पर्सामा चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो महिना साउनमा लागुऔषधसम्बन्धी मुद्दामा २३ जना पक्राउ परेका छन्। उनीहरू जिल्लाका विभिन्न स्थानबाट गाँजा, ब्राउनसुगर तथा औषधिजन्य लागुऔषधसहित पक्राउ परेका हुन्।
भारतसँगको खुला सीमाका कारण पर्सामा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ। सोही क्रममा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरू पक्राउ परेको पर्सा प्रहरीले जनाएको हो।
पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार साउनमा लागुऔषधसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन्। उक्त अवधिमा ३७० किलोग्राम गाँजा, ९० ग्राम ब्राउनसुगर तथा औषधिजन्य लागुऔषध निटकोर दुई सय पिस र ओनेरेक्स दुई पिस बरामद गरिएको उनले बताए।
यसअघिको असार महिनामा पर्सामा लागुऔषधसम्बन्धी मुद्दामा २७ जना पक्राउ परेका थिए। सो अवधिमा विभिन्न लागुऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
असारमा प्रहरीले ७८३ किलोग्राम गाँजा, ३८ ग्राम ब्राउनसुगर तथा डाइजेपाम, फेनारगन, टोपगोसिसी र नाइट्रोभेटलगायत औषधिजन्य लागुऔषध बरामद गरेको थियो।
प्रहरीका अनुसार साउनमा पक्राउ पर्ने र मुद्दा दर्ता हुनेको संख्या असारको तुलनामा केही घटेको भए पनि लागुऔषधको बरामद मात्रा भने उल्लेख्य रहेको छ।