महिला विश्वकपका आठ यादगार क्षण

रमेश सुवेदी रमेश सुवेदी
शनिबार, ९ भदौ, २०८०
डिजिटल संस्करण

विश्वभरका उत्कृष्ट ३२ टोली सहभागी फिफा महिला विश्वकप–२०२३ भावनात्मक, प्रतिस्पर्धात्मक र रोचक हुँदै गतहप्ता सम्पन्न भएको छ । २० जुलाईबाट २० अगस्टसम्म अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको नवौँ संस्करण स्पेनले जितेको छ । पहिलोपटक ३२ टोली सहभागी विश्वकपको तेस्रो सहभागितामै स्पेन च्याम्पियन भयो । यसअघिका चार च्याम्पियनहरू क्वार्टरफाइनलबाट माथि बढ्न सकेनन् । सात टोलीले विश्वकपमा डेब्यु गरे । इंग्ल्यान्ड र स्पेनले पहिलोपटक फाइनलमा स्थान बनाएका थिए । सन् २०२१ युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिँदै स्पेन च्याम्पियन भयो ।


यसपटक मैदानभित्र र बाहिर विश्वकपको निकै चर्चा भयो । समर्थकको बाक्लो उपस्थित थियो । प्रतियोगिता कीर्तिमानमय बन्यो । मैदानमा उपस्थित हुने दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नेको संख्या सन् २०१९ को विश्वकपभन्दा दोब्बर बढी रहेको आयोजक फिफाको दाबी छ । करिब दुई मिलियनले रंगशालामा र १० मिलियनले टेलिभिजनबाट हेरेको फिफाले जनाएको हो । 


केही महत्वपूर्ण क्षण, केही शक्तिशाली प्रदर्शन, केही रोचक, यादगार पल र भावनात्मक बन्दै सन् २०२७ मा भेट्ने वाचासहित यसपटकको विश्वकप सम्पन्न भएको छ । यस्ता छन्, महिला विश्वकप–२०२३ का आठ यादगार क्षणहरू :


स्पेनको ऐतिहासिक उपाधि
समूह चरणमा जापानसँग ४–० ले पराजित भएको स्पेन महिला विश्वकपको नयाँ च्याम्पियन बन्यो । युरोपेली प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेन पहिलोपटक च्याम्पियन भयो । जर्मनीपछि पुरुष र महिला दुवै विश्वकप जित्ने दोस्रो राष्ट्र बनेको छ स्पेन ।

यसपटक मैदानभित्र र बाहिर विश्वकपको निकै चर्चा भयो । समर्थकको बाक्लो उपस्थिति थियो । प्रतियोगिता कीर्तिमानमय बन्यो । मैदानमा उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नेको संख्या सन् २०१९ को विश्वकपभन्दा दोब्बर बढी रहेको आयोजक फिफाको दाबी छ ।

ओल्गा कार्माेनाले २९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । तर, कार्माेनाले फाइनलको अघिल्लो दिन नै आफ्नो पितालाई गुमाएकी थिइन् । यद्यपि उनलाई यो खबर मेडल र च्याम्पियन ट्रफी उचालेपछि मात्रै थाहा दिइएको थियो । यता, स्पेनिस टोली आन्तरिक द्वन्द्वबीच च्याम्पियन हुन सफल भयो । टोलीका १५ खेलाडीले प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त गर्न माग गरेका थिए । तर, स्पेनिस फुटबल महासंघले खेलाडीको उजुरीलाई खारेज गरेको थियो । खेलाडी र प्रशिक्षकको सम्बन्ध मैदानबाहिर जस्तो भए पनि मैदानभित्र भने सन्तुलित देखियो । 


मेगानको पेनाल्टी मिस
अन्तिम विश्वकप खेलिरहेकी स्ट्राइकर मेगान रापिनोले पेनाल्टी चुकाउँदा चारपटकको च्याम्पियन अमेरिका अन्तिम १६ बाटै घर फर्कियो । उनले स्विडेनविरुद्धको पेनाल्टी मिस गरिन् । तर, स्तब्धपूर्ण अवस्थामा पनि खुसी भएको भन्दै ती अमेरिकी लिजेन्ड खेलाडीले निकै आलोचना खेप्नुप¥यो । तीनपटक विश्व च्याम्पियन मेगानले यसअघि नै आफ्नो अन्तिम विश्वकप भएको बताएकी थिइन् । 


रिडोन्डोको चुम्बन
स्पेनिस खेलाडी अल्बा रिडोन्डोले आफ्नो पार्टनर क्रिस्टिना मोनलियोनसँग चुम्बन गरेको क्षण निकै चर्चामा रह्यो । समूह चरणमा जाम्बियाविरुद्ध ५–० को जितमा रिडोन्डोले हजारौँ दर्शकसामु पार्टनर क्रिस्टिनालाई ओठमा ‘किस’ गरेकी थिइन् । जुन फोटो अहिले विश्वभर चर्चामा छ । यसअघि अस्ट्रेलियाकी कप्तान साम केरले पनि मैदानमा अमेरिकी पार्टनर क्रिस्टी मेविसलाई चुम्बन गरेको तस्बिर निकै चर्चामा रह्यो । केर र मेविस विगत दुई वर्षदेखि पार्टनरको रूपमा छन् । 


इंग्लिस खेलाडीले देखाएको खेल भावना
इंग्ल्यान्डसँग क्वार्टरफाइनलमा पराजित भएपछि कोलम्बियाकी खेलाडी जोरेलिन काराबाली निकै भावुक बनेकी थिइन् । २–१ को हारपछि मैदानमा ढलेकी उनलाई इंग्ल्यान्डका खेलाडीले सान्त्वना दिएका थिए । जुन क्षणको सर्वत्र प्रशंसा भइरहेको छ । ‘हामीलाई प्रतियोगिताबाट बाहिरिनुको पीडा थाहा छ । यो जीवनको खराबमध्येको एक क्षण हो,’ इंग्ल्यान्डकी खेलाडी केइरा वाल्सले भनेकी छिन् । 


कीर्तिमानी दर्शक र न्युजिल्यान्डको जित
आयोजक न्युजिल्यान्डले विश्वकपमा पहिलो जित हासिल गरेपछिको क्षण निकै भावनात्मक रह्यो । उद्घाटन खेलमा कीर्तिमानी दर्शकसामु न्युजिल्यान्डले नर्वेलाई १–० ले हराएको थियो । न्युजिल्यान्डकी स्ट्राइकर हन्ना विल्किन्सले निर्णायक गोल गरेकी थिइन् । विश्वकपमा छैटौँपटक सहभागी भएको न्युजिल्यान्डले जितविहीन यात्रा तोडेको छ । पछिल्ला १५ खेलमा न्युजिल्यान्डले १२ खेल हार्दा तीन खेल बराबरी भएको छ । यो खेल हेर्न कीर्तिमानी ४२ हजार एक सय ३७ दर्शक मैदानमा आएका थिए । न्युजिल्यान्ड फुटबलमा यो दर्शक संख्या अहिलेसम्मकै उच्च थियो । यद्यपि न्युजिल्यान्ड नर्वेसँग गोल अन्तरमा पछि पर्दा समूह चरणबाटै बाहिरियो । 


पूर्वविजेताविहीन सेमिफाइनल
कीर्तिमानी विश्वकपमा साविक विजेता अमेरिकासहित जर्मनी, जापान र नर्वे क्वार्टरफाइनलबाट अघि बढ्न सकेनन् । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यका साथ अमेरिका नवौँ विश्वकपमा पुगेको थियो । तर, चारपटकको च्याम्पियन अन्तिम १६ बाटै बाहिरियो । समूहमा अमेरिकाले एक जित र दुई बराबर नतिजा निकालेको हो । एकपटकको च्याम्पियन नर्वे पनि प्रिक्वार्टर फाइनलबाटै बाहिरिँदा दुईपटकको च्याम्पियन जर्मनीले समूह चरण पार गर्न सकेन । जापान भने क्वार्टरफाइनलमा पराजित भयो । 


म्याकेवको कर्नरबाट गोल
आयरल्यान्डकी केटी म्याकेवले कर्नरबाट गरेको गोल विश्वकपमध्येकै दर्शनीय थियो । इंग्लिस क्लब आर्सनलकी क्याकेवले बायाँ खुट्टाले प्रहार गरेको कर्नर क्यानडाकी केलेन सेरिदानले रोक्ने प्रयास गरे पनि असफल भइन् । २७ वर्षीय विंगर म्याकेव महिला फिफा विश्वकपमा कर्नरबाट गोल गर्ने पहिलो खेलाडी बनिन् । चौथो मिनेटमा म्याकेवले गोल गरे पनि क्यानडाले २–१ को पुनरागमन जित निकालेको थियो । 


हिजाब र मोरक्कोको ऐतिहासिक यात्रा 
मोरक्कोकी रक्षक नोउहाइला बेन्जिना हिजाब लगाएर फिफा महिला विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् । यसअघि इस्लामिक खेलाडीले टाउको छोपेर विश्वकप खेलेका थिएनन् । फिफाले सन् २०१४ बाट हिजाब लगाएर खेल्न अनुमति दिएको थियो । त्यसैले समूह ‘एच’मा दक्षिण कोरियाविरुद्ध बेन्जिनाले हिजाब लगाएर लेखेकी हुन् । यही खेलमा कोरियालाई १–० हराउँदा मोरक्कोले विश्वकपमा पहिलो जित पायो । विश्वकपमा सानदार प्रदर्शन गरेको मोरक्कोले पहिलो सहभागितामै प्रिक्वार्टरफाइनलको ऐतिहासिक यात्रा तय गरेको थियो । यद्यपि टोली फ्रान्ससँग ४–० ले पराजित हुँदा माथि बढ्न सकेन । 


(एजेन्सीको सहयोगमा)

सम्पादकको रोजाइ

सुझावित समाचार