बर्दियामा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६६७ सवारीसाधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६६७ सवारीसाधनलाई कारबाही गरिएको जनाएको हो ।
लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारीसाधन हाक्ने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने र सवारीको स्वरूप परिवर्तन गर्ने सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरण तथा व्यवस्थित यातायात सञ्चालनका लागि कडाइ गर्दा नियमविपरीत चल्ने सवारीसाधनलाई कारबाही गरिएको हो।’
गत आर्थिक वर्ष ०८२/८३ मा कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी दुई हजार ३३७ मोटरसाइकल रहेका छन्। यस्तै, एक हजार ७०३ ट्रक, एक हजार १४२ जिप, कार र भ्यान, ५११ ट्याक्टर, ३४७ बस तथा अन्य ६२७ सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष कारबाहीमा पर्ने सवारीसाधनको संख्यामा कमी आएको छ। आर्थिक वर्ष ०८१/८२ मा १२ हजार २४५ र आर्थिक वर्ष ०८०/८१ मा १८ हजार ८१ सवारीसाधन कारबाहीमा परेका थिए।
ट्राफिक नियम पालना गराउने उद्देश्यले जिल्लाका विभिन्न सडकखण्डमा नियमित तथा छड्के चेकजाँचलाई निरन्तरता दिइएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा नियम उल्लंघन गर्ने चालक तथा सवारीसाधनलाई आवश्यक कारबाही गर्नुका साथै सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत ट्राफिक प्रहरीले गर्दै आएको छ ।