शुक्रबार बिहान साढे एक बजे पेलेले ब्राजिलको साओ पाब्लोको अस्पतालमा अन्तिम सास लिए । तीनपटकको विश्व च्याम्पियन र विश्व फुटबलकै विकल्परहित महान् खेलाडीले आफ्नो असंख्य समर्थकलाई रुवाएर गएका छन् । म्याराडोनाभन्दा पेले भाग्यमानी पनि ठहरिए । म्याराडोना हृदयाघातबाट निधन हुँदा उनका अगाडि चिकित्सकहरू मात्रै थिए । तर, अस्पतालको बेडमा मृत्युसँग लडिरहँदा पेलेलाई उनका सबै परिवारका सदस्यले साथ दिइरहेका थिए । परिवारका हरेक सदस्यले आफ्ना अभिभावक अब धेरै दिन बाँच्दैनन् भनी अस्पतालमै यसवर्षको क्रिसमस मनाए । गत शनिबार बेडमा बुबासँगै क्रिसमस मनाएको फोटो उनकी छोरी केली नास्किमेन्टोले पोस्ट गरेकी थिइन् ।
तीन साताअघि सामान्य चेकअप गर्न पेले अस्पताल पुगेका थिए । भित्रभित्रै उनलाई क्यान्सरले च्यापिसकेको थियो । चिकित्सकहरूले तत्कालै आइसियुमा राखी पेलेको उपचार प्रारम्भ गरेका थिए । पेलेलाई बचाउन धेरै प्रयास भयो ।
ब्राजिलले छैटौँपटक विश्वकप जितेको हेर्ने पेलेको सपना पूरा भएन । अस्पतालमै पेले रहँदा ब्राजिलियन खेलाडीहरूले ‘पेलेका लागि खेल्ने र छैटौँपटक विश्वकप ट्रफी’ उपहारका रूपमा प्रदान गर्ने संकल्प गरेका थिए । तर, ब्राजिल विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो । पेले र ब्राजिलियन समर्थकको सपना क्रोएसियाले पूरा हुन दिएन ।
प्राणघातक रोग क्यान्सरले बिस्तारै शरीरमा आक्रामण गर्न थालेपछि पेलेले आफ्नो आयु धेरै नभएको थाहा पाएको हुनुपर्छ । यसैकारणले म्याराडोनाको प्रशंसा गर्दै दुई वर्षअघि नै उनीसँगै फुटबल खेल्ने इच्छा उनले देखाए ।
पेले–म्याराडोना को उत्कृष्ट ?
जब–जब पेलेको नाम आउँछ, त्यसवेला म्याराडोनासँगको प्रसंग जोड्नु आवश्यक हुन्छ । यसैगरी म्याराडोनाको चर्चा गरिरहँदा पेलेसँगको सम्बन्ध उल्लेख गरिएन भने अधुरो हुन्छ । जसरीे वर्तमानमा अर्जेन्टिनी लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न छ । समर्थकहरूले मेसी र रोनाल्डोलाई नै वर्तमान समयकै उत्कृष्ट खेलाडी मानेका छन् । अहिले यो प्रश्नको उत्तर आइसक्यो ।
दुई साताअघि कतारमा मेसीले आफ्नो एकल प्रयासमा अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप उपाधि दिलाउँदै आफू रोनाल्डोभन्दा उत्कृष्ट रहेको प्रमाणित गरेका छन् । तर, पेले र म्याराडोनामध्ये को उत्कृष्ट भन्ने प्रश्न यथावत् नै छ । वास्तवमै विश्व फुटबलले प्राप्त गरेका उत्कृष्ट खेलाडीमध्ये पेले र म्याराडोना फरक थिए । यी दुवै खेलाडी आ–आफ्नो समयकै उत्कृष्ट खेलाडीमा पर्थे ।
म्याराडोनाका पुस्ताका समर्थकले उनको जादुमयी खेल प्रत्यक्ष हेर्ने अवसर पाए । पेलेको खेल केवल भिडियो मात्र उपलब्ध छ । यसैकारण म्याराडोनालाई उनका समर्थकले पेलेभन्दा उत्कृष्ट भन्ने दाबी गरिरहे । रमाइलो पक्ष के भने स्वयं म्याराडोना र पेलेले आफूलाई कहिले पनि खुलेर ‘म विश्वकै उत्कृष्ट’ खेलाडी भनी दाबी गरेनन् । सन् २००० अघिसम्म पेले र म्याराडोनाबीचको सम्बन्ध पानी र आगोबराबरकै थियो । दुवैजना एउटै स्टेजमा कहिल्यै बसेनन् । स्टेजमा पेलेको नाम अगाडि आउँदा म्याराडोना आफूलाई अपमानित भएको सम्झेर तुरुन्तै बाहिरिन्थे । पेले पनि के कम, म्याराडोनालाई अगाडि बोलाउँदा त्यस्तै गर्थे ।
यस धर्तीमा हामी दुईजना कहिल्यै एउटै क्लबबाट खेलेनौँ र अवसर पाएनौँ, मलाई विश्वास छ छिटै स्वर्गमा हामी एउटै टोलीबाट खेल्छौँ,’ ब्राजिलियन महान् फुटबलर पेलेले दुई वर्षअघि डिएगो म्याराडोनाको निधनपछि भावुक हुँदै इस्टाग्राममा लेखेका थिए, ‘त्यसवेला तिमी (म्याराडोना) सँग स्वर्गमा भरपूर मनोरञ्जनका साथ फुटबल खेल्ने इच्छा पूरा गर्छु ।’
फिफाले सन् २००० मा पेले र म्याराडोनालाई संयुक्त रूपमा शताब्दीकै उत्कृष्ट खेलाडी घोषणा गरेको थियो । त्यो वेला पेलेले सहजै उपाधि स्वीकार गरेका थिए । घमन्डी म्याराडोनाले पेलेलाई किन उत्कृष्ट खेलाडी बनाएको भनी उपाधि ग्रहण गरेनन् । मञ्चमा मन्द मुस्कानमा पेले बसिरहँदा म्याराडोनाले भने, ‘म नै विश्वको सर्वोत्कृष्ट खेलाडी हुँ, पेले सधैँ म पछि मात्रै आउँछ ।’
यतिसम्म म्याराडोनाले पेलेलाई ईष्र्या गर्थे । पछि म्याराडोना र पेलेबीचको सम्बन्ध बिस्तारै सुमधुर हुन थाल्यो । दुवैले एक–अर्कालाई सम्मान गर्दै हिँडे । जहाँ भेटे पनि अँगालो हाल्थे र माया गर्थे । म्याराडोनाले छोटो समयका लागि अर्जेन्टिनी टेलिभिजनमा एउटा कार्यक्रम चलाए, जहाँ पेलेलाई पहिलो कार्यक्रममै पाहुनाका रूपमा बोलाए । त्यो कार्यक्रममा म्याराडोनाले पेले र आफूबीचको सम्बन्ध दाजुभाइजस्तै भएको खुलासा गरे । ‘पेले मेरा ठूला दाइजस्तै हुन्, फुटबलमा दाजु नै उत्कृष्ट छन्,’ पेलेको प्रशंसामा म्याराडोनाले शब्द खर्चिए ।
अन्ततः यो दुई वर्षको अवधिमा विश्व फुटबलले दुई महान् हस्तीलाई गुमाएको छ । विश्व फुटबलमै पेले र म्याराडोनाले फरक शैलीको विकास गरेका थिए । एक शक्तिशाली प्रहारमा विश्वास गर्थे । अर्को मैदानमा ड्रिब्लिङ गरी विपक्षीलाई छकाएर गोल गर्न रुचाउँथे । पेले र म्याराडोनाका खेल्ने शैली फरक भए पनि उनीहरू फुटबलकै सधैँभरि चम्किरहने तारा हुन् । फुटबल इतिहासका पात्र बनेका पेले र म्याराडोना अब स्मृतिका पानामा रहनेछन् ।
जुत्ता नहुँदा क्लबले कारबाही गर्यो
सबैको जस्तै मेरो पनि निकनेम छ । धेरैपछि मलाई साथीहरूले अर्के नामले बोलाउने गरेको थाहा पाएँ । सान्तोष क्लबका साथीहरू मलाई ‘गासोलिना’ निकनेमले बोलाउँथे । गासोलिना कसलाई भन्ने गरेको थाहा नै पाएन । पछि मात्र थाहा पाएँ, गासोलिना भनेर मलाई पो बोलाउँदा रहेछन् । ब्राजिलमा गासोलिना भनेको मूर्खहरूलाई जनाउँछ । त्यो नाम मेरो काकाले राखेका थिए । मलाई लाग्दैन, म त्यति मूर्ख छु । काकाले केही सोचेर नै राखेको हुनुपर्छ । जिटो पनि निकनेम थियो । तर काकालाई त्यो मन लागेन । सान्तोषमा यो नाम प्रसिद्ध भयो । सान्तोषमा म गासोलिनाभन्दा पेले नामले नै प्रसिद्ध थिएँ ।
रेडियोमा विश्वकप फाइनल सुनेँ
सन् १९५० मा म नौ वर्षको थिएँ । ब्राजिल फाइनलमा पुगेको थियो । ब्राजिलले स्विडेनविरुद्ध भिडेको थियो । अझैसम्म याद छ, फाइनलको दिन मेरो बुबाले कोलनीका ५० साथीहरूलाई फाइनल कमेन्ट्री सुनाउनुभएको थियो । हाम्रो कोलनीमा कसैसँग पनि टिभी थिएन । मेरो बुबासँग कोलनीकै सबैभन्दा राम्रो रेडियो
सेट थियो । त्यसमा प्रस्ट सुनिन्थ्यो ।
फाइनल कमेन्ट्रीअघि बुबाका साथीहरूले डिं«ग्क्स गरेका थिए । टेबुलमा केक, स्यान्डविच आदि प्रशस्त थिए । फाइनल म्याच सुरु भएपछि सबैको ध्यान कमेन्ट्रीमा थियो । ब्राजिलले स्विडेनलाई हराएर विश्व च्याम्पियन बनेपछि हामी खुसीले रमायौँ । मैले त्यसपछि विश्वकपका उच्च गोलकर्ता जिजिन्होको तस्बिर भित्तामा टाँसेँ । जीवनको एक रमाइलो क्षणमध्ये विश्वकप फुटबल रेडियोमा सुनेको पनि पर्छ ।
जुत्ता र लुगा नहुँदा कारबाही
सान्तोषको सुरुवाती दिन गाह्रो थियो । त्यो वेला मसँगै केही थिएन । खेल्नका लागि राम्रो टि–सर्ट र जुत्ता पनि थिएन । एक औसत परिवारमा जन्मेका कारण मैले फुटबलमा आवश्यक सामग्री संकलन गर्न सकिनँ । ती दिन सम्झना अहिले पनि दुःखी र भावुक हुने गर्छु । सान्तोषका बाक्विन्होले स्पष्टसाथ भनेका थिए, ‘स्तरीय जुत्ता र टिसर्ट नहुने खेलाडी टिममा पर्दैन ।’ जुत्ता र जर्सी नभएकै कारण एकपटक म प्रतिबन्धमै परेँ ।
मैदानमा फ्याँकेको पैसा आमालाई
त्यसवेला मसँगै खासै पैसा थिएन । केही गर्नका लागि रुपैयाँ नै चाहिन्थ्यो । हुन पनि हो, मानवीय जीवनमा धनसम्पत्ति नै सबै हो । यदि यो नै छैन भने संसार शून्य हुन्छ । जीवनमा मैले एकपटक अनौठो काम गरेको छु । मलाई याद छ, बिएसी रंगशालामा एउट फाइनल खेल थियो । त्यो खेलमा मैले विजयी गोल गरेको थिएँ । हामीले उपाधि जित्यौँ । अनि दर्शकदीर्घाबाट मानिसहरूले पैसा फ्याकेँ । मैले भुँइमा खसेको पैसा टिपेँ । त्यो खल्तीमा राखेँ । घरमा आमालाई सबै पैसा दिएँ ।
फिसिङ गर्दा खसेँ
स्कुल वा मैदानबाट फर्केपछि म माछा मार्न जान्थेँ । हाम्रो कोलनीबाट समुद्र धेरै टाढा थिएन । नियमित म समुद्रमा जान्थेँ र फिसिङ गरी फर्कन्थेँ । जब म सान्तोषबाट व्यावसायिक फुटबल खेलिरहेको थिएँ, फिसिङ पनि साथसाथै चलिरह्यो । मैले कहिल्यै कसैलाई निराश पारिनँ । मेरो बल्छीमा सानो वा ठूलो माछा परेको हुन्थ्यो नै । सान्तोषका गोलरक्षक क्लाउडियो मिल्ने साथी थिए । क्लाउडियो र म एक दिन फिसिङ गर्न गयौँ । समुद्रको किनारमा अलि ठूलो ढुंगाबाट फिसिङ गर्न मन लाग्यो । म त्यहाँ पुगेँ । बल्छी मिलाउने क्रममा मेरो खुट्टा चिप्लियो । म एकैपटक समुद्रमा डुबेँ । मलाई स्विमिङ आउँथ्यो, तर आत्तिएँ । क्लाउडियोले मलाई बचायो । त्यो घटना म बिर्सिन सक्दिनँ ।
(पेलेको अटोबायोग्राफी ‘पेले’बाट साभार)