खेल क्षेत्रमा निकै संघर्ष गरेर सफलता चुमिरहेकी खेलाडी हुन् सुनमाया बुढा । उनको घर जुम्लाको पातारासी गाउँपालिका–१ पेरेगाउँमा पर्छ । पातारासी हिमालको काखमा छ, उनको गाउँघर । उनको गाउँमा भर्खरै कच्ची सडक पुगेको छ । कच्ची सडक पुगे पनि नियमित सवारीसाधन भने चल्दैनन् । उनको गाउँबाट सदरमुकाम खलंगा पुग्न पैदल चार घन्टा लाग्छ ।
दुर्गम ठाउँमा जन्मिएर पनि सुनमाया ‘अल्ट्रा रेस च्याम्पियन’ भइन् । सानैमा परिवारले ‘माया मारेकी’ सुनमायाले ठूलो भएर ‘अल्ट्रा रेस च्याम्पियन’ बन्दै अकल्पनीय सफलता हात पारिरहेकी छन् । बाल्यकालमा मृत्यु जितेकी उनी अहिले संसार जित्ने लक्ष्य लिएर दौडिरहेकी छिन् । उनले ०७८ पुसको दोस्रो साता अल्ट्रा रेसतर्फकै ठूलोमध्ये एक मानिने ‘थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेस’ मा ११० किलोमिटर दूरीको दौड जितिन् । यही जितले उनलाई संसार जित्ने सपना देखायो ।
विपन्न परिवारमा जन्मिएर जसोतसो हुर्किइन् सुनमाया । उनको घरमा बुबाआमा, दाजुभाउजू, दुई बहिनी, एक भतिजा र एक भतिजी छन् । उनको पाँच–६ रोपनी पाखो (सिँचाइ नहुने) जमिन छ । खेतीबाट उत्पादन भएको अन्नपातले मुस्किलले तीन–चार महिना मात्रै खान पुग्छ । बाँकी महिना किनेरै खानुपर्छ । यो क्षेत्रमा वर्षमा एक बाली मात्रै उत्पादन हुन्छ । मकै, आलु, सिमी र कोदो मात्रै उत्पादन हुन्छ । उनको बाल्यकाल दुःखमै बित्यो । २०५५ सालमा जन्मेकी उनी परिवारको एक छोरा र सात छोरीमध्ये चौथो सन्तान हुन् । एक वर्षको फरकमै बहिनी जन्मिइन् । त्यसपछि उनले आमाको दूधसमेत राम्रोसँग खान पाइनन् । राम्रोसँग दूध खान नपाएपछि उनी दुब्लाउँदै जान थालिन् । त्यतिवेला गाउँका मान्छेहरूले उनलाई देखेर ‘यसलाई त कुपोषण लाग्यो’ भन्ने गरेको उनले बिर्सेकी छैनन् ।
नजिकै अस्पताल थिएन । चार घन्टा हिँडेर जुम्ला सदरमुकाममा रहेको अस्पताल पुग्नुपथ्र्यो । त्यतिवेला अहिलेजस्तो सडक बनेको थिएन । खेती किसानी गर्ने सामान्य परिवारले दुब्लाउँदै गएकी छोरीलाई उपचार गर्न सदरमुकाम लैजानै सकेन । अस्पताल लैजान नसके पनि आमाले ओछ्यान परेकी सुनमायाको घरेलु उपचारमा कुनै कसर बाँकी राखिनन् । आठ–नौ महिनाको घरेलु उपचारले काम गर्यो । सुनमाया तंग्रिन थालिन् । आमाबुबाले समेत ‘माया मारेकी’ सुनमाया बाँच्छिन् । धेरैले उनलाई माया मारिसकेका थिए । बल्लतल्ल बाँचेकी तिनै सुनमाया अहिले परिवार र गाउँको मात्रै होइन, देशकै प्रतिनिधित्व गर्दै आफ्नो विधामा चम्किरहेकी छन् ।
जुम्ला सदरमुकाममा भएको त्यो खेल विद्यालयस्तरीय थियो । त्यही प्रतियोगितामा उनी प्रथम भइन् । पहिलोपटकमै प्रथम भएर पाएको पुरस्कारले सुनमायालाई दौडिरहन प्रेरणा मिल्यो । उनले त्यतिवेला थाहा पाइन् कि दौडेर पनि पुरस्कार पाइने रहेछ ।
०२२ मा हङकङको दौड प्रतियोगिता दोस्रो भइन् । एक सय किलोमिटर दौड प्रतियोगितामा दोस्रो भएकी हुन् । सुनमायालाई नर्थफेस कम्पनीले सहयोग गर्दै आएको छ । प्रतियोगितामा सहभागी गराउनेदेखि लजिङफुडिङ सम्पूर्ण व्यवस्थापन नर्थफेस कम्पनीले नै गर्दै आएको छ ।
थाइल्यान्डको चियाङमाईमा ०७८ पुसको दोस्रो सातामा भएको थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेसमा उनी महिलातर्फ पहिलो भइन् । उनले ११० किलोमिटर दौडतर्फ पुरुष खेलाडीलाई समेत टक्कर दिइन् । युटिएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा उनी तेस्रो भएकी थिइन् । चियाङमाई क्षेत्रको भिरपाखा र डाँडाको पाँच हजार ४८० मिटर उचाइमा ‘नर्थ फेस एडभेन्चर टिम’बाट दौडिएकी सुनमाया समग्रमा दोस्रो भएकी थिइन् र फ्रान्सका सेड्रिक गोलियाभन्दा मात्र चार सेकेन्डले पछि परेकी थिइन् । दुई हजारभन्दा बढी धावक सहभागी भएको सो प्रतियोगितामा उनले निर्धारित दूरी १४ घन्टा ५४ मिनेट एक सेकेन्डमा पार गरेकी थिइन् ।
थाइल्यान्ड बाई युटिएमबी जितेपछि २३ वर्षमै सुनमाया अन्तर्राष्ट्रिय रूपमा चर्चित हुन पुगिन् । उनले अल्ट्रा धाविका बन्छु भनेर सोचेकी पनि थिइनन् । किन त ? धरातल सम्झँदै भन्छिन्, ‘मेरा लागि जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठूलो थियो ।’
बाल्यकालमा कुपोषणलाई जितेकी सुनमायाले उमेर बढ्दै गएपछि कर्णालीको सामाजिक परिवेशसँग लड्नुप¥यो । उनका दिदीहरूले कहिल्यै पनि स्कुल जाने अवसर पाएका थिएनन् । ‘मरेर बाँचेकी’ भएर होला, आमाबुबाले सुनमायालाई भने स्कुल पठाए । त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको अकल्पनीय सपना देख्ने पहिलो मैदान बन्यो ।
गाउँमा मेलापात, घाँसदाउरा, उकाली–ओराली गरेकी उनलाई ‘अफ रोड’मा हुने रेसमा दौडन गाह्रो भएन । पहिलो सहभागितामै उनी प्रथम भइन् । त्यसपछि उनलाई ०७४ सालमा ‘मनास्लु स्टेप रेस’ प्रतियोगितामा भाग लिने मौका मिल्यो । सात दिनमा १७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी प्रथम भइन् ।
सुनमायाको खेलयात्राको थालनी ७ कक्षामा पढ्दै गर्दा नै भएको थियो । उनी पातारासी गाउँपालिका–४ मा रहेको ऋणमोक्ष माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् । त्यहीँबाट पहिलोपटक उनले दौड प्रतियोगितामा भाग लिएकी थिइन् । जुम्लाको सदरमुकाममा भएको त्यो खेल विद्यालयस्तरीय थियो । त्यही प्रतियोगितामा उनी प्रथम भइन् । पहिलोपटकमै प्रथम भएर पाएको पुरस्कारले उनलाई दौडिरहन प्रेरणा मिल्यो । उनले त्यतिवेला थाहा पाइन् कि दौडेर पनि पुरस्कार पाइने रहेछ । सुनमाया ०६८ सालमा भएको जिल्लास्तरीय दौड प्रतियोगितामा पनि प्रथम भइन् । त्यसपछि उनी क्षेत्रीय छनोटका लागि खेल्न नेपालगन्ज जानुपर्ने भयो । पहिलोपटक नेपालगन्ज पुग्दा उनले फरक खालको भूगोल र हावापानी देख्न र अनुभव गर्न पाइन् । उनी नेपालगज्जमा पनि प्रथम भइन् । त्यसपछि उनी ०७३ सालमा एकैपटक राष्ट्रियस्तरमा छनोट भइन् ।
सुनमायाले ०७३ सालमा सबैलाई उछिन्दै १८ वर्षकै उम्मेरमा राष्ट्रपति रनिङ सिल्ड जितिन् । जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि गाउँभरि उनको चर्चा थप चुलियो । राष्ट्रपति रनिङ सिल्ड जितेपछि उनले नियमित रूपमा प्रतियोगिताहरूमा भाग लिन थालिन् । उनी प्रतियोगितामा कहिल्यै पछि परिनन् ।
जुनियरस्तरकै प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले ०७१ सालमा एसएलसी पास गरेकी थिइन् । यहीबीच उनले जुम्ला बजारमा ओलम्पियन हरिबहादुर रोकायाले प्रशिक्षण दिन्छन् भन्ने थाहा पाइन् । उनी रोकायालाई भेट्न गइन् । आफूले प्रशिक्षण लिन इच्छा राखिन् । उनले घरमा ढाँटेर प्रशिक्षक हरिबहादुरलाई भेटिन् ।
आमाबाबुले उनलाई यत्तिकै खलंगा पठाउन चाहेनन् । जुम्लाको खलंगा पठाउन घरपरिवारले सहजै स्विकारेनन् । जिद्दी गरेर पढ्छु भनेर हिँडिन् । दौडका लागि प्रशिक्षण लिने कुरा त घरमा कसैलाई थाहा नै थिएन । उनी त्यतिवेला घरमा ‘पढेर ठूलो मान्छे बन्छु’ भन्ने सपना देखाएर गिनिज बुक वल्र्ड रेकर्डर धावक हरिबहादुरलाई भेट्न पुगेकी थिइन् ।
कर्णालीको दुर्गम भेगमा जन्मिएकी किशोरी खेल क्षेत्रमा लाग्छु भनेर प्रशिक्षक खोज्दैै आएको कुराले ओलम्पियन हरिबहादुरको मन छोयो । सुनमायाको खेलप्रतिको रुचि र लगनशीलताबाट उनी प्रभावित भए । हरिबहादुरले सुनमायालाई आफ्नै घरमा बस्नका लागि कोठा दिए । प्रशिक्षणका लागि कर्णाली स्पोर्टस् क्लबमा भर्ना पनि गरिदिए ।
पारिवारिक परिस्थिति पनि बदलिने मोडमा पुग्यो । त्यसपछि उनका बुबा आफैँ आएर छोरीलाई बजारमा कोठा खोजेर भाडामा लिइदिए । आवश्यक सामान किनिदिए ।
सदरमुकाम आएपछि उनी कनिका निशा उच्च माध्यमिक विद्यालयमा भर्ना भइन् । प्लस टु पढ्न थालिन् । बिहान पढ्ने र दिउँसो दौडको अभ्यास गर्ने । प्रशिक्षक हरिबहादुरले उनलाई कडा अभ्यास गराउँथे । यसैले पढाइभन्दा दौडको प्रशिक्षण र अभ्यासमा बढी समय दिइन् । सदरमुकाममा पढ्न बसेकी छोरी दौड अभ्यास पनि गर्छिन् भन्ने घरमा थाहा थिएन । यहीबीच उनी ०७४ सालमा धरानमा भएको १० किलोमिटर दौडमा भाग लिएर तेस्रो भइन् ।
‘एभरेस्ट म्याराथन’मा तीन–तीनपटक जित हासिल गरेका ओलम्पियन हरिबहादुरलाई सुनमायाको क्षमता पहिचान गर्न समय लागेन । हरिबहादुरले सुनमायालाई १० किलोमिटर हुँदै ४२ किलोमिटर म्याराथनका लागि प्रशिक्षित गरे । राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो । त्यसपछि उनको खेलजीवनको बाटो पनि मोडियो ।
सुनमाया सन् २०१६ को सुरुवातमा ‘ट्रेल रेस’मा सहभागी हुन काठमाडौं पुगिन् । ललितपुरको गोदावरीमा भएको १२ किलोमिटर दूरीको ट्रेल रेस जित्दै उनले खेलप्रेमीहरूको ध्यान आफूतिर तानिन् । त्यतिवेलासम्म सुनमायालाई ट्रेल रेसबारे थाहै थिएन । उनलाई थाहा भयो, उकालो–ओरालो ठाउँमा गर्नुपर्ने दौड नै ट्रेल रेस रहेछ ।
गाउँमा मेलापात, घाँसदाउरा, उकाली–ओराली गरेकी उनलाई ‘अफ रोड’मा हुने रेसमा दौडन गाह्रो भएन । पहिलो सहभागितामै उनी प्रथम भइन् । त्यसपछि उनलाई २०७४ सालमा ‘मनास्लु स्टेप रेस’ प्रतियोगितामा भाग लिने मौका मिल्यो । सात दिनमा १७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी प्रथम भइन् ।
मनास्लु स्टेप रेसको सफलतापछि उनलाई हङकङ जाने मौका मिल्यो । सन् २०१६ डिसेम्बरमा हङकङको एमएसआइजी लान्टाउमा सहभागी हुने पक्का भयो । त्यो थाहा पाएपछि उनमा खुसीको सीमा नै रहेन । ५० किलोमिटर दूरीको एमएसआइजी लान्टाउमा १८ वर्षमुनिकाबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन् । त्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई पनि उनले स्मरणीय बनाइन् ।
सुनमायाले त्यसपछिका वर्षमा पछाडि फर्केर हेर्नुपरेन । उनले २०२२ जुलाईसम्ममा स्वदेश र विदेशमा गरी कुल ५० वटा अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिसकेकी छन् । कोभिड–१९ महामारीले सन् २०२० मा अल्ट्रा दौडलाई पनि असर ग¥यो । यसैले उनले एक वर्ष कुनै पनि दौड प्रतियोगितामा भाग लिन पाइनन् । सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस’ले सुनमायालाई ‘द नर्थ फेस एड्भेन्चर टिम’मा आबद्ध गर्यो । यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पु¥याउन सजिलो बनायो । उनले हरेक रेसमा सहभागी हुनुअघि गरिने अभ्यासका लागि छुट्टै प्रशिक्षक पाउने भइन् । उनले हरेक साता आफ्नो अभ्यासको रिपोर्ट बुझाउनुपर्ने भयो । अहिले त्यही गरिरहेकी छन् । रिपोर्टको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउँछ ।
‘थाइल्यान्ड बाई युटिएमबी’ प्रतियोगिता हुनुअघि उनलाई अस्ट्रेलियाका प्रशिक्षकले अभ्यास गराएका थिए । उनलाई लाग्छ, प्रशिक्षकले छुट्टै रणनीति बनाएर कुद्न पठाएकाले उनी सफल भएकी हुन् । सुनमायालाई सफलता मिल्नुमा ओलम्पियन हरिबहादुर रोकाया र कर्णाली स्पोर्टस् क्लबको महत्वपूर्ण योगदान छ ।
अहिले सुनमाया र उनका दाजु गोपाल बुढाले घरपरिवार समाल्दै आएका छन् । उनकी बहिनी राममाया बुढा काठमाडौँमा पढ्छिन् । कान्छी बहिनी र भतिजा जुम्लाको सदरमुकाम खलंगामा पढ्दै आएका छन् । आमा पनि सदरमुकाममा बस्छिन् । उनका दाजुले घरमा ज्यालामजदुरी गर्दै आएका छन् । उनकी भाउजू धर्मकली बुढाले भनिन्, ‘दुई दाजुबहिनी घरव्यवहार चलाउँदै आएका छन् । घरपरिवारलाई स्वास्थ्य शिक्षादेखि नुनतेल लुगाफाटो उनीहरूले गर्ने गरेका छन् ।’