शिक्षा र स्वास्थ्य सरकारीकरण किन नगर्ने ?

जनस्वास्थ्य

सचिन घिमिरे सचिन घिमिरे
शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा शिक्षा र स्वास्थ्य प्रणालीको निसर्त सरकारीकरण नै वर्तमान सरकारले नेपाली जनतालाई दिन सक्ने सबैभन्दा फलदायी नतिजा हो

ऐतिहासिक कालदेखि नै विषाणु, जीवाणु र अन्य परजीवीका कारण सिर्जना भएको नयाँ रोगहरूले मानवसभ्यतालाई पटक–पटक चुनौती दिइरहेको छ । प्रकृतिले सिर्जना गरेको चुनौतीसँग जुध्दै आफ्नो अस्तित्व सम्भव बनाउन मानवजातिले पनि आफ्नो वासस्थान, रहनसहन र खाद्यशैलीमा फेरबदल गर्दै लगेको छ । समयक्रममा नयाँ–नयाँ रोगाट बच्न थुप्रै किसिमका नैसर्गिक ज्ञान तथा स्वास्थ्य विज्ञानले आविष्कार गरेका आधुनिक अवधारणाको पनि अवलम्बन हुँदै आएको छ ।
स्वास्थ्य विज्ञानले गरेका थुप्रै उपलब्धिका बाबजुद बीसौँ शताब्दीवरपर मात्र मानव जातिले नयाँ संक्रामक रोगहरूका कारण तीनवटा ठूला र गम्भीर किसिमका तीव्र संक्रमण भोग्नुपरेको यथार्थ देखिन्छ ।

सन् २०१२ मा अमेरिकाको संक्रामक रोग विशेषज्ञहरू एन्थोनी फौसी र डेभिड मोरेन्सले गरेको अध्ययन प्रतिवेदनअनुसार १९४० देखि २००४ सम्ममा झन्डै ३०० प्रकारका संक्रामक रोगले मानवसभ्यतालाई आक्रमण गरिसकेका छन् । एकातिर स्वास्थ्य विज्ञानले गर्ने चमत्कार, अर्कोतर्फ उपचार गर्न सम्भव रोगहरूबाट पनि अल्पायुमा नै ज्यान जाने अवस्था भइरहनु आफैँमा विरोधभासपूर्ण अवस्था हो । यस सन्दर्भमा रोग उत्पत्तिको सामाजिक र आर्थिक निर्धारकहरू, सम्बन्धित देशको राजनीतिक प्रणाली र नेतृत्वले जनस्वास्थ्यको मामलामा बहन गर्नेे उत्तरदायित्वबीचको सम्बन्ध केलाउनु महत्वपूर्ण हुनेछ । 

मानव जातिको ऐतिहासिक विकासक्रममा तीन चरणको इपिडिमियोलोजिकल ट्रान्जिसन अर्थात् रोगहरूले तीव्र संक्रमणको चरण पार गरेर वर्तमान अवस्थामा आइपुगेको चिकित्सा मानवशास्त्रीको बुझाइ रहेको छ । मानव उद्विकासमा अध्ययन गर्ने मानवशास्त्रीका अनुसार पनि लाखौँ वर्षसम्म वर्तमान मानव जातिका पुर्खाले घुमन्ते जीवन बिताएका थिए । सिकार गरेर जीवनयापन गर्ने त्यस युगका मानिस सानो झुण्डमा छरिएर बस्थे र उनीहरूमा संक्रामक रोगको जोखिम पनि कम थियो । झन्डै दश हजार वर्षअघि भएको कृषिक्रान्तिपछि मानिसहरू घुमन्ते जीवनबाट बिस्तारै एकैठाउँमा बढी बसोवास गर्न थाले ।

रोग संक्रमणको पहिलो चरणमा मानव जातिले जीवनयापनका क्रममा ल्याएको परिवर्तनका कारण नै नयाँ संक्रामक रोग फैलिन उपयुक्त वातावरण सिर्जना भएको देखिन्छ । मानवले आफ्नो अस्तित्व सम्भव बनाउन प्रकृतिको अन्तरसम्बन्धमा अभ्यास गरेको आदिम स्वरूपहरूले वर्तमान अवस्थामा पनि निरन्तरता पाइरहेको देखिन्छ । सृष्टिको सुरुवातदेखि नै प्रकृतिको दोहनमा मानव जातिमा देखापरेको अनियन्त्रित लोभको कारण आधुनिक कालमा पनि पर्यावरणमा क्षति पुगेर नयाँ–नयाँ रोगको उत्पत्ति हुने अवस्था सिर्जना भएको छ । यसका अलावा कृषिकर्ममा अनियन्त्रित विषादीकरण, घना बस्ती क्षेत्रमा प्रदूषण गर्ने कलकारखानाको स्थापना गर्नु र बाढीपहिरोजस्ता कारकतत्वले गर्दा पनि नयाँ–नयाँ रोगहरूको उत्पत्ति हुँदै गएको यथार्थ देखिन्छ । 

मानव इतिहासमा भएको दोस्रो चरणको संक्रमणमा चिकित्सा विज्ञानमा भएका आविष्कारलाई अनुमोदन गर्दै सम्बन्धित राज्यहरूले जनस्वास्थ्यको मामलामा गरेको अभ्यासहरूको पाटो महत्वपूर्ण मानिन्छ । लोककल्याणकारी अवधारणाअनुसार राज्यले पोषण तथा जीवनयापनमा गरेको लगानीका कारण समुदायमा संक्रामक रोगहरू घट्दै गएको प्रमाणित भएको छ । यद्यपि, यस चरणमा नसर्ने प्रकारका दीर्घरोगहरू र शरीरका अंग खिइँदै जाने समस्याहरू भने वृद्धि भएको देखिन्छ । जनस्वास्थ्यमा राज्यले देखाउने जवाफदेहिताका कारण नै दीर्घरोग लागेका मानिसमा पनि लामो जीवन बाँच्ने आशा पलाएर आउँछ । लक्जेम्बर्ग, सिंगापुर, स्विट्जरल्यान्ड, जापान, नेदरल्यान्ड, क्युबा, स्विडेनजस्ता राष्ट्रले जनस्वास्थ्यको मामलामा गरेको लगानीको प्रतिफल आमजनताले प्रत्यक्ष रूपमा भोग्न पाएको यथार्थ सर्वविदित नै छ । राजनीतिक इच्छाशक्ति र जनस्वास्थ्यप्रतिको गम्भीर उत्तरदायित्वले मात्र स्वस्थ जनशक्ति विकास हुन्छ भन्ने नजिर विश्वमा स्वास्थ्य सूचकांक राम्रो भएका देशले दिइसकेका छन् ।

हार्वड विश्वविद्यालयका प्राध्यापक पल फार्मर जनस्वास्थ्यको सरोकारवालाहरूले गरिबी, भोकमरी र सामाजिक असमानतालाई ध्यान दिन नसक्नु आफैँमा रोग उत्पत्तिको कारण मान्छन् । संसारकै अत्यन्त कमजोरमध्येको स्वास्थ्य प्रणाली भएको नेपालजस्तो देशमा भने उपचारजन्य रोगमा पनि पहुँच पुग्न नसकेर धेरै मानिसको अनाहकमा ज्यान गइरहेको यथार्थ छ । समाजमा रोगहरूको चरित्र जुनसुकै किसिमले परिवर्तन हुँदै गए पनि स्वास्थ्य प्रणालीले सम्बोधन गर्नु लोककल्याणकारी राज्यको चरित्र हो ।

दुर्भाग्यवश, हाम्रो सन्दर्भमा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै जाँदा सरकारको प्राथमिकता एकातिर, कोभिडले जनस्तरमा सिर्जना गरेको कथाव्यथा अर्कोतिर भइसकेपछि संकटको घडीमा पनि जनस्वास्थ्यप्रतिको गैरजिम्मेवारीपन फेरि एकपटक छताछुल्ल पारेको छ । राज्य व्यवस्थाले गरेको अपहेलनाको कारण व्यग्रता, तनाव, हेयभाव र अन्य प्रकारका मानसिक रोगहरू पनि देखा पर्छन् । अपहेलना र कंगालीकरण आफैँमा अन्तरसम्बन्धित छ भन्ने धारणा फ्रेडरिक ऐंगेल्सले पनि बेलायतको श्रमजीवी वर्गका बारेमा सन् १८४५ मा लेखिएको आफ्नो प्रख्यात पुस्तक ‘अन द कन्डिसन अफ वर्किङ क्लास इन इंग्ल्यान्ड’ मा व्यक्त गरेका छन् ।

चिकित्सा मानवशास्त्रीहरू संक्रामक रोग उत्पत्तिको तेस्रो चरणमा एन्टिबायोटिकहरूको अत्यधिक प्रयोगले रोगहरूलाई निको पार्न नसक्ने अवस्थाको विवेचना गर्छन् । यस चरणमा जनस्वास्थ्यका संयन्त्रहरूले काम नगर्नु, कमसल र नक्कली खालका भ्याक्सिनहरूको अनियन्त्रित प्रयोग गर्नु, निर्मलीकरण नगरीकन चिकित्सकीय उपकरणहरू पुनः प्रयोग गर्नुजस्ता कारकतत्वहरू पनि महत्वपूर्ण मानिन्छन् । मानिसलाई रोगी बनाउने सूक्ष्म जीवहरू, ढुसी तथा अन्य परजीवीहरूलाई एन्टिबायोटिकहरूले काम नगर्ने अवस्थामा पुगेर पनि संक्रामक रोगहरू पुनर्जीवित हुने गरेको देखिन्छ ।

यस चरणमा सूक्ष्म जीवहरूले एकपछि अर्को वासस्थान परिवर्तन गर्दै आफूलाई बचाउन सक्ने क्षमतामा विकास हुनुजस्ता कारण पनि नयाँ–नयाँ रोग उत्पत्तिको कारणभित्र पर्छन् । कोभिड–१९ को कारकतत्व सार्स कोभ–२ भाइरसले पनि नयाँ अवतार बोकर मानव समुदायमा तीव्र संक्रमण फैलाएको कारण चिकित्सा विज्ञानमा उपलब्ध औषधिको प्रभावकारिता नदेखिएको यथार्थ छ । विश्व स्वास्थ्य संगठनको अनुसार विद्यमान रोगहरूमा एन्टिबायोटिकहरूको प्रभावकारिता कम हुँदै जानु वर्तमान अवस्थामा देखापरेको विश्वव्यापी गम्भीर स्वास्थ्य संकट हो । फलस्वरूप, बिरामी तथा कुरुवाहरूलाई अस्पतालमा अनावश्यक मात्रामा बढी बस्नुपर्ने, चिकित्सकीय खर्च बढी हुने र अल्पायुमा नै मृत्यु हुनेको दरमा दिन–प्रतिदिन वृद्वि भइरहेको छ । 

चिकित्सा मानवशास्त्रको अनुसार मानव इतिहासमा भएको रोगहरूको तीन चरणको संक्रमणको अलावा राजनीतिक व्यवस्था र वर्तमान विश्व व्यवस्थामा आएको उतारचढावहरू पनि रोग उत्पत्तिको कारकतत्व मानिन्छ । अन्धाधुन्द औद्योगिकीकरण, वनविनाश, नदीको प्राकृतिक बहाव छेकेर बनाइने ठूला जलभण्डार पनि रोग उत्पत्ति हुने निर्धारकहरू मानिन्छन् । यसको अलावा बसाइँसराइ, सहरीकरण, अनियन्त्रित किसिमका बाक्लो बस्ती, जलवायुमा आएको विश्वव्यापी परिवर्तन, युद्ध तथा भोकमरीहरू, राजनीतिक इच्छाशक्ति नहुनु र अन्य समुदायलाई जानाजान असर गर्ने गतिविधिहरू गर्नु पनि रोग उत्पत्तिको आलोचनात्मक अवधारणाभित्र पर्छन् ।

नेपालजस्तो विकासोन्मुख देशमा अदूरदर्शी नेतृत्वले गर्ने साँघुरो खाकाको राजनीति आफैँले सामाजिक र आर्थिक असमानता बढाएर जनतालाई रोगको भारी बोकाइरहेको यथार्थ छ । प्याथोलोजिस्ट रुडोल्फ भिरकाउ, चिकित्सा आफैँमा राजनीति हो र राजनीति झनै बृहत्तर खाकाको चिकित्सा हो भन्ने विचार राख्थे । सीमान्तकृतहरूको जीवनमा मलम लगाउन सक्ने राजनीतिक सुझबुझले मात्र वर्तमानको अस्वस्थतालाई स्वस्थ समाजमा रूपान्तरण गर्ने भूमिका खेल्न सक्छ । 

रोग उत्पत्तिका अनेकौँ निर्धारकको विवेचना गर्दा बदलिँदो विश्व परिवेशसँगसँगै नयाँ–नयाँ रोगहरूको चुनौती देखा परिरहन्छ । नयाँ रोगहरूसँग सामना गर्न व्यक्तिले आफ्नो प्रतिरोध क्षमता बलियो बनाएजस्तै बलियो स्वास्थ्य प्रणाली कुनै पनि देशको प्रतिरोध क्षमता हो । राज्यसँग बलियो स्वास्थ्य प्रणाली भए मात्र नयाँ–नयाँ रोगहरूको प्रतिरोध गर्न सक्छ । पूर्ण रूपमा सरकारी नियन्त्रणको स्वास्थ्य प्रणालीमा मात्र अन्य विकल्प नभएपछि विद्वत र आलोचनात्मक चेत भएकाहरूको पनि सरकारी प्रणालीबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बाध्यता हुन्छ । नेपालको सरकारी स्वास्थ्य प्रणालीमा स्वास्थ्य अधिकारको बारेमा सचेत वर्गहरूले सेवा लिनैपर्ने बाध्यता नभएको कारण पनि आवश्यक गुणस्तरको माग गर्दै बौद्धिक आलोचना नै कम हुने गरेको छ ।

आफूलाई पर्दा चुपचाप निजी स्वास्थ्य केन्द्रमा जाने र सरकारी प्रणालीको आमूल सुधारको अपेक्षा नगर्ने बौद्धिक वर्ग पनि स्वास्थ्य प्रणालीको वर्तमान दुरावस्थाका लागि जिम्मेवार छ । वर्तमान स्वास्थ्य संकटको समयमा निजी अस्पतालले संकटको समयमा ढोका थुनेर बस्नु नै नेपालको स्वास्थ्य प्रणालीको निसर्त सरकारीकरणका लागि सरकारले अघोषित स्वीकारोक्ति पाइसकेको अवस्था छ । दुईतिहाइको स्थिर सरकारले अश्लील बजारवादको अनुशरण गरेर स्वास्थ्य क्षेत्रमा केही झिनामसिना नीति तथा कार्यक्रम मात्र सार्वजनिक गर्ने हो भने नेपालीहरूको स्वास्थ्य सूचकांकमा विद्यमान खाडलमा कुनै रूपान्तरण हुने अवस्था देखिँदैन । तसर्थ, नेपालमा शिक्षा र स्वास्थ्य प्रणालीको लोककल्याणकारी अवधारणालाई सम्मान गर्दै निसर्त सरकारीकरण नै वर्तमान सरकारले नेपाली जनतालाई दिन सक्ने सबैभन्दा फलदायी नतिजा साबित हुनेछ ।

सम्पादकको रोजाइ

सुझावित समाचार