एसियाडमा गुञ्जियो यो मन त मेरो नेपाली हो...

चीनमा अध्ययनरत नेपाली विद्यार्थी भन्छन्– हामी जहाँ रहे पनि नेपाली खेलाडीलाई समर्थन गर्न पुग्छौँ ।

श्रीलोचन राजोपाध्याय श्रीलोचन राजोपाध्याय
शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

चाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदान ठ्याक्कै नेपालको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानजस्तै छ । विश्वविद्यालय र क्रिकेट मैदानलाई चारैतिर हरियाली पहाडले घेरेको छ । चचाङ र त्रिवि मैदानबीच एउटै मात्र फरकपन छ– त्यो हो, भौतिक पूर्वाधार । चीनमा क्रिकेट खेल लोकप्रिय छैन । तर, एसियाड खेल आयोजना गर्न आवश्यक पर्ने सबै भौतिक पूर्वाधारको सुविधा चेचाङ अन्तर्राष्ट्रिय मैदानले दिएको छ । हाङझाउ सहरले १९औँ एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएपछि मैदान बनाउन सुरु गरेको हो । हाङझाउ सहरबाट दु्रतगतिको बसमा सवार हुँदा खेल मैदानमा पुग्न डेढ घन्टाजति समय लाग्छ । मेट्रो ट्रेनमा आधा घन्टामा पुगिन्छ । 


सहरबाट टाढा रहेको क्रिकेट मैदानमा यो साता महत्वपूर्ण खेल भए । नेपालले तीनवटा खेल खेल्यो । क्वार्टरफाइनलमा टी–२० विश्वकपको पूर्वविजेता भारतलाई अन्तिम बलसम्म पनि नेपालले टक्कर दिएको थियो । टी–२० कै डेब्यु खेलमा नेपालले मंगोलियामाथि कम्तीमा १० वटाजति विश्व कीर्तिमान यसै मैदानमा राख्यो । कुशल मल्ल र दीपेन्द्रसिंहले बनाएका रेकर्ड टी–२० विधामा अव तोडिन मुस्किल नै छ । माल्दिभ्सविरुद्ध अविनाश बोहोराले नेपालका लागि टी–२० क्रिकेटमा एकै खेलमा सर्वाधिक ६ विकेट लिने रेकर्ड यसै मैदानमा राखे ।

नेपाली टोलीको खेल हेरेर गर्वले छाती चौडा बनाउने अवसर पाए, यसै विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले । उनीहरूले चीनको भूमिमा नेपाली क्रिकेट खेलाडीको खेल हेर्ने सपना पूरा गरे ।


भारतसँग केवल २३ रनले पराजित हुँदै घर फर्र्किए पनि चचाङ विश्वविद्यालयको मैदान नेपाली खेलाडीका लागि विशेष रह्यो । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले भारतसँगको खेलपछि भनेका थिए, ‘नेपालले एसियाडमा आफ्नो ब्रान्ड बनायो र बिस्तारै हामी क्रिकेट कल्चर विकास गरिरहेका छौँ ।’ नेपाली टोलीको खेल हेरेर गर्वले छाती चाँैडा बनाउने अवसर पाए, यसै विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले । उनीहरूले चीनमा नेपाली क्रिकेट खेलाडीको खेल हेर्ने सपना पूरा गरे । आफू पढिरहेको विश्वविद्यालयकै मैदानमा क्रिकेट खेल हुने भएपछि नेपाली विद्यार्थी दंग मात्र भएनन्, विदेशमा आएर पनि आफ्ना क्रिकेटरलाई समर्थन गर्न पाउँदा प्रफुल्लित भए । 

आफू पढिरहेको विश्वविद्यालयको मैदानमै नेपाली टोलीको क्रिकेट खेल हेर्न पाएपछि चीनमा अध्ययनरत नेपाली विद्यार्थी दंग मात्र भएनन्, विदेशमा आएर पनि आफ्ना क्रिकेटरलाई समर्थन गर्न पाउँदा गौरवान्वित महसुस गरे । त्यसपछि उनीहरूले एकसाथ गाए– यो मन त मेरो नेपाली हो ।


नेपाली मात्र होइन, यहाँ रहेका एसियाडका भोलेन्टियरले समेत नेपाली टिमको समर्थन गरिरहेका देखिन्थे । थोरै संख्यामा उपस्थित नेपाली दर्शकले रंगशालालाई तताइरहँदा चिनियाँ स्वयंसेवकले समेत ताली बजाइरहेका थिए । रंगशालामा नेपाली समर्थक र विद्यार्थीले १९७४ एडीको चर्चित गीत (जसो गर जे भन जतासुकै लैजाऊ मलाई । यो मन त मेरो नेपाली हो...)चर्को स्वरमा गाइरहेका थिए । 


हाङझाउमा अध्ययन गरिरहेकामध्ये एक हुन्, सुमन सापकोटा । चितवनका सुमन सन् २००४ मा अध्ययन गर्न चीनको हाङझाउ आएका थिए । उनको चीन बसाइ र अध्ययन अर्को वर्ष दुई दशक पुग्नेछ । उनले आफ्नो परिवार नै यतै बोलाइसकेका छन् । उनी चचाङ विश्वविद्यालयमा अध्ययनका लागि आएका थिए । चीनको विकास र यहाँको वातावरणसँग उनी यति लोभिए कि सम्पूर्ण परिवारलाई नै यतै बोलाए । माल्दिभ्ससँगको खेल हेर्न आएका सुमनले भने, ‘हामी अध्ययन गर्ने विश्वविद्यालयमै नेपालको खेल भएको थाहा पाउँदा कम्ता खुसी भएनौँ, यो दिन कहिले आउँछ भनी प्रतिक्षा गरी बसेँ । अन्ततः नेपालको खेल हेर्न अवसर पायौँ ।’


नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेको सुमन र उनका परिवारले पहिलोपटक हेर्ने अवसर पाए । ‘हामी नेपाली खेलाडीलाई चियर अप गर्न आएका हौँ,’ एक वर्षको बच्चा बोकेरै मैदान पुगेका उनले भने, ‘नेपालले विदेशमा खेलिरहेको देख्दा खुसी लाग्छ ।’ उनको एउटै गुनासो छ, ‘नेपालमा सुविधासम्पन्न रंगशाला छैन ।’ पर्याप्त सुविधा नपाउँदा पनि खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा नेपालको नाम राखेको देख्दा आफूलाई खुसी लागेको उनी बताउँछन् । ‘वास्तवमा योभन्दा राम्रो नेपालकै क्रिकेट मैदान हो, तर यहाँ भौतिक पूर्वाधारका कारण राम्रो देखिएको छ । नेपालसँग कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान हुँदा थप सफलता प्राप्त गर्न सक्छ,’ चचाङ र त्रिवि मैदानको तुलना गर्दै सुमनले भने, ‘त्यो अवस्थाबाट यहाँसम्म पुग्नु निकै ठूलो हो । हामी जहाँ भए पनि नेपालकै समर्थन गरिरहेका हुन्छौँ ।’


०००
चचाङ विश्वविद्यालयमै विद्यावारिधि गरिरहेकी शिखा उपाध्याय खतिवडा पनि नेपाली टोलीको क्रिकेट हेर्न दर्शकदीर्घामा थिइन् । नेपालको प्रत्येक चौका र छक्कामा रमाउने र ब्याट्सम्यान आउट हुँदा न्यास्रो परेको उनको अनुहार हेर्न लायक थियो । सोसल मेडिसिन र हेल्थ म्यानेजमेन्टमा विद्यावारिधि गरिरहेकी शिखालाई चाइनिज भाषाको राम्रो ज्ञान छ । सुरुमा चाइनिज भाषा उनलाई गाह्रो लागेको थियो । पछि जसरी भए पनि चाइनिज भाषा जान्नुपर्ने उनलाई महसुस भयो । त्यसपछि उनले भाषा सिकिन् । अहिले उनलाई भाषाको केही समस्या छैन । उनी क्रिकेट खेल हेर्न सय किलोमिटर टाढाबाट चचाङ क्रिकेट मैदान आइन् । 

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेको चितवनका सुमन सापकोटा र उनको परिवारले पहिलोपटक हेर्ने अवसर पाए । ‘हामी नेपाली खेलाडीलाई चियर अप गर्न आएका हौँ,’ एक वर्षको बच्चा बोकेरै मैदान पुगेका उनले भने, ‘नेपालले विदेशमा खेलिरहेको देख्दा खुसी लाग्छ ।’


यस मैदानसम्म आउँदा जहाँबाट चढे पनि मेट्रोमा एक घन्टाभन्दा बढी समय लाग्ने उनको भनाइ छ । ‘मेट्रोबाट एक घन्टाभन्दा बढी लाग्ने भनेको धेरै टाढाको स्थान हो, यद्यपि म नेपालको समर्थन गर्न आएकी हुँ,’ हातमा टिकट देखाउँदै उनले भनिन् । मंगोलियाविरुद्धको खेल हेर्न आउँदा उनले टिकट पाइनन् । लामो यात्रा गरी खेल हेर्न नपाउँदा उनी निराश हुँदै होस्टेल फर्किएकी थिइन् । ‘मंगोलियाविरुद्धको खेलको टिकट नपाउँदा रुन मन लागेको थियो । लाइभ हेर्न नपाए पनि जितेको सुन्दा गर्वले छाती चौडा भयो,’ शिखाले अनुभव सुनाइन् ।

सुर्खेतका नवीन महताराको बसोवास चीनमा लामै भइसकेको छ । पाँच वर्षअघि उनी इन्जिनियरिङ पढ्न हाङचाओको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा आएका थिए । अहिले उनको तेस्रो वर्ष चलिरहेको छ । ‘नेपालको खेल हेर्न नै लगभग एक घन्टा ट्रेन चढेँ,’ उनले सुनाए, ‘यसपटक टिकट पाएँ । मैदानमा नेपाल र भारतबीचको खेलको भरपूर मजा लिएँ ।’ 


नवीन कहिलेकाहीँ चचाङ विश्वविद्यालयमा भिजिटरका रूपमा पुग्थे । त्यहाँ नेपालको टिमले पनि क्रिकेट खेल्ने उनले थाहा पाए । त्यसैवेलादेखि उनलाई नेपालको खेल विदेशी भूमिमा हेर्न रहर भयो । नवीनलाई कहिले एसियाड आउला जस्तो भइसकेको थियो । ‘जब यस मैदानमा नेपालको क्रिकेट खेल हुने थाहा पाएँ, त्यसैवेलादेखि यो पल कहिले आउला भनेर दिन गन्न थालेको थिएँ,’ प्रतीक्षाको क्षण समाप्त भएको बताउँदै उनले भने, ‘यद्यपि भारत विजयी भए पनि नेपालले विश्व च्याम्पियनलाई तर्साएको थियो ।’ अध्ययन गरिरहेको सहरमा नेपाली टोलीलाई समर्थन गर्न पाउने कल्पनासमेत नगरेको उनले बताए । ‘यो अवसर मेरा लागि निकै गर्विलो छ, शब्दमा बयान गर्नै सक्तिनँ,’ नवीनले भने, ‘यहाँ नेपालले खेलेको देखेर भावुक पनि भएँ ।’ 


०००
नुवाकोटकी मनीषा राई चचाङ विश्वविद्यालयमा हेल्थ एन्ड साइन्स अध्ययन गर्न पाँच वर्षअघि आएकी थिइन् । अहिले मनीषाले म्यानेजमेन्ट पनि पढिरहेकी छिन् । तेक्वान्दो सिकेकी उनलाई खेल औधी मन पर्छ । नेपालको तीनवटै क्रिकेट खेल हेर्न उनी मैदानमा पुगिन् । उनी ट्रेनबाट एक घन्टाभन्दा बढी यात्रा गरी यहाँ पुगेकी थिइन् । यसक्रममा उनले तीनवटा जति मेट्रो परिवर्तन गरेकी थिइन् । ‘यात्रा लामो भए पनि हेर्न पाइयो, त्यसैमा खुसी छु,’ मनीषा भन्छिन्, ‘नेपालको खेल हेर्न अगाडिदेखि नै प्रतीक्षा गरेकी थिएँ ।’ अहिले चीनमा ‘नेसनल होलिडे’ चलिरहेको छ । यस अवसरमा चीनमा बिदा हुन्छ । यसैकारण उनले नेपालको खेल हेर्ने अवसर पाइन् । उनी क्रिकेट हेर्न एक्लै आएकी थिइन् । ‘नेसनल होलिडे चलिरहेको कारण नै यो अवसर मिलेको हो । नत्र कहाँ खेल हेर्न बिदा पाइन्छ र ?’ उनले भनिन्, ‘बिदालाई यसपटक राम्रोसँग सदुपयोग गर्न पाएँ ।’ 


नेपालको खेल हेर्न हाङझाउका मात्र होइनन्, बेइजिङ र सांघाईमा रहेका नेपालीहरू पनि आएका थिए । विशेषतः उनीहरू नेपाल र भारतबीचको खेल हेर्न अघिल्लो दिन नै हाङझाउ पुगे । बेइजिङबाट सीधै क्रिकेट मैदान पुगेका रमेश पौडेलले महत्वपूर्ण म्याच मिस हुने डर लागेको बताए । उनी भन्छन्, ‘बेइजिङबाट यहाँसम्म आयौँ, सुरुमा टिकट नपाउने ठूलै डर थियो, तर यहाँका साथीहरूले मिलाएका रहेछन् ।’ विश्व क्रिकेटमा राज गरेको भारतविरुद्धको खेल हेर्न पाउँदा सौगात पौडेल यति खुसी देखिए, उनीसँग शब्द नै छैन । भन्छन्, ‘यस्तो खेल अब कहिले हेर्न पाउने हो थाहा छैन, तर पुग्ने गरी अनुभव बटुलेँ, नेपालले केही गल्ती गरे पनि क्रिकेटको दिग्गजलाई चुनौती दियो ।’ सांघाईबाट एक घन्टा मेट्रो चढेर पुगेका सौगात क्रिकेट खुब मन पराउँछन् । उनी खेलस्थलमा ढिलो पुगे पनि भारत र नेपालबीचको खेल प्रत्यक्ष हेर्ने अवसर पाए । ‘टिकट पाउन गाह्रो थियो, हामी यहाँ पुग्न ढिला भयो । तर, बीचबाट भए पनि खेल हेर्यौँ,’ उनले भने, ‘नेपाली खेलाडीको प्रदर्शनबाट गर्व लागेको छ ।’


यसपटक नेपालले एसियाडमा २९ खेलमा सहभागिता जनाइरहेको छ । अघिकांश खेलका खेलाडी नेपाल फर्किसकेका छन् । नेपाली महिला कबड्डी टोलीले पदक पक्का गरिसकेको छ । कबड्डीका कारण नै नेपाल सन् १९८६ को सोल एसियाडपछि खाली हात फर्कनुपर्ने अवस्था आएन । हाङझाउका विभिन्न सहर र जिल्लाका रंगशालामा खेल चलिरहँदा खासै नेपाली समर्थक देखिँदैनन् । तर, क्रिकेटमा कसैले नसोचेको समर्थक देखिएका हुन् । 


(हाङझाउबाट)

सम्पादकको रोजाइ

सुझावित समाचार