अन्तरिक्षमा पहिलोपटक पुग्ने व्यक्ति हुन्, युरी एलेक्जेविक गागरिन । उनको जन्म सन् १९३४ मार्च ९ मा रुसको राजधानी मस्कोभन्दा करिब एक सय माइल टाढा ‘क्लासिनो’ भन्ने सानो गाउँमा भएको थियो । उनका पिता एक किसान थिए र उनी डकर्मीका साथसाथै सिकर्मीका रूपमा काठका फर्निचरसमेत बनाउने काम गर्थे । उनकी आमाचाहिँ गाउँमै गाईवस्तुको पालनपोषण गर्थिन् ।
अन्तरिक्षयात्री युरीको प्रारम्भिक शिक्षा स्थानीय एक प्राथमिक विद्यालयमा भएको थियो । आफ्नो प्राथमिक शिक्षा पूरा गरेपछि उनले औपचारिक शिक्षाभन्दा प्राविधिक एवं व्यावसायिक शिक्षा हासिल गर्ने अठोट गरे । सोही अठोटअनुरूप प्राविधिक शिक्षालयमा भर्ना हुनुअघि उनले आफ्नो गाउँनजिकैको सारातिम भन्ने ठाउँमा अवस्थित धातु पगाल्ने एक कार्यशालामा प्रशिक्षार्थीको रूपमा रही केही सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरे । त्यसपछि प्राविधिक शिक्षालयमा भर्ना भएपछि भने उनी स्काई रकेटिङ अर्थात् आकाशमा उड्नेसम्बन्धी तालिममा संलग्न हुन थाले । सो तालिम सफलतापूर्वक सम्पन्न गरेपछि उनलाई मस्कोस्थित एक उड्डयन क्लबमा भर्ना हुने अवसर मिल्यो । त्यसपछि उनले आफ्नो अवसरको सदुपयोग गर्दै पहिलोपटक एकल उडान गरेर देखाई सबैलाई आश्चर्यचकित तुल्याए । प्रथमपटकमै उनको यो हवाई उडानसम्बन्धी खुबी र क्षमता देखेर धेरैले उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यो सन् १९५५ तिरको कुरा थियो ।
आफ्नो उडानसम्बन्धी प्रशिक्षणकै क्रममा उनले प्यारासुटिङसम्बन्धी तालिम पनि हासिल गरे । जुन तालिमबाट उनलाई पछि ‘भोस्कोट–१’ (जसमा बसेर उनले अन्तरिक्षयात्रा सम्पन्न गरेका थिए) बाट बाहिर निस्की अन्तरिक्ष धरातलमा सकुशल उत्रन ठूलो मद्दत मिलेको थियो । युरीले आफ्नो प्रथम उडान ‘याक–१८’ नामक एक लडाकु विमानमा चढेर गरेका थिए । आफ्नो यही उडानसम्बन्धी अभ्यासका क्रममा युरीले ग्रीष्म ऋतुको पूरा अवधि नै उडानमा र राजधानी मास्कोभन्दा बाहिर रहेको विमानस्थलनजिकैको एक खुला स्थानमा पाल टाँगेर बसी बिताएका थिए । उनको एकजना आफ्नै प्रशिक्षक एवं शुभचिन्तक मानिने मिट्री पाभालोभक मायनोभको सल्लाह र सुझाबअनुसार उनी सोभियत एअर फोर्समा भर्ना हुन पुगे, जहाँ उनले उडानसम्बन्धी महत्वपूर्ण सैद्धान्तिक एवं व्यावहारिक ज्ञान हासिल गरे । र, सोही क्रममा उनले स्पुतनिकको ऐतिहासिक उडानबारे पनि आवश्यक जानकारी हासिल गरेका थिए ।
तालिमका क्रममा उनले लामो समयसम्म चेम्बरभित्र चेतनशून्य अवस्थामा रहिरहने, शरीरलाई त्यसमा भारविहीन तुल्याई शून्य आकाशमा तैरिरहने, तापयुक्त चेम्बरमा लामो समयसम्म स्थिर भएर बसिरहने अथवा ताप खपेर बसिरहने र जोखिमपूर्ण अवस्थामा पनि परीक्षण उडान भर्नेजस्ता कार्यमा अभ्यस्त हुन सिके ।
सन् १९५७ को नोभेम्बर महिनामा २३ वर्षको छँदा युरीले रुसको ओरेनवर्ग विश्वविद्यालयबाट उड्डयनसम्बन्धी अध्ययनमा उच्च अंक प्राप्त गरी स्नातकोपाधि हासिल गरे । त्यसपछि उनी सोभियत एयर फोर्स नामक एक हवाई उड्डयन संस्थामा सैनिक लेफ्टिनेन्टका रूपमा भर्ती भए । र, सैनिक लेफ्टिनेन्टमा भर्ती भएकै दिन आफ्नो औपचारिक सैनिक पोसाकमै उनले भ्यालेन्टिना इभानोभना गोर्चाचेभ नामक एक रुसी युवतीसँग परम्परागत विवाह गरेका थिए ।
यसरी युरीको पहिलो पदबहाली रुसको आर्कनिक सहरस्थित सोभियत एअर फोर्समा सैन्य लडाकु पाइलटका रूपमा भयो । उनी सेवारत उड्डयन संस्थानजिकै दक्षिणतर्फको चहकिलो आकाशमा उनको प्रथम औपचारिक उडान भएको थियो । ठीक त्यही समयमा रुसी अन्तरिक्ष प्रशासनले ‘लुना–३’ नामक पहिलो अन्तरिक्षयान चन्द्रमातर्फ प्रक्षेपण गरेको थियो । जुन अन्तरिक्षयान चन्द्र धरातलको केही तस्बिर खिची पृथ्वीको कन्ट्रोल कक्षमा प्रेषित गर्न सफल भएको थियो । सन् १९५९ तिरको कुरा थियो यो र सोही समयताका उनले अन्तरिक्षयान चालकको रूपमा रही काम गर्ने साहसिक निर्णयका साथ सो कार्यका लागि रुसी अन्तरिक्ष प्रशासनसमक्ष लिखित निवेदन पेस गरे । युरीको ऐतिहासिक निर्णय र प्रतिबद्धतालाई कदर गर्दै रुसी अन्तरिक्ष प्रशासनले उनको निवेदनलाई स्वीकृत प्रदान गर्यो । त्यसपछि उनी आफ्नी श्रीमती र छोरीका साथ रुसको मस्कोस्थित ‘स्टार टाउन’ भन्ने सहरतर्फ लागे, जुन सहर रुसी अन्तरिक्षयात्रीहरूकै बसोवासका लागि निर्माण गरिएको थियो ।
उनले चढेको अन्तरिक्षयानको नाम थियो ‘भोस्तोक–१’ । यस यानमा यात्रा गरेर पृथ्वीमा उत्रेपछि सर्वप्रथम चन्द्र धरातलबाट पृथ्वीलाई हेर्दा पृथ्वीको अधिकांश भाग पानीले भरिएको एक निलो गोलाकार पिण्डजस्तो देखिएको रोमाञ्चकारी कुरा पृथ्वीवासीलाई सुनाएका थिए ।
त्यसपछि युरी आफू एक सफल अन्तरिक्षयात्री बन्ने दृढ अठोटसाथ अन्तरिक्षसम्बन्धी अत्यन्त कठिन शारीरिक, मानसिक एवं मनोवैज्ञानिक तालिम अभियानमा संलग्न हुन थाले । सो तालिमका क्रममा उनले लामो समयसम्म चेम्बरभित्र चेतनशून्य अवस्थामा रहिरहने, शरीरलाई त्यसमा भारविहीन तुल्याई शून्य आकाशमा तैरिरहने, तापयुक्त चेम्बरमा लामो समयसम्म स्थिर भएर बहिरहने अथवा ताप खपेर बसिरहने र जोखिमपूर्ण अवस्थामा पनि परीक्षण उडान भर्ने आदि जस्ता कार्यमा अभ्यस्त हुन सिके । यी सबै किसिमका परीक्षण उनले आफ्नो अभियानका क्रममा सफलतापूर्वक पूरा गरेका थिए ।
युरीले आफूले तालिम सम्पन्न गरेको छोटो समयावधिभित्रै सन् १९६१ को अप्रिल १२ तारिखका दिन अन्तरिक्षमा प्रथमपटक पुगेर सिंगो विश्व समुदायलाई नै नतमस्तक तुल्याइदिए र उनी अन्तरिक्ष विज्ञानका एक अत्यन्त प्रेरणादायी र चीरस्मरणीय व्यक्ति बन्न पुगे । आफ्नो अन्तरिक्ष अभियानको क्रममा उनले चढेको अन्तरिक्षयानको नाम थियो ‘भोस्तोक–१’ । यस यानमा यात्रा गरेर पृथ्वीमा उत्रेपछि सर्वप्रथम चन्द्र धरातलबाट पृथ्वीलाई हेर्दा पृथ्वीको अधिकांश भाग पानीले भरिएको एक निलो गोलाकार पिण्डजस्तो देखिएको रोमाञ्चकारी कुरा पृथ्वीवासीलाई सुनाएका थिए । अन्तरिक्षमा प्रथमपटक मानव पुगेको सफलता हासिल गरेपछि युरीले सम्मानस्वरूप तत्कालीन सोभियत युनियनको उपप्रमुखको रूपमा नियुक्ति पनि पाए । उपप्रमुखको रूपमा केही वर्ष सेवा गरेपछि रुसी अन्तरिक्ष अभियानमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई रुसी अन्तरिक्ष विभागको कमान्डरकै रूपमा नियुक्त गरियो ।
युरी आफ्नो उच्च साहसिक मनोकांक्षा र आफ्नो पेसाप्रति पूर्ण कटिबद्धताका बाबजुद आफ्नो परिवारप्रति पनि उत्तिकै बफादार रहन्थे । संयोग कस्तो थियो भने उनले अन्तरिक्षमा पुगेकै वर्ष सन् १९६१ मै उनकी कान्छी छोरीको जन्म भएको थियो । आफ्नी दुई छोरीप्रति उनी अत्यन्त प्रेम र सद्भावना राख्ने गर्थे । प्रत्येक जोखिम र चुनौतीपूर्ण यात्रालाई सहज र कुशलतापूर्वक पूरा गरेर देखाइदिने अदम्य साहसका धनी अन्तरिक्षयात्री युरीले आफ्नो प्रथमपटक अन्तरिक्षमा पुगेको ६ वर्षपछि सन् १९६७ मा फेरि एकपटक अन्तरिक्षमा पुग्ने दृढ इच्छा लिएर ‘सोयुज’ अन्तरिक्षयानको उडान सञ्चालन गर्न थाले । तर, यसपटक भने उनको इच्छा साकार हुन पाएन । परीक्षणकै क्रममा आफूले उडान गरेको एउटा जेट विमान दुर्घटना हुँदा सन् १९६८ को मार्च २७ तारिखका दिन ३४ वर्षको अल्प उमेरमै उनको मृत्यु भयो ।