विश्वकपमा पाँचौँपटक रोनाल्डो र मेसी : आफूलाई प्रमाणित गर्ने अन्तिम अवसर

यी दुईले क्लब फुटबलमा कीर्तिमानका जति नै पहाड खडा गरे पनि विश्वकपमा प्रमाणित गर्न सकेका छैनन्

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

पछिल्लो एक दशकयता मैदानबाहिर एउटा अनिर्णीत बहस छ, ‘रोनाल्डो र मेसीमध्ये को सर्वकालीन महान् ?’ खेलजगत्ले अहिलेसम्म यसको स्पष्ट जवाफ पाएको छैन । फुटबल मैदानभित्र यी दुई खेलाडीले पछिल्लो डेढ दशकमा पटक–पटक आफूलाई अब्बल साबित गरेका छन् । क्लब फुटबलमा त्यस्ता कुनै उपाधि बाँकी छैनन्, जुन यी दुईले हासिल नगरेका हुन् ।

अधिकांश कीर्तिमान यिनैका नाममा छन् । बालन डिओर, फिफा वर्ष खेलाडी, गोल्डेन बुटजस्ता अधिकांश व्यक्तिगत अवार्ड पनि यिनकै पोल्टामा परेका छन् । तर, क्लब फुटबलमा यी सर्वाधिक सफल खेलाडीले विश्वकप फुटबलको उपाधि भने उचाल्न सकेका छैनन् । सायद, त्यसैले पनि उत्कृष्टताको होड अनिर्णीत भएको होला । यसबीच, कतार विश्वकपमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । विश्वकपमा पोर्चुगल छनोट भएसँगै पुनः रोनाल्डो र मेसीको चर्चा सुरु भएको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने कतार विश्वकप यी दुईका सपना साकार पार्ने अन्तिम अवसर त हो नै, एउटा त्यस्तो अवसर पनि हाे, जसले लामो समयदेखि चलेको उत्कृष्टताको बहसलाई पूर्णविराम लगाउन सक्छ ।

तर, ढल्कँदो उमेरका यी दुई खेलाडीलाई सहज भने छैन । रोनाल्डो ३७ र मेसी ३४ वर्षका भइसकेका छन् । २०२६ मा आयोजना हुने अर्को विश्वकपमा यी दुई खेलाडीलाई देख्न पाइने सम्भावना ज्यादै न्यून छ । पाँचौँपटक विश्वकपमा सहभागिता जनाउँदै गरेका उनीहरू क्लब फुटबलमा अवार्ड र कीर्तिमानका जति नै पहाड खडा गरे पनि विश्वकप फुटबलमा चुक्दै आएका छन् । त्यसैले रोनाल्डो र मेसी स्वयं पनि कतार विश्वकपलाई अविस्मरणीय बनाउन प्रयास गर्नेछन् 

मेसीलाई सहज रोनाल्डोको कठिन

लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले १७ नोभेम्बरमै कतार विश्वकपमा स्थान सुरक्षित गरेको हो । दक्षिण अमेरिकी छनोट प्रतियोगिताको १३औँ खेलमा ब्राजिलसँग बराबरी खेल्दै अर्जेन्टिना छानिएको थियो । ब्राजिलपछि दोस्रो स्थानमा रहँदै उसले छनोट प्रतियोगिता टुंग्याउँदै छ । चार वर्षअघि सन् २०१८ को विश्वकप सहभागिता अर्जेन्टिनाका लागि सकसपूर्ण थियो । त्यसवेला अन्तिम खेल जिते मात्र विश्वकपमा स्थान सुरक्षित हुने अवस्थाबाट जुग्रिएको अर्जेन्टिनाले यसपटक छनोट प्रतियोगितामा एउटै खेल पनि गुमाएको छैन । यो समूहमा कुनै पनि खेल नहार्ने अर्जेन्टिना र ब्राजिल मात्र हुन् । 

तर, क्रिस्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई यसपटक विश्वकपको यात्रा सहज बनेन । युरोपेली देशहरूको समूह ‘ए’मा रहेको पोर्चुगल शीर्ष स्थानमा रहेर सीधै छनोट हुन असफल रह्यो । त्यसैले प्लेअफको सहारा लिनुपर्यो । युरोपकै समूह सीमामा रहेको इटाली पनि त्यही अवस्थाबाट गुज्रिएको थियो । त्यसैले विश्वकपमा स्थान पक्का गर्न पोर्चुगलले प्लेअफको फाइनलमा इटालीसँग भिड्नुपर्ने असहज अवस्था बन्ने देखिन्थ्यो । कोभिडका कारण एक वर्ष पर सन् २०२१ मा आयोजना गरिएको युरोकप २०२० को उपाधि उचालेको इटालीलाई पन्छाउनु पोर्चुगलका लागि फलामको चिउरा चपाउनुसरह बन्न सक्थ्यो । तर, त्यो नर्थ मेसेडोनियाले त्यो अवस्था आउनै दिएन । प्लेअफको पहिलो खेलमा अनपेक्षित नतिजा निकाल्दै नर्थ मेसेडोनियाले इटालीलाई १–० ले हराइदियो । त्यसपछि प्लेअफको फाइनलमा पोर्चुगलको भेट उसैसँग भयो । जहाँ, २९ मार्चको मध्यरात नर्थ मेसेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगलले कतार विश्वकपको टिकट पक्का गर्यो ।

मेसीलाई सहज रोनाल्डोको कठिन

रोनाल्डो र मेसीले अहिलेसम्म पाँच–पाँच विश्वकपमा सहभागिता जनाएका छन् । दुवै सन् २००६ बाट विश्वकप खेल्न थालेका हुन् । त्यसयता, २०१०, २०१४ र २०१८ को विश्वकप दुवैले खेलिसकेका छन् । जर्मनीमा भएको २००६ को विश्वकप दुवैका लागि खास स्मरणीय बन्न सकेन । सो विश्वकपमा मेसीले एक गोल गरे भने रोनाल्डो गोलविहीन भए । अर्जेन्टिना जर्मनीसँग क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो । पोर्चुगल भने चौथो स्थानमा रह्यो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको पोर्चुगल तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग पराजित रह्यो । 

सन् २०१० को विश्वकपमा भाग लिन पुनः दुवै खेलाडी दक्षिण अफ्रिका पुगे । यो विश्वकप पनि दुवैका लागि बिर्सनलायक रह्यो । सन् २०१० मा आइपुग्दा टिममा रोनाल्डो र मेसी आ–आफ्ना देशका मुख्य खेलाडी बनिसकेका थिए । रोनाल्डो कप्तानी गरिरहेका थिए । धेरैले त्यो विश्वकपलाई रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धाका रूपमा पनि अथ्र्याएका थिए । तर, परिणाम त्यस्तो रहेन । पोर्चुगल स्पेनसँग १–० ले पराजित हुँदै अन्तिम १६ बाटै घर फर्कियो भने अर्जेन्टिना क्वार्टरफाइनलमा जर्मनीसँग ४–० ले पराजित हुनपुग्यो । यो विश्वकपमा रोनाल्डोले चार खेलमा एक र मेसीले पाँच खेल खेलेका मेसीले खाता खोल्न पनि सकेनन् । 

आगामी २१ नोभेम्बरबाट सुरु हुने कतार विश्वकप यी दुईका सपना साकार पार्ने अन्तिम अवसर त हो नै, एउटा त्यस्तो अवसर पनि हाे, जसले लामो समयदेखि चलेको उत्कृष्टताको बहसलाई पूर्णविराम लगाउन सक्छ ।

मेसीको सन्न्यास घोषणा र फिर्ता

सन् २०१४ मा ब्राजिल विश्वकप सुरु हुनुपूर्व यी दुई खेलाडीमाथि नै धेरैको नजर थियो । २०१४ सम्ममा यी दुईले क्लब फुटबलमा तहल्का मच्चाइसकेका थिए । पालो विश्वकपको थियो । यो विश्वकपमा रोनाल्डोको दाँजोमा मेसी निकै उत्कृष्ट देखिए । तर, उपाधि चुम्न यसपटक पनि अभागी साबित भए । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले यो विश्वकपमा समूह चरण नै पार गर्न सकेन । उता, अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय ग¥यो । तीन खेलमा रोनाल्डोले एक गोल गरे । सात खेल खेलेका मेसीको नाममा चार गोल रह्यो । मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना अतिरिक्त समयमा १–० गोलले पछि पर्दै जर्मनीलाई ट्रफी सुम्पन बाध्य भयो । त्यस विश्वकपमा मेसीले प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जिते । तर, सिनियर टिमबाट देशका लागि विश्वकप जित्न असफल भए ।

रसियाले आयोजना गरेको सन् २०१८ विश्वकप दुवैलाई फेरि अर्को मौका थियो । तर, यहाँ पनि दुवै असफल साबित भए । दुवै अन्तिम १६ बाट अघि बढ्न सकेनन् । तर, स्पेनसँगको पहिलो खेलमा रोनाल्डोको ह्याट्रिक प्रतियोगिताभर स्मरण भयो । यो विश्वकपमा मेसीको तुलनामा रोनाल्डो फर्ममा देखिए । समान चार खेल खेलेका रोनाल्डोले चार गोल गर्दा मेसी एक गोलमै रोकिए । अझ, पहिलो खेलमा रोनाल्डो चम्किँदा मेसी आइसल्यान्डसँगको पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुके ।

समग्रमा विश्वकपमा रोनाल्डो १७ खेल खेल्दै सात गोल गरेका छन् । मेसीले १९ खेलमा ६ गोल मात्र गरेका छन् । यसबीच पोर्चुगलको सबैभन्दा सफलता सेमिफाइनलसम्म पुग्ने देखिन्छ भने अर्जेन्टिना उपविजेतासम्म बन्न सफल भयो । विश्वकप ट्रफी उचाल्ने दुवैको सपना भने अधुरै छ । तर, यी दुवै खेलाडीको कप्तानीमा देशले केही ठूला उपाधि आर्जन गरिसकेका छन् । पोर्चुगल सन् २०१६ को युरोकप र २०१८–१९ को युएफा नेसनल लिगको उपाधि जित्न सफल भयो । यता, मेसीकै कप्तानीमा अर्जेन्टिनाले एक वर्षअघि कोपा अमेरिका २०२१ को उपाधि उचाल्यो ।

२०१४ को ब्राजिल विश्वकपमा उत्कृष्ट प्रदर्शनका बाबजुद मेसी विश्वकप चुम्न असफल रहे । त्यसअघि दुईपटक कोपा अमेरिकाको फाइनल पुगेर पनि अर्जेन्टिना उपाधिविहीन भएको थियो । त्यसैले मेसीमाथि अलोचकहरू खनिए । नतिजाले पनि त्यस्तै देखाउँथ्यो । क्लब फुटबलमा सबैखाले उपाधि जितिसकेका मेसी राष्ट्रिय टिमबाट उपाधिविहीन थिए । सन् २०१४ को फाइनल हारको पीडामा मलम लगाउने एक अवसर २०१६ मा आयो । तर, कोपा अमेरिकाको फाइनलमा पुगेर मेसी पुनः असफल भए । पेनाल्टी सुटआउटमा पराजित हुँदै अर्जेन्टिना चिलीलाई उपाधि सुम्पन बाध्य भयो । यसपछि मेसी सम्हालिन सकेनन् । तीन वर्षमा लगातार तीन प्रतियोगिताको फाइनल गुमाएका मेसीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएको घोषणा गरे । तर, अर्जेन्टिनी मात्र होइनन, विश्वभरका खेलप्रेमीले मेसीले सन्न्यास लिने वेला नभएको भन्दै राष्ट्रिय टिममा फर्कन आग्रह गरिरहे । करिब एक वर्षपछि उनी टिममा फर्किए ।

यी दुईका नाममा रहेका केही कीर्तिमान

मेसीले सर्वाधिक ६ युरोपियन गोल्डेन बुट जितेका छन् । उनले सन् २००९/१०, २०११/१२, २०१२/२३, २०१६/१७, २०१७/१८ र २०१८/१९ यो अवार्ड हात पारेका थिए । रोनाल्डोले सन् २००७/०८, २०१०/११, २०१३/१४ र २०१४/१५ मा यो अवार्ड जितेका थिए ।

सर्वाधिक बालोन डि’ओर

मेसीले सर्वाधिक सातपटक बालोन डि’ओर जितेका छन् । रोनाल्डोसँग पाँचवटा बालोन डि’ओर छ । सर्वाधिक सात बालोन ‘डी’ओर विजेता मेसीले सन् २००९, २०१०, २०११ र २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका छन् । सन् २००९, २०१०, २०११ र २०१२ मा गरी लगातार चारपटक यो अवार्ड जित्ने कीर्तिमान पनि मेसीसँग छ । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी पाँचपटक यो अवार्ड जितेका हुन् ।

एकै टिमका लागि सर्वाधिक गोल

लियोनल मेसी करिअरको अन्त्यतिर पिएसजी पुगेका छन् । तर, स्पेनिस क्लब बार्सिलानामा रहँदा उनले गोलका अनेक कीर्तिमान बनाएका छन् । उनले बार्सिलोनाका लागि ६७२ गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका छन् । ७७८ खेलमा मेसीले सो उपलब्धि हासिल गरेका हुन् । मेसीले अघिल्लो डिसेम्बरमा ब्राजिलियन महान् खेलाडी पेलेले सान्तोषका लागि गरेको ६४३ गोलको कीर्तिमान तोडेका थिए । स्पोर्टिङ सिपी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टस् हुँदै पुनः म्यानचेस्टर पुगेका रोनाल्डोले मड्रिडका लागि ४५० गोल गरेका छन् ।

एकै वर्ष सर्वाधिक गोल

मेसीले सन् २०१२ मा ९१ गोल गर्दै एकै वर्षमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका थिए । उनले सन् १९७२ मा जर्मनका गर्ड मुलरले कायम गरेको ८५ गोलको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले सन् २०१२ मै ६१ गोल गरेका थिए । उनले सन् २०१७ यता एकै वर्ष पनि ५० गोल कटाउन सकेका छैनन् । 

सर्वकालीन शीर्ष गोलकर्ता

रोनाल्डो पुरुष व्यावसायिक फुटबलको इतिहासमा सर्वकालीन शीर्ष गोलकर्ता हुन् । सन् २००१ यता १११० खेल खेलेका रोनाल्डोको नाममा ८०७ गोल छ । कीर्तिमान बनाउने क्रममा उनले अस्ट्रिया/चेकोस्लोभाकियाका जोसेफ बिकानलाई पछि पारेका थिए । विकानले ५३० खेलमा ८०५ गोल गरेका थिए । यो सूचीमा मेसी चौथो स्थानमा मात्र छन् । ९६१ खेल खेलेका मेसीले सात सय ६० गोल गरेका छन् । 

सर्वाधिक अन्तर्राष्ट्रिय गोल

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान रोनाल्डोको नाममा छ । पोर्चुगलका लागि १८६ खेल खेलेका उनले ११५ गोल गरेका छन् । चौथो नम्बरमा रहेका मेसीले १६० खेलबाट अर्जेन्टिनाका लागि ८१ गोल गरेका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार