बालोन डि’अरमा मेसीको बाजी

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण

२९ नोभेम्बर (१३ मंसिरको मध्यरात)का दिन पेरिसमा कीर्तिमानी सातौँ बालोन डि’अर उचालेपछि लियोनल मेसीले भनेका थिए, ‘दुई वर्षअघि छैटौँ बालोन डि’अर जितेपछि मलाई लागेको थियो, यो नै मेरो अन्तिम बालोन डि’अर हो । आफूलाई फेरि यहाँ पाउँदा आश्चर्य लागेको छ र खुसी पनि ।’ मेसी मात्र होइनन्, उनलाई माया गर्ने विश्वभरका करोडौँ समर्थकले त्यस दिन खुसियाली मनाए ।अखबारका पाना र सामाजिक सञ्जाल मेसीका तस्बिरले भरिए । यी अर्जेन्टिनी फुटबलरले सन् २००४÷२००५ देखि बार्सिलोनाबाट व्यावसायिक करिअर सुरु गरेका थिए । पाँच वर्षपछि २२ वर्षको उमेरमा सन् २००९ मा पहिलो बालोन डि’अर उचाले । त्यसपछि लगातार तीन वर्ष सन् २०१०, २०११ र २०१२ सम्म त्यो क्रम दोहोरियो । सन् १०१५ र २०१९ मा पनि उत्कृष्ट छानिएपछि पाँचपटकका विजेता क्रिस्चियानो रोनाल्डोलाई उछिन्दै उनले कीर्तिमान राखे । गत साता सन् २०२१ को बालोन डि’अर जितेर उनले आफ्नै कीर्तिमान थप बलियो पारेका छन् । 


‘फ्रान्स फुटबल’ नामक फ्रान्सेली फुटबल म्यागेजिनले हरेक वर्ष यो अवार्ड वितरण गर्दै आएको छ । अवार्डका लागि उत्कृष्ट खेलाडी चयन गर्न विश्वभरका खेल पत्रकारलाई मतदान अधिकार हुन्छ । यसपटक एक सय ८० देशका पत्रकार प्यानलमा थिए । अघिल्लो सिजनमा खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी चयन गरिन्छ । अर्थात्, फिफाले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता, च्याम्पियन्स लिग, लिग टाइटल र अन्य डोमेस्टिक टुर्नामेन्टमा खेलाडीको प्रदर्शन नै ‘बालोन डि’अर’ जित्ने आधार हुन् । 


मेसी र पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की यसपटकको उपाधि होडमा नजिकका प्रतिस्पर्धी थिए । ६ सय १३ भोटसहित मेसी सर्वोत्कृष्ट ठहरिए । लेवन्डोस्की पाँच सय ८० भोटमा सीमित रहे । धेरैले यसलाई आश्चर्यजनक नतिजा भनेका छन् । बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका लेवन्डोस्कीको प्रदर्शन गत सिजन निकै उत्कृष्ट थियो भन्नेहरूले सार्वजनिक रूपमै निर्णयको आलोचना गरेका छन् । गत सिजन दुई खेलाडीको प्रदर्शन केलाउँदा लेवन्डोस्कीका समर्थकको भनाइ त्यति कमजोर  देखिँदैन । 


गत सिजन मेसीले करिअरकै पहिलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा कोपा अमेरिका जितेका थिए । प्रतियोगितामा चार गोल गरी सर्वोत्कृष्ट गोलकर्ता बनेका मेसीले उत्कृष्ट खेलाडीको अवार्ड पनि पाएका थिए । क्लब फुटबलमा सबै उपाधि हासिल गरे पनि राष्ट्रलाई उपाधि दिलाउन लगातार असफल मेसीका लागि कोपा अमेरिकाको उपाधि सर्वकालीन महत्वको थियो । पेरिसमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘मलाई थाहा छैन, यो वर्ष मेरो खेल जीवनको सर्वोत्कृष्ट समय हो वा होइन । मेरो खेल जीवन लामो छ । तर, कठिन समय र आलोचनापछि अर्जेन्टिनाका लागि उपाधि जित्न पाएकाले पक्कै पनि विशेष रहेको छ ।’


रियो दि जेनेरियोस्थित विश्व चर्चित माराकाना रंगशालामा भएको ब्राजिलविरुद्धको फाइनलमा अन्तिम ह्विसल बज्दा मेसी मैदानमै भक्कानिएका थिए । यो खुसीको रुवाइ थियो । विश्वकप र कोपा अमेरिकाका तीन फाइनल गुमाइसकेका मेसी चौथो फाइनल खेल्दै थिए । फाइनल जितेपछिको पहिलो रात मेसी ट्रफी लिएरै सुते । सायद छनोट प्यानलका सदस्यहरूले पनि मेसीको यही उपलब्धिलाई उत्कृष्ट ठाने । अन्यथा मेसीले गत सिजन ठूला उपलब्धि उचाल्न सकेका थिएनन् । बार्सिलोनाका लागि उनको अन्तिम सिजन सुखद थिएन । गत सिजन मेसीले कोपा डेल रे मात्र जितेका थिए । ला लिगामा बार्साले तेस्रो स्थानमा रहँदै सिजन अन्त्य गरेको थियो । मेसीले समग्रमा ३८ गोल गरे पनि बार्साले उनकै नेतृत्वमा सुपर कोपाको फाइनल गुमाएको थियो । च्याम्पियन्स लिगमा मेसीले पाँच गोल गरे पनि बार्सा राउन्ड १६ भन्दा अघि बढ्न सकेन । 

यो सत्य हो, पछिल्ला १६ वर्षदेखि फुटबल मैदानमा मेसी छाएका छन् । त्यसैले उनलाई विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पेले र म्याराडोनासँग तुलना गरिन्छ । उनै मेसीले यसपटक उत्कृष्ट फुटबलरको सातौँ उपाधि उचाले । तर, उनको प्रदर्शन भने अघिल्ला वर्षमा जस्तो उम्दा थिएन ।


अर्कोतिर, गत सिजन बायर्न म्युनिखबाट लेवन्डोस्कीको प्रदर्शन भने उच्च रह्यो । बायर्नले बुन्डेस लिगा, डिएफएल सुपर कप, युइएफए सुपर कप र क्लब विश्व कपको ट्रफी उचाल्दा उनको सबैभन्दा ठूलो योगदान थियो । बुन्डेस लिगा र क्लब विश्व कपमा उनी उत्कृष्ट घोषित भएका थिए । उनले डिएफएल सुपर कपको फाइनलमा दुई गोल गरेका थिए । गत सिजन ४१ गोल गरी बुन्डेस लिगाको टप स्कोरर बनेका लेवन्डोस्कीले च्याम्पियन्स लिगमा मेसीकै बराबरी पाँच गोल गरेका थिए । समग्रमा ५९ गोल गरेका उनले गत सिजनमा युरोपियन गोल्डेन सुज पनि जितेका थिए । त्यसैले उनका समर्थकहरूका नजरमा उनी २०२१ को बालोन डि’अरका सबैभन्दा बलिया हकदार थिए । छनोट प्यानलको निर्णयमा पहिलोपटक आलोचना भएको भने होइन । यसअघि पनि थुप्रैपटक प्रतिस्पर्धामा कमजोर आँकिएकाहरूले आश्चर्यजनक रूपमा उत्कृष्ट ठहरिएका छन् । 

बालोन डि’अरका केही विवादास्पद छनोट
सन् २००३ : चेक रिपब्लिकका पावेल नेडभेडले सन् २००३ को बालोन डि’अर जिते । तर, फ्रान्सका थिएरी हेनरी बलियो दाबेदार थिए । उनले त्यस सिजनको एकै क्यालेन्डर वर्षमा ४२ गोल र २६ असिस्ट गरेका थिए । त्यस सिजन युभेन्टसले च्याम्पियन्स लिग जितेको थियो । नेडभेडको प्रदर्शन भने औसत थियो । उनले समग्रमा १४ गोल र १७ असिस्ट गरेका थिए ।

सन् २००६ : सन् २००६ को विश्वकप ट्रफी उचालेको इटलीको रक्षापंक्तिका प्रमुख खेलाडी फाबिओ क्यानाभारोले बालोन डि’अर जिते । विश्वकपमा उनीसँगै बुफोन, उपविजेता फ्रान्सका जिनेदिन जिदान, थिएरी हेनरी र ब्राजिलका रोनाल्डिन्हो पनि प्रतिस्पर्धी थिए । जिदानको प्रदर्शन सबैभन्दा उत्कृष्ट थियो । तर, फाइनलमा इटलीका डिफेन्डरलाई ‘हेडबट’ गरेपछि रातो कार्ड खाँदै उनी बाहिरिए । फ्रान्स उपाधि जित्न वञ्चित रह्यो भने जिदान बालोन डिओर उचाल्न । तथापि, जिदान प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । फ्रान्सलाई फाइनलसम्म पुर्याएका हेनरीले त्यही सिजनमा आर्सनलबाट च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा गरेका थिए । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डिन्होले १४ वर्षपछि च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी प्लेयर अफ द टुर्नामेन्ट र सेकेन्ड हाइयस्ट स्कोरर घोषित भएका थिए । त्यस सिजन बार्सिलोनाले ला लिगाको उपाधि उचाल्दा उनले १७ गोल गरेका थिए । 

सन् २०१० : सन् २०१० को बालोन डि’अर लियोनल मेसीले पाए । त्यस सिजन मेसीको ३४ गोलको मद्दतले बार्साले ला लिगाको उपाधि जितेको थियो । तर, बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलभन्दा माथि जान सकेको थिएन । अझ, सन् २०१० को विश्वकप मेसीका लागि बिर्सनलायक थियो । अर्जेन्टिना क्वार्टरफाइनलमा जर्मनीसँग ४–० ले पराजित हुँदै घर फर्किएको थियो । सन् २०१० को विश्वविजेता स्पेनका मिडफिल्डरद्वय जाभिएर हर्नान्डेज र आन्द्रेस इनिस्टा तथा उरुग्वेका डिएगो फोर्लान दावेदार थिए ।  फाइनलमा नेदरल्यान्डस्विरुद्ध इनिस्टाले नै गोल गरेर स्पेनलाई विश्वकप दिलाएका थिए । बार्सिलोनाले ला लिगा जित्दा जाभी र इन्निस्टा मेसीसँगै मुख्य खेलाडी थिए ।  


सन् २०१३ : मेसीलाई पन्छाउँदै रोनाल्डोले सन् २०१३ को बालोन डि’अर जिते । तर, रोनाल्डोले त्यस सिजन कुनै पनि उपाधि जितेका थिएनन् । ला लिगामा उनले ३४ गोल र १० असिस्ट गरे पनि रियललाई च्याम्पियन बनाउन सकेनन् । लिगको उपाधि बार्सिलोनाले उचालेको थियो । ४६ गोल र १२ असिस्ट गरेका मेसी ला लिगाको बेस्ट प्लेयर घोषित भएका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए । मेसीले आठ गोल । यस्तोमा धेरैको नजर मेसी र बायर्न म्युनिखका फ्राङ्क रिवेरीमाथि थियो । बायर्नले च्याम्पियन्स लिग, बुन्डेस लिगा, डिएफबी पोकाल र डिएफएल सुपरकपजस्ता प्रतियोगिता जित्दा रिवेरी प्रमुख खेलाडी थिए ।  


सन् २०१४ : यस वर्ष पनि बालोन डि’अर रोनाल्डोकै पोल्टामा पर्यो । रियल म्याड्रिडबाट उनले  च्याम्पियन्स लिग र कोपा डेल रे जितेका थिए । तर, ला लिगामा रियल तेस्रो स्थानमा खुम्चियो । उनले च्याम्पियन्स लिगमा १७ र ला लिगामा ३१ गोल गरेका थिए । सायद च्याम्पियन्स लिगको प्रदर्शनलाई आधार मानेर छनोटकर्ताले रोनाल्डोलाई रोजेका थिए । तर, यही वर्ष फुटबलकै सबैभन्दा ठूलो विश्वकप प्रतियोगितामा रोनाल्डो नेतृत्वको पोर्चुगल समूहचरणबाटै बाहिरिएको थियो । रोनाल्डोले चार गोल गरेका थिए ।अर्कोतर्फ, विश्वकपमा मेसीको कप्तानीमा अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको थियो । मेसी विश्वकपकै उत्कृष्ट खेलाडीसमेत भएका थिए । बार्साका लागि मेसीले ला लिगामा २८, च्याम्पियन्स लिगमा ८ र कोपा डेल रेमा पाँच गोल पनि गरेका थिए । मेसीले सुपर कोपा जितेका थिए भने कोपा डेल रेको फाइनल खेलेका थिए । 


सन् २०१८ : लुका मोड्रिचको कप्तानीमा क्रोएसियाले पहिलोपटक विश्वकप फाइनल खेलेको थियो । दुई गोल गरेका उनले एक गोलका लागि पास मिलाएका थिए । त्यही सिजनमा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा मोड्रिच त्यसका सदस्य थिए । क्लब फुटबलमा भने उनको प्रदर्शन औसत थियो । सन् २०१८ को बालोन डि’अर उनैले पाए । त्यस सिजनमा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोलाई उनले २७७ भोटले पछि पारे । च्याम्पियन्स लिगमा रोनाल्डोले १५ गोल गरेका थिए । ला लिगामा ४४ गोल ।  विश्वकप प्रतियोगितामा चार गोल गरेका थिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार