ओलम्पिक प्रतियोगिता किन कोही आयोजना गर्न चाहँदैनन् ?

साम एलिस साम एलिस
शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण

ओलम्पिक विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता हो । यति प्रतिष्ठित हुँदाहुँदै किन कोही यो खेलको महामेला आयोजना गर्न चाहँदैनन् त ? ओलम्पिकमा पहिले पनि यस्तो समस्या थियो ?

हरेक चार वर्षमा आयोजना हुने ओलिम्पिकमा झन्डै ५० लाख मानिसले प्रत्यक्ष रूपमा सहभागिता जनाउँछन् । करिब तीन अर्ब मानिसले यसका विभिन्न खेल टेलिभिजनमार्फत हेर्छन् । आयोजक सहरले यसलाई आफ्नो वैभव र संस्कृति देखाउने एक पुस्तामा एकपटक आउने अवसरका रूपमा हेर्छन् । विगतमा यस खेलकुद जगत्को कुम्भमेला आयोजनाको अधिकार हासिल गर्न विश्वका सम्पन्न सहरबीच तीव्र प्रतिस्पर्धा हुने गथ्र्यो । सन् २००४ मा १२ सहरले आयोजक बन्नका लागि आइओसीसामु आवेदन दिएका थिए, जुन अवसर ग्रिसको राजधानी एथेन्सले पायो । 


सन् २००८ का लागि दश सहरले ओलम्पिक आयोजना गर्न प्रस्ताव राखेकोमा चीनको राजधानी बेइजिङले आयोजनाको अवसर पायो । तर, त्यसपछि आयोजक बन्ने रुचि घट्दै गएको छ । नौ सहरले सन् २०१२ को ओलम्पिक आयोजक बन्न चाहेको प्रस्ताव दर्ता गरे । त्यसपछि सन् २०१६ का लागि सात सहर र सन् २०२० का लागि पाँच अघि सरे । सन् २०२४ का लागि मतदान गर्ने समयसम्म जम्मा दुई सहरले मात्र आफू यो विशाल प्रतियोगिता आयोजना गर्ने इच्छुक रहेको देखिए ।

ओलम्पिक आयोजनाका लागि घट्दो रुचिलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पहिले कहिल्यै नगरेको निर्णय गर्यो । सन् २०२४ को ओलिम्पिक प्रतियोगिता आयोजना गर्ने सहर चयनका लागि सेप्टेम्बर २०१७ मा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी)का सदस्य भेला भएका थिए । प्रतियोगिता आयोजना गर्न आवेदन दिएका दुई प्रतिस्पर्धी सहरका प्रतिनिधिलाई उपस्थित दर्शकअघि स्टेजमा डाकियो र दुवै सहरलाई आगामी संस्करणका ओलम्पिक आयोजनाको अवसर दिइयो । अर्थात्, सन् २०२४ को ओलम्पिक आयोजनाको अधिकार पेरिसलाई दिइएको थियो र त्यसपछिको ओलम्पिक आयोजनाको अधिकार लस एन्जल्सलाई । 


‘सन् २०२८ का लागि कुनै पनि सहरको प्रस्ताव नै नपर्ने हो कि भन्ने चिन्ताले आइओसीलाई यति सतायो कि उसले सन् २०२४ को आयोजनाका लागि आवेदन दिएका दुई सहरमध्ये सन् २०२४ को अधिकार पेरिसलाई र सन् २०२८ को लस एन्जल्सलाई प्रदान गर्यो । पहिले आयोजनाका लागि हानाथाप हुन्थ्यो, जुन अवस्था अब रहेन,’ ओलम्पिकजस्ता ठूला खेल प्रतियोगिता आयोजनाको अर्थतन्त्रबारे कैयौँ पुस्तक लेखेका एन्ड्रयु जिम्बालिस्टले भने । एन्ड्रयुले ओलम्पिकमै केन्द्रित रहेर सन् २०१५ मा ‘सर्कस म्याक्सिमस : द इकोनोमिक ग्याम्बल बिहाइन्ड होस्टिङ ओलिम्पिक एन्ड द वल्र्डकप’ र सन् २०१७ मा नो बोस्टन ओलम्पिक’ नामक पुस्तक प्रकाशित छन् । 


ओलम्पिक विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता हो । यति प्रतिष्ठित हुँदाहुँदै किन कोही यो खेलको महामेला आयोजना गर्न चाहँदैनन् त ? ओलम्पिकमा पहिले पनि यस्तो समस्या थियो ? सन् १८९६ मा आधुनिक ओलम्पिक सुरु भएपछि यो प्रतियोगिता चक्रीय रूपमा विश्वका विभिन्न सहरलाई आयोजना गर्न दिने उपाय अपनाइएको थियो । त्यस वेलाको परिस्थिति पनि त्यस्तो थियो । ‘त्यो समय अन्तर्राष्ट्रिय हवाई यात्रा भन्ने कुरा थिएन । न त अन्तर्राष्ट्रिय दूरसञ्चार नै थियो । प्रतियोगितालाई विश्वका कुनाकुनामा पुर्याएर सबैको सहभागिता गराउन पालैपालो अलग सहरमा प्रतियोगिता आयोजना गराउने उपाय अपनाइयो,’ एन्ड्रयुले भने । प्रतियोगिता विस्तार हुँदै गएपछि र यातायात तथा आमसञ्चारको विकासपछि पनि आइओसीले यस परम्परालाई निरन्तरता दियो । कालान्तरमा आयोजक हुनका लागि सहरहरूले प्रस्ताव राख्ने र उनीहरूबीचमा मतदान गरेर एक विजेता चुन्ने व्यवस्था विकास गरियो ।


तर, सन् १९८४ को प्रतियोगिताका लागि प्रस्ताव राख्दा एउटा पनि सहरले आयोजना गर्ने प्रस्ताव राखेनन् । पछिल्लो केही प्रतियोगिता आयोजकहरूले अनुभव गरेको कठिनाइले यस्तो अवस्था आएको थियो । सन् १९६८ मा मेक्सिको सिटीमा आयोजना भएको प्रतियोगिताका क्रममा स्थानीय राजनीतिक प्रदर्शन भयो, जुन पछि गएर हिंसात्मक बन्यो । त्यसपछि जर्मनीको म्युनिखमा भएको प्रतियोगितामा आतकंवादी आक्रमण भयो । ११ इजरायली खेलाडी मारिए । आतंकवादीहरूले प्रतियोगितामा सहभागी हुन आएका खेलाडी राखिएको ओलम्पिक भिलेजमा पसेर ती इजरायली खेलाडीलाई मारेका थिए ।


यी दुई घटनाले ओलम्पिक आयोजना राजनीतिक तथा अन्य रूपमा पनि जोखिमपूर्ण हुन सक्ने सन्देश प्रवाहित भयो । त्यस्तै, सन् १९७६ मा मोन्ट्रियलमा आयोजना भएको ओलम्पिकको खर्च पूर्वाधार निर्माणमा आइपरेको समस्या तथा भ्रष्टाचारले प्रारम्भिक बजेटभन्दा १३ गुणाले बढी भयो । यसले ओलम्पिक प्रतियोगिता वित्तीय रूपमा पनि जोखिमपूर्ण रहेको धारणा बन्यो । विभिन्न समस्याका कारण कुनै सहर सन् १९८४ को ओलम्पिक आयोजना गर्न इच्छुक नभएपछि आइओसी जोखिमतर्फ उन्मुख भएजस्तो देखियो ।

त्यस्तो अवस्थामा एक सहर ओलम्पिकको उद्धारको रूपमा अघि सर्यो, तर सर्तसहित । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जल्सले ठूलो रकम खर्च नगर्ने सर्तमा सन् १९८४ को ओलम्पिक आयोजना गर्ने प्रस्ताव राख्यो । प्रस्तावमा सो सहरले प्रतियोगिताको खर्च कम राख्न नयाँ खेलस्थल बनाउनेभन्दा सहरमा पहिलेदेखि प्रयोगमा रहेका खेलस्थललाई नै प्रयोग गर्ने बताएको थियो । हुन पनि सहरमा ‘युएससी फुटबल’ टिमले प्रयोग गर्दै आएको ‘एलए कोलिसियम’, द लेकर्सले खेल्ने गरेको ‘द फोरम’, युसिएलए जिम्न्यासियम तथा टेनिस सेन्टर मुख्य खेलस्थल पहिले नै थिए । त्यस्तै खेलाडीलाई अलग ओलम्पिक भिलेज बनाउनुको साटो लस एन्जल्स सहरका विश्वविद्यालयका होस्टलमा बस्न सकिने व्यवस्था गरिने उसको प्रस्ताव थियो । 


आइओसीसँग अरू विकल्प थिएन । त्यसैले उसले लस एन्जल्सको प्रस्तावलाई स्वीकार गर्यो । तथापि उसले यसका लागि पछुतो मान्नु परेन । सन् १९८४ को लस एन्जल्स ओलम्पिक हरेक हिसाबले सफल रह्यो, अझ वित्तीय रूपमा पछिका आयोजकलाई समेत आकर्षक हुने गरी सफल रह्यो । प्रतियोगिता सन् २०१५ को मूल्यमा मिलान गर्दा करिब एक अर्ब डलरमै सम्पन्न भएको थियो भने खर्चभन्दा बढी आम्दानी भएको थियो । धेरै पछि ओलम्पिक प्रतियोगिता हातोहात नाफामा आयोजना भएको थियो । सो प्रतियोगिता भावी ओलम्पिक आयोजना गर्ने सहरका लागि मोडल हुनु सक्थ्यो । तर, त्यसो भएन । बरु यसपछि नै हाल देखिएको समस्याको जग हालियो । 


लस एन्जल्सको सफलता देखेर ओलम्पिक आयोजना गर्न चाहने र प्रस्ताव राख्ने सहरको संख्या बढे । सन् १९९२ को प्रतियोगिताका लागि ६ सहरले प्रस्ताव गरे । ती थिए– बर्मिङहम (युके), एम्सर्टरड्याम (नेदरल्यान्ड), पेरिस(फ्रान्स), बेलग्रेड (सर्बिया), ब्रिसबेन –अस्ट्रेलिया) र बार्सिलोना (स्पेन) । बार्सिलोनाले आयोजनाको अधिकार पायो । सन् १९९६ को लागि पुनः ६ सहरले प्रस्ताव राखे । म्यानचेस्टर (युके), टोरन्टो (क्यानडा), एट्लान्टा (अमेरिका), मेलबर्न (अस्ट्रेलिया), एथेन्स (ग्रिस) र बेलग्रेड (सर्बिया)ले खेल आयोजना गर्न चाहेको प्रस्ताव राखेको भए पनि एट्लान्टा आयोजक भयो । सन् २००० को खेल आयोजना गर्न प्रस्ताव गर्ने सहरको संख्या बढेर आठ पुग्यो । त्यस वेला प्रस्ताव राखेका सहरहरू म्यानचेस्टर (युके), मिलान (इटली), इस्तानबुल (टर्की), बर्लिन (जर्मनी), ब्रासिलिया (ब्राजिल), बेइजिङ (चीन), तासकन्त (उज्बेकिस्तान), सिड्नी –अस्ट्रेलिया) मध्ये सिड्नी आयोजक हुने भयो । 


सन् २००४ का लागि ओलम्पिक प्रतियोगिता आयोजक हुन प्रस्ताव गर्ने सहरको संख्या बढेर ११ पुग्यो । सान हुआँ (प्युटो रिको), रियो द जेनेरियो (ब्राजिल), ब्युनस आयर्स (अर्जेन्टिना), केप टाउन (दक्षिण अफ्रिका), रोम (इटली), सेभिल (स्पेन), स्तानबुल (टर्की), सेन्ट पिटर्सवर्ग (रुस), स्टकहोम (स्विडेन), लिल (फ्रान्स) र एथेन्स (ग्रिस) ले आयोजक हुने औपचारिक प्रस्ताव राखेका थिए । सो प्रतियोगिता एथेन्समा हुने भयो । धेरै देशले आयोजक बन्न प्रतिस्पर्धा गर्न थालेपछि आइओसीको तीमाथि दबाब बढाउन सक्ने स्थितिमा पुग्यो । 


तिनले आयोजकलाई लस एन्जल्स मोडल पछ्याउन आग्रह गर्नुको साटो, खर्च बढाउने खालको माग गर्न थाले । सन् १९९२ देखि सन् २०२० बीचमा आइओसीले ओलम्पिक प्रतियोगितामा दर्जनौँ नयाँ खेल थप्यो । खेल बढेपछि खेलस्थल बढ्ने भइहाले साथमा ती खेलमा सहभागी हुन जाने खेलाडीका लागि थप वासस्थान पनि सुनिश्चित गर्नुपर्ने हुन्छ । यसको खर्चको भार मुख्यतः आयोजक सहरले नै व्यहोर्नुपर्ने हुन्छ । आयोजक बन्न सहरहरूबीच प्रतिस्पर्धा बढ्दा उनीहरूमा आफ्नो प्रस्ताव थप आकर्षक बनाउने होडबाजी चल्यो । र, सहरको प्रस्ताव आकर्षक बनाउने सबैभन्दा प्रभावकारी तरिकाका रूपमा आयो ठूला र धेरै संख्याका खेलस्थल निर्माण गर्ने वाचा । सन् २००० को ओलम्पिकका लागि सिड्नीले १५ नयाँ खेलस्थलका अतिरिक्त १० हजार खेलाडीको वासस्थान निर्माण गरेको थियो । सन् २००४ का लागि एथेन्समा २२ नयाँ खेलस्थल बनेका थिए भने त्यसपछिको ओलम्पिकका लागि बेइजिङले १२ खेलस्थल बनायो ।


ठुल्ठूला खेलस्थल निर्माणकार्यले ओलम्पिक आयोजनालाई निकै खर्चिलो बनाउँदै लग्यो । खर्च यति बढ्यो कि पछिल्ला दशकमा ओलम्पिक आयोजकले १० देखि २५ अर्ब डलरबीच खर्च गरेका छन् । अझ उल्लिखित रकम खेलसँग प्रत्यक्ष जोडिएका खर्च मात्र हुन् । यसमा सहरले ओलम्पिकको परिपे्रक्ष्यमा निर्माण गर्नुपर्ने नयाँ सार्वजनिक यातायात, अन्य सम्बन्धित विकास परियोजनामा गरिएका खर्च समावेश गरिएको हुँदैन । ती खर्च पनि समावेश गर्ने हो भने आयोजक सहरले ओलम्पिक आयोजनाका लागि गर्ने खर्च निकै उच्च हुन आउँछ । केही प्रक्षेपणअनुसार बेइजिङले सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न ४५ अर्ब डलर खर्च गरेको थियो । रुसले सन् २०१४ को शीत ओलम्पिक आयोजनाका लागि गरेको खर्चको हिसाब ५१ अर्ब डलर रहेको मानिन्छ । त्यस्तै टोकियोमा आयोजित पछिल्लो ग्रीष्मकालीन ओलम्पिकको वास्तविक खर्च ३५ अर्बवरपर भएको विश्वास गरिन्छ । जुनसुकै अंकलाई लिए पनि पछिल्ला ओलम्पिक प्रतियोगिता आयोजना गर्ने नगरले तिनको प्रारम्भिक बजेटभन्दा निकै बढी खर्च गरेको देखिन्छ । 


उता खेल आयोजनाका लागि राखिने प्रस्तावमा सहरहरूले कृत्रिम रूपमा थोरै बजेटमा खेल सम्पन्न गर्ने प्रक्षेपण पेस गर्छन् । सहरहरूले खेल आयोजना गर्ने चाहना तथा योजना पेस गर्दा प्रारम्भिक प्रस्तावमा खर्च निकै कम गरेर देखाउने गर्छन् । तर, राजनीतिज्ञहरूले खेल आयोजनाका लागि योजना बनाउँदा कैयौँ योजना थपिन थाल्छन्, जुन निकै महँगो हुने गर्छ । ओलम्पिक प्रतियोगिताका खेलहरूका टिकट बिक्री, टिभीमा खेल प्रसारणका लागि गरिने सम्झौता र प्रायोजकका विज्ञापनमार्फत आउने रकम खेल आयोजना गर्न गरिने खर्चको सानो हिस्सा मात्र हुने गर्छ । यसको मतलब प्रतियोगिता आयोजनामा सरकारको अझ वास्तविक रूपमा करदाताको ठूलो रकम प्रयोग हुने गर्छ । यसैले ओलम्पिक आयोजनाप्रतिको आर्थिक आकर्षण न्यून छ ।


यो कुरा आयोजक सहरहरूलाई थाहा नभएको होइन । तर, ओलम्पिक आयोजनामा गरिने खर्च तत्कालका लागि नाफा–घाटाको विषयभन्दा पनि भविष्यका लागि गरिने फाइदाको रूपमा पेस गरिने गरेको छ । आइओसीले आफ्नो बेवसाइटमा ओलम्पिक खेल आयोजना गर्ने सहरले पाउने फाइदाहरूको लामो सूची राखेको छ । तिनमा विरासत शब्द धेरै ठाउँमा दोहोरिने गरेको छ । विरासत भनेर तिनले ओलम्पिक सम्पन्न भएको लामो समयसम्म पनि सहरले पाउने फाइदातर्फ संकेत गरेका हुन् । यसका लागि, ओलम्पिक आयोजना गर्न निर्माण गरिएको खेलस्थललाई नै लिऊँ । बेइजिङले ओलम्पिक आयोजना गर्दा ४६ करोड डलर खर्च गरेर ९० हजार सिटको रंगशाला निर्माण गरेको थियो । नगरले ओलम्पिक प्रतियोगिता सकिएपछि सो रंगशाला एक स्थानीय फुटबल टिमलाई प्रयोग गर्न दिने गरी बनाएको थियो । चार वर्षपछि लन्डनले ओलम्पिक आयोजना गर्दा पनि उही शैलीमा नयाँ रंगशाला निर्माण ग¥यो । सुरुमा यो शैलीलाई राम्रो मानिएको थियो । 


खेल पूर्वाधारबाहेक ओलम्पिक आयोजना गर्ने समयमा बनाइने अन्य पूर्वाधारले धेरैलाई थप फाइदा गर्ने आइओसीको दाबी छ । रुसले सन् २०१४ को शीत ओलम्पिकको समयमा आयोजक सहर सोचीलाई जोड्ने ८.७ अर्ब डलरको रेल तथा राजमार्ग निर्माण गर्यो । रियो दि जेनेरियोले सन् २०१६ को ओलम्पिकका लागि चार अर्ब डलर खर्चेर समुद्री तटको बस्तीलाई ओलम्पिक केन्द्र जोड्ने नयाँ भूमिगत रेल–लाइन निर्माण गर्यो । त्यसबाहेक, ओलम्पिक आयोजना गर्दा हुने सबैभन्दा ठूलो फाइदाको कुरा गर्दा आयोजक सहरको आर्थिक वृद्धि नै उत्प्रेरित हुने दाबी गरिन्छ । ‘पहिलेदेखि नै के भनिँदै आएको छ भने ओलम्पिक आयोजना गर्दा निर्माण भएको पिआर (जनसम्बन्ध)बाट सहर विश्वभर चिनिन्छ, यसले पर्यटन वृद्धि गर्छ, साथमा व्यवसाय बढ्छ र वैदेशिक लगानी पनि बढ्छ । तर, पछिल्ला तथ्यांकले त्यो कथन सत्य देखाउँदैन,’ एन्ड्रयुले भने । 


पर्यटनकै कुरा गर्दा सन् २००४ मा गरिएको एक अध्ययनले एट्लान्टा, सिड्नी तथा सियोलजस्ता आयोजक सहरमा ओलम्पिक प्रतियोगिता आयोजना हुनुअघिसम्म पर्यटकको संख्या बढे पनि खेलपछि पर्यटकको संख्या घटेको देखायो । एन्ड्रयुले उनको किताबमा सन् १९९६ को एक अध्ययनलाई उल्लेख गरेका छन्, जसअनुसार ओलम्पिक आयोजक सहरमा सोही प्रतियोगिताका कारण पर्यटन उद्योगमाथिको प्रभाव शून्य वा नगण्य हुने गरेको छ । र, सन् २०१० को अर्को एक अध्ययनले पनि ओलम्पिक प्रतियोगिता आयोजना गर्ने सहरमा पर्यटन वृद्धिको न्यून प्रमाण भेट्यो । बरु कुनै अवस्थामा पर्यटन उद्योगमा नकारात्मक असर परेको पाइयो । यसमा टिभी प्रसारणको भूमिका रहन्छ । ओलम्पिकजस्ता ठूला खेल प्रतियोगिताबारे समाचार प्रसारण गर्न विश्वका ठुल्ठूला मिडिया आउने गर्छन् । तिनले खेलको मात्र होइन, सहरको अवस्था, जनजीवन, मौसम, ट्राफिकबारे जानकारी दिन्छन् । ‘यदि मौसम विशेषतः धेरै गर्मी वा धेरै चिसो छ भने वा ट्राफिक जाम उच्च रहेकोजस्ता समाचार प्रसारण भयो भने यसले सो सहरमा जाने सोच बनाएका पर्यटकको मन बदलिन सक्छ । तथापि मौसम, ट्राफिक र सुविधा राम्रो भएको सहरको छवि सुधारिन पनि सक्छ । 


अब चर्चा गरौँ, ओलम्पिकको सन्दर्भमा बनाइएका विरासत पूर्वाधारको । तिनले पनि दीर्घकालमा उपलब्धि दिएको देखिँदैन । ओलम्पिकका वेला अर्बौं डलर खर्चिएर रुसको सोचीमा निर्माण भएको रेल अहिले पूर्णतः प्रयोगहीन भइसकेको छ । र, ब्राजिलको रियोको भूमिगत रेलमार्गले सहरका केही बासिन्दालाई फाइदा नगरेको होइन । तथापि त्यस्तो रेलमार्ग सहरको अर्को कुनामा रहेका न्यून आय भएका बस्तीमा बनाएको भए निकै ठूलो उपयोगी साबित हुने अध्ययनले देखाएको छ । तर, ओलम्पिक प्रतियोगितास्थल त्यस बस्ती भएको क्षेत्रमा नभएकाले उनीहरू सो सेवाबाट वञ्चित भए । ‘प्रायः अवस्थामा ओलम्पिक आयोजक सहर छानिएपछि, आइओसीका अधिकारीहरू ती सहरका प्रशासककहाँ जान्छन् र हामीलाई यति संख्यामा खेलस्थान चाहिन्छ । तिनलाई यसरी यसरी निर्माण गर्नुपर्छ । ती स्थलसम्म पुग्न सहज यातायात हुनुपर्छ र अन्य सुविधा पनि कम नहोस् भन्ने सर्त राख्छन् । र, सहरका राजनीतिज्ञले पनि आइओसीको मागअनुरूप काम गर्नुपर्ने हुन्छ,’ एन्ड्रयुले भने । यसरी बाहिरबाट आएका मानिसको चाहनामा बनेका योजना सहरको वास्तविकतासँग मेल नखाँदा परियोजनाहरू पछि गएर सेतो हात्तीमा रूपान्तरित हुन्छन् ।


ओलम्पिकमा बनेर पछि खाली देखिने रंगशाला यसैको बलियो उदाहरण हो । बेइजिङ ओलम्पिकपछि रंगशाला जुन फुटबल टिमले सञ्चालन गरिरहेको छ, उसले त्यहाँ १० हजारभन्दा बढी दर्शक भर्न सक्दैन । बाँकी ८० हजार सिट खाली नै रहन्छ । प्रायः खाली रहने यो रंगशालाको ममर्तमा भने नगर प्रशासनले वार्षिक एक करोड डलर खर्चिनुपर्छ । यही स्थिति दर्जनौँ अन्य ओलम्पिक आयोजक सहरमा पनि देखिन्छ । खेलकुलसम्बन्धी टेलिभिजन इएसपिएनको खोजअनुसार रियो ओलम्पिकका लागि बनाइएका २७ खेलस्थलमध्ये १२ वटाले त्यसयता एउटा पनि खेल आयोजना गर्न सकेका छैनन् ।

यिनै सेतो हात्ती परियोजनाले गर्दा विश्वभर ओलम्पिकको आयोजनामा गरिएको खर्चलाई अनावश्यक खर्चका रूपमा हेर्न थालिएको छ । यो कुरा स्पष्ट रूपमा सन् २०२४ को आयोजक राष्ट्रको प्रस्तावकमा देखियो । सन् २०१५ सम्म ६ सहरले सन् २०२४ को ओलम्पिक आयोजना गर्न प्रस्ताव गरेका थिए । ह्यामबर्ग (जर्मनी), पेरिस (फ्रान्स), रोम (इटली), बुढापेस्ट (हंगेरी), बोस्टन (अमेरिका), लस एन्जल्स (अमेरिका) मध्ये आमविरोधपछि बोस्टन र ह्यामबर्गले प्रस्ताव फिर्ता लिए । रोममा मेयर फेरिँदा उनले चुनावमा गरेको वाचाअनुरूप ओलम्पिक आयोजनाका लागि गरेको प्रस्ताव फिर्ता लिए । झन्डै अढाइ लाखभन्दा बढी मानिसले हस्ताक्षर गर्दै ओलम्पिक आयोजना गर्ने प्रस्ताव फिर्ता लिन अभियान चलाएपछि बुढापेस्ट पनि बाहिरियो । 


त्यसपछि दुई प्रस्तावक मात्र बाँकी रहे, लस एन्जल्स र पेरिस । आइओसीले पनि ओलम्पिक प्रतियोगिता आयोजना खर्चिलो भएकाले आकर्षण घटेको स्विकारेजस्तो देखिन्छ । यसैले उसले केही सुधार पनि लागू गरेको छ । जसअन्तर्गत उसले आयोजकलाई प्रतियोगिता आयोजनाको खर्च घटाउन तिनले आफूसँग पहिलेदेखि रहेको खेलस्थल वा सस्तोमा तयार गर्न सकिने अस्थायी प्रकृतिको खेलस्थलमा जोड दिनुपर्ने बताएकोे छ । यो सन् १९८४ मै लस एन्जल्सले कार्यान्वयन गरिसकेको अभ्यास हो । साथमा आयोजक सहरले अन्य सहरसँग साझेदारी गर्न सक्ने सहुलियत पनि प्रदान गरिएको छ । अहिलेसम्मको स्थितिमा पेरिसले यसपटकको ओलम्पिकका लागि उसको प्रारम्भिक बजेट ननाघ्ने बताएको छ । त्यस्तै लस एन्जल्सको प्रतियोगिता आयोजना समितिले सहरले सन् १९८४ कै जस्तो निर्धारित बजेटभित्रै प्रतियोगिता सम्पन्न गर्न सक्ने बताइरहेको छ । र, यदि तिनले साँच्चै नाफामा खेल आयोजना गरे भने के फेरि सन् १९८४ पछि जस्तै ओलम्पिक आयोजना गर्न चाहने सहरको संख्या बढ्ला ? 


‘फेरि सन् १९८४ पछि देखिएकोजस्तो ठूलो चक्र सुरु होला भनेर अहिले भन्न सक्दिनँ । तर, छोटो कालका लागि त्यो सम्भावना छ । पहिलेभन्दा आकर्षण घटेकोजस्तो देखिन्छ,’ एन्ड्रयुले भने । आइओसीले अहिले आगामी ओलम्पिकका लागि प्रस्ताव लिन बन्द गरेर सम्भावित आयोजक हुन सक्ने सहरसँग गोप्य रूपमा छलफल गर्न थालेको छ । यसै परिपे्रक्ष्यमा उसले सन् २०२६ को शीत ओलम्पिकका लागि स्टकहोमको साटो इटलीका दुई सहर मिलान र कोर्टिनालाई चुनेको छ । त्यस्तै उसले अस्ट्रेलियाको ब्रिस्बनलाई सन् २०३२ को ग्रीष्मकालीन ओलम्पिकको अधिकार दिएको छ । तर, केहीले यो अल्पकालीन समाधान भएकाले अब स्थायी समाधान खोज्नुपर्ने माग गर्न थालेका छन् । 


‘ग्रीष्मकालीन ओलम्पिकका लागि ३५ वा ४० खेलस्थल रहने र शीत ओलम्पिकका लागि त्योभन्दा कम खेलस्थल रहने एउटा स्थायी ‘ओलम्पिक सांग्रिला’ निर्माण गर्ने हो भने यो समस्या समाधान हुन्छ,’ एन्ड्रयुले भने । ओलम्पिकको ऐतिहासिक जन्मस्थल त्यस्तो स्थायी आयोजक हुन सक्ने केहीले तर्क गरेका छन् । अन्यले लस एन्जल्सको नाम पनि प्रस्ताव गरेका छन्, जहाँ धेरै ओलम्पिक खेलाउन सकिने खेलस्थल पहिलेदेखि विद्यमान छन् । स्थायी खेलस्थलले सेत्तो हात्ती परियोजनाको समस्यालाई समाधान गर्छ भने प्रतियोगिता आयोजना गरेर सहरहरू ऋणमा डुब्ने समस्या उन्मूलन हुन्छ । साथमा यसले प्रतियोगिताले पर्यावरणमा पार्ने असर पनि घटाउँछ । तर, यसले प्रत्येकपटकको प्रतियोगिताले सिर्जना गर्ने उत्साह भने घटाउन सक्छ । ‘पर्यावरणीय तथा आर्थिक रूपमा सस्तो मोडल चुन्न सहज हुनेछैन । तर, पनि अहिलेको अवस्थाबाट बाहिरिने गरी नयाँ विकल्पबारे बहस नगरी सुख छैन,’ एन्ड्रयुले भने । आगामी केही ओलम्पिक कस्ता हुनेछन्, त्यसले यस विकल्पको बहसलाई प्रभावित बनाउनेछ । 
 

(युट्युब च्यानल ‘सर्च पार्टी’का लागि स्याम एलिसको रिपोर्ट)

अनुवाद : श्रवण उप्रेती

सम्पादकको रोजाइ

सुझावित समाचार