डिपसिकको वास्तविक प्रभाव एआई प्रविधिमा होइन कि एआईको अर्थशास्त्रमा छ
चिनियाँ जेनेरेटिभ आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् च्याटबोट ‘डिपसिक आर१’को आगमनले ठुला प्रविधि कम्पनीका सेयर मूल्यमा भारी गिरावट र एआई प्रविधिमा अमेरिकी प्रभुत्व सकिएको प्रलाप निम्त्याउँदै प्रविधि जगत्मा तहल्का नै मच्चायो । तथापि, डिपसिकसँग ‘स्पुतनिक परिघटना÷क्षण’को तुलनाले भने यस च्याटबोटबारे भन्दा पनि अमेरिकी भयकै बढी उजागर गर्छ ।
सोभियत संघले जब सन् १९५७ को अक्टोबर ४ मा ‘स्पुतनिक–१’ भूउपग्रह प्रक्षेपण गरी पहिलोपटक मानव निर्मित अन्तरिक्षयानलाई पृथ्वीको कक्षमा पुर्यायो तब विश्व नै विस्मयमा परेको थियो र ‘स्पुतनिक मोमेन्ट (क्षण)’ घटित भएको थियो । सहीचाहिँ चन्द्रमाको सतहमा टेकेको आफ्नो एउटा ‘सानो पाइला’ ‘मानवजातिका लागि महान् छलाङ’ भएको भनि निल आर्मस्ट्रङले गरेको ऐतिहासिक टिप्पणीबाट सापटी लिनु अझ अर्थपूर्ण र सान्दर्भिक उद्धरण हुन्छ ।
शीतयुद्धमा यो एउटा महत्वपूर्ण क्षण थियो । ह्वाइट हाउसको एउटा गोप्य रिपोर्टले ‘अमेरिकी प्रतिष्ठा’मा ‘गम्भीर आँच पुर्याएको’ र सोभियत संघलाई ‘शीतयुद्धमा फाइदा’ दिलाएको चिन्ता व्यक्त गर्छ । त्यही त्रासले वासिङ्टनलाई आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ आकार दिन प्रोत्साहित गर्यो । अपोलो मिसनलाई उत्प्रेरित गर्ने काम गर्यो र त्यसको उत्कर्षका रूपमा सन् १९६९ को जुलाई २० का दिन आर्मस्ट्रङ र बज एल्ड्रिन पृथ्वीभन्दा बाहिरको खगोलीय पिण्ड चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बन्न पुगे ।
चिनियाँ हेज फन्डबाट प्रायोजित डिपसिक एउटा उल्लेखनीय उपलब्धि भने हो । तर, तथ्यसंगत रूपमा भन्नुपर्दा, मौजुदा लार्ज ल्यांग्वेज मोडेल्स (एलएलएम)लाई यसले थप विकसित बनाएको होइन । न यो ओपनएआईको ‘च्याटजिपिटी’ वा एन्थ्रोपिकको ‘क्लाउड’भन्दा छिटो र ‘चतुर’ नै छ । यो पनि अन्य सबै एलएलएमहरूले प्रदर्शन गरेकै जस्तो आफ्ना डाटाका ग्याप भर्न गलत उत्तर दिने वा बनावटी ‘तथ्यहरू’ सिर्जना गर्ने ‘मतिभ्रम (हेलुसिनेसन्स)’बाट ग्रसित छ । समाचार र जानकारीमूलक वेबसाइटहरूको रेटिङ प्रणाली ‘न्युजगार्ड’का अनुसार डिपसिकको च्याटबोटले ३० प्रतिशत समय गलत दाबी पस्कियो भने ५३ प्रतिशत प्रश्नहरूको कुनै जवाफ दिएन । (१० अग्रणी च्याटबोटमाथि गरेको न्युजगार्डको पछिल्लो अडिटमा यो दर क्रमशः ४० र २२ प्रतिशत थियो ।)
यो आँकडाले सबै एलएलएमको गम्भीर अविश्वसनीयतालाई नै उजागर गर्छ । विशेषगरी, डिपसिकको जवाफ नदिने उच्च दर यसको सेन्सर (नियन्त्रण)को नतिजा हुन सक्छ । तियानमेन स्क्वायर होस वा ताइवान जस्ता चीनले प्रतिबन्धित गर्न चाहने तथ्यबारे अथवा उसले संवेदनशील ठानेका कुनै पनि विषयमा जवाफ दिन डिपसीप अस्वीकार गर्छ ।
डिपसिकको वास्तविक प्रभाव एआई प्रविधिमा होइन कि एआईको अर्थशास्त्रमा छ । यो मौजुदा अन्य अग्रणी मोडेलजत्तिकै सक्षम र उत्तिकै त्रुटिपूर्ण च्याटबोट हो, तर यो निकै न्यून लागत र सामान्य प्रविधिबाट नै निर्माण हुन सकेको छ ।
सन् २०२२ मा बाइडेन प्रशासनले लागू गरेको चीनलाई उन्नत चिप्स र त्यस्ता चिप बनाउने उपकरण बिक्रीमाथिको प्रतिबन्धलाई त्यसयता कैयौँपटक थप कसिलो बनाउँदै लगिएको थियो, जुन प्रतिबन्ध उन्नत प्रविधिमा बेइजिङको पहुँच सीमित बनाउन डिजाइन गरिएको हो । यसले हतोत्साहित गराउनेभन्दा पनि उल्टो चिनियाँ अनुसन्धाताहरूलाई अझ नवप्रवर्तनात्मक बन्न उत्प्रेरित गरेको हुन सक्छ ।
डिपसिक प्रयोगका लागि निःशुल्क पनि छ र यसको स्रोत (ओपन सोर्स) सबैका लागि खुला छ । न्यून लागत र ओपननेसको यो संयोजनले एआई टेक्नोलोजीको लोकतन्त्रीकरणमा मद्दत गर्न सक्छ, जसले अरूलाई विशेषगरी अमेरिका बाहिरकालाई एआईको विश्व बजारमा सहज प्रवेशका निमित्त सक्षम बनाउन सक्छ । यहाँ एक किसिमको विपरीत देखिन्छ त्यो के भने चीन यो प्रविधिलाई सबैका लागि खुला गर्दै छ, अमेरिकी फर्मचाहिँ यो क्षेत्रमा प्रवेशको प्रयास गर्ने अन्य प्रतिस्पर्धीहरूलाई सकेसम्म धेरै अवरोध सिर्जना गर्न लागिपरेका छन् ।
सम्भवतः डिपसिकको सबैभन्दा ठूलो प्रभाव यहीँनेर छ । यसले एआई रहस्यको पर्दा उघारिदिएको छ । सिलिकन भ्यालीले एआई टेक्नोलोजीको छविलाई एउटा बहुमूल्य र चामत्कारिक उपलब्धिको रूपमा स्थापित गर्दै आएको थियो भने यसका प्रमुख हस्ती एलन मस्कदेखि स्याम अल्टम्यानसम्मलाई एआईको नयाँ संसारका मार्गदर्शकका रूपमा चित्रण गर्दै आएको थियो । हुन त, आफैँमा पनि यो प्रविधि लगभग सबैजसो संज्ञानात्मक कार्यमा मानव क्षमतालाई उछिन्न सक्षम सुपरइन्टेलिजेन्ट मेसिन (आर्टिफिसियल जेनेरल इन्टेलिजेन्सी) अर्थात् एजिआईलाई साकार बनाउनेजस्ता जादुयी शक्तिले आभूषित छ ।
गत अप्रिलमा मस्कले सन् २०२५ को अन्त्यसम्ममा एआई कुनै पनि मानिसभन्दा स्मार्ट हुने भविष्यवाणी गरे । यसैगरी, जेनेरेटिभ एआईको जारी विकासक्रमको नेतृत्व गरिरहेको प्रविधि कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अल्टम्यानले पनि गत महिना यस्तै बयान दिए । उनले एजिआई कसरी निर्माण गर्ने भन्नेकुरा आपूmहरूलाई थाहा भएको र हामीले सन् २०२५ मा पहिलो एआई एजेन्टलाई कार्यबलमा सामेल भएको देख्न पाउने कुरामा विश्वस्त रहेको दाबी पस्किए ।
करिब एक दशकअघि नोबेल पुरस्कार विजेता कम्प्युटर वैज्ञानिक जियोफ हिन्टनले राष्ट्रहरूलाई ‘रेडियोलोजिस्ट र त्यसखालका मेडिकल टेक्निसियनहरूलाई प्रशिक्षण दिन बन्द गर्न’ आग्रह गरेका थिए । डिप लर्निङ (एआई)ले उनीहरूले भन्दा राम्रो गर्दै गइरहेको कुरा त गत पाँच वर्षमै एकदमै स्पष्ट भइसकेको छ । ओपनएआइका पूर्वकर्मचारीहरूले स्थापना गरेको कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेई आर्टिफिसियल इन्टेलिजेन्सले पाँचदेखि १० वर्षभित्रमा मानव आयुलाई दोब्बर बनाउन सक्ने दाबी गरेका छन् । यस्ता स्वैरकाल्पनिक दाबीलाई अमेरिकाका कग्निटिभ (संज्ञानात्मक) वैज्ञानिक ग्यारी मार्कसजस्ता आलोचकहरूले खण्डन गर्दै आएका छन् । उनले त मस्कको ‘एआई मानवभन्दा बुद्धिमान हुने’ दाबीमाथि १० लाख डलरको बाजी थाप्न उनलाई चुनौती नै दिएका छन् ।
यी तमाम आलोचनाका बाबजुद, जब एउटा स्वैरकल्पना साकार हुन असफल हुन्छ अर्काे त्यसको स्थान लिन आइहाल्छ । यस्ता दाबी प्रविधिगत सम्भाव्यताबाट भन्दा पनि राजनीतिक तथा आर्थिक आग्रहबाट बढी आउने गर्छन् । हो एआई टेक्नोलोजीले अत्यन्त महत्वपूर्ण उपकरण प्रदान गरेको छ, गणितीय समस्याका समाधानदेखि रोगका ढाँचाको पहिचानसम्मका विशिष्ट क्षेत्रहरूमा यो मानिसलाई उछिन्न सक्षम पनि छ, तर यसको व्यावसायिक मोडेल भने प्रचारबाजी (हाइप)मा निर्भर छ । अर्बाैँअर्ब डलरका लगानीदेखि राष्ट्रपतिको शपथ समारोहमा सिट सुरक्षित गर्नेलगायतका राजनीतिक प्रभाव पार्न सकेको अतिशयोक्तिपूर्ण प्रचारबाजीले गर्दा नै हो ।
यो एउटा तरिका पनि हो, जसले एआईलाई ठुलो वैज्ञानिक खोजभन्दा पनि ठुलाभन्दा ठुला मोडेलहरू निर्माण गर्दै, भीमकाय डाटासेटहरूको अनुप्रयोग गर्दै, थप विशाल कम्प्युटेसनल शक्तिको तैनाथी गर्दै ‘स्केलिङ अप’को बलपूर्ण रणनीतिको माध्यमबाट अगाडि बढाउन खोज्छ । यो दृष्टिकोण वा तरिकालाई चुनौती दिन खोज्नुमा नै डिपसिकको विघटनकारी क्षमता सन्निहित छ । जेनेरेटिभ एआईका श्रेष्ठतम मोडेलहरू सरहका मोडेल कम कम्प्युटेसनल पावर र थोरै लगानीमै पनि उत्पादन गर्न सकिन्छ भन्ने यसले देखाइदिएको छ ।
डिपसिपको प्रचारबाजी केहीहदसम्म एआईकै हाइपको प्रतिबिम्ब हो । यो भूराजनीतिक तनावको प्रतिबिम्ब पनि हो । डिपसिक अमेरिकी विश्वविद्यालयका प्रविधिज्ञहरूले निर्माण गरेका हुन्थे भने सम्भवतः यसको सराहना नै हुने थियो, विगत दुई हप्तादेखिको विश्वव्यापी कोलाहल पनि हुने थिएन । यो कोलाहलभित्र डिपसिकको चिनियाँ स्वामित्व र चिनियाँ मूलप्रतिको डर छिपेको छ ।
डिपसिकको भूराजनीतिप्रतिको अतिशय झुकावले हामीले यसबाट सिक्नुपर्ने शिक्षालाई नै विकृत पारिदिन सक्छ । यस्तो महत्वपूर्ण प्रविधिलाई थप खुला बढाउँदै लाने डिपसिकको वचनबद्धता चिनियाँ उत्पादनप्रतिको भयभावमा उपेक्षित हुन पुगेको छ । डिपसिकजस्ता मोडेलले एकदमै सही रूपमा उब्जाएका गोपनीयता, सेन्सरसिप र निगरानीबारेका भय चिन्ताले यस्ता मुद्दाले चीनबाट आएका मात्र होइन सम्पूर्ण एआई टेक्नोलोजीलाई नै लाञ्छित गर्छ भन्ने तथ्य उजागर हुनबाट रोक्न मद्दत गर्न सक्छ । विशेषगरी आसन्न व्यापार युद्ध र लोकतन्त्र खतरा परेको समयमा यस अतिरञ्जित प्रचारबाजी र भयभावबीच भेद खुट्याउने हाम्रो क्षमता थप महत्वपूर्ण बन्न पुग्छ ।
(केनान मलिक गार्जियनका स्तम्भकार हुन् । गार्जियनबाट नारायण शिवाकोटीको अनुवाद)