पहिलोपटक मध्यपूर्वी एसियामा जाडोयाममा २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । समूह चरण र नकआउटमा अप्रत्याशित नतिजा आएका छन् । कमजोर मानिएका टोलीले ठूलालाई स्तब्ध बनाए । कतारमा रोमाञ्चक खेल, खेलाडीका कथा र खेलभित्रका फरक प्रसंगले स्थान पाएका छन् । चारपटकको च्याम्पियन जर्मनी, दुईपटकको अर्जेन्टिना, एकपटकको च्याम्पियन स्पेनले यस विश्वकपमा अप्रत्याशित नतिजा सामना गरे ।
विश्वकपमा चर्चित स्टार खेलाडीहरू सहभागी हुन सकेनन् । कति खेलाडीलाई चोटले सतायो । केही राष्ट्र विश्वकपमा स्थान नै बनाउन सकेनन् । जसका कारण साडिओ माने, एर्लिङ हाल्यान्ड, मोहम्मद सलाहजस्ता खेलाडी यस विश्वकपमा देखिएनन् । तर, विश्वकपमा स्थान बनाएका केही खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चर्चित र आशा गरिएका खेलाडीले लय कायम नराख्दा टोलीको समग्र प्रदर्शन नै असर गर्यो । एउटै खेलाडीमा निर्भर भएका टोली प्रतियोगिताबाट बाहिरिनुपर्यो ।
रोमेलु लुकाकु (बेल्जियम) : युरोपेली क्लब च्याम्पियन सीपमा आफूलाई सिद्ध गरेका स्ट्राइकर रोमेलु लुकाकु कतार विश्वकपकै सबैभन्दा असफल खेलाडी बनेका छन् । २९ वर्षीय लुकाकुलाई चोटले खुबै सतायो । विश्वकपमा जम्मा तीन खेलमा उनी ५० मिनेट मैदानमा देखिए । इन्टर मिलानका लुकाकुलाई प्रमाणित गर्ने ‘गोल्डेन’ अवसर नआएको होइन । समूह चरणको अन्तिम खेलमा क्रोएसियाविरुद्ध उनले थुप्रै अवसर पाए । त्यसमध्ये एउटा मात्र सफल बनाउँदा बेल्जियम नकआउट चरणमा पुग्ने पक्का थियो । र, उनी हिरो हुने थिए । तर, क्रोएसियाविरुद्धको खेलमा उनी दोस्रो हाफमा वैकल्पिक खेलाडी बने । लुकाकु कतारबाट गोलविहीन रहँदै घर फर्किए ।
केभिन डी ब्रुने (बेल्जियम) : सात वर्षयता केभिन डी ब्रुने इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध छन् । ३१ वर्षीय ब्रुने सधैँ एक किसिमका खेल खेल्छन् । ‘बक्स टु बक्स’ खेल्न र काउन्टरमा बल बढाउने उनको कला नै हो । कतारमा ब्रुने प्रभावहीन भए । ब्रुनेको असफलतासँगै बेल्जियमले विश्वकपमा सय खेल खेल्ने सपना पूरा गर्न सकेन । समूह चरणबाटै बाहिरिएको बेल्जियम ९७ खेलमै रोकिए । यसपटकको टिमलाई बेल्जियम फुटबलकै ‘गोल्डेन जेनेरेसन’ मानिन्थ्यो । हारसँगै ब्रुने ‘फ्लप’ सूचीमा परे ।
थोमस पार्टेय (घाना) : इंग्लिस क्लब आर्सनलमा आबद्ध मिडफिल्डर थोमस पार्टेयबाट घानाले ठूलो आशा गरेको थियो । अनुभवी मिडफिल्डरले कतारमा प्रभाव जमाउन सकेनन् । समूह चरणमा पोर्चुगलसँग ३–२ ले पराजित र दक्षिण कोरियाविरुद्ध ३–२ को जितमा थोमसले प्रदर्शन औसतभन्दा पनि तल रह्यो । स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट खेलेका थोमस पार्टेयले उरुग्वेविरुद्ध राम्रो गर्ने प्रयास गरे । खेल जीवनको पूरा समय युरोपेली फुटबलमा खर्चेका २९ वर्षीय पार्टेयले त्यो अनुभव कतार विश्वकपमा प्रयोग गर्न सकेनन् । जसका कारण घाना समूह चरणबाट माथि बढेन ।
केयलोर नाभास (कोस्टारिका) : कोस्टारिकाले समूह चरणमा पूर्वविजेता स्पेन र जर्मनीसँग खेल्यो । हाल पिएसजीका गोलरक्षक नाभासले कोस्टारिकालाई ‘ग्रुप अफ डेथ’बाट माथि उकास्न सकेनन् । यद्यपि, उनले आफूलाई सक्दो उत्कृष्ट रूपमा देखाउन खोजेका थिए । बलियो टोलीविरुद्ध नाभास असफल भए । ३५ वर्षीय नाभासाले तीन खेलमा ११ गोल व्यहोरे । जापानविरुद्ध उनले ‘क्लिन सिट’ राख्न सफल भए ।
इडुआर्ड मेन्डी (सेनेगल) : फ्रान्समा जन्मिएका इडुआर्ड मेन्डी सेनेगलका लागि खेल्छन् । युरोपेली फुटबलमा राम्रो अनुभव बटुलेका ३० वर्षीय मेन्डीको प्रदर्शन कतारमा उत्कृष्ट रहेन । इंग्लिस क्लब चेल्सीमा विगत दुई वर्षदेखि प्लेइङ सेटमा स्थान बनाएका मेन्डीले कतारमा चार खेल खेल्दा ‘क्लिन सिट’ राख्न सकेनन् । मुख्य खेलाडी साडिओ माने नहुँदा दबाबमा रहेको सेनेगलले मेन्डीबाट ठूलो आशा गरेको थियो । तर, मेन्डीले आफ्नो स्तरको प्रदर्शन गर्न सकेनन् ।
सन ह्युङ मिन (दक्षिण कोरिया) : वर्तमान समयमा एसियाले पाएको एकमात्र चर्चित खेलाडी सन ह्युङ मिन हुन् । सनले आफ्नो खेल करियर नै युरोपबाट बनाए । सात वर्षदेखि इंग्लिस क्लब टोटनह्याममा आबद्ध सनले विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न चुके । दक्षिण कोरिया नकआउट चरणमा पुगे पनि सनको प्रदर्शन त्यति तारिफयोग्य रहेन । उनको स्वाभाविक खेल निस्किँदा कोरियाले कीर्तिमान रच्न सक्थ्यो । विश्वकपमा चार खेलमा सनले एक गोल पनि गरेनन् ।
म्यानुएर नुएर (जर्मनी) : जर्मन फुटबलकै सर्वाधिक अनुभवी गोलरक्षक नुएरले टोलीलाई नकआउट चरण पार गराउन सकेनन् । ३६ वर्षीय नुएरले जर्मनी गोलपोस्टलाई न्याय दिलाउन सकेनन् । अन्तिम विश्वकप खेल्दै गरेका नुएरले समूह चरणका तीनै खेलमा गोल बेहोरे । उनीसँगै थोमस मुलर, इल्काय गुन्डोगानजस्ता खेलाडी नचल्दा चारपटकको च्याम्पियन जर्मनी लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो ।
सेर्डन साकिरी (स्विट्जरल्यान्ड) : बढ्दो उमेर भए पनि स्विट्जल्यान्डले अनुभवी विंगर सेर्डन साकिरिसबाट धेरै आशा गरेको थियो । विश्वकपमा चार खेल खेल्दा साकिरीले पूरै असफल भए । पहिलो खेलमा क्यामरुनविरुद्ध जित निकाल्दा उनले गरेको एक असिस्ट नै उपलब्धि रह्यो । ३१ वर्षीय मिडफिल्डरसँग लिभरपुल, स्टोक सिटी, इन्टर मिलान, बायर्न म्युनिखसँग खेलेको अनुभव थियो ।
लौटारो मार्टिनेज (अर्जेन्टिना) : अर्जेन्टिना वा इन्टर मिलानबाट खेल्दा मार्टिनेज सधैँ गोल गर्नमा सफल रहे । तर, कतारमा अर्जेन्टिनाका लागि उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । साउदी अरेबियाविरुद्ध प्रभाव जमाउन नसकेपछि मार्टिनेजको स्थानमा म्यानचेस्टर सिटीका जुलियन अल्भारेजले मौका पाए । मार्टिनेज अहिले प्रशिक्षक लिओनल स्कोलानीको दोस्रो रोजाइमा परेका छन् ।
ह्युगो लोरिस (फ्रान्स) : विश्वकपमा फ्रान्सको प्रदर्शन उत्कृष्ट हुनुका साथै उसले गोलसंख्यासमेत बढाएको छ । तर, कप्तान ह्युगो लोसिरले तुलनात्मक रूपमा प्रभाव जमाउन सकेका छैनन् । फ्रान्सले प्रत्येक खेलमा गोल व्यहोरेको छ । साबिक विजेता फ्रान्सका कप्तान लोरिस प्रिमियर लिग क्लब टोटनह्याममा आबद्ध छन् । समूह चरणमा फ्रान्सले ६ गोल गर्दा तीन गोल व्यहोरेको थियो । नकआउटमा समेत लोरिसले एक गोल व्यहोरेका थिए ।