२२औँ संस्करणको कतार विश्वकप फुटबल भर्खरै सम्पन्न भयो । तर, खेलप्रेमीबीच कतार विश्वकपको चर्चा अझै सेलाएको छैन । मध्यपूर्वी एसियाली देश कतारले आयोजना गरेको विश्वकपमा युवा खेलाडी स्टारका रूपमा चम्किँदा सिनियर स्टार खेलाडीले भने औसत प्रदर्शन गरे । कुनैले पहिलोपटक तथा कुनै खेलाडीले विश्वकपलाई अन्तिम यात्रा बनाए । प्रिक्वार्टरफाइनलदेखि फाइनलसम्मका खेल सनसनीपूर्ण टाइब्रेकरबाट छिनोफानो भयो । टाइब्रेकरमा फ्रान्स, स्पेन, जापान, ब्राजिल र नेदरल्यान्ड सिकार भए ।
३२ राष्ट्रबीचको विश्वकप यही नै अन्तिम थियो । चार वर्षपछि आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले भाग लिनेछन् । यसैकारण पनि कतार विश्वकप ऐतिहासिक नै मान्नुपर्छ । ९२ वर्षको इतिहासमा सन् १९५८ पछि चमत्कारी नतिजा निस्किए । यसपालि २२ प्रतिशत नतिजा अनुमानभन्दा विपरीत थियो । सन् १९५८ मा पनि २४ प्रतिशत नतिजाअनुसारभन्दा विपरीत हुँदा शक्तिशाली राष्ट्र स्तब्ध बनेका थिए ।
विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल यसैपालि भयो । यसपटक विश्वकपभरिमा एक सय ७२ गोल हुँदा फ्रान्सका केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक नै गरे । सन् १९६६ मा इंग्ल्यान्डका खेलाडी हट्र्सले फाइनलमा ह्याट्रिक गरेका थिए, त्यसपछि एम्बाप्पे दोस्रो खेलाडी बने । गोल्डेन बुट जितेका एम्बाप्पेले आठ गोल ठोके । दोहामा दर्जनौँ कीर्तिमान बनिरहँदा केवल एक हजार चार सय ५८ सट मात्र भयो । यसको अर्थ हो प्रतिएक गोलका लागि २२.८ सट खेलाडीले प्रहार गरे । रमाइलो पक्ष के छ भने कतार विश्वकपमा २३ पेनाल्टी रेफ्रीले दिँदा फल भने कम दिएका थिए । यसपालि रेफ्रीले समग्रमा एक हजार पाँच सय ९९ फल दिए ।कतारले विश्वकप आयोजना गर्न आँखा चिम्लेर अर्बौं डलर खर्चिंदा फिफाका अध्यक्ष इन्फाटिन्होले समापनमा भनेका थिए, ‘कतार विश्वकप मैले आजसम्म हेरेको विश्वकपभन्दा अति नै उत्कृष्ट हो, यसको हाराहारी अरू छैन ।’
मोरक्कोको उदय
मोरक्को विश्वकपकै रहस्यमयी टोली बन्यो । प्रतियोगिताको आधा खण्डबाटै मोरक्को घर फर्किने अनुमान थियो । सम्भवतः मोरक्कोका खेलाडीले पनि चौथो स्थानको मेडल झुन्ड्याएर घर फर्किने विश्वास गरेका थिएनन् । उनीहरू केवल प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ दोहा पुगेका थिए । सहभागी कुनै टोलीलाई आँक्न मिल्दैन भन्ने प्रमाण मोरक्कोले विश्वलाई देखायो । यसै कारण धेरै जसोले मोरक्कोलाई रहस्यमयी टोली भन्न रुचाएको हो । क्रोएसिया र बेल्जियमजस्ता युरोपकै शक्तिशाली र उपाधि दाबेदार मानेको राष्ट्रको समूहमा परेको मोरक्कोलाई समूहको तेस्रोसम्म हुन सक्ने भनियो ।
तर, फुटबल खेल हो । जहाँ ९० मिनेटको खेलभित्र जे पनि नतिजा आउन सक्छ । मोरक्कोले यही ९० मिनेटको खेलमा उथलपुथल नतिजा निकाली ऐतिहासिक रूपमा सेमिफाइनलको स्थान रक्षा गर्यो । विश्वकप चलिरहँदा ‘दिस टाइम फर मोरक्को’समेत खुबै प्रचार भयो । विपक्षीको एक मात्र गल्तीमा गोल गर्न सक्ने र आवश्यक पर्दा बलियो न बलियो डिफेन्स रणनीति अपनाउने मोरक्कोको सफलताको सूत्र थियो । मोरक्कोको रणनीति विपक्षी प्रशिक्षक र खेलाडीले बुझनै सकेनन् । विपक्षीले रणनीति बुझ्दा खेल मोरक्कोले जितिसकेको हुन्थ्यो ।
बेल्जियम ‘गोल्डेन जेनेसन’का खेलाडीसहित विश्वकपको मैदानमा उत्रिएको थियो । तर, क्रोएसियालाई बराबरीमा रोकेको मोरक्कोले बेल्जियमलाई २–० ले हरायो । प्रिक्वार्टरफाइनलमा स्पेनमाथि सनसनीपूर्ण जित र क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध पार्दै मोरक्को अफ्रिकन महादेशबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बन्यो ।
सेमिफाइनलमा फ्रान्सविरुद्ध राम्रो प्रदर्शन गरेको मोरक्कोले तेस्रो स्थानको प्लेअफमा क्रोएसियाविरुद्ध त्यही स्तरको खेल पस्कन सकेन । मोरक्कोको ऐतिहासिक सफलतापछाडि उनीहरूको परिवार थियो । पहिलो खेलदेखि तेस्रो स्थानसम्मको प्रतिस्पर्धामा खेलाडीलाई परिवारले भरपूर साथ दिए । हार र जितको क्षणमा परिवारका सदस्यहरूले मैदानमै पुगेर साथ दिँदा खेलाडीहरूले कुनै पनि क्षण ‘होम सिक’ अनुभव गर्नुपरेन ।
सनसनीपूर्ण र अप्रत्याशित नतिजा
मध्यपूर्वी एसियामा विश्वकप आयोजना भएको यो नै पहिलोपटक हो । विश्व फुटबललाई यही नै सनसनीपूर्ण लाग्यो । ९२ वर्षको विश्वकप इतिहासमा कतारले फरक मौसममा खेल आयोजना गर्यो । आफ्नै भूमिमा एसियाली राष्ट्रहरूले सानदार प्रदर्शन गरे । अपवाद रूपमा आयोजक राष्ट्र कतारले मात्र नराम्रो प्रदर्शन गर्यो । दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, इरान र साउदी अरेबियाले विश्वकपलाई यादगार बनाए । यस नतिजाले कतारको खराब प्रदर्शनसमेत सबैले बिर्से । जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले प्रिक्वार्टफाइनलसम्म स्थान सुरक्षित गरे । विश्वकपमा पहिलोपटक तीन एसियन राष्ट्र नकआउट चरणमा पुगे । तर, प्रिक्वार्टरफाइनलभन्दा एसियाली मुलुक माथि जान सकेनन् । यद्यपि यसपटक एसियाली राष्ट्रले समूह चरणमा देखाएको खेल पश्चिमा राष्ट्रको कल्पनाभन्दा टाढाको बन्यो ।
ग्रुफ अफ डेथ’ समूहमा रहेको जापान समूह विजेता नै बन्यो । पूर्वविश्व च्याम्पियन स्पेन र जर्मनीमाथि जापानले चामत्कारिक जित निकाल्यो । जापानले यी दुवै राष्ट्रलाई समान २–१ को नतिजाले स्तब्ध पार्यो ।
‘ग्रुफ अफ डेथ’ समूहमा रहेको जापान समूह विजेता नै बन्यो । पूर्वविश्व च्याम्पियन स्पेन र जर्मनीमाथि जापानले चमत्कारी जित निकाल्यो । जापानले यी दुवै राष्ट्रलाई समान २–१ को नतिजाले स्तब्ध पार्यो । विश्वकपमा यस्तो नतिजा बिरलै आउने गर्छ । चारपटकको विश्व च्याम्पियन जर्मनी लगातार दोस्रोपटक समूह चरणबाट बाहिरिनुपछाडि जापानसँगको हार नै मुख्य थियो ।
साउदी अरेबियाले अर्जेन्टिनामाथि २–१ को जित निकाल्दा विश्वकपमा हल्लीखल्ली भयो । वर्तमान समयकै महान् खेलाडी लियोनल मेसीको नेतृत्वमा रहेको र तेस्रोपटक उपाधि जित्ने लक्ष्यका साथ दोहा पुगेको अर्जेन्टिना पहिलो खेलमै पराजित भयो । साउदी अरेबियाले आफ्नो फुटबल इतिहासमा प्राप्त यस जितले एक दिन सार्वजनिक बिदा नै दियो ।
विश्वकपमा दक्षिण कोरियाको उपस्थिति राम्रो रह्यो । युरोपियन लिगमा आबद्ध धेरैजसो खेलाडीले भरिएको दक्षिण कोरियाले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई अन्तिम खेलमा २–१ ले पाखा लगायो । पोर्चुगलमाथिको सनसनीपूर्ण जितका साथ दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनायो । इरानले समूह चरणमा वेल्समाथिको जित पनि विश्वकपको एक स्मरणीय खेल थियो ।
एसियाली राष्ट्रहरूले २२औँ संस्करणमा निकालेको नतिजाले आउँदो चार वर्षपछि हुने विश्वकपमा शक्तिशाली राष्ट्रलाई थप मिहिनेत गर्नुपर्ने सन्देश दिएको छ । एसियाली राष्ट्र मात्र होइन, अफ्रिकनले पनि सनसनीपूर्ण नतिजा निकाले । ट्युनिसियाले साबिक विजेता फ्रान्समाथि १–० को जित हात पार्यो । क्यामरुनले ब्राजिललाई १–० ले निराश पार्यो ।
स्टार खेलाडीहरूको बहिर्गमन
अहिलेका चर्चित युवा र सिनियर खेलाडीहरूले विश्वकपको ट्रफी चुम्न पाएनन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, पेपे, बेल्जियमका इर्डन हेजार्ड, रामेलु लुकाकु, ब्राजिलका नेमार जुनियर, क्रोएसियाका लुका मोड्रिच, उरुग्वेका लुइस सुआरेज, इंग्ल्यान्डका ह्यारी केन आदि स्टार खेलाडीहरू विश्वकपबाट छिटै बाहिरिए । यी खेलाडीहरू सेमिफाइनलअघि नै घर फर्किए । उमेरको हिसाबले रोनाल्डो, सुआरेज, लुकाकु, मोड्रिच तथा हजार्डले अन्तिम विश्वकप खेलिरहेका थिए । उनीहरूले कतार विश्वकपलाई अन्तिम भनेका थिएनन् । कम्तीमा एकपटक विश्वकप उपाधि जित्ने ठूलो आकांक्षासाथ उनीहरू मैदानमा उत्रिएका थिए । तर उनीहरू खाली हातै घर फर्किए ।
स्टार खेलाडीको जमातमा सबैभन्दा ठूलो पीडा रोनाल्डोले सहनुपर्यो । प्रशिक्षक फर्नान्डो सान्तोषसँग कुरा नमिल्दा रोनाल्डोले प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमा पहिलो ११ खेलाडीभित्र परेनन् । विश्वकपको समीकरणअनुसार जित्दै जाँदा मेसी र रोनाल्डोबीच फाइनल भिडन्त पक्का थियो । यसमा अर्जेन्टिना र पोर्चुगलले खेल निरन्तर जित्नुपर्ने थियो । धेरैले पोर्चुगल र अर्जेन्टिनाबीचको फाइनल हुने ठोकुवा नै गरेका थिए । तर, रोनाल्डोको टिम क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरियो । योसँगै रोनाल्डोको पाँचपटकको प्रयासपछि पनि विश्वकप जित्ने सपना अधुरै भयो । वर्तमान समयकै उत्कृष्ट खेलाडी विश्वकपबाट यसरी लजास्पद हार व्यहोरेर बाहिरिन्छन् भन्ने सायद कसैले सोचेका थिएनन् । अर्कोतिर ब्राजिल क्रोएसियासँग क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा स्तब्ध भयो । राम्रो सेपमा देखिएको ब्राजिलका नेमारको विश्वकप जित्ने सपना पनि यसपटक अधुरै भयो ।
अद्भूत प्रविधिको प्रयोग
कतारले विश्वकपलाई ऐतिहासिक र उत्कृष्ट बनाउन केही कमी गरेन । तेलखानीकै धनी राष्ट्रमध्ये एक कतारले भौतिक पूर्वाधारदेखि अत्याधुनिक प्रविधि प्रयोग गर्न अर्बौं डलर खर्च गर्यो । जाडो मौसममा पनि आठैवटा रंगशालाको वातावरण जुन–जुलाईकै जस्तो बनाउन कतारले एसी जडान गर्यो । अन्य देशले यस्तै मौसममा विश्वकप प्रस्ताव गरेको भए असम्भव हुन्थ्यो । तर, कतारले सम्भव बनायो । रसियाले विश्वकप आयोजना गर्न केवल १५ बिलियन डलर खर्च गरेको थियो, कतारले २२० मिलियन डलर खर्च गर्यो ।
विश्वकपलाई विवादरहित बनाउन भिडियो असिस्ट रेफ्री (भिएआर) को व्यापक प्रयोग भयो । भिएआरले खेलाडी अफ साइडमा बसेको हो वा होइन भनी एक–एक इन्चको हिसाब गर्यो । खेलाडीको अन्तिम टच हेर्न बलमै सेन्सर प्रयोग गरियो । यही सेन्सरले नै समूह चरणमा रोनाल्डोको एउटा हेडिङ गोलले मान्यता पाएन । उनले हेडिङ गरेको दाबी गरे पनि बलले रोनाल्डोको कपाल छोएको थिएन । विश्वकपमा पहिलोपटक तीन महिला रेफ्रीले अवसर पाए । विश्वकपलाई विवादरहित बनाउने भनिए पनि स्पेनका रेफ्रीले नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनलमा अहिलेसम्मकै सर्वाधिक १७ कार्ड देखाए, जसमा एक रातो कार्ड पनि समावेश रह्यो ।
मदिरा निषेध, महँगा होटेल
पश्चिमा समर्थकले रंगशालाभित्र खेलको आनन्द नाटकीय रूपमा सम्पन्न भएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलमा मात्रै भरपूर लिए । खेलको मज्जाबाहेक अन्य पक्षमा उनीहरूको नजरमा कतार विश्वकप अहिलेसम्मकै झुर थियो । रंगशालाभित्र उनीहरूले रक्सी, वाइन र वियर सुंग्नसमेत पाएनन् । महिलाहरूमाथि बडी सो गर्न नपाउने प्रतिबन्ध नै थियो । यद्यपि मिस क्रोएसियन इभानाले आयोजकले बनाइएको सबै नियम तोडिन् । उनी बिकिनी पहिरनमै रंगशालाको प्यारापिटमा देखिरहिन् । साथै अर्जेन्टिनाले उपाधि उचालेको दिन अर्जेन्टिनी एक महिलाले कम्मरमाथिको भाग निर्वस्त्र राख्न भ्याइन् ।
यी दुई घटनाबाहेक एक महिनासम्म चलेको विश्वकपमा अन्य समर्थकले कतारकै नियम पालना गरे । अल्कोहल प्रतिबन्ध लगाउँदा अमेरिकन कम्पनी बुडवेसेरले ठूलै घाटा व्यहोर्यो । दबाबपछि कतारले अल्कोहल प्रतिबन्धमा खुकुलो गरेको थियो । फिफाका अध्यक्ष इन्फाटिन्होले कतारको बचाउ गर्दै भनेका थिए, ‘तपाईं तीन घन्टा अल्कोहलविना पनि बाँच्नुहुन्छ ।’
यो १२ वर्षभित्र कतारले भौतिक पूर्वाधारमा निकै फड्को मार्यो । दोहा पुगेका विदेशी समर्थक, अफिसियल तथा खेलाडीहरू कतारको विकास देखेर दंग परे । विश्वकपकै अवसर पारेर कतारले होटल रुमको चार्ज यति महँगो बनायो कि आमसमर्थकले व्यहोर्न सक्दैनथे । पाँचतारे होटेलको कुरा छाडौँ, फ्यान भिलेजको एक कोठाको चार्ज नै १८५ पाउन्ड थियो ।
०००