नेपालका एमएमए फाइटर रवीन्द्र ढाँटले शुक्रबार मिक्स मार्सल आर्टस् (एमएमए) फाइटअन्तर्गत रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन् । उनी न्युजिल्यान्डका फाइटर कासिव मुर्डोकसँग चीनको संघाई इन्डोर भिड्नेछन् ।
गत जेठमा मकाउमा भएको ब्यान्टम वेट श्रेणीमा फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमा नकआउट गर्दै रवीन्द्रले अन्तिम चारको स्थान बनाएका हुन् । उनी युएफसीको एमएमए खेल्ने पहिलो नेपाली फाइटर हुन् । युएफसीले सामाजिक सञ्जालमा खेलको पूर्वसन्ध्यामा सार्वजनिक गरेको भिडियोमा उनले विपक्षी खेलाडीबारे राम्रो जानकारी भएको बताए । ‘सेमिफाइनलका लागि तयार छु ।
मेरो र कासिबको भेट यसअघि पनि भइसकेको छ,’ उनले भने, ‘धेरै चिन्ता लिनुपर्दैन । पहिला सेमिफाइनलबारे सोचेको छु, अनि फाइनलबारे ।’ बझाङका बाघ उपनामले परिचित रवीन्द्रले न्युजिल्यान्डका प्रतिद्वन्द्वीलाई हराउँदा जापानका रियो ताजिमा र भारतका कोरेनबिचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।