नेपालको विज्ञान प्रविधि क्षेत्रमा गहकिलो योगदान पुर्याउने थोरै वैज्ञानिकहरूमध्ये डा. बलराम जोशी पनि पर्नुहुन्छ । उहाँको जन्म पिता हिमालयराज जोशी र माता श्रीमती चन्द्रकुमारी जोशीको कोखबाट विसं १९८७ साल कात्तिकमा काठमाडौंको डिल्लीबजारमा भएको थियो । उहाँ आठ महिनाको छँदा आमाको र १५ वर्ष हुँदा बुबाको निधन भएको थियो ।
डा. जोशीको विवाह विसं २००० वैशाखमा अंगुरबाबा जोशीसँग भयो । विवाह हुँदा डा. जोशी १२ वर्षको र उहाँकी श्रीमती ११ वर्षको मात्र हुनुहुन्थ्यो । स्मरण होस्, श्रीमती अंगुरबाबा जोशी स्वयं पनि एक सुपरिचित शिक्षाविद् एवं समाजसेवी हुनुहुन्थ्यो । उहाँले पद्मकन्या क्याम्पसमा प्रिन्सिपलको रूपमा सेवा गरी नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । श्रीमती जोशीको क्यान्सर रोगका कारण केही वर्षअघि मात्र निधन भयो ।
डा. जोशीदम्पतीले सन् १९४८ मा एकैपटक म्याट्रिक पास गर्नुभएको थियो । सोही वर्ष डा. बलराम जोशीले अन्तरविद्यालय निबन्ध प्रतियोगितामा प्रथम पुरस्कार हासिल पनि गर्नुभएको थियो । विद्यालयस्तरीय शिक्षा पूरा गरिसकेपछि डा. जोशीले काठमाडौंको त्रिचन्द्र कलेजबाट सन् १९५० आइएस्सी अनि सन् १९५२ र १९५४ मा भारतको वनारस हिन्दू विश्वविद्यालयबाट भौतिकशास्त्रमा क्रमशः बिएस्सी र एमएस्सी गर्नुभएको थियो । भौतिकशास्त्रमा उहाँको विशेष रुचि थियो । सोही विषयको अध्ययन–अनुसन्धानको क्रममा डा. जोशीले ‘भ्यानडिग्राफ जेनेरेटर’ भन्ने एउटा यन्त्रको निर्माण गर्नुभएको थियो जुन यन्त्रले त्यतिवेला निकै चर्चा पनि पाएको थियो ।
सन् १९५४ तिरकै कुरा हो । एमएस्सी अध्ययन पूरा गरेपछि डा. जोशी स्वदेश फर्कनुभयो र त्रिचन्द्र कलेजमा प्राध्यापन गर्न थाल्नुभयो । झन्डै तीन वर्षसम्म प्राध्यापन कार्य गरिसकेपछि डा. जोशीले ‘कोलम्बो प्लान’अन्तर्गत छात्रवृत्ति प्राप्त गर्नुभयो र उहाँ सन् १९५७ मा विद्यावारिधी गर्न धर्मपत्नी अंगुरबाबा जोशीसहित बेलायततर्फ लाग्नुभयो । बेलायतमा रहँदा उहाँले ग्लास्गो विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो भने उहाँकी धर्मपत्नीले अंगुरबाबा जोशीले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो । बेलायतमा चार वर्षको अध्ययनपश्चात् उहाँले आणविक भौतिकशास्त्रमा विद्यावारिधी गर्नुभयो जसमा उहाँको अनुसन्धानसम्बन्धी कार्यपत्र ‘स्टडिज अफ अर्बिटल इलेक्ट्रोन बाई सिन्टिलेसन काउन्टर मेडथ’ भन्ने थियो । उक्त उत्कृष्ट कार्यपत्र प्रस्तुत गरेबापत डा. जोशी त्यहाँबाट प्रदान गरिने ‘थमसन अवार्ड’ नामक एक प्रतिष्ठित पुरस्कारबाट पुरस्कृतसमेत हुनुभएको थियो ।
सन् १९६१ मा विद्यावारिधी गरेर स्वदेश फर्केपछि डा. बलराम जोशीले त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागमा प्राध्यापन गर्न थाल्नुभयो । प्राध्यापनकै क्रममा उहाँले सन् १९६५ देखि सन् १९७१ सम्म विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । त्यति मात्र नभई आप्mनो ६ वर्षीय कार्यकालमा उहाँले त्यहाँ एउटा उच्च गुणस्तरीय प्रयोगशालाको पनि स्थापना गर्नुभयो ।
डा. जोशी केटाकेटीहरूलाई पनि औधि माया गर्नुहुन्थ्यो । माया गर्दा पनि उहा“ केटाकेटीहरूलाई नमुना जहाज बनाएर देखाउने, रेल–मोटरजस्ता खेलौना बनाएर देखाई वैज्ञानिक आविष्कारमा नै अभिप्रेरित गर्ने गर्नुहुन्थ्यो ।
डा.जोशीले सन् १९७१ देखि सन् १९७७ सम्म युनेस्कोअन्तर्गत अन्तर्राष्ट्रिय खुला प्रतियोगितामा छानिई तत्कालीन दक्षिण यमनको एडेनमा भौतिकशास्त्र विषयको सल्लाहकार र पछि ‘टिम लिडर’ भएरसमेत काम गर्नुभएको थियो । यसरी विदेशी भूमिमा सेवारत रहँदा पनि उहाँले विज्ञानको पाठ्यक्रम तर्जुमा गरी शैक्षिक प्रणाली सुधार एवं प्रयोगशालाको सुव्यवस्था गर्नुभएको थियो । त्यसैगरी, सन् १९७८ को सुरुदेखि सन् १९७९ को मध्यसम्म झन्डै डेढ वर्ष नाइजेरियाको युयो नामक कलेजमा युनेस्कोकै सल्लाहकार भएर काम गर्नुभएको थियो । आफ्नो सेवाकाल पूरा गरी स्वदेश फर्केपछि डा. जोशीले नेपाल भौतिकशास्त्र समाज (नेपाल फिजिकल सोसाइटी)मा पहिला सदस्य र त्यसपछि अध्यक्ष पदको जिम्मेवारी सम्हाल्नुभएको थियो भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा विकीरण जा“च समितिको सदस्यका रूपमा आबद्ध रही देशको विभिन्न भागमा विकीरणको विविध प्राकृतिक स्थितिबारे पनि अध्ययन गर्नुभएको थियो ।
डा. बलराम जोशी हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विज्ञानको विकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने धारणा राख्नुहुन्थ्यो भने उहाँकै अग्रसरतामा काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा विज्ञान कक्षाको सुरुवात एवं सञ्चालन गरिएको थियो । नेपालका ग्रामीण क्षेत्रका बालबालिकाहरूलाई वैज्ञानिक शिक्षा दिने अभिप्रायले युनेस्कोको ‘को–एक्सन प्लान’अन्तर्गत उहाँकै अग्रसरतामा विभिन्न विद्यालयहरूमा वैज्ञानिक उपकरणका साथै प्रयोगशालाको सुविधासमेत उपलब्ध गराइएको थियो । डा. जोशी केटाकेटीहरूलाई पनि औधि माया गर्नुहुन्थ्यो । माया गर्दा पनि उहा“ केटाकेटीहरूलाई नमुना जहाज बनाएर देखाउने, रेल–मोटरजस्ता खेलौना बनाएर देखाई वैज्ञानिक आविष्कारमा नै अभिप्रेरित गर्ने गर्नुहुन्थ्यो ।
त्यसो त बेलायतमा रहँदा डा. जोशीलाई आफू अध्ययनरत ग्लास्गो विश्वविद्यालयमै प्राध्यापक भएर काम गर्न पनि आग्रह गरिएको थियो । एउटा नेपाली नागरिकका लागि कम महत्वपूर्ण सम्मान र अवसर थिएन त्यो । तर, उहाँले सम्पत्ति आर्जन गरी विदेशमा ऐश–आराम गरेर जिन्दगी बिताउनुभन्दा स्वदेशमै फर्केर आफ्नो जन्मभूमिको सेवा गर्नु श्रेयस्कर ठान्नुभयो ।
यस्ता महान् प्रतिभाशाली नेपाली वैज्ञानिक
डा. बलराम जोशीको स्वास्थ्य बिग्रँदै जान थाल्यो । यसरी स्वास्थ्य बिग्रँदै गएपछि विसं २०४७ सालमा उहाँको मिर्गाैला प्रत्यारोपणसमेत गर्नुपरेको थियो । र, मिर्गाैला प्रत्यारोपण गरेपछि करिव तीन वर्षसम्म त उहाँ स्वस्थ नै रहनुभएको थियो । तर, मृत्युको अगाडि कसको के लाग्छ र ? अन्ततः विसं २०५० साल मंसिर २४ गते ६३ वर्षको उमेरमा भारतको मद्रास अस्पतालमा उहाँको निधन भयो । यसरी नेपालका एकजना प्रतिष्ठित वैज्ञानिक डा. बलराम जोशी हामीमाझ भौतिक रूपमा विलीन हुनुभएको आज झन्डै तीन दशक बित्न लागिसकेको छ । तर, नेपालको विज्ञान प्रविधि विकासमा भने उहाँले अविस्मरणीय योगदान पुर्याएर जानुभएको छ ।
(लेखक नास्टका सेवानिवृत्त वरिष्ठ प्रवद्र्धन अधिकृत हुन् ।)