गुगलको बीसवर्षे प्रभुत्व खतरामा परेको हो ?

द इकोनोमिस्ट द इकोनोमिस्ट
शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

क्यालिफोर्नियाको माउन्टेन भ्यु व्यापार इतिहासका सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने कम्पनीहरूको थलो हो । गुगल पनि यहीँ छ । यसको सर्चइन्जिन दुई दशकदेखि मानिसहरूले इन्टरनेटमा छिर्न रुचाउने मूल ढोका हो । विज्ञापनकर्ताहरू मानिस(प्रयोकर्ता)हरूसम्म पुग्ने मूल ढोका पनि यही हो । प्रत्येक दिनको प्रत्येक सेकेन्ड गुगलले एक लाखभन्दा धेरै खोज प्रशोधन गर्छ र यसको प्रवीण अल्गोरिदमले आश्चर्यजनक रूपमा तिनको सान्दर्भिक उत्तर प्रदान गर्छ । यो शक्तिले गुगललाई जीवन्त व्यवसाय बनाएको छ । यसले खोजकर्ताका जिज्ञासाका जवाफ उपलब्ध गराउँदै गर्दा विज्ञापनहरू बेच्न दैनिक अर्बाैं अवसरहरू पनि खोलिरहेको हुन्छ । नतिजाहरूको सटिकताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गरिरहेको हुन्छ भने प्रतिद्वन्द्वीहरूलाई किनारमा पन्छाइरहेको हुन्छ । अन्य सबै सर्चइन्जिनले दैनिक खोजीको १० प्रतिशत हिस्सा पनि ओगट्दैनन् ।


वार्षिक औसत वृद्धिदर २० प्रतिशत
विज्ञापनदाताहरूले गुगलका प्रयोगकर्ताहरूसम्म पहुँच पाउन राम्रो शुल्क तिर्छन् । सामान्यतः गुगलले विज्ञापनदाताहरूबाट कसैले उनीहरूको वेबसाइट भिजिट गर्दा मात्र शुल्क असुल्छ । गुगलको माउ कम्पनी अल्फावेटको वृद्धिदर सन् २०११ यता वार्षिक २० प्रतिशतको औसतमा छ । यो अवधिमा उसले गुगलसर्चबाट मात्रै सञ्चालन खर्च कटाएर तीन खर्ब डलरभन्दा धेरै खुद आम्दानी गरेको छ । यसबीच, गुगलको बजार मूल्य (मार्केट भ्यालु) तेब्बरले बढेर १० खर्ब ३० अर्ब डलर भयो । यो विश्वको चौथो मूल्यवान् कम्पनी हो । आफ्ना प्रविधि प्रतिस्पर्धी एप्पल र माइक्रोसफ्टले जस्तो गुगलले अहिलेसम्म आफूलाई पुनर्जीवित गर्न जरुरतै परेन । 


ओपनएआई नामक कम्पनीले डिजाइन गरेको कृत्रिम रूपले बुद्धिमान् च्याटबोट ‘च्याटजिपिट’ले अहिले एकाएक गुगललाई चुनौती दिएको छ । च्याटजिपिटीजस्ता च्याटबोटहरू मानिसले जस्तै कुराकानी गर्न मात्रै सक्षम छैनन् । यिनले मानिसले जस्तै कविता, इतिहाससम्बन्धी निबन्ध, कम्प्युटर कोडका साथै मानिसले लेख्ने अन्य कुनै पनि चिजको मस्यौदा गरिदिन सक्छन् । युबिएस बैंकका अनुसार नोभेम्बरमा सार्वजनिक भएयता च्याटजिपिटीले करिब १० करोड मासिक सक्रिय प्रयोगकर्ता बटुलिसकेको छ । यो भनेको सनसनी मच्चाएको सामाजिक सञ्जाल टिकटकले नौ महिनामा बटुलेकोजत्तिकै उपलब्धि हो । यसले चित्रकला बनाउन, गीत लेख्न र गाउन पनि सक्छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले यो एआई प्रविधिलाई कम्प्युटर र इन्टरनेटजत्तिकै महत्वपूर्ण भनेका छन् ।


गुगलका पूर्वकार्यकारी इरिक स्मिट्का अनुसार च्याटजिपिटी मानिसको एआई मित्र जस्तो देखिन सक्छ भन्ने पहिलो र व्यापक दृश्यमान उदाहरण हो । उनका अनुसार यो गुगलको सर्चइन्जिनको प्रभुत्वमाथिको पहिलो र व्यापक चुनौती हो । । मानिसले गुगललाई सोध्ने खालका प्रश्नहरूको पनि च्याटजिपिटीले उत्तर दिन सक्छ । यसैक्रममा, गुगलको आकर्षक मुनाफामा आँखा लगाएको प्रविधि जायन्ट माइक्रोसफ्टले च्याटजिपिटीको सर्जक ओपनएआईसँग सहकार्य थालेको छ । हालै ओपनएआईमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको माइक्रोसफ्टले त्यो मुनाफा कसरी आफ्नो पोल्टामा पार्ने भनेर ७ फेब्रुअरीमा योजना नै प्रस्तुत गर्यो । सफ्टवेयर जायन्ट माइक्रोसफ्टको सर्चइन्जिन ‘बिंग’ले दिने नतिजाहरू अब एआई जेनेरेटिभ प्रासंगिक जानकारीको साइडबक्ससहित प्रस्तुत हुनेछ । बिंगले ओपनएआईकै मोडलमा आधारित रहेर आफ्नै च्याटबोट पनि बनाउँदै छ । माइक्रोसफ्टले एक हप्ताको निर्धारित भोजनको आधारमा किराना खरिदको सूची बनाइदिएर केही चालबाजी प्रदर्शन गरिसकेको छ । 

च्याटबोटहरूलाई के सत्य हो, के असत्य भन्नेसँग कुनै मतलब हुँदैन । उनीहरूले त इन्टरनेटमा के छ, त्यसैलाई प्रतिबिम्बित गरिदिन्छन् । कम्प्युटर विज्ञानको भाषामा यी आधिकारिकजस्ता सुनिने ‘विभ्रम’ रमाइलो र कम्प्युटर खेलको क्षेत्रमा उचित नै मानिन्छन् । तर, गम्भीर प्रश्नहरूको वास्तविक उत्तरका लागि भने यी घातक हुन् ।


‘खोजीका निम्ति यो नयाँ दिन हो,’ माइक्रोसफ्टका कार्यकारी सत्य नाडेलाको उद्घोष छ । गुगल प्रतिबन्धित रहेको चीनको शीर्ष सर्चइन्जिन बाइडुले पनि आगामी मार्चमा आफ्नै एआई प्रवर्तित सेवा सुरु गर्ने भएको छ । माइक्रोसफ्टको चालबाजीलाई जवाफ दिन अल्फावेटले केही दिनअघि आफ्नै च्याटबोट ‘बार्ड’ सार्वजनिक गर्यो । साथै, जेनेरेटिभ–एआई स्टार्टअप एन्थ्रोपिकमा पनि ३० करोड डलर लगानी गर्ने भएको छ । ८ फेब्रुअरीमा गैर–संलापीय एआई खोज सुविधाहरू प्रस्तुत गर्दै गुगलले अर्काे एक हप्ताभित्रै बार्डलाई आफ्नो सर्चइन्जिनमा समायोजित गर्ने जनायो । तर पनि, लगानीकर्ताहरू उत्साहित हुन सकेनन् र अल्फावेटले यस्तो घोषणा गरेकै भोलिपल्ट एकैदिन आठ प्रतिशतले सेयर मूल्यमा गिरावट साक्षात्कार गर्यो । बजारपुँजीकरणबाट झन्डै एक खर्ब डलर गुमाउन पुग्यो ।


त्यसयता च्याटबोटको युद्ध तातेको छ । यसले इन्टरनेटमा चिजहरू फेला पार्ने तरिकामा आमूल परिवर्तन गर्दै छ । यसले सर्चइन्जिनको आकर्षक व्यवसायलाई उल्ट्याइदिन सक्छ । सन् १९९०को दशकको उत्तरार्धमा उपभोक्ता इन्टरनेट सुरुवात हुँदा सर्चइन्जिनले पछिल्लो अवरोध सामना गरेको थियो । त्यसबखत, वेबपेजहरूको संख्यामा विस्फोटक वृद्धि हुँदा उपयोगी जानकारी फेला पार्न सर्चइन्जिनहरूले कठिनाइको सामना गरेका थिए । अल्टाभिष्टा र याहु ! जस्ता सर्चइन्जिनले त्यसलाई केही सहज बनाए । तर, सन् १९९८ मा स्थापित गुगलले सर्चइन्जिन उद्योगमै आमूल क्रान्ति ल्याइदियो । यसका अल्गोरिदमले वेबपेजहरूलाई तिनलाई लिंक गर्ने अन्य वेबसाइटहरूको संख्याको आधारमा क्रमबद्ध गरिदियो । त्यो शैली प्रासंगिकताका हिसाबले प्रभावकारी सावित भयो । त्यसपछि गुगलले खोज नतिजासँगै खोजीका सूचक शब्दहरूसँग सम्बन्धित विज्ञापनहरू प्रदर्शन गर्न सुरु गर्यो ।


गत केही वर्षयता गुगलका चुनौतीहरू देखा परेका छन् । निभाजस्ता विज्ञापनमुक्त खोजसेवा प्रदान गर्ने स्टार्टअपहरू आएका छन् । अन्य चुनौती, अल्फावेटका ठूला प्रविधि प्रतिस्पर्धीहरू हुन् । अमेजनको ई–इम्पोरियम यस्तो ठाउँ बनेको छ, जहाँ ठूलो संख्यामा खरिदकर्ताहरूले सरसामान खोज्छन् । अमेरिकाको सर्चइन्जिन वा खोजी–आधारित विज्ञापन बजारमा यसको हिस्सा सन् २०१६ को तीन प्रतिशतबाट आज २३ प्रतिशतमा उक्लिएको छ । यस्तै, एप्पलको सर्च–एड व्यवसायको बजार हिस्सा सात प्रतिशत पुगेको छ, जुन केही वर्षअघिसम्म शून्यमा थियो । गुगलको आफ्नै अनुसन्धानअनुसार १८ देखि २४ वर्ष उमेरसमूहका पाँचमा दुईजनाले इन्स्टाग्राम मन पराउँछन् । नजिकैको रेस्टुरेन्टको खोजी गर्दा गुगल म्याप (मानचित्र)को माथिल्लो भागमा मेटाको फोटो–सेयरिङ एप वा टिकटक देखापर्छ ।


प्रतिस्पर्धाका कारण यो वर्ष अमेरिकाको सर्चइन्जिनमा आधारित विज्ञापनबाट गुगललाई प्राप्त हुने आम्दानीको हिस्सा ५४ प्रतिशतमा झर्ने देखिन्छ । अनुसन्धान संस्था इमार्केटरका अनुसार सन् २०१६ मा यो हिस्सा ६७ थियो । तर, यी चुनौतीहरूले गुगललाई कहिल्यै अस्तित्वकै खतरा भने प्रस्तुत गरेका थिएनन् । तर, च्याटबोट–असिस्टेड कन्भर्सेसनल सर्चका बारेमा चाहिँ यसै भन्न सकिन्न । च्याटजिपिटीको लन्चपछि अल्फावेटका कार्यकारी सुन्दर पिचाईले यसलाई ‘कोड रेड’ घोषणै गरेका छन् ।

गुगल च्याटबोटसँग किन डराएको छ भन्ने बुझ्न पहिले यसपछाडि रहेको प्रविधिबारे बुझ्नुपर्छ । च्याटजिपिटीले प्रश्नको जवाफ दिँदा वाक्यका पछिल्लो शब्दको पूर्वानुमान गरेर काम गर्छ । यी पूर्वानुमान ‘लार्ज ल्यांगवेज मोडल’मा आधारित हुन्छन् । यी मोडल इन्टरनेटबाट लिइएका लाखौँ पाठहरूको संश्लेषण गरेर निष्कर्षमा पुगेका हुन्छन् । एकपटक नेचुरल ल्यांग्वेज(एनएलपी)मा प्रशिक्षित भइसकेपछि प्रयोगकर्ताहरूले निर्देशन दिनेबित्तिकै च्याटबोटले केवल लिंकहरूको सूची प्रदान गर्नुको सट्टा धाराप्रवाह लिखित जवाफ प्रदान गर्छ । मानाैँ, तपाईं एक दिनका लागि कुनै सस्तो, बालमैत्री र शैक्षिक यात्रामा जान चाहनुहुन्छ । यसका लागि अहिले गुगल (बिंग वा बाइडु)खोजी गर्नुभयो भने तपाई‌ंले थुप्रै वेबसाइट हेरेर र पढेर तुलना गर्नुपर्ने हुन्छ । तर, च्याटजिपिटीले एकक्षणमै उपयुक्त विकल्पहरूको सूची नै थमाइदिन्छ । प्रयोगकर्ताले त्यसमा थप सोधखोज गर्न सक्छन् ।

मानिसहरूले खोजी गर्ने तरिका परिवर्तन हुँदा तिनले खोज्ने कुरा पनि परिवर्तन हुनेछ । इन्टरनेटमा उपलब्ध जानकारीहरूको खोजीका साथै च्याटबोटलाई निर्देशन दिएर प्रयोगकर्ताहरूले मौलिक सामग्री नै सिर्जना गर्न सक्छन् । च्याटजिपिटीले तपाईंलाई मनपर्ने लेखकको शैलीमा कविता र निबन्धहरू लेखिदिन्छ । गुगलले २६ जनवरीमा शब्दबाट संगीत बनाउन सक्ने एउटा नयाँ ‘लार्ज ल्यांग्वेज मोडल (म्युजिकएलम)’बारे एउटा पेपर प्रकाशित गरेको थियो । ओपन–सोर्स प्रोग्राम होस्ट गर्ने माइक्रोसफ्ट स्वामित्वको प्लाटफर्म गिटहबसँग पनि कोपिलोट नामक च्याटबोट छ । यो च्याटबोट कोड लाइनहरू लेख्न सक्षम छ । बर्नस्टिनका ब्रोकर मार्क समुलिकका अनुसार खोजसँग सम्बन्धित सबैखाले बजारमा जेनेरेटिभ एआईले नयाँ अवसरहरू सिर्जना गर्नेछ ।

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले यो एआई प्रविधिलाई कम्प्युटर र इन्टरनेटजत्तिकै महत्वपूर्ण भनेका छन्


नयाँ क्षेत्रका रूपमा संवादात्मक खोजले आशावादी नवआगन्तुहरूलाई खोजी एवं जेनेरेटिभ कन्टेन्टको बजार विस्तारसहित आकर्षित गरिरहेको छ । ‘मैले दुई वर्षअघि सुरु गर्दा मानिसहरू मलाई पागल भन्थे । अहिले त्यो सोचमा व्यापक बदलाव आइसकेको छ,’ एआई–प्रवर्तित सर्चच्याटबोट उपलब्ध गराउने युडटकमका संस्थापक रिचार्ड सोचेरले भने । निभाले पनि आफ्नो सब्सक्रिप्सन सर्चमा च्याटबोट थपेको छ । यसका सहसंस्थापक श्रीधर रामास्वामी निभको वर्तमान सब्सक्रिप्सन २० लाखबाट एक करोड पुर्याउने र वित्तीय रूपमा आत्मनिर्भर हुने आकांक्षा राख्छन् । सफ्टवेयर बिजनेस फर्म सि३डटएआईले पनि कम्पनीहरूलाई तीनका इन–हाउस डाटा खोजीमा सहयोग गर्न एउटा च्याटबोट ल्याएको छ । बुकिंगडटकमलगायत ट्राभल कम्पनीहरू पनि च्याटबोट उपयोग गरिरहेका छन् ।


गुगलको सबैभन्दा ठूलो चुनौतीचाहिँ माइक्रोसफ्टबाट आएको छ । नाडेलाको कम्पनीसँग पहिलेबाटै पूर्वाधारहरू छन् । उनीहरूसँग विशाल कम्प्युटिङ पावर छ । स्टोरेज सिस्टमहरू छन् । इन्टरनेटबाट निरन्तर जानकारीहरू दोहन गर्ने विशाल कार्यबल छ । बेलायती ट्रस्टबस्टिङ एजेन्सी ‘कम्पिटिसन मार्केट्स अथोरिटी’को आकलनअनुसार गुगलसँग प्रतिस्पर्धा गर्न सक्ने गरी नयाँ प्रतिस्पर्धीहरूलाई यी सबै चिज खडा गर्न कम्तीमा १० देखि ३० अर्ब डलर लाग्छ ।


हाल अमेरिकाको सर्च–एडभर्टाइजिङको बजारमा बिंगको हिस्सा पुगनपुग पाँच प्रतिशत छ । माइक्रोसफ्ट आफ्ना नयाँ रणनीतिहरूले यसलाई बदल्ने आशामा छ । उसले च्याटजिपिटीका केही कमी–कमजोरीलाई पनि सुधारेको छ । जिपिटी–३.५ नामक च्याटजिपिटीमा अन्तरनिहित मुख्य एआई सन् २०२१ को डाटामा प्रशिक्षित छ । त्यसपछि इन्टरनेटमा आएका कुनै पनि कुराबारे यसलाई ज्ञान छैन । तपाईंले पछिल्लो समाचार वा आजको मौसमपूर्वानुमानबारे सोधेको प्रश्नमा यसले तपाईंसँग माफी माग्छ । बिंगको एआईले पहिले कसरी सबैभन्दा सान्दर्भिक जानकारी संकलन गर्ने भन्ने निर्णय गर्छ र त्यसपछि त्यो फेला पार्न खोज उपकरणहरू प्रयोग गर्छ । ती तथ्यांकलाई ल्याग्वेज मोडलमा पृष्ठपोषण गराइन्छ, जसले तिनलाई धाराप्रवाह उत्तर रचना गर्न उपयोग गर्छन् । निभालगायत अन्य कम्पनीले पनि यही मोडल प्रयोग गरिरहेका छन् ।


यसले माइक्रोसफ्टलाई लार्ज ल्याग्वेज मोडलको कहिल्यै नभएका घटनाहरूको विवरण सिर्जना गरेर झुटो कुरा प्रस्तुत गर्ने प्रवृत्तिसँग जुझ्न सहयोग गरेको छ । च्याटबोटहरूलाई के सत्य हो, के असत्य भन्नेसँग कुनै मतलव हुँदैन । उनीहरूले त इन्टरनेटमा के छ, त्यसैलाई प्रतिबिम्बित गरिदिन्छन् । कम्प्युटर विज्ञानको भाषामा यी आधिकारिकजस्ता सुनिने ‘विभ्रम’ रमाइलो र कम्प्युटर खेलको क्षेत्रमा उचित नै मानिन्छन् । तर, गम्भीर प्रश्नहरूको वास्तविक उत्तरका लागि भने यी घातक दोष हुन् । गत वर्ष मेटाले आफ्नो साइन्स च्याटबोट ग्लालेक्टिकालाई वैज्ञानिक बकवास गरेको पाइएपछि हटाउनु नै परेको थियो ।

यो मोडललाई अधावधिक डाटामा पहुँच दिँदा बिंगको च्याटबोट सुविधाको ‘विभ्रम (हेलुसिनेसन)’को दर कम त भएको छ, तर खत्तम नै भएको भने छैन । माइक्रोसफट्ले यो दर थप कम बनाउन अन्य उपाय पनि लगाइरहेको छ । जसमा यो मोडललाई उसले दिएको कुन उत्तर राम्रो छ र कुन जानकारी भरपर्दाे छ भनेर बताउने र त्यसलाई यसको प्रणालीको मेमोरीमा थप्नेलगायत उपाय समावेश छन् । स्मिट पनि एकाध वर्षमै च्याटबोटहरूले यसमा महारथ हासिल गर्नेमा विश्वस्त छन् ।


च्याटबोटको खोज लागत 
प्राविधिक समस्याहरूको समाधान गुगललाई सर्चइन्जिनको प्रभुत्वबाट हटाउनेतर्फको पहिलो कदम मात्र हो । संवादात्मक खोजले कसरी पैसा कमाउने भन्ने कुराको प्रबन्ध गर्नु अझ झन्झटिलो छ । पारम्परिक सर्चइन्जिनको तुलनामा यसको लागत उच्च हुनेछ । मोर्गान स्ट्यान्लेका ब्राइन नोअक च्याटजिपिटीमा एउटा खोजीको उत्तरको लागत करिब दुई सेन्ट हुने अनुमान गर्छन् । यो भनेको गुगलसर्चको भन्दा झन्डै सात गुणा बढी हो । अतिरिक्त कम्प्युटिङ आवश्यक पर्ने हुँदा लागत बढेको हो । उनका अनुसार सन् २०२५ सम्ममा एआईमा सर्ने गुगल सर्चको प्रत्येक १० प्रतिशत खोजीले गुगलको सञ्चालन लागतमा ७० करोडदेखि ११ अर्ब ६० करोड डलरबीचको लागत थप्नेछ । 


समस्या के भने महँगा संवादात्मक–खोजले खासै विज्ञापन पाउनेछैनन् । गुगलले पनि आफ्ना ८० प्रतिशत खोजी नतिजाका टाउकामा पैसाका दृष्टिले आकर्षक विज्ञापनहरू नहुने बताउँछ । यस्ता खोजीहरू विशेषगरी सूचनामूलक (स्पेनको राजधानी के हो ?) जस्ता हुने गर्छन् । जबकि ठ्याक्कै यस्तै खोजीका लागि च्याटबोट बढी उपयोगी छन् । यस्ता प्रश्नमा विज्ञापनदाताहरूको रुचि कम छ (किनकि म्याड्रिड शब्दको छेउमा कुन विज्ञापन राख्ने भन्ने अलमल हुन्छ) । जेनेरेटिभ एआईले पैसा कमाउन नेभिगेसनल खोजी विशेषगरी व्यावसायिक खोजीहरूमा आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ (जस्तो कि यो मौसमका लागि सबैभन्दा उत्तम स्की बुट कुन हो ?) । 

निभाजस्ता केही कम्पनीले सब्सक्रिप्सनबाट आम्दानी गर्छन् । १ फ्रेब्रुअरीबाट ओपनएआईले च्याटजिपिटीको वर्तमान संस्करणमा साइनिङ अप सब्सक्रिप्सन सुरु गरेको छ । प्रतिमहिना २० डलरमा प्रयोगकर्तालाई शीघ्र जवाफका साथै पिक टाइको पहुँच उपलब्ध हुनेछ । ओपनएआईले अन्य कम्पनीहरूलाई लाइसेन्स बेच्ने योजना पनि बनाइरहेको छ । तर पनि, ठूलो पैसा त विज्ञापनमै छ ।


प्रयोगकर्ताले सामान्य वार्तालापजस्तै महसुस गर्ने गरी विज्ञापनलाई उत्पादनमै एकीकृत गर्न कुशलता आवश्यक पर्छ । नोवाकका अनुसार एउटा सम्भावना, कम विज्ञापनहरू प्रदर्शन गर्नु र प्रत्येक प्रदर्शनका लागि विज्ञापनदाताबाट बढी शुल्क लिनु हो । माइक्रोसफ्टले बिंगको नयाँ अन्दाजमा यस्तै मोडल परीक्षण गर्ने योजना रहेको बताएको छ ।


माइक्रोसफ्टले च्याटबोट–एसिस्टेड जानकारीमूलक खोजीले नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने र त्यसपछि उनीहरूले अझ अधिक आकर्षक प्रश्नहरूको खोजीमा बिंग प्रयोग गर्न आशामा दाउ लगाइरहेको हुन सक्छ । यसका लागि उसले लागत कम नगर्दासम्म मार्जिन मुनाफाको आस त्याग्नुपर्ने हुन सक्छ । यो पनि गुगलबाट ठूलो बजार हिस्सा लिन सके भने मात्र अर्थपूर्ण हुनेछ । माइक्रोसफ्टले गुगलबाट प्राप्त हुने प्रत्येक प्रतिशत बजार हिस्साले विज्ञापनबाट हुने आफ्नो वार्षिक आम्दानीमा दुई अर्ब डलरले बढोत्तरी हुने अपेक्षा गरेको छ । 


अल्फावेटको सबलता
त्यो सम्भव त छ तर सुनिश्चित भने छैन । अल्फावेटसँग अभेद्य शक्ति छन् । एउटा शक्ति प्रविधि हो । गुगलले सर्चइन्जिनमा जेनेरेटिभ एआईलाई एकीकृत गर्न बाँकी भए पनि उसले आफ्नो सर्चइन्जिनमा अन्य एआईहरू तैनाथ पहिल्यैबाट गरेको छ । यसले जुन खोजीका नतिजाहरूको शीर्ष भागमा वेब–पुष्ठको अंशलाई हाइलाइट गरेर प्रस्तुत गर्छ, त्यो बर्ट र ममजस्ता एआई मोडलहरूकै सौजन्य हो । गुगलका सर्च प्रमुख जिल रेइड भन्छन्, ‘यो सब हामीले एआईमा एकदशकभन्दा बढी समयदेखि गरेको आधारभूत अनुसन्धानबाट मात्र सम्भव भएको हो ।’ सार्वजनिक गरेको दिनमा सौर्यमण्डलबाहिरका ग्रहको तस्बिर खिच्ने पहिलो टेलिस्कोपबारे गलत जानकारी दिए पनि बार्ड च्याटजिपिटीभन्दा कम प्रभावशाली छैन ।


गुगलको अर्काे शक्ति उसको प्रभुत्व हो । गुगल अल्फावेटको ब्राउजर क्रोमको डिफल्ट सर्चइन्जिन हो, जुन इन्टरनेटमा तीनजनामध्ये दुईजनाले प्रयोग गर्ने अनुसन्धान फर्म स्ट्याटकाउन्टर बताउँछ । गुगल अमेरिकामा ९५ प्रतिशतभन्दा बढी स्मार्टफोनहरूको गो–टु–सर्च पनि हो । एप्पलका डिभाइस र सफारीमा आफ्नो सर्चइन्जिनलाई डिफल्ट सर्चका रूपमा राख्न गुगलले एप्पललाई वर्षमा १५ अर्ब डलर तिर्छ । 


शक्तिसँगै केही कमजोरी पनि हुन्छन् । अल्फावेटलाई नियामकहरूले उसका विभिन्न प्लाटफर्महरूमा कथित एकाधिकार र गलत जानकारीका कारण घाँटी अँठ्याइरहेको समयमा छिटो–छिटो अगाडि बढ्न कठिनाइ छ । साथै, २० वर्षदेखि अकुत नाफा दिइरहेको प्रविधि र बिजनेस मोडल परित्याग गर्न अझ गाह्रो हुनेछ । नवप्रवर्तकको यो द्विविधालाई कसरी समाधान गर्ने भनेर पिचाईले काम गरिरहेकै होलान् । नाडेलाले चाहिँ पिचाईले उपाय निकाल्नुअघि नै बिंग अगाडि बढिसक्ने आशा गरेका छन् ।


अनुवाद : नारायण शिवाकोटी

सम्पादकको रोजाइ

सुझावित समाचार