उत्तरार्द्धमा रोनाल्डोको खेलजीवन

खेलविज्ञ भन्छन्– अन्तर्राष्ट्रिय खेलमा अब रोनाल्डोको समय सकियो

रमेश सुवेदी रमेश सुवेदी
शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण

जीवनमा सबै सफलता हात पारेँ । राष्ट्रलाई विश्व च्याम्पियन बनाउने ठूलो धोको थियो । यो सफलता दिलाउन पाँचपटक प्रयास पनि गरेँ तर सकिनँ, सम्भवतः अब कहिल्यै पनि सक्दिनँ ।’ कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भनेका अभिव्यक्ति हुन् यी । रोनाल्डोले बोलेका शब्दहरू विश्लेषण गर्दा उनी विश्वकपको असफलतामा असाध्यै निराश थिए भन्ने स्पष्ट हुन्छ । 


एक फुटबल खेलाडीको अन्तिम इच्छा नै विश्व च्याम्पियन हुने हो । आफूलाई महान् खेलाडी प्रमाणित गर्न पनि उनीहरू यसको पछाडि दौडन्छन् । र, संसारका नाम चलेका खेलाडीले विश्वकप उपाधि जित्न नसक्दा सबै चिज गुमाएको आभास गर्छन् । सँगै उनीहरूले आफ्नो जीवनलाई एउटा असफल कथासँग जोड्छन् । 
अहिले यही अवस्था ठ्याक्कै रोनाल्डोले भोगिरहेका छन् । अनौपचारिक रूपमा रोनाल्डोले कतार विश्वकपलाई नै अन्तिम बनाएका थिए । लगातार पाँच विश्वकपमा गोल गर्ने उनी एक मात्र खेलाडी बने । यही नै उनले विश्वकपमा प्राप्त गरेको एक मात्र सफलता बन्यो । 


विश्वकपको केही समय अगाडि र विश्वकप दौरान रोनाल्डोले सम्भवतः करिअरमै ठूलो तनावको सामना गरेका थिए । विश्वकप सुरु हुन केही दिनअघि मात्रै रोनाल्डोको म्यानचेस्टर युनाइटेडसँग नाता तोडियो । क्लबविहीन भएका रोनाल्डो पोर्चुगललाई विश्वकप ट्रफी दिलाउन अग्रसर भए । यसैबीच, मिडियामा आएका समाचारको पछि उनी लागेनन् । भित्रभित्रै रोनाल्डो र पोर्जुगलका प्रशिक्षक फर्नान्डो सान्तोषबीचको सम्बन्ध पनि बिग्रिसकेको थियो, जसको परिणाम पोर्चुगलले मोरक्कोसँग क्वार्टरफाइनलमा व्यहोर्नुप¥यो । 


मोरक्कोविरुद्धको खेलमा रोनाल्डो दोस्रो हाफमा मात्र मैदानमा छिरे । त्यसवेला पोर्चुगललाई निकै ढिला भइसकेको थियो । क्वार्टरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोको फिफा विश्वकप जित्ने सपना चकनाचुर भयो । खेल सकिनासाथ आँसु झार्दै रोनाल्डोले मैदान छाडे । कुनै साथीसँग बोलेनन् । जीवनको अन्तिम विश्वकपबाट रोनाल्डोको बिहिर्गमनसँगै उनको घमण्डीपनको पनि चर्चा हुन थाल्यो । सन् २००८ को विश्वकपमा पनि रोनाल्डो यसरी नै बेन्चमा बसेका थिए । त्यसपछि त्यो अवस्था उनले सन् २०२२ मा व्यहोरे । पाँचपटकको ‘बालोन डि अर’ विजेता रोनाल्डोको यो अवस्था अकल्पनीय रह्यो । उनले चाहेको र सोचेजस्तो केही भएन । खेलजीवनको उत्तराद्र्ध कहाँ पुगेर टुंगिन्छ त्यसबारे पनि उनी अनभिज्ञ देखिन्छन् । 


रोनाल्डो ३७ वर्षका भए । अरू खेलाडी भए यो उमेरमा फुटबलबाट सन्न्यास लिइसक्थे । तर, रोनाल्डो अझै खेल्न छाड्ने मनस्थितिमा छैनन् । ‘क्लबविहीन भएका उनी फेरि रियल म्याड्रिड नै पुग्ने त होइनन् ?’ उनका प्रशंसकले चासो दिँदै भनिरहेका छन्, ‘बढ्दो उमेरसँगै त्यहाँ पनि बेन्चमै सीमित हुनुपर्ने हो कि ?’


 विश्वकप सकिएको केही महिनापछि नै खेलाडी किनबेच हुँदै छ । त्यसवेला रोनाल्डोलाई कुन क्लबले किन्ने हो, अहिलेसम्म संकेत देखिएको छैन । उनलाई भिœयाउन सामान्य रकमले पुग्दैन । पाका उमेरका खेलाडीलाई ठूलो लगानी गर्न कोही पनि चाहँदैनन् । बरु रोनाल्डोमाथि खर्चिने रकममै दुई वा चारजना युवा प्रतिभावान् खेलाडी भित्र्याउने क्लबहरूको मनशाय हुन सक्छ । यसकारण पनि आउँदो दिनको युरोपियन फुटबलमा रोनाल्डोको भविष्य अनिश्चितजस्तै देखिन्छ । रोनाल्डोको आगामी खेलजीवनबारे चर्चा चलिरहेकै छ । कतिपयले उनको फिटनेसका कारण अझै खेल्ने दाबी गरिरहेका छन् । तर, खेलविज्ञहरू भने देशको प्रतिनिधित्व गरेर खेल्ने समय अब उनको सकिएको भनिरहेका छन् । मोरक्को र पोर्चुगलबीचको खेल हेर्न दोहास्थित अल थुमाम मैदानमै पुगेका खेलविज्ञ सञ्जीव मिश्र भन्छन्, ‘अन्तर्राष्ट्रिय खेलमा अब रोनाल्डोको समय सकियो । तर, प्रशिक्षकले चाहेमा केही समय खेलाउन सक्छन् । उनले ९० मिनेट नै चाहिँ खेल्न गाह्रो छ ।’ 


यद्यपि रोनाल्डोले चाहे एसिया वा खाडी मुलुककै कुनै धनी क्लबमा आबद्ध हुन सक्छन् । रोनाल्डोले आफू खाडी वा एसियाली मुलुकमा जान्छु मात्र भन्नुपर्छ, त्यहाँ उनलाई अनुबन्ध गर्नेको होड निकै हुने देखिन्छ । तर, रोनाल्डोको नजर युरोपियन क्लबतिरै देखिन्छ । यदि युरोपियन क्लबले नलिने र अरबी मुलुक उनी नजाने अवस्था आएमा रोनाल्डोको खेलजीवन अन्त्य भएको बुझ्न कठिन हुनेछैन । 


क्लब र राष्ट्रका सफल खेलाडी
सन् २००३ मा रोनाल्डोले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । करिअरको पहिलो युरो २००४ को समूह चरणमा ग्रिसविरुद्ध थियो । सन् २००६ मा इरानविरुद्ध उनले विश्वकपमै पहिलो गोल गरे । सन् २०१० र ०१४ को विश्वकपमा पोर्जुगललाई जित दिलाउन उनले गोल गरे । उनले विश्वकप आठ गोल गरेका छन् । सन् २०१८ को विश्वकपमा उनले स्पेनविरुद्ध ह्याट्रिक गोल गरेका थिए । रोनाल्डोले देशका लागि सर्वाधिक एक सय ९६ ‘क्याप’ जित्दा एक सय १८ गोल गरेका छन् । विश्वकपमा उनले नकआउटमा गोल गर्न सकेनन् । विश्वकपको नकआउट चरणमा उनले पाँच सय ७० मिनेट बिताउँदा मात्र २७ सट प्रहार गरे । यी सबै कहानीपछि गत साता ‘द गार्डियन’ले लेखेको थियो, ‘नचाहिएको सुपरस्टार ।’


रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरो जित्यो । यसपछि उनीविरुद्ध उठ्ने प्रश्न कम भए । बढ्दो उमेरसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाडेका थिए । म्याड्रिडमा नौ वर्ष रहँदा दुई सय ९२ खेलमा तीन सय ११ गोल गरे । म्याड्रिडमा उनले नजितेको कुनै उपाधि थिएन । अचानक सन् २०१८ मा उनी म्याड्रिडबाट सिरिए लिग युभेन्टसमा गए । तीन वर्ष युभेन्टसमा रहँदा उनले ९८ खेलमा ८१ गोल गरे । तर, युभेन्टससँगको प्रतिबद्धताअनुसार च्याम्पियन्स लिगको ट्रफी उचाल्न सकेनन् । त्यसपछि २०२१ मा पुरानै क्लब म्यानचेस्टर युनाइटेड फर्किए । 


पाँचपटकको च्याम्पियन्स लिग विजेता 
धेरैले युभेन्टस छाडेपछि रोनाल्डोको दिन उल्टो सुरु भएको मान्छन् । युनाइटेड पुनः आबद्ध हुँदा उनले ४० खेलमा १९ गोल गरे । मैदानमा उनको राम्रो फर्म देखिएन । क्लबसँगको सम्बन्धसमेत नराम्रो हुँदै गयो । उनले व्यवस्थापक र प्रशिक्षकको खुलेरै विरोध गरे, त्यसपछि क्लब नै छाडे । 


रोनाल्डो सन् २००९ देखि २०१८ सम्म रियल म्याड्रिडमा रहे । त्यसवेला कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्ध भएका रोनाल्डोले म्याड्रिडलाई १५ ट्रफी दिलाए । स्पेनिस ला लिगा र चार च्याम्पियन्स लिग उपाधि उनको नाममा रह्यो । समग्रमा पाँच च्याम्पियन्स लिग विजेता म्याड्रिकका सर्वाधिक स्कोरर पनि उनी बने । सन् २०१३ र २०१४ मा लगातार उनले ‘बालोन डि अर’ जिते । साथै चारपटक युरोपियन गोल्डन बुट अवार्ड जिते । च्याम्पियन्स लिगमा सर्वाधिक एक सय ८३ खेल खेल्ने कीर्तिमान रोनाल्डोकै नाममा रह्यो, जहाँ ४२ असिस्ट गर्दा एक सय ४० गोल उनको नाममा छ । करिअरमा एक हजार एक सय खेल खेलेका रोनाल्डोले आठ सयभन्दा बढी गोल गरिसकेका छन् । क्लबस्तरमा सर्वाधिक सफल खेलाडी रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन नसकेको असफलता बोकेर आगामी खेलजीवन अगाडि बढाउनेछन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार