वर्ष २०२५ मा प्रविधि : हुन सक्छन् यी परिवर्तन

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

प्रविधि निकै चाँडो बदलिएको छ । कम्प्युटर, ल्यापटप हुँदै अहिले स्मार्टफोनबाटै सबै काम गर्न सकिने अवस्था आइसकेको छ । सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताका माध्यमको सहयोगमा अहिले फोनबाटै भाषाअनुवाद, लाइभ कल गर्न सकिने सुविधा छ । २०२५ मा प्रविधि अझै अब्बल हुने देखिन्छ । केही सम्भावित विकास यस्ता छन् :

एआई एजेन्ट 

एआई एजेन्ट त्यस्तो कृत्रिम प्रोग्राम हो, जसले काम गर्ने उत्कृष्ट उपाय पत्ता लगाइदिएर मानिसलाई लक्ष्य हासिल गर्न सहयोग गर्छ । यस्ता एजेन्ट्सले कम्प्युटर कोड लेख्न सक्छन् । जसको अर्थ कोडिङ स्किल नभएका मानिसले पनि एप, गेम्स वा प्रोग्राम बनाउन सक्छन् । भविष्यमा कारखानामा एआई एजेन्ट्सको प्रयोग हुन सक्छ । जहाँ रोबोट्ले मानिसको सहायताविना नै काम गर्न सक्छन् । उदाहरणका लागि, घरकर्जा आवेदनको लेखापरीक्षण र स्वीकृति प्रदान गर्न एआई एजेन्ट्स प्रयोग हुन सक्छ । 

तपाईंको फोनमा भएका एप्सलाई पनि एउटै एआई एजेन्टले विस्थापित गर्न सक्छन्, त्यस्तो एजेन्ट जसले एकसाथ धेरै काम गरिदिन सक्छ । रोबोट्ससँग मिलाउँदा एआई एजेन्ट अझै धेरै शक्तिशाली हुन सक्छ । सरल काम मात्रै गर्नुको साटो, रोबोट्सले सोचेर निर्णय लिन सक्छ, प्रश्नको जवाफ सीधा दिन सक्छ । टेस्ला कम्पनीले बनाएको रोबोट अप्टिमस यसैको एउटा उदाहरण हो । एलन मस्कले सन् २०२५ बाट अप्टिमसले काम सुरु गर्ने बताएका छन् । सन् २०२६ देखि यो अन्य प्रयोजनका लागि पनि उपलब्ध हुन सक्छ । परियोजना व्यवस्थापनजस्ता क्षेत्रमा एआई एजेन्ट्सले धेरै काम गर्न सक्छन् । सन् २०३० भित्र परियोजना व्यवस्थापनको ८० प्रतिशत काम एआईले गर्न सक्ने अनुमान गार्टनरको रिपोर्टले गरेको छ । 

व्यक्तिविशेष कार्य

शिक्षा क्षेत्र परम्परागत ढाँचाबाटै चलिरहेको छ, जहाँ एउटा निश्चित उमेरमा बालबालिका विद्यालय जान्छन् । पाठ्यक्रममा उल्लेख गरिएका विषय पढ्छन् । जाँच दिन्छन् । पास भएर माथि पुग्छन् । 

एउटा त्यस्तो पाठ्यक्रम कल्पना गरौँ, जो व्यक्तिलाई हेरेर तयार गरिएको हुन्छ । अर्थात्, विद्यार्थीको व्यक्तिगत अनुभव, दक्षता र क्षमतामा आधारित रहेर तयार हुन्छ । अमेरिकामा एआईको सहयोगमा विद्यार्थीको व्यक्तिगत अवस्था हेरेर बिस्पोक डिग्री कार्यक्रम अहिल्यै लागू भइसकेको छ । 

यसमा कन्टेन्ट र पाठ्यक्रम मात्रै विशेष छैन । विद्यार्थीको विशेष आवश्यकता पहिचान गरेर त्यहीअनुसार पढाइन्छ । विद्यार्थीले कस्तो महसुस गरिरहेका छन्, त्यो ध्यान दिइन्छ । 

यसमा एआईले विद्यार्थीको गतिविधिलाई पनि ध्यान दिएको हुन्छ । जस्तो, उसले गएराति कति समय सुत्यो भन्ने डाटा स्मार्टवाचमार्फत एआईले लिन्छ । एआईले अन्य क्षेत्रमा पनि यसरी व्यक्तिका आवश्यकता हेरेर मद्दत गर्न सक्छ । कन्सल्टिङ कम्पनी एसेन्टका अनुसार प्राइभेट कम्पनीले आफैँ पनि आफ्ना लार्ज ल्यांग्वेज मोडेललाई तालिम दिन सक्छन् । यी च्याटजिपिटीजस्ता एआई च्याटबक्सले प्रयोग गरेजस्तै मोडेल हुन् । यी मोडेलहरू विशेष काममा प्रयोग हुनेछन् । 

यी मोडेलहरूलाई आफ्नो काम हेरेर विशेष तालिम दिन सकिनेछ, जसले कम्पनीलाई थप फाइदा हुनेछ । तर, यस्तो गर्नका लागि ठुलो परिमाणमा डाटा हुनुपर्छ । २०२५ बाट यस्तो सुरु हुन सक्छ । 

विशेष कामलाई प्रभावकारी ढंगले गर्नका लागि साना ल्यांग्वेज मोडेल पनि बनाइएका छन् । यी मोडेलमा धेरै डाटा चाहिन्नन् र कम्प्युटरको पावर पनि कम खपत हुन्छ । यहीकारण, स्मार्टफोन, ट्याबलेट्स, ल्यापटपमा यी मोडेलले शक्तिशाली क्लाउड कम्प्युटिङविना नै राम्रो काम गर्न सक्छन् । 

सिक्स–जी सञ्चारको बिहानी

सिक्स–जी वायरलेस कम्युनिकेसन नेटवर्कको सुरुवातसँगै हामीले द्रुत कनेक्टिभिटीको फाइदा उठाउनेछौँ । २०२५ मा सिक्स–जी प्रविधिलाई स्तरीकरण गर्ने काम सुरु हुनेछ । प्रविधिको सफलताका लागि स्पष्ट सिक्स–जी वैश्विक स्ट्यान्डर्ड र नेटवर्कबिच कम्प्याटिबिलिटी हुन जरुरी छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार