सिजोफ्रेनिया भ्रम र वास्तविकता

डा. विजय ज्ञवाली डा. विजय ज्ञवाली
शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन यी दुई ग्रिक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो । सिजोफ्रेनिया एउटा जटिल मानसिक समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याबाट पीडित भएकोमा एक प्रतिशत व्यक्ति सिजोफ्रेनियाजस्तो गम्भीर मानसिक रोगबाट पीडित छन् । सिजोफ्रेनिया विशेषगरी मानिसको सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो । जसले मानिसको जीवनमा विभिन्न भ्रमको सिर्जना गर्छ । वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरूले नसुनेका र हुँदै नभएका आवाज सुन्नुजस्ता लक्षणका अतिरिक्त अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकालु गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता र असामान्य वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा कुनै विचार विशेषमा अत्यधिक अडान लिने, पूर्वाग्रही विचार बनाउनेजस्ता लक्षण देखिन्छन् । यी लक्षण कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ ।

साधारणतया यस समस्याको सुरुवात १३ देखि २४ वर्षको उमेर समूहमा बढी हुने गर्छ । नेपालमा कति सिजोफ्रेनियाका बिरामी छन् भने आकलन गर्न अझै सकिएको छैन । उपचारको अभाव र मानसिक रोगबारे व्याप्त भ्रमका कारण सिजोफ्रेनियाका बिरामी अझै पनि घरमा सिक्रीले बाँधिएका र थुनिएका घटना वेला–वेलामा पत्रपत्रिकामार्फत बाहिर आएका छन् ।

सिजोफ्रेनिया र भ्रम
आम सञ्चारमाध्यम, विशेषगरी फिल्म र साहित्यमा सिजोफ्रेनियाका बिरामीलाई हिंस्रक, आपराधिक मनोवृत्ति भएको व्यक्ति, अल्कोहोलिक, ड्रग प्रयोगकर्ता, हास्यास्पद, शंकालु र निको नहुने रोगी पात्रको रूपमा प्रस्तुत गरिएको हुन्छ । कतिपय ठाउँमा सिजोफ्रेनिया भएका व्यक्तिलाई बाल्यकालमा हिंसाबाट पीडित, एक्लो, असामाजिक र एकदम विचित्र प्रकारको व्यक्तिको रूपमा प्रस्तुत गरिएको हुन्छ । विभिन्न माध्यममा प्रस्तुत हुने सिजोफ्रेनियाको यस्तो प्रस्तुतिले रोगसँग सम्बन्धित रहेर जानकारी र जनचासो बढाउन सहयोग त पक्कै गर्नेछ, तर सँगसँगै रोगसँग सम्बन्धित भ्रमलाई बढावा त दिएको छैन ? यो एउटा अनुसन्धानको विषय बन्न सक्छ । यहाँ प्रश्न उठ्छ, के सिजोफ्रेनियाका बिरामी साँच्चै त्यस्तै हुन्छन् ?

सम्भवतः मानसिक रोगमध्ये सबैभन्दा बढी मिथ्या भएको रोग सिजोफ्रेनिया हो । यो आममानिसमा मात्र नभएर विभिन्न फिल्म र साहित्यमा सिजोफ्रेनियाका बिरामीलाई एउटा फरक र अपराधीसम्मको विचित्रको पात्रको रूपमा चित्रण गरिएको हुन्छ । तर, आजसम्मका अनुसन्धानले सिजोफ्रेनिया र अपराधको सम्बन्धलाई पुष्टि गर्दैन । सिजोफ्रेनियाका बिरामीमार्फत भएका अधिकांश आपराधिक घटना सिधै उक्त रोगसँग सम्बन्धित नभएर उसले प्रयोग गर्ने लागुपदार्थ र मादक पदार्थसँग सम्बन्धित भएको विज्ञहरू बताउँछन् । सिजोफ्रेनियाका बिरामीलाई नियमित उपचार र व्यवस्थापन गरेमा ती अपराधको सम्भावना रहँदैन । यसै पनि मानसिक रोग र अपराधबिच ठुलो सम्बन्ध पाइँदैन ।

सिजोफ्रेनिया र हिंसाको सम्बन्ध हुँदै नभएको भने होइन । यस्ता बिरामीले गर्ने हिंसामध्ये आफैँप्रति गर्ने हिंसा अर्थात् आत्महत्या प्रमुख रूपमा रहन्छ । यसबाहेक सिजोफ्रेनियाका बिरामी असन्तुलित हुनुमा विगतमा पनि हिंसाजन्य कार्यमा संलग्न, मादक पदार्थ र लागुऔषधको प्रयोग, औषधिको सेवन नगर्नु, अत्यधिक भ्रमको अवस्थामा भने सिजोफ्रेनियाका बिरामीबाट हिंसा हुने सम्भावना रहन्छ ।

सिजोफ्रेनियासँग सम्बधित व्याप्त मिथ्याका कारण बिरामीको व्यक्तित्वलाई निकै जटिल, अप्ठ्यारो, शंकालु र कुटिल ठानिने गरिएको हुन्छ । तर, वास्तविकतामा अधिकांश पीडित त्यस्ता हुँदैनन् । विगत केही समयदेखि यो क्षेत्रमा कार्यरत मैले आफ्नो सम्पर्कमा रहेका बिरामीले सामान्य व्यक्तिसरहकै व्यक्तित्व बोकेर जीवनयापन गरेको देखेको छु । 

सिजोफ्रेनियाका बिरामीमा दृष्टि भ्रम र ध्वनि भ्रम हुने हुँदा यस्ता व्यक्ति एक्लै बोल्ने, टोलाउने, टक्क अडिनेजस्ता कार्य भने गर्छन्, तर ती लक्षणलाई उपचारले व्यवस्थापन गर्न सकिन्छ ।

वास्तवमा सिजोफ्रेनियाको गम्भीर अवस्थामा बाहेक अस्पताल बसिरहनुपर्दैन । घरबाट आउने–जाने गरी यसको उपचार सम्भव छ । सिजोफ्रेनिया बिरामी सधैँ आक्रामक हुन्छन्, तसर्थ यिनीहरूलाई अस्पतालमा बाँधेर राख्नुपर्छ भन्ने फिल्मी धारणा एकदम गलत छ । राम्रो उपचार पाएको अवस्थामा यस्ता बिरामीले उत्पादनमूलक काम गरेर सामान्य जीवन बिताउन सक्छन् । यसैगरी कतिपय फिल्ममा भने सिजोफ्रेनियाका बिरामीलाई अत्यन्त बौद्धिक क्षमता भएको फरक व्यवहार बोकेको पात्रको रूपमा चित्रण गरिएको हुन्छ । जस्तो सन् २००१ मा बनेको फिल्म ‘ब्युटीफुल माइन्ड’लाई लिन सकिन्छ । नोबेल पुरस्कार विजेता गणितज्ञ जोन नासको जीवन कथामा बनेको उक्त फिल्ममा सिजोफ्रेनियाको व्यक्तिको बौद्धिकता प्रस्तुत गरिएको छ । 

सम्भव छ साधारण जीवन 
सिजोफ्रेनिया एउटा जटिल मानसिक समस्या भएको हुनाले यसको समाधान त्यति सजिलो भने छैन । सिजोफ्रेनियालाई पूर्णतया निर्मूल गर्न नसकिए पनि यसलाई व्यवस्थापन गर्न सकिन्छ । यो विषयमा राज्यले नै चासो लिनुपर्ने अवस्था देखिन्छ । राज्यको सहभागिताविना यस्ता रोगको निराकरणमा थुप्रै जटिलता हुन सक्छन् । लक्षणहरूको जटिलताअनुसार यसको उपचार र व्यवस्थापन फरक–फरक भए पनि औषधिको प्रयोग, साइकोथेरापी, मनोसामाजिक परामर्श, पारिवारिक सामाजिक सहयोग, मनोशिक्षा र रोजगारीको अवसर आदिजस्ता पक्षलाई सन्तुलन गर्न सक्ने हो भने सिजोफ्रेनिया समस्याको व्यवस्थापन गर्न सकिन्छ र यो समस्याबाट पीडितहरूको जीवनस्तर राम्रो बनाउन सकिन्छ ।

सिजोफ्रेनिया व्यवस्थापनको प्रमुख चुनौती भनेको यससँग सम्बन्धित भ्रम, मिथ्या र अज्ञानता हो । यसतर्फ सबैको ध्यान जानु अत्यन्त जरुरी छ ।

सिजोफ्रेनियामा ध्यान दिनुपर्ने कुराबारे जान्नैपर्ने तथ्य यी हुन् : नियमित औषधि सेवन, साइकोथेरापी र पारिवारिक सहयोगले यो रोग उपचार गर्न सकिन्छ । यो कडा मानसिक रोग भएकाले बिरामीका लागि पारिवारिक सहयोग अन्त्यन्त महŒवपूर्ण हुन्छ । यस्ता बिरामी शंकालु हुने हुँदा विभिन्न बहानामा औषधि नखान सक्छन्, तसर्थ बिरामीको औषधि आफैँले दिनुपर्ने हुन्छ । यस्ता बिरामी बाहिरी संसारबाट टाढै रहने, साथीसँग सम्पर्क नगर्ने दिनमा वा रातिमा एक्लै बोल्दै हिँड्न सक्छन् । यो अवस्थामा निगरानीको आवश्यकता पर्छ । मादक पदार्थ र लागुपदार्थको सेवनले गर्दा रोग बढ्न सक्छ । यसलाई रोक्नु आवश्यक छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार