एक वर्षअघिको कुरा सम्झने हो भने एलेक्स मोर्गनलाई राष्ट्रिय टोलीमा फर्कन्छु भन्ने विश्वासै थिएन । अन्तर्राष्ट्रिय फुटबलमा एक सय १५ गोल गरिसकेकी अमेरिकी स्टार मोर्गनलाई मैदान फर्कनु आफैँमा असहज स्थिति थियो । उनी पछिल्लो दश वर्षमा धेरै समय मेगन रेपिनोसँगै अमेरिकी फुटबलमा स्थान बनाउँदै आएकी छिन् । तर, सन् २०२१ को टोकियो ओलम्पिकमा मोर्गनले स्वाभाविक खेल प्रदर्शन गर्न सकेकी थिइनन् ।
यसपछि उनले आफ्नो बढ्दो उमेरसँगै मैदान छाड्ने सोच पनि बनाएकी हुन् । एक वर्षकी छोरी चार्ली एलिना कारास्कासँग ३५ दिन टाढिनु आफैँमा ठूलो चुनौती थियो । खेलका क्रममा मानसिक तनाव पनि भोगिन् । यद्यपि सन् ०२२ को राष्ट्रिय महिला फुटबल लिगमा मोर्गनले सानदार पुनरागमन गरिन् । १७ खेलमा १५ गोलसहित सर्वाधिक गोलकर्ता चुनिइन् ।
न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा मोर्गन अमेरिकी टोलीमा छिन् । चारपटकको च्याम्पियन टोलीमा मोर्गन निकै लयमा देखिन्छिन् । पहिलो खेलमा भियतनामविरुद्ध उनको प्रदर्शन सानदार थियो । फिटनेसमा समस्या देखिएन । यद्यपि पाएको पेनाल्टी भने सदुपयोग गर्न सकिनन् । एसियाली राष्ट्र भियतनामले कडा टक्कर दिँदा ६३ मिनेट मात्रै मैदानमा रहिन् । अमेरिका ३–० ले विजयी भयो । अमेरिका यसपटक उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहँदा मोर्गनले त्यसलाई सार्थक बनाउन भूमिका खेलिरहेकी छिन् ।
मोर्गनले आमा बनेसँगै खेल राम्रो हुँदै गएको मानेकी छिन् । यद्यपि यहाँसम्म आउन मोर्गनले अनेकौँ चुनौती सामना गर्नुुप¥यो । ‘आमा बनेपछि मलाई खेलमा फर्कन केही समय गाह्रो भयो । अहिले हरेक दिन राम्रो हुँदै गएको छ,’ फरवार्ड मोर्गनले भनेकी छिन्, ‘मैले अहिले सबैथोक खेल र टोलीलाई दिएको छु ।’
मोर्गन जब घरमा पुग्छिन्, तब, सबै चिजलाई छाडेर छोरीलाई समय दिन्छिन् । ‘जब घरमा पुग्छु । खेलको बारेमा सोच्न पाउँदिनँ । मलाई बस् आमाको भूमिका निर्वाह गर्नु छ,’ मोगर्न आमा बन्दाको समस्या र आफ्नो कतव्र्यबारे बताउँछिन् । ‘घरमा हरेक पल खेलजीवनभन्दा पनि बच्चालाई कसरी राम्रो गर्न सकिन्छ, त्यता ध्यान दिन्छु । उसको आवश्यकता के हो, त्यसलाई बुझ्ने प्रयास गर्छु,’ मोर्गन छोरीलाई बुझ्ने प्रयास गर्छिन् ।
आमा बनेपछि पनि मोर्गन सबै क्षेत्रमा उत्तिकै फिट छिन् । सन् २०१० मा मेक्सिकोविरुद्ध डेब्यु गरेपछि मोर्गनले अमेरिकाका लागि दुई सयभन्दा बढी खेल खेलिसकेकी छिन्, जसमा एक सय १५ भन्दा बढी गोल गरेकी छिन् । यससँगै उनले सन् ०१५ र ०१९ मा गरी दुईपटक फिफा विश्वकप ट्रफी उचालेकी छिन् । उनले सन् ०१२ को ओलम्पिकमा स्वर्णपदक र सन् ०२० मा कांस्यपदक जितेकी थिइन् ।
आमा बनेपछि मार्गनको यो पहिलो विश्वकप हो । तीन वर्षीया छोरी चार्ली आफूसँगै छिन् । यसैले मोर्गन यसपटक टोक्यो ओलम्पिकजस्तो एकल छैनन् । एक्लो महसुस हुन पाउनेछैन । छोरीसँगै हुँदा उनको मन खेलमै केन्द्रित हुन्छ । चार्लीले पनि आमा खेलमा हुँदा त्यति दुःख नदिएको मोर्गनको बुझाइ छ । ‘मैले आफ्नो खेललाई शरीरको हिसाबमा बदेलेको थिएँ । खेलमा आमाको रूपमा आफूलाई बदल्नु महत्वपूर्ण कुरा हो,’ ३४ वर्षीया क्यालिफोर्नियाकी मोर्गनले भनेकी छिन् । मोर्गनले यसअघि पनि बताइएकी थिइन् कि प्रसवको कारण उनलाई खेल्न समस्या भएको थियो ।
मोर्गन टोलीकी फरवार्ड हुन् । फरवार्ड हुन त्यति सजिलो पनि छैन । अन्य पोजिसनमा भन्दा बढी चलाख, स्तरीय र द्रुतगति फरवार्डमा हुनुपर्छ । आमा बनेपछि पनि मोर्गन सबै क्षेत्रमा उत्तिकै फिट छिन् । सन् २०१० मा मेक्सिकोविरुद्ध डेब्यु गरेपछि मोर्गनले अमेरिकाका लागि दुई सयभन्दा बढी खेल खेलिसकेकी छिन् । जसमा एक सय १५ भन्दा बढी गोल गरेकी छिन् । यससँगै उनले सन् ०१५ र ०१९ मा गरी दुईपटक फिफा विश्वकप ट्रफी उचालेकी छिन् । उनले सन् २०१२ को ओलम्पिकमा स्वर्णपदक र सन् २०२० मा कांस्यपदक जितेकी हुन् ।
मोर्गनले टेलिभिजनमा प्रोगाम चलाउनेदेखि म्युजिक भिडियोमा अभिनयसमेत गरिन् । सन् २०१४ मा सकर लिग खेलाडी सर्भान्दो कारास्कोसँग विवाह बन्धनमा बाँधिइन् । सन् २०२० अप्रिलमा पहिलो सन्तानको रूपमा चार्ली एलिना कारास्कोलाई पाएकी हुन् । उनलाई टोलीका सहकर्मी साथीले ‘बेबी हर्स,’ उपनामले पनि बोलाउने गरेका छन् ।
उनीसहित हाल अमेरिकी टोलीमा तीन आमा छन् । तीनै आमालाई खेल्न टिमसाथी, एफए, प्रायोजक र समर्थकले साथ दिएका छन् । तर, संसारको केही स्थानमा यो सम्भव छैन । केही मुलुकमा त महिलालाई मैदान प्रवेश गर्न पनि निषेध गरिएको छ । मोगर्नले अब खेलकुदमा आमाहरूलाई हौसला प्रदान गर्न प्रयास गर्ने बताएकी छिन् । ‘हामी खेलकुदमा आमाहरूको हौसला बढाउन काम गर्छाैँ,’ उनले भनिन् ।
अर्जेन्टिनी कप्तान भानिना कोरेयाको यो चौथो विश्वकप हो । उनका दुई जुम्ल्याहा सन्तान छन्, लुना र रोमेओ । ३९ वर्षीया कोरेयाले ४१ खेल खेलिसकेकी छिन् । व्यावसायिक फुटबलमा कोरेयाले बोका जुनियर, सान लोरेन्जोलगायत टोलीबाट खेलेकी छिन् । सन् २००७ मा अर्जेन्टिनाले महिला विश्वकप खेल्न सुरु गर्दा कोरेया गोलकिपर थिइन्, जहाँ अर्जेन्टिना जर्मनीसँग ११–० र इंग्ल्यान्डसँग ६–१ ले पराजित भएको थियो । सन् २०११ मा कोरेयाले राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि बढ्दो दबाबसँगै फिर्ता लिइन् । विश्वकपमा अर्जेन्टिना हालसम्म समूह चरणबाट माथि बढ्न सकेको छैन ।
अमेरिकी टोलीकी अर्की आमा हुन्, क्रिस्टिल डुन । ३१ वर्षीय विंगर क्रिस्टलकी छोली मार्सेल जियान एक वर्षकी छिन् । यद्यपि, क्रिस्टल आमा भएको सात महिनामा मैदान फर्किएकी हुन् । हालसम्म क्रिस्टलले अमेरिकाका लागि एक सय ३४ खेलमा २४ गोल गरेकी छिन् । सन् २०१३ मा स्कटल्यान्डसँग खेल्दै उनले डेब्यु गरेकी थिइन् ।
२९ वर्षीया मेलानी लुइपोईले तेस्रो विश्वकप खेल्दै छिन् । यद्यपि उनी आमा बनेको मात्र नौ महिना भएको छ । उनले यो विश्वकपलाई च्यालेन्जको रूपमा लिएको बताएकी छिन् । चेल्सीकी यी मिडफिल्डरले जर्मनीका लागि ७९ खेलमा १३ गोल गरेकी छिन् ।
जुलिया आर्ट्स अमेरिकी टोलीकी तेस्रो आमा हुन् । ३१ वर्षीया जुलियाले अमेरिकाका लागि सन् ०१५ र सन् ०१९ मा विश्वकप खेलेकी छिन् । अगस्ट २०२२ मा जुलियाले छोरा म्याडन म्याथ्युलाई जन्म दिएकी हुन् । यसपछि पनि डिफेन्सिभ मिडफिल्डर जुलियाले कुनै दबाबबिना मैदान फर्कन सफल भइन् । जुलियाले अमेरिकाका लागि एक सय २० खेल खेलिसकेकी छिन् ।
फ्रान्सको राष्ट्रिय टोलीमा अमेल माज्री एक्ली आमा हुन् । ३० वर्षीया माज्रीकी नौ महिनाकी छोरी मार्यम छिन् । माज्री सन् २०१२ मा विवाहबन्धनमा बाँधिएकी थिइन् । प्रशिक्षक हर्भे रेनाल्डले विश्वास गर्दै माज्रीलाई टोलीमा स्थान दिएका थिए । माज्रीले फ्रान्सका लागि ६९ खेलमा ११ गोल गरेकी छिन् ।
जमैकाकी २९ वर्षीया स्ट्राइकर
चेना म्याथ्युसका तीन छोरा छन् । उनले पहिलो विश्वकप सन् २०१९ मा खेल्दा दुई छोरा थिए । सन् २०२२ मा अर्काे छोरा थपिएका छन् । उनी दोस्रोपटक विश्वकप खेल्दै छिन् । उनी अमेरिकामा जन्मिएर जमैकाबाट खेलिरहेकी छिन् । त्यसअघि उमेर समूहको यू–२३ प्रतियोगिता भने अमेरिकाबाट नै खेलिन् ।
एजेन्सीको सहयोगमा