प्रविधि बहसहरू झन्–झन् पक्ष–विपक्षको डाइकोटोमीमा स्खलित हुँदै गइरहेका छन् । यी बहसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई निषेध गर्नुपर्छ वा यसलाई गति प्रदान गर्नुपर्छ भन्ने थेसिस (वाद) र एन्टिथेसिस (विवाद) त पाइन्छ । तर, संश्लेषण पाइँदैन । कुनै एउटा पक्ष रोज्नुको साटो हामीले आफ्नो ध्यानलाई सही स्थान अर्थात् मानवतामा केन्द्रित गराउने वैकल्पिक धारणामाथि विचार्नुपर्छ ।
यसै ध्येयले मैले छ थान सिद्धान्तहरू प्रस्ताव गरेको छु । पहिलो सिद्धान्त कार्थाजिनियन (प्राचीन अफ्रिकी नगर कार्थाज) जर्नेल हनिबलको प्रसिद्ध उक्तिबाट लिइएको छ : ‘मैले या एउटा बाटो पत्ता लगाउनेछु या त बनाउनेछु ।’ एआई अझै निकै प्रारम्भिक चरणमा छ । यसैले हामीले यसको सम्भाव्यतालाई मुस्किलले खोस्रन मात्र सकेका छौँ । एआईले हामीलाई पहिले नदेखेका मार्ग÷उपायहरू पत्ता लगाउन मद्दत गर्न सक्छ । हामीलाई मानव रचनात्मकताको शक्तिमार्फत नवीन बनाउन मद्दत गर्न सक्छ । ‘च्याटजिपिटी’, ‘कोपाइलट’ र ‘पाई’जस्ता उपकरण/औजार मानिसबारेका सामग्रीले मानिसबाट प्रशिक्षित छन् । यिनले हामीलाई प्रतिस्थापन गर्नु त परै जाओस्, बरु हामीलाई विस्तार गरिदिएका छन् ।
गोडेल, एस्सर, फायर बाख, काराभागियो, रुसो र भिभाल्डीलाई जोड्ने पहिले अगम्य लाग्ने ज्ञान/अन्तरदृष्टिको धागो अथवा तपाईंको भान्साका सरसामानलाई एकसाथ उन्ने धागो फेला परेको कल्पना गरौँ त । मानव सृष्टि तथा विगतका योगदानको विशाल संग्रह हाम्रो सामुन्नेमा विस्तारित बुट्टे वस्त्रजस्तै टाँगिएको छ र अब हामीसँग यसलाई अघिल्लो पुस्ताले भन्दा बढी उपयोग गर्न सक्ने उपकरण उपलब्ध छन् ।
सबैले सकारात्मक संश्लेषण कस्तो हुन सक्छ भनेर आफूलाई प्रश्न सोध्नुपर्छ । एआई–सञ्चालित अनुसन्धानबाट हामी नयाँ उपचार पत्ता लगाउने अनि जलवायु परिवर्तनका दुष्परिणाम रोक्न आणविक फ्युजनको शक्ति दोहनमा मद्दत गर्ने मानव विकासको नयाँ युगमा प्रवेश गर्न सक्यौँ भने कस्तो होला ?
दोस्रो उक्ति यस्तो छ– ‘हामी प्रतीक हौँ, र प्रतीकमाझ जिउँछाैँ ।’ उनी विश्वलाई आकार दिन, व्याख्या गर्न र बुझ्न हामीले भाषाको प्रयोग कसरी गर्छाैं भन्नेबारे वर्णन गर्छन् । प्रतीक(सिम्बोल)हरू औजार हुन् र हामी मानव जहिल्यै यिनमा भर पर्छौं । यिनले हामीलाई पहिले अस्तित्वमा नरहेका र स्वाभाविक रूपमा उत्पन्न नहुने कुराहरू सिर्जना गर्न सक्षम पार्छन् । गरुडको टाउको अनि पखेटा र सिंहको शरीर भएको ग्रिफिन (काल्पनिक जीव)लाई नै लिऔँ । यो एउटा मानव सिर्जना हो, जसले हामीले यो विश्वमा देख्न चाहेकोजस्तो वास्तविकतालाई प्रतिबिम्बित गर्छ । विशिष्ट मानवीय कारणले गर्दा नै मानिसले ग्रिफिन सिर्जना गरे । एआई सिर्जनाको कारण पनि यसभन्दा फरक छैन ।
हो, कैयौँ कल्पनात्मक सिर्जनाहरू सावधानी अपनाउनका लागि पनि हुन्छन् । फ्रेन्केन्स्टाइन (विज्ञान चलचित्र)की मेरी सेलीको दानवदेखि टर्मिनेटर(चलचित्र)मा जेम्स क्यामरुनको घातक ‘साइबोर्ग’सम्मका कल्पनिक रचना मानिसलाई सजग गराउनकै लागि हुन् । सुरुमा ‘यी अन्य चिज (द अदर्स)’ वा ‘नौलाचिज’सित भेट्दा हामीलाई डर लाग्नु स्वाभाविकै हो । तर, ग्रिफिनले हामीलाई के सम्झाउँछ भने हामी डरलाई भव्य सम्भावनाको भावनामा रूपान्तरण गर्न सक्छौँ । आखिरमा, मानिस आफ्ना प्रतीक, संस्कृति, वातावरण र निर्णयका सर्जक र उत्पादन दुवै हुन् । एआईसँगको सहकार्यबाट हामी थप ग्रिफिनहरू रचना गर्न सक्छौँ ।
तेस्रो म्याक्सिम क्याथेड्रल (भव्य गिर्जाघर÷मन्दिर÷स्मारक)हरूको निर्माण हो । यिनले हाम्रा प्रयासलाई बल दिन्छन् र मानव समूहलाई संगतिमा परिणत गरिदिन्छन् । वास्तवमा क्याथेड्रलहरू मानवजातिका सबैभन्दा विस्मयकारी रचनामध्ये हुन्, जसकारण हामी ‘अपोलो चन्द्र अवतरण’ जस्ता मिसनलाई पनि ‘क्याथेड्रल परियोजना’का रूपमा उल्लेख गर्छाैं । युरोपेली सहरका क्याथेड्रलहरू जस्तै यी (एआई आदि) हाम्रो दैनिक जीवनको एक हिस्सा हुन्थे भने अद्भूत हुने थिएन त?
यस्ता परियोजनाका लागि क्षेत्रव्यापी, विधाव्यापी र अझ पुस्ताव्यापी रूपमा समूहमा काम गर्ने धेरैभन्दा धेरै हात चाहिन्छन् । लेखक एवं एभिएटर (पाइलट) एन्टोनी डे सेन्ट–एक्सुपेरी लेख्छन्, ‘एउटा गिर्जाघर (क्याथेड्रल) पत्थरहरूको निर्माण हो, जो बनेको त ढुंगाले हुन्छ, तर जब निर्माण हुन्छ, गिर्जाघरले प्रत्येक ढुंगालाई अर्थपूर्ण बनाइदिन्छ र ती गिर्जाघरका ढुंगा बन्छन् ।’ वैज्ञानिक खोज र प्रविधिगत आविष्कार मानव प्रगतिका क्याथेड्रलका पत्थर हुन् ।
टेलिस्कोप, रेडियो, कार, लिफ्ट, हवाईजहाज र अब एआईका कथाले पनि यही ढाँचा पछ्याउँछन् । धेरैले च्याटजिपिटीजस्ता हालका व्यावसायिक अनुप्रयोगमार्फत नै एआईलाई चिन्ने भए पनि हामीलाई यो विन्दुमा पुग्न नवप्रवर्तक र आविष्कारकहरूका पुस्ताहरू नै लागेको छ । हामीलाई दिशाबोधको भावना दिन हामीलाई सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट निःसृत भएका भव्य परियोजना चाहिन्छन् । हामीले हाम्रा गिर्जाघरहरू कसरी डिजाइन र निर्माण गर्छाैं भन्ने कुराले हामीलाई हामी को हौँ, र हामी के हुन चाहन्छौँ भन्ने कुरा बताउँछ ।
चौथो म्याक्सिम रहेको छ– हामीले ठूला जोखिमलाई नेभिगेट गर्ने आशा राख्न साना जोखिम उठाउनैपर्छ । जोखिमलाई पूर्ण रूपमा हटाउने प्रयास गर्नुको सट्टा (जुन असम्भव छ) हामीले असफलता निम्त्याउन पनि सक्ने चुनौतीलाई स्वागत गर्नुपर्छ । किनकि यसले पुनरावृत्ति, चिन्तनमनन, विमर्श र निरन्तर सुधारका अवसर सिर्जना गर्छ ।
अर्थशास्त्री हाइमन मिन्स्कीको वित्तीय दुर्घटनाबारेको अन्तरदृष्टिलाई नै लिऔँ । उनले ‘स्थिरता’ले आफ्नै खालको अस्थिरता सिर्जना गर्न सक्ने देखे । वित्तीय प्रणालीमा धेरै सुरक्षा उपाय अपनाउँदा त्यसले यसलाई अझ कमजोर बनाउन सक्छ । र, सुरक्षाको उपस्थितिको अर्थ यो भत्कँदाका लागि कोही पनि तयार छैनन् भन्ने पनि हो ।
यही पाठ एआई नियमनमा पनि लागू हुन्छ । हामीले नवप्रवर्तनलाई प्रोत्साहन त गर्नुपर्छ नै, साथै प्रयोग (सानो जोखिम लिनु) आफैँमा जोखिम निवारणको संयन्त्र पनि हो । अन्ततः जब यी प्रविधि व्यापक रूपमा तैनाथ हुनेछन्, तिनले धेरैभन्दा धेरै मानिसलाई आफ्नो जीवनमा प्रविधिलाई एकीकृत र उपयोग गर्न अनुमति दिँदा हामीले असल नियमन पनि प्राप्त गर्नेछौँ । र, यो सरकार, निजी क्षेत्र, प्रेस, प्राज्ञिक जगत्, जनता र सबैलाई सामेल गर्नेवाला एउटा सहयोगी र साझा प्रयाससमेत हुनेछ ।
पाँचाैँ उक्तिले भन्छ– हामीलाई मानव बनाउने कुरा नै प्रविधि हो, अथवा प्रविधिले नै हामीलाई मानव बनाएको छ । यदि हामी एआई मानवजातिको थेसिसको एन्टिथेसिस हो भन्ने धारणा राख्छौँ भने हामी आधा–मानव, आधा–मेसिन अर्थात् साइबोर्ग हुन पुग्नेछौँ । तर, चिजहरूले वास्तवमा यसरी काम गर्दैन । थेसिस र एन्टिथेसिसको संयोजनले भद्रगोलमा होइन कि नयाँ थेसिसमा चाहिँ पु¥याउँछ । थेसिस र एन्टिथेसिस सँगसँगै विकसित हुन्छन् र संश्लेषणमा परिणत हुन्छन् । यस मामलामा मानव थप समुन्नत बन्छ ।
यसबाहेक, एआईले हामीलाई थप मानवीय बन्न मद्दत गर्न सक्छ । विचार गर्नुस् त, संवादात्मक एआई मोडेल र च्याटबोटहरू कति उत्तरदायी, सजग र धैर्यवान् हुन सक्छन् । यी विशेषताले हामीमा गहिरो प्रभाव पार्न सक्छन् । मानवीय दयालुपन र सहयोगमा सबैको भरपर्दाे पहुँच हुँदैन । यस्ता स्रोत सजिलै उपलब्ध हुँदा त्यसले धेरै मानिसको दया र सहानुभूति देखाउने क्षमतामा सुधार ल्याउनेछ । अनि सहानुभूतिले सहानुभूति जन्माउन सक्छ । मलाई लाग्छ एआईको क्षमताको यो आयामलाई अझै पूर्ण रूपमा आकलन गरिएकै छैन ।
छैटौँ र अन्तिम सिद्धान्त के भने भविष्यलाई वर्तमानभन्दा राम्रो बनाउनु हाम्रो दायित्व हो । हरेक व्यक्तिको खल्तीमा एउटा व्यक्तीकृत डिजिटल डाक्टर वा शिक्षक भइदिएको कल्पना गरौँ त । यो कुरा जतिसक्दो छिटो हुनुको सट्टा ढिलो हुनुको लागत कति हुन्छ होला ? जीवनलाई सुधार गर्ने अद्वितीय शक्तिका कारण पनि प्रविधिको सवालमा गति एउटा सद्गुण हो ।
सबैले सकारात्मक संश्लेषण कस्तो हुन सक्छ भनेर आफूलाई प्रश्न सोध्नुपर्छ । एआई–सञ्चालित अनुसन्धानबाट हामी नयाँ उपचार पत्ता लगाउने अनि जलवायु परिवर्तनका खराब दुष्परिणाम रोक्न आणविक फ्युजनको शक्ति दोहनमा मद्दत गर्ने मानव विकासको नयाँ युगमा प्रवेश गर्न सक्यौँ भने कस्तो होला ? अँध्यारो र अज्ञातमा चिहाउँदा सबै कुरा गलत हुन सक्ने धारणा पाल्नु स्वाभाविकै हो । तर, सकारात्मक परिणामबारे घोत्लिनु अत्यावश्यक मात्रै होइन, मौलिक रूपले मानवीयसमेत हुन्छ ।
(रेइड होफम्यान लिन्क्डइनका सहसंस्थापक हुन् । प्रोजेक्ट सिन्डिकेटबाट नारायण शिवाकोटीको अनुवाद ।)