मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १४ आइतबार
  • Monday, 31 August, 2026
नवराज मैनाली काठमाडाैं
२o८३ भदौ १४ आइतबार o६:o५:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७२४ शव भेटिँदा २२ को मात्रै सनाखत : शवगृहमा नअटाएपछि ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि अस्थायी व्यवस्थापन

डिएनए नमुना लिएर गाडिएका शव पछि परिवारका सदस्यको डिएनएसँग जाँचेपछि मेल खाएअनुसार निकालेर दिइने

Read Time : > 6 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १४ आइतबार o६:o५:oo

भोटेकोशी तथा त्रिशूलीको बाढीमा परेर मृत्यु भएका ७२४ शव भेटिँदा २२ जनाको मात्रै सनाखत भएको छ । नेपाल प्रहरीका अनुसार शव पहिचानमा समस्या हुँदा व्यवस्थापन जटिल बनेको छ । अस्पतालमा शव व्यवस्थापन गर्न नसकिने निष्कर्षसहित सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ । देवघाटनजिक जंगल क्षेत्रमा ठाउँ व्यवस्थापन गरेर यो काम सुरु भएको हो ।

शव पहिचानका लागि प्रहरीले पोर्टल नै बनाएर फोटोहरू सार्वजनिक गरिरहेको छ । तर, शव क्षतविक्षत अवस्थामा रहेकाले सनाखत गर्न समस्या परेको छ । पहिचान भएका २२ शव आफन्तले बुझिसकेका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । न्यून शव मात्रै सनाखत भएकाले अब डिएनए परीक्षणबाट सनाखत गर्ने गरी सबैको डिएनए नमुना लिएर गाड्ने निर्णय भएको प्रवक्ता काफ्ले बताउँछन् । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ‘एयरटाइट ब्याग’मा राखेर गाड्न थालिएको हो । यसरी गाड्दा शव सुरक्षित रहने र पछि सनाखत भएमा निकालेर दिइने प्रवक्ता काफ्ले बताउँछन् ।

‘फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू हेल्प डेस्कमा सम्पर्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरिएको छ,’ उनले भने, ‘पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिह्न, कपडा तथा साथमा फेला परेका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ । भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी डिएनए नमुना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।’ निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत/कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको स्थानको जिपिएस लोकेसन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ ।

यसै क्रममा शनिबार मात्रै सयवटा शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । शव लामो समयसम्म सुरक्षित राख्ने पूर्वाधारको अभाव भएकाले विश्वव्यापी रूपमा मान्य मानवीय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गर्नुपरेको उनले बताए ।

‘सिस्मेनीदेखि घोलघाटसम्म संकलन भएका शवमध्ये सनाखत भएका ६ वटा आफन्तलाई जिम्मा लगाइसकेका छौँ । बाँकी शव फ्रिजिङ गरेर राख्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘संक्रमणको जोखिम बढेकाले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेका हौँ ।’

अर्यालका अनुसार शव व्यवस्थापन प्रक्रिया अत्यन्त वैज्ञानिक र व्यवस्थित बनाइएको छ । करिब डेढ मिटर गहिरो खाडल खनेर प्रत्येक शवलाई छुट्टाछुट्टै राखिएको छ । एक शव र अर्को शवबिच करिब ४० सेन्टिमिटर दूरी कायम गरिएको छ । यस्तै, एउटाको टाउकोतर्फ अर्कोको खुट्टा पर्ने गरी शव राखिएको छ । प्रत्येक शवमा नष्ट नहुने विशेष संकेत नम्बर राखिएको छ । यही नम्बर शव गाडिएको स्थानको माथि बनाइएको स्थायी चिह्नमा पनि उल्लेख छ । ताकि भविष्यमा आवश्यक परे सहज रूपमा पहिचान गर्न सकियोस् । यसका साथै प्रत्येक शवको डिएनए नमुना संकलन, फोटो, भिडियो, मुचुल्का र जिपिएस (नक्सांकन) अभिलेख सुरक्षित राखिएको प्रशासनले जनाएको छ ।

सम्बन्धित व्यक्तिका आफन्तको डिएनए नमुनासँग मेल खाएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव निकालेर परिवारलाई जिम्मा लगाउन सकिने व्यवस्था गरिएको छ । ‘कतिपयलाई शव गाडिएको भन्ने सुन्दा गलत लाग्न सक्छ । तर, यो अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको सुरक्षित विधि हो । भविष्यमा डिएनए मिलेपछि आफन्तले शव बुझ्न सक्ने गरी सबै अभिलेख सुरक्षित राखिएको छ,’ उनले भने ।

यस्तै, नवलपरासी पूर्वमा पनि सनाखत हुन नसकेका शव जंगलमा व्यवस्थापन गर्ने तयारी छ । प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डिएनएका लागि ‘नमुना संकलन’ सुरु गरिएको छ । यहाँ शव व्यवस्थापनका लागि दुई स्थान पहिचान गरिएको छ । हाल नवलपरासीमा फेला परेका शव नवलपरासी पूर्व र नवलपरासी पश्चिमका अतिरिक्त पोखरा, रुपन्देही र कपिलवस्तु जिल्लाका अस्पतालमा राखिएको छ । दुवै जिल्लाका प्रहरी प्रमुखका अनुसार शनिबार साँझसम्म २२३ वटा शव फेला परेका छन् ।

नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार यस जिल्लाको क्षेत्रमा ५४ वटा पूरै शरीरसहितका शव फेला परेका छन् । यहाँ २५ वटा शरीरका अंग पनि फेला परेका छन् । त्यस्तै, नवलपरासी पूर्वमा शनिबार साँझसम्म १६९ वटा शव फेला परेका छन् । यी शवमध्ये चारवटाको पहिचान भएको र तीनवटा आफन्तले बुझेको तथा एउटा बुझ्ने क्रममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार पोखरामा ४१ वटा शव पठाइएको छ । बाँकी शव जिल्लाका दुईवटा अस्पतालमा राखिएका छन् ।

त्यसैबिच, परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समुदायसँग शव संरक्षणका लागि मोबाइल फ्रिजर, रेफ्रिजेरेटेड ट्रक, शवहरूको द्रुत फरेन्सिक तथा डिएनए परीक्षणको उपकरण मागिएको बताए । ‘शवहरू छिट्टै कुहिने जोखिम भएकाले छिमेकी मुलुकहरू र कूटनीतिक नियोगमार्फत अन्तर्राष्ट्रिय समुदायसँग रेफ्रिजेरेटेड ट्रकहरूको व्यवस्था मिलाउन छलफलमा छौँ,’ उनले भने ।

रसुवा र नुवाकोटमा पनि शव व्यवस्थापन चुनौतीपूर्ण
रसुवामा शनिबार साँझसम्म १२ वटा शव फेला परेका छन् । तीमध्ये एक शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइएको छ भने आठ शव वेत्रावती घटनास्थलमा छन् । एक शव आफन्तले वेत्रावतीमै अन्त्येष्टि गरेका छन् । दुई शव थाम्बुचेत क्षेत्रमा रहेको र त्यसतर्फ मुचुल्का टोली गएको प्रशासनले जनाएको छ । रसुवामा जीवितै उद्धारका लागि अधिकतम प्रयास गर्नुपरिरहेकाले पनि शवको खोजीमा ध्यान पुग्न नसकेको प्रशासनले जनाएको छ ।

यस्तै, नुवाकोटमा हालसम्म ४७ वटा शव फेला परेका छन् । तीमध्ये तीन शव सनाखतपछि परिवारले बुझेका छन् । ३६ वटा शव काठमाडौंको शिक्षण अस्पताल पठाइएको छ भने आठ शव रसुवाबाट संकलन गरी काठमाडौं पठाउने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार अहिले प्राथमिकता जीवित व्यक्तिको उद्धारमा केन्द्रित छ । प्रशासकीय अधिकृत नेपालका अनुसार फेला परेका शव बटारस्थित नेपाली सेनाको तालिम केन्द्रमा संकलन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शववाहनमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल पठाइँदै छ । जहाँ विस्तृत पहिचान प्रक्रिया अघि बढाइएको छ ।

उद्धारमा तीन हजार सुरक्षाकर्मी थपियो 
बेपत्ताको खोजी र उद्धारका लागि शनिबार थप तीन हजार सुरक्षाकर्मी थपिएको छ । शुक्रबारसम्म करिब १५ हजार सशस्त्र प्रहरी खटिएकोमा शनिबारदेखि १८ हजार ७०८ जना खटिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन् । नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा उद्धारमा खटिएका छन् ।

संख्या थपिँदा पनि उद्धार कार्य चुस्त हुन नसकेको भनेर आलोचना भइरहेको छ । हालसम्म सात हजार ५१४ जनालाई स्थल तथा हवाईमार्गबाट उद्धार गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जलविद्युत् आयोजनामा फसेका २७९ जनाको उद्धार भएको छ । कतिपय अझै आयोजनाको सुरुङमा फसेका छन् । उद्धारमा १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । ‘तर, भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ ।’ 

शवगृहरू भरिभराउ, उपचारमा आएपछि पाँचजनाको मृत्यु
बाढीमा परी मृत्यु भएका ६७५ जनाको शव विभिन्न स्थानमा भेटिइसक्दा सरकारी तथा निजी अस्पतालका शवगृह भरिन थालेका छन् । अन्य कारणले मृत्यु भएकाहरूको समेत पोस्टमार्टम गर्नुपर्ने भएकाले शवगृहमा शव थुपारेर राख्न नसकिने अस्पतालहरूले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका सरकारी अस्पतालमा ६ सय शव राख्न सकिन्छ । १५० शव अट्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै सयवटा शव ल्याइसकिएको छ । ती शव नुवाकोट, धादिङ, रसुवा र गोरखालगायत जिल्लाबाट ल्याइएका हुन् । सहप्रवक्ता अधिकारीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ वटा शव राखिएका छन्। नवलपुरस्थित मध्यविन्दु अस्पताल तथा अन्य निजी अस्पतालमा गरी ३० भन्दा बढी शव छन् भने चितवनस्थित मेडिकल कलेजमा २५० भन्दा बढी शव राखिएका छन् ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार हाल रसुवा, काठमाडौं, नुवाकोट, धादिङ, चितवन, गोरखा, पोखरा, नवलपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा करिब चार सय शवगृह छन् । तीमध्ये अधिकांश शवगृह भरिएका छन् । चितवनमा पाँच सय शव राख्न मिल्ने गरी अस्थायी शवगृह निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

उनका अनुसार चितवनको पुरानो मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा सयभन्दा बढी शव राख्न मिल्ने शवगृह छन् । अन्य अस्पतालका शवगृहमा १०–१५ वटा मात्रै शव राख्न मिल्छ । बाढीमा परी उपचारका लागि अस्पताल पुर्‍याइएकामध्ये पाँचजनाको अस्पतालमै मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा एक–एकजना तथा त्रिशूली अस्पतालमा दुईजना र रसुवा अस्पतालमा एकजनाको मृत्यु भएको हो । अस्पतालहरूका अनुसार उनीहरू गम्भीर अवस्थामा उपचारका लागि ल्याइएका थिए ।

शनिबार १०० शव व्यवस्थापन
सनाखत हुन नसकेका शवको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले डिएनए नमुना सुरक्षित राखेर ट्यागसहित शव व्यवस्थापन गर्न थालेको छ । नारायणी नदीमा फेला परेका शवले अस्पतालका शवगृह भरिन थालेपछि चितवनको भरतपुर महानगरपालिका– १, रामनगर–देवघाट सडकखण्डनजिकैको जंगल क्षेत्रमा शवलाई व्यवस्थित रूपमा जमिनमुनि राख्न थालिएको हो । यसै क्रममा शनिबार मात्रै सयवटा शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । शव लामो समयसम्म सुरक्षित राख्ने पूर्वाधार अभाव भएकाले विश्वव्यापी रूपमा मान्य मानवीय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गर्नुपरेको उनले बताए । ‘सिस्मेनीदेखि घोलघाटसम्म संकलन भएका शवमध्ये सनाखत भएका ६ वटा आफन्तलाई जिम्मा लगाइसकेका छौँ । बाँकी शव फ्रिजिङ गरेर राख्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘संक्रमणको जोखिम बढेकाले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेका हौँ ।’

पहिचानका लागि टिचिङमा टाँसियो शवको फोटो : शवको फोटोसहितको विवरण प्रहरी वेबसाइटमा पनि 
टिचिङमा शवको संख्या धेरै भएपछि पहिचानका लागि अस्पताल प्रशासनले शवको फोटोसमेत टाँसेको छ । आफन्तले फोटो हेरेर आफ्ना परिवारका सदस्य पहिचान गरी लैजान सकून् भनेर त्यसरी फोटो टाँसिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराले बताए । उनका अनुसार अस्पतालपरिसरमा आफन्त खोज्न आउनेको भिड बढेको छ । तर, अस्पतालमा राखिएका शव कसका हुन् भन्ने अझै पहिचान हुन सकेको छैन । अस्पताल आएका आफन्तले बेडमा उपचाररत घाइते तथा शवगृहमा राखिएका शवका फोटो हेरेर आफ्ना मान्छे पहिचान गर्ने गरेका छन् । यद्यपि, खोजी गर्दै अस्पताल आउनेमध्ये अधिकांशका आफन्त अस्पतालमा फेला नपरेको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै, नेपाल प्रहरीको अनुसन्धान ब्युरोले पनि बेवारिसे अवस्थामा रहेका शवको फोटोसहित विवरण वेबसाइटमा राखेर पहिचानका लागि पहल गरिरहेको छ ।

सम्पर्कविहीन हुनेको संख्या रेकर्डमा ४,४७२ पुग्यो
सम्पर्कविहीन हुनेको संख्या प्रहरी रेकर्डमा ४४ सय ७२ पुगेको छ । जसमा ३६ सय ८६ नेपाली र ७८८ विदेशी छन् । रेकर्डबाहिर पनि कैयौँ बेपत्ता भएको अनुमान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको उद्धार अनुरोध पोर्टलमा सात हजार ८४८ जना सम्पर्कविहीन रहेको विवरण उल्लेख छ । जुन विवरण प्रमाणित भने भइनसकेको कार्यालयले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने करिब दुई हजार पाँच सय सम्पर्कविहीन भएको भनेर विवरण सार्वजनिक गरेको छ ।