणाको खेल यात्रा १४ वर्षको उमेरदेखि सुरु भयो । म्याग्दीमा जन्मिएकी उनलाई सुरुमा परिवारबाट साथ थिएन । टोलछिमेकीले भन्थे–छोरी मान्छेले भलिबल खेलेर के गर्नु ?

टोलछिमेकीको भनाइलाई उनले मतलब गरिनन् । निरन्तर राम्रो खेल्ने प्रयासमा लागिन् । करिब डेढ दशक भलिबल खेलमा गुजारेकी उनी अहिले नेपाली भलिबल क्षेत्रमा बिर्सनै नहुने नाम बनेकी छिन् । चर्चामा आउन नरुचाउने अरुणा नेपाली भलिबलको ‘लिजेन्ड’ बनेकी छिन् । उनको कप्तानीमा टोलीले कैयन् सफलता हात पारेको छ ।

बंगलादेशको ढाका पुगेको टोलीले अरुणाकै कप्तानीमा सन् २०१९को काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । महिला भलिबलले अन्तर्राष्ट्रिय उपाधि जितेको यो नै पहिलो थियो । लगत्तै १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक रजत पदक जित्यो । दुई वर्षपछि भएको अर्काे काभामा नेपाल दोस्रोपटक अरुणाकै कप्तानीमा च्याम्पियन बन्यो । 

टिमले जित हासिल गरे पनि कप्तान अरुणा धेरै उत्साहित छैनन् । उनी जितमा मात्तिन नहुने बताउँछिन् । भन्छिन्, ‘अहिले जे–जति उपलब्धि भएको छ, त्यसमै धेरै खुसी हुनुहुँदैन । यो गतिलाई अझै बढाउनुपर्छ ।’

निडर निरुता : लिग चरणमा भारतलाई पराजित गर्दा हलमा सबैभन्दा धेरै सुनिएको नाम थियो निरुता । ‘फुल हाउस’ कभर्ड हलमा निरुताको नाममा दर्शकले नारा लगाए । सनसनीपूर्ण त्यो खेलमा उनी एक्लैले सर्वाधिक २२ अंक जोडेकी थिइन् । त्यो खेलपछि २६ वर्षीया निरुताको चर्चा चुलियो ।

निरुताको घर सुदूरपश्चिम दार्चुलाको नौगाड हो । सुदूरपश्चिमबाट भलिबलमा छाएकी निरुताले १७ वर्षमा पहिलोपटक काठमाडौं टेकेकी थिइन् । जिल्लामा उनको खास परिचय थियो, एथ्लेटिक्स खेलाडी । स्कुलमा हुने प्रायजसो प्रतियोगितामा एथ्लेटिक्स, हाईजम्पमा, लङजम्पमा उनलाई देख्न पाइन्थ्यो । राष्ट्रपति रनिङ सिल्डमा पनि सहभागी हुन्थिन् । तर, जब उनी काठमाडौं आइन्, उनको परिचय बदलियो भलिबल खेलाडीमा । उनी विभागीय टोली आर्मीबाट खेल्न थालिन् । परिस्थिति अनुकूल नभएपछि उनले आर्मी छाडेर एपिएफ रोजिन् । अहिले उनी त्यहीँ छिन् । आफूलाई निडर केटी भन्न रुचाउँछिन् निरुता । भन्छिन्, ‘म निकै जिद्दी र साहसिक पनि छु । अझै पनि समाजमा छोरी मान्छेले खेल्नुहुँदैन भनिन्छ । तर, समाजको यस्तो मान्यता परिवर्तन हुनुपर्छ ।’ 

सानदार सरस्वती : भारतविरुद्ध लिग चरण र फाइनलमा सर्वाधिक अंक जोड्ने खेलाडीमा पर्छिन्, अपोजिटिभ हिटर सरस्वती चौधरी । फाइलनमा अन्य खेलाडी चल्न नसक्दा उनले २६ अंक जोडिन् ।

धनगढीमा जन्मेकी सरस्वती जब परिवारमै सबैभन्दा अग्ली भइन्, तब साथीभाइले अनेक उपनाम दिन थाले । कसैले उनलाई ‘बाँस’ भने, कसैले ‘लम्बु’ । तर, उनकी आमा भने ६.१ फिटकी छोरीलाई कुनै खेलमा जमेकी सपना देखिरहेकी थिइन् । आमाकै प्रोत्साहनबाट सरस्वतीले भलिबल खेल्न सुरु गरिन् । सरस्वतीलाई पोखरादेखि भलिबल खेल्न अफर आयो । पोखरामा भलिबलसँगै एकेडेमी चलाएको फिस्टेल एकेडेमीले खेलाडी बनाउने र पढाउने जिम्मा लियो । सरस्वती भन्छिन्, ‘अग्लो कदका कारण आमाले सधैँ भलिबल खेल्न प्रेरित गर्नुभयो । उहाँकै प्रेरणाले म यहाँसम्म आइपुगेँ ।’ 

पोखराबाट उनलाई बोलाउँदा सुरुमा गाह्रो मानेकी थिइन् । सरस्वती पुराना दिन स्मरण गर्छिन् । ‘ममीले पनि १२ वर्षकी छोरीलाई पठाउँदिन भन्नुभयो । तर, पछि सबैले राम्रो हुन्छ भनेपछि पोखरा गएँ ।’ पोखरामा पाँच वर्ष खेलेपछि सरस्वतीले राष्ट्रियस्तरमा आफूलाई उभ्याइन् । त्यसपछि विभागीय टोली सशस्त्र प्रहरीको नजरमा उनी परिन् । सरस्वतीले एक दशकयता एपिएफबाट खेल्दै आएकी छिन् । भारतविरुद्धको ऐतिहासिक जित र फाइनलमा सरस्वतीले सानदार प्रदर्शन गरिन् ।

सलिनाको क्रेज : ४.९ फिटकी सलिना श्रेष्ठ भलिबल खेलाडी हुन् भन्दा कसैले पत्याउँदैन । अग्लो कदको मात्रै भलिबल खेलाडी हुन्छन् भन्ने मान्यतालाई उनले चुनौती दिइरहकी छिन् । लिबेरो सलिनाको क्रेज भारतलाई पराजित गरेपछि ह्वात्तै बढेको छ । कुनै समय क्याम्पस पुग्दा उनलाई साथीहरूले भन्थे, ‘तँ पनि भलिबल खेलाडी हो ?’ सलिना गर्वका साथ ‘हो’ भन्छिन् । जब उनको खेल देख्छन्, प्रश्न सोध्ने साथीहरू अचम्मित हुन्छन् ।

२६ वर्षीया सलिनाको जीवन अन्य खेलाडीको झैँ दुःखकष्टपूर्ण रहेन । उपत्यकामै हुर्किएकाले सलिनाले पनि न्यू डायमन्ड एकेडेमीमै अभ्यास गर्ने मौका पाइन् । सन् २०१९ देखि राष्ट्रिय टोलीमा उनी निरन्तर छिन् । त्यसयता दुई काभा उपाधि जितिन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक रजत जिताउन भूमिका खेलिन् । 

सलिनाले अहिले देश तथा विदेशबाट स्याबासी पाइरहेकी छिन् । भलिबल कोर्टमै उनको नाममा नारा लाग्ने गरेको छ । ‘यस्तो दिन आउँछ भनेर सोचेकै थिइनँ,’ भन्छिन्, ‘पहिले होचो भनेर जिस्क्याउने साथीहरू अहिले मलाई देखेर गर्व गर्छन् ।’

प्रगतिको प्रगति : पूर्वी रुकुमकी प्रगति नाथ ०७६ सालमा स्कुल गइरहेकी थिइन् । न्यू डायमन्ड एकेडेमीका संस्थापक अध्यक्ष कुमार राई उनकै गाउँ पुगेका थिए । प्रगतिसँग उनको बाटोमै भेट भयो । प्रगतिलाई राईले काठमाडौं लैजाने प्रस्ताव गरे । आफूले भलिबल खेलाडी बनाउन सक्ने सबै आधार देखेपछि राईले परिवारसँग सीधै भने, ‘तपाईंकी छोरी मेरी पनि छोरी । यिनलाई म काठमाडौं लैजान्छु । पढाउने र राष्ट्रिय खेलाडी बनाउने जिम्मा मेरो भयो ।’

पहिलोपटक भेटिएको मान्छेले छोरीलाई काठमाडौं खेलाडी बनाउन लैजान्छु भन्दा परिवारले मानेन । आर्थिक स्थिति कमजोर रहेको पनि राईलाई सुनाए । साइँला बुबाकी छोरी ललिता नाथलाई यसअघि नै राईले एकेडेमीमा भित्र्याएका थिए । अन्ततः राईले परिवारलाई सम्झाएर प्रगतिलाई काठमाडौं ल्याए । अहिले प्रगतिले राम्रो खेलिरहेकी छिन् । 

आरतीकोे कमाइ : काठमाडौं महानगर प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले भलिबल खेलाडीलाई जनही एक लाखले पुरस्कृत गरे । त्यो पैसा चितवनकी आरतीले सीधै आमाको खातामा पठाइदिइन् । आरती भन्छिन्, ‘अरू प्रतियोगितामा पनि पुरस्कार जितेपछि आमालाई घर खर्चका लागि पठाउने गरेको थिएँ । बालेन सरले दिएको पैसा पनि त्यही दिन पठाएँ ।’

चितवन मेघौलीमा जन्मेकी १९ वर्षीया आउसाइट हिटर आरती पनि आठ वर्षकै उमेरबाट भलिबलमा लागेकी थिइन् । प्रशिक्षक बाबुराम महतोले आरतीको ५.१० फिटको उचाइ देखेपछि भलिबल खेल्न भनेका थिए । तर, सुरुमा आरती सहमत थिइनन् । महतोले आमालाई नै भेटेर सम्झाइ–बुझाइ गरेर आरतीलाई भलिबलमा ल्याएका हुन् । मेघौली जानकी स्कुलबाट सुरु भएको आरतीको भलिबल यात्रा एपिएफमा दुई वर्ष रह्यो । अघिल्लो वर्षदेखि आर्मीबाट खेलिरहेकी छिन् । राष्ट्रिय टिममा उनले ६ खेल खेलिसकेकी छिन् । ‘सुरुमा खेल्न मन नै थिएन । बाबुराम सरकै कारण आज राष्ट्रिय टोलीको जर्सी लगाउन पाएको छु । गर्व लाग्छ ।’

खुसी छिन् पुनम : महेन्द्रनगरकी पुनम चन्दले बुटबल पुगेपछि मात्रै अन्तर्राष्ट्रिय भलिबल खेलाडी बन्ने सपना देखिन् । राष्ट्रपति रनिङ सिल्ड खेल्न आएकी पुनमलाई देखेपछि एभरेष्ट एकेडेमीका प्रशिक्षक अर्जुन घिमिरेले पढाइसँगसँगै खेल्ने वातावरण मिलाइदिए । त्यसपछि २३ वर्षीया पुनमले भारतविरुद्धको ऐतिहासिक जितमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

एभरेष्टमा जोडिनुअघि एथ्लेटिक्स खेलाडी थिइन् पुनम । उनको पनि परिवारबाट सहयोग छ । उनी विभागीय टोली नेपाल पुलिससँग जोडिइन् । भन्छिन्, ‘म कुनै दिन भलिबल खेलाडी बन्छु भनेर कहिल्यै सोचिनँ । तर, आज देशको प्रतिनिधित्व गर्दै यो स्थानमा आएकी छु, खुसी लाग्छ ।’

चोटबाट उठ्दै कामना : सुदूरबाट सुनौलो भविष्य बोकेर आएकी अर्की खेलाडी हुन् कामना विष्ट । जाजरकोटकी उनी नयाँ पुस्ताका आशालाग्दा खेलाडीमध्ये एक हुन् । १४ वर्षको उमेरमै राष्ट्रपति रनिङ सिल्ड खेलेपछि भलिबलमा उनको यात्रा सुरु भयो । त्यसअघि उनी एथ्लेटिक्सकी खेलाडी थिइन् । जिल्लास्तरीय प्रतियोगितामा च्याम्पियन पनि भएकी छिन् । सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलिन् । राष्ट्रिय खेलकुदमा राम्रो खेल देखेपछि उनको यात्रा ०७३ सालदेखि विभागमा रह्यो । नेपाल पुलिसमा जागिरसँगसँगै खेल्न सुरु गरिन् । तर, चोटपछि दुई वर्ष बाहिर बस्न पर्यो । बंगलादेशमा भएको काभाबाट राष्ट्रिय टिममा डेब्यु गरेकी उनले स्वर्ण पदक दिलाउन भूमिका खेलेकी हुन् । 

उदाउँदी उषा : अपोजिटिभ हिटर हुन् उषा भण्डारी । बुबा गजेन्द्रप्रसाद भण्डारी छोरीले पाइरहेको चर्चा र उपलब्धिबाट निकै खुसी छन् । उनी मेनपावर कम्पनीमा कार्यरत छन् । छोरीको खेल हुँदा जहिल्यै उनी कभर्ड हलमै भेटिन्छन् । एक दशकअघि श्रीलंकन खेलाडीले त्रिपुरेश्वर कभर्ड हलमा भलिबल खेलेको देखेपछि गजेन्द्र उस्तै जिउडाल भएकी छोरी उषालाई ब्याडमिन्टनबाट भलिबल खेलाउँछु भनेर तम्सिए ।

तनहुँमा जन्मिएकी उषा दुई वर्षको उमेरमै उपत्यका आइन् । उषाले १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरिन् । अर्की खेलाडी प्रतिभा माली घाइते भएपछि उषाले उनको स्थान लिइन् । कहिले नयाँ बसपार्कको खाली जग्गा त कहिले न्यू डायमन्ड पुगेर उषालाई अभ्यास गराए । ‘छोरीको पनि सानैदेखि भलिबलमै रुचि देखेपछि त्यसैमा ध्यान दिएँ । आज उसको उपलब्धिमा हामी परिवार सबै सन्तुष्ट छौँ,’ गजेन्द्र भन्छन् । उषा भन्छिन्, ‘बुबाको सपोर्टले नै म यहाँसम्म आइपुगेकी हुँ । अझै मिहिनेत गरिरहेकी छु ।’

चम्किँदै सुमित्रा : त्यस्तै अर्की उदयमान खेलाडी हुन् सुमित्रा रेग्मी । मिडब्लकर सुमित्रा संखुवासभाकी हुन् । २३ वर्षीया उनले भलिबल छोएको दुई वर्षमै राष्ट्रिय टिममा प्रतिनिधित्व गरेकी हुन् । दुई वर्षअघिसम्म उनलाई भलिबल के हो र कसरी खेलिन्छ भन्नेसमेत थाहा थिएन । संखुवासभाबाट माध्यमिक तह उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सुमित्रा काठमाडौं आइन् । 

त्यतिवेलासम्म उनले भलिबल नै छोएकी थिइनन् । पढाइमै केन्द्रित भइन् । नैकापमै बस्ने सुमित्रालाई नजिकै रहेको न्यू डायमन्ड एकेडेमीबारे थाहै थिएन । एकजना छिमेकी दाइले उनलाई एक दिन भने, ‘तिमी यति अग्ली छौ । भलिबल खेल्न जाऊ न ।’ उनैले सुमित्रालाई न्यू डायमन्ड पुग्ने बाटो देखाइदिए । जानेबित्तिकै संस्थाका अध्यक्ष तथा प्रशिक्षक कुमार राईलाई भेटिन् । ‘नानी यति वर्षसम्म कहाँ थियौ ? घर कता हो ?’ राईको पहिलो प्रश्न थियो । महिला भलिबल उत्पादन गर्न कुनै कसर नराख्ने राईलाई ५.११ फिटकी सुमित्रा भेट्दा ढुंगा खोज्दा देवता मिलेजस्तो भयो । 

भोलिपल्टैबाट प्रशिक्षणमा पुगेकी सुमित्रालाई राईले पहिलो वर्षमै राष्ट्रिय प्रतियोगिताबाट कोर्टमा उतारे । पोखराको लामाचौरमा एक वर्षअघि भलिबल खेल्न सुरु गरिन् । अर्काे वर्ष राष्ट्रिय टिममा स्थान बनाइन् । अघिल्लो साता नेपाल भ्रमणमा आएको रसियन टोलीविरुद्ध खेल्दै डेब्यु गरिन् ।

काठमाडौं पढ्न पठाएको छोरीले भलिबलमा गरेको प्रदर्शन र पाएको उचाइबाट आमा पनि सन्तुष्ट छिन् । ‘कति अग्ला–अग्ला खेलाडी रहेछन् । तैंले कसरी खेलिस् ? त्यत्रो अग्लोलाई कहाँ जित्न सकिन्छ ? हारिस् भने नआत्ती है ।’ पहिलो खेलपछि आमाले भनेको शब्द सुमित्रालाई अझै याद छ ।

अन्य चार खेलाडी संगम महतो (चितवन) साफिया पुन (बागलुङ), कविता भट्ट (डडेल्धुरा) र शान्तिकला तामाङ (खोटाङ)को पनि कथा उस्तै छ । उनीहरू पनि टोलीमा रहेर राम्रो खेलिरहेका छन् । 

राज्यसँग अपेक्षा
हिमनदीहरू ठूलो नदीमा मिसिएझैँ राष्ट्रिय टिममा खेलाडी देशैभरिबाट एकठाउँमा जुटेका छन् । उनीहरूले राष्ट्रका लागि खेलिरहेका छन् । तर, राज्यले भने उचित ध्यान नदिएको खेलाडीहरूको साझा भनाइ छ । कप्तान अरुणा भन्छिन्, ‘सबैतिर हाइहाइ छ । तर, भलिबलप्रति राज्य उदासीन छ । खेलाडीलाई हेर्ने नजर परिवर्तन भए राम्रो हुन्थ्यो ।’

यसपटक पनि सरकारले उपविजेता टिमलाई तीन लाख दिन सिफारिस गरेको छ । तर, च्याम्पियन बन्दा घोषणा भएको पाँच लाख खेलाडीहरूले अझै देख्न पाएका छैनन् । नयाँ पाउनेमा खेलाडीहरू ढुक्क छैनन् । प्रशिक्षक जगदीश भट्ट पनि खेलाडीहरूको भनाइमा सहमत छन् । उनी भन्छन्, ‘उपलब्धिका लागि खेलाडी उत्पादन गर्न सरकार लाग्नुपर्छ ।’

महिला भलिबलको सर्वत्र चर्चा भइरहँदा उनीहरूले पाउने सुविधा भने निराशाजनक छ । राष्ट्रको प्रतिनिधित्व गर्दै भारतसँगै इरानजस्तो शक्तिशाली टिमलाई हराएका खेलाडीको मासिक पारिश्रमिक पाँच हजार छ । त्यो पनि वैदेशिक रोजगारीमा रहेका पूर्वभलिबल खेलाडीले सहयोग गरेका हुन् । विभागका खेलाडीले उनीहरूको श्रेणीअनुसारको तलब पाउँदै आएका छन् । करारमा रहेका खेलाडीका लागि भने विभागले छुट्टै पारिश्रमिक उपलब्ध गराउँछ । हाल विभागबाहिरका खेलाडीमा न्यू डायमन्डबाट खेलिरहेका सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र प्रगति नाथ साथै गण्डकीको प्रतिनिधित्व गर्ने कप्तान अरुणा शाहीले मासिक पाँच हजार मात्रै पाउँछन् । उषा भण्डारी करारमा नेपाल पुलिसबाट खेलिरहेकी छिन् । यसबाहेक आरती सुवेदी, संगम महतो, साफिया पुन आर्मीबाट, सरस्वती चौधरी, निरुता ठगुन्ना र कविता भट्ट एपिएफबाट तथा पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ नेपाल पुलिसबाट खेलिरहेका छन् । 

राज्यले खेलाडीलाई मतलब नै गर्दैन : जगदीश भट्ट प्रशिक्षक, महिला भलिबल
हाम्रा खेलाडी धेरैजसो निम्नवर्गीय पृष्ठभूमिका छन् । अधिकांश खेलाडी पहाडबाट आएका छन् । केही मात्रै सहरका छन् । खेलाडीलाई प्राथमिकतामा राखेर नीतिनियम नै बनेको छैन । खेल जित्दा मात्रै वाहवाही हुन्छ । अरू वेला राज्यले मतलब गर्दैन । राज्यले जसरी खेलाडीका लागि प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने हो, त्यो भएको छैन । दूरदराजमा अझै राम्रा खेलाडी छन् । उनीहरू कसैको नजरमा परेका छैनन् । अब, खेलाडी उत्पादन गर्न सरकार लाग्नुपर्छ । हाम्रा खेलाडीले तलब नै पाउँदैनन् । संघ र राज्यले त्यो व्यवस्था गर्नुपर्छ । हामीसँग पूर्वाधार पनि छैन, त्यो पनि हुनुपर्छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार