मध्यपूर्वी एसियामा पहिलोपटक विश्वकप आयोजना भइरहेको छ । विश्वकपको मध्यान्तर शुक्रबारदेखि भएको छ । अर्थात् प्रतियोगिताको लगभग आधा चरण खेल समाप्त भइसकेका छन् । क्वार्टरफाइनलदेखि फाइनलसम्मका खेलहरू बाँकी छन् । फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपलाई विवादरहित बनाउन भिडियो असिस्ट रेफ्री (भिएआर)लाई व्यापक प्रयोग गरेको छ । गोल भएको, अफसाइड, ट्याकल, ह्यान्डबल आदिको निर्णय शतप्रतिशत होस् भनी रेफ्रीलाई कुनै पनि समयमा भिएआरको सहयोग लिन अनुमति फिफाले दिएको छ ।
फिफाले चार वर्षअघि रसियामा भएको विश्वकपदेखि भिएआर प्रविधि प्रयोग गर्दै आएको छ । रसिया विश्वकपमा स्पेन र पोर्चुगलबीचको खेलमा रेफ्रीले भिएआरको सहयोग लिएका थिए । फिफाको योजना हो, रेफ्रीले भिएआरको सहयोग लिएर सही निर्णय लिऊन् । तर, कतार विश्वकपलाई भिएआरले उल्टै विवादित बनाइरहेको छ । भिएआर प्रयोगको सम्बन्धमा खेलाडी, अफिसियल, समर्थक र विश्लेषकहरू पनि दुई कित्तामा विभाजित छन् ।
विश्वकपको उद्घाटन खेलदेखि स्विट्जरल्यान्ड र पोर्चुगलबीचको अन्तिम प्रिक्वार्टरफाइनलसम्म भिएआरले निकै विवादास्पद निर्णयहरू गरे । कतार विश्वकपमा सेमिअटोमेटेड अफसाइड, बलमा प्रयोग भएको सेन्सर र अपग्रेडेड भिएआर प्रविधि भित्रिएका छन् । यसमध्ये अपग्रेडेड भिएआर प्रविधि वा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) नै कतार विश्वकपमा सर्वाधिक विवादित बनेको निर्णय हो ।
भिडियो सहायक रेफ्रीहरूले दर्जनौँ ठूला स्किनमा सूक्ष्म रूपमा घटनालाई कैयौँपटक नियाल्छन् । त्यसपछि उनीहरू निर्णय गर्छन् । उनीहरूको निर्णय धेरैलाई चित्त बुझ्दो भइरहेका छैनन् । मैदानमा निकै मिहिनेत गरी खेलाडीले गोल गर्दा अफसाइड हुने, आउट गइसकेको बलसमेत इन हुने, विपक्षी खेलाडीसँगै टाँसेर बस्दा अफसाइड हुने र बल क्लियर गर्दा विपक्षी खेलाडीलाई डिबक्समा छुँदा पनि पेनाल्टी दिनेजस्ता निर्णय भिएआरका अफिसियलहरूले दिए ।
कसलाई फाइदा र घाटा ?
भिएआरले एक राष्ट्रलाई फाइदा पुर्याउँदा अर्कोलाई घाटा हुने निश्चित नै छ । भिएआरले चालू विश्वकपमा भाग्य नै उल्ट्याइदियो । जापानले स्पेनमाथि २–१ को सनसनीपूर्ण जित निकाल्दा भिएआर नै मुख्य कारण मानियो । खेलको ५१औँ मिनटमा जापानका आओ टनाकाले मिटोमाको क्रसपासमा २–१ को गोल गरेका थिए । टनाकाले पास लिँदा बल आउट लाइटभन्दा बाहिर गएको देखिन्छ । सुरुमा यसलाई गोल मानिएन । जापानिज खेलाडीले भिएआरको सहयोग लिए । भिडियो असिस्टेन्ट रेफ्रीले ‘बल इन’ नै रहेको निर्णय दियो ।
फिफाको योजना हो, रेफ्रीले भिएआरको सहयोग लिएर सही निर्णय लिऊन् । तर, कतार विश्वकपलाई भिएआरले उल्टै विवादित बनाइरहेको छ । भिएआर प्रयोगको सम्बन्धमा खेलाडी, अफिसियल, समर्थक र विश्लेषकहरू पनि दुई कित्तामा विभाजित छन् ।
भिएआरले बल पूर्ण रूपमा बाहिर गइनसकेको र बलको केही भाग आउट लाइनमै रहेका कारण बल इन भएको निर्णय दिएको थियो । यही निर्णय चालू विश्वकपकै सबैभन्दा विवादित बनेको छ । भलै निर्णय जस्तो आए पनि यही बल इन र आउटबाटै जापानको भाग्य खुल्यो र प्रिक्वार्टरफाइनलसम्म पुग्यो । त्यस्तै, साबिक विजेता फ्रान्सले ट्युनिसियाविरुद्ध गरेको एक गोल पनि विवादित बन्यो । खेलमा ट्युनिसिया १–० ले अगाडि थियो । खेलको अन्तिम समयमा फ्रान्सका स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले गोल गरे । तर, भिएआरले ग्रिजम्यानको गोल अफ साइड मान्यो । बल क्रस गर्दा ग्रिजम्यान अफ साइडजस्तो देखिए । तर, बल आइसकेपछि उनी अनसाइडमा देखिए । फ्रान्स पहिलोपटक ट्युनिसियासँग १–० ले पराजित भयो । ट्युनिसियाविरुद्ध भएको गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ ।
यसैगरी, अर्जेन्टिनाले पोल्यान्डविरुद्धको प्रतिस्पर्धामा पेनाल्टी पाएको थियो । पोल्यान्डका गोलरक्षकले बल समात्ने क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेसीको अनुहारमा ग्लोब्स छुन पुगे । मेसी भुँइमा बजारिए । रेफ्रीले सुरुमा पेनाल्टी दिएनन् । तर, भिएआरले रेफ्रीको निर्णय उल्ट्याइदियो । अर्जेन्टिनाले पेनाल्टीमा गोल गर्यो । भिएआरबाट प्राप्त पेनाल्टीप्रति पोल्यान्डका खेलाडीले धेरै विरोध गरे । कतार विश्वकपका यी तीन घटना उदाहरण मात्र हुन् ।
किन विवादित भयो भिएआर ?
सुरुमा धेरैलाई लागेको थियो, भिएआर प्रयोगले रेफ्रीको एकाधिकार खोस्नेछ । यसले फुटबलको रोमाञ्चकतामाथि नै अंकुश लगाउनेछ । रेफ्रीहरूले खेल नै रोकेर भिएआरमा फुटेज हेर्दै निर्णय लिँदा खेलमा बाधा हुन्छ नै । खेलाडीको एकाग्रता खस्कन पुग्छ नै । उनीहरूको गति नै कम हुन्छ । फुटबल विश्लेषकहरूले रेफ्रीको भूमिकालाई ओझेलमा पार्ने र ससाना निर्णय लिन पनि भिएआरको आवश्यकता पर्ने भन्दै आलोचना गरेका छन् ।
यद्यपि, कतारमा भिएआर विवादित बनिरहँदा राम्रो पक्ष पनि देखिएको छ । आलोचकहरू यसको विरोधमा लागिरहेकै छन् । तर, रेफ्रीको गल्तीमा सुधार पनि भिएआरले ल्याएको छ । खेलमा निर्णय गर्न समस्या वा द्विविधा हुँदा मात्रै रेफ्रीले भिएआरको सहयोग लिन्छन् । कतिपयले यसले खासै फरक नपर्ने बताएका छन् । सकारात्मक सोच राख्नेहरूले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै हदसम्म हटाउने भएकाले भिएआर प्रविधि आधुनिक युगमा आवश्यक रहेको मान्छन् ।
कसरी काम गर्छ ?
फुटबलमा एक अफिसियलका रूपमा भिएआर थप भएको हो । यसको काम पनि रेफ्रीको जस्तै हो । कम्प्युटर वा ठूलो स्क्रिन राखिएको कोठाभित्र भिडियो असिस्टेन्ट रेफ्रीका रूपमा बस्छन् । उनीहरूले भिडियोबाट स्ट्रिमिङ प्राप्त गर्छन् । स्ट्रिमिङमा स्लो मोसन क्यामेराको दृश्यसहित विभिन्न कोणमा खिचिएका भिडियो हुन्छन् । भिएआरले सबै पक्ष विश्लेषण गर्छ । कम्प्युटर स्क्रिनअगाडि बसेका अफिसियलले गलत देखे तत्कालै माइक्रोफोनबाट फिल्डमा रहेका रेफ्रीलाई जानकारी दिन्छन् । आवश्यक ठाने रेफ्रीले भिएआरका अफिसियलसँग सरसल्लाह गर्छन् । आफूले निर्णय गरेपछि पनि केही द्विविधा भए रेफ्रीले भिएआरको सहयोग लिन्छन् ।
पहिला पनि भिएआर भएको भए...
यदि भिएआर प्रविधि विश्वकपमा धेरै अगाडि नै प्रयोग गरिएको भए के हुन्थ्यो होला ? फुटबल र विश्वकप भनेपछि एउटा खेल पक्कै मनमा आउँछ । सन् १९८६ कोे विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । म्याराडोनाले यस गोललाई ‘ह्यान्ड अफ गड’ भनेका थिए । म्याराडोनाले हातले गोल गर्दा रेफ्री उनीभन्दा धेरै टाढा थिए । म्याराडोनाले मुट्ठीजस्तो पारी बललाई पन्च गर्दै पोस्टमा छिराएका थिए । रेफ्रीले नदेखेपछि गोलले मान्यता पायो । इंग्ल्यान्ड अर्जेन्टिनासँग यही गोलकै कारण पराजित भयो । इंग्ल्यान्डका खेलाडी, अफिसियल र समर्थकले चर्को विरोध गरे । उनीहरूको केही सीप लागेन । यदि त्यसवेला भिएआर प्रविधि हुँदो हो त म्याराडोनाको हातेगोलले मान्यता पाउने थिएन । उनको गोल अयोग्य हुन्थ्यो । हातले गोल गरेका कारण सम्भवतः म्याराडोनाले कार्ड पनि पाउँथे ।
सन् १९८६ कोे विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । म्याराडोनाले यस गोललाई ‘ह्यान्ड अफ गड’ भनेका थिए । त्यसवेला भिएआर प्रविधि हुँदो हो त म्याराडोनाको हातेगोलले मान्यता पाउने थिएन ।
सन् २०१० को विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले जर्मनीको सामना गरेको थियो । खेलमा जर्मनी २–१ ले अगाडि थियो । इंग्ल्यान्डका फ्याक लाम्पार्डले जर्मनीको डिबक्समा एक शक्तिशाली बल प्रहार गरे । बल जर्मनी पोस्टको लाइनभित्र बाउन्स हुँदै बाहिरियो । इंग्ल्यान्डका खेलाडीले गोल भएको सम्झँदै खुसी मनाए । तर, रेफ्रीले बल गोललाइनभित्र नरहेको र लाइनमै रहेको भनी लाम्पार्डको गोललाई मान्यता दिएनन् । यद्यपि, त्यसवेला रिप्लेमा बल स्पष्ट रूपमा लाइनभित्र नै थियो । त्यसवेला रेफ्रीसँग भिएआरको सहयोग लिने प्रविधि थिएन । खेलमा इंग्ल्यान्ड ४–१ ले पराजित भयो ।
विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोज र ब्राजिलका रोनाल्डो सर्वाधिक गोल गर्ने सूचीको पहिलो र दोस्रो स्थानमा छन् । क्लोजले कीर्तिमानी रूपमा १६ र रोनाल्डोले १५ गोल गरेका छन् । क्लोज र रोनाल्डो सधैँ अफसाइड ट्यापमा बस्थे । उनीहरूको पोजिसन लगभग अफसाइड नै हुन्थ्यो । साइड लाइन्सम्यानले धेरैजसो अवस्थामा अफसाइड हो वा होइन भन्ने ठम्याउनै सक्दैनथे । यदि त्यसवेला भिएआर प्रविधि भएको भए सम्भवतः रोनाल्डो र क्लोजका धेरैजसो गोल अफसाइड नै हुन्थे । किनभने भिएआरले सूक्ष्म रूपमा मिलिसेन्टिमिटरसम्म पनि अफसाइड हो वा होइन भन्ने अध्ययन गर्छ । चालू विश्वकपमा धेरै यस्ता गोल अफसाइड भएका छन् ।
चार्ज गर्नुपर्ने बल

फिफाले प्रत्येकपटकको विश्वकपमा केही न केही नयाँ प्रयोग गर्दै आएको छ । फिफाले यसपटक बलमा समेत नयाँ प्रयोग गरेको छ । कतार विश्वकपमा नयाँ प्रविधिका रूपमा भित्रिएको पक्ष हो, बलमा सेन्सर । विश्वकपका हरेक खेलमा बल चार्ज गरिन्छ । फुटबलमा मोसन सेन्सर प्रयोग भएको छ । जसलाई पावर उपलब्ध गराउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । बल चार्जमा लगाइन्छ । बलमा प्रविधि प्रयोग गरेको यो पहिलो विश्वकप हो ।