मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टको मध्यमा तय गरिएको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास अर्थात् ‘उल्ची फ्रिडम सिल्ड’ (युएफएस) को समयावधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न अमेरिकी रक्षा मन्त्रालयल पेन्टागनलाई निर्देशन दिँदा पूर्वी एसियाप्रतिको उनको ‘लेनदेनमा आधारित’ दृष्टिकोण छर्लंग भयो । यस कदमले सोललाई आश्चर्यचकित बनायो र प्योङयाङबाट कडा प्रतिक्रिया निम्त्यायो । यसले अमेरिकी सुरक्षा छातामाथि बढ्दो शंकाले यस क्षेत्रको रणनीतिक हिसाबकिताबलाई कसरी पुनः परिभाषित गरिरहेको छ भन्ने कुरालाई उजागर गर्यो ।
ट्रम्पले दक्षिण कोरियासँग अभ्यासको अवधि घटाउने निर्णयलाई किम जोङ उनप्रति सद्भावको संकेतका रूपमा प्रस्तुत गरे । उनले किमलाई आफूले ‘राम्ररी चिनेको’ र उनीसँग ‘निकै राम्रो सम्बन्ध’ रहेको बताए । उनले उक्त सैन्य अभ्यासले प्योङयाङलाई ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश दिएको दाबी गरे । साथै, उनले यस निर्णयलाई इरानविरुद्धको अमेरिकी सैन्य प्रयासमा सामेल हुन सोलले गरेको अस्वीकारसँग प्रत्यक्ष रूपमा जोड्दै भने ‘अमेरिका सबै देशको सुरक्षा गर्दै हिँड्न सक्दैन, जबसम्म उनीहरू हामीलाई सहयोग गर्न तत्पर हुँदैनन् ।’
अर्कोतर्फ ट्रम्पको प्रस्तावबारे बोल्दै किम जोङ उनकी बहिनी किम यो जोङले दुई नेताबिच कुनै पनि प्रकारको सञ्चारबारे आफू ‘अनभिज्ञ’ रहेको बताइन् । यसले नोभेम्बरमा हुने भनिएको कुनै पनि बैठक कुनै पक्षले आफ्नो अडान नबदलेसम्म केवल ‘राजनीतिक नाटक’मा सीमित हुन सक्ने सम्भावना बढाएको छ । अमेरिका–उत्तर कोरिया संलग्नताबारे प्रतिक्रिया दिने क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्प–किमबिच हुन सक्ने सम्भावित भेटवार्ताबारे टिप्पणी गर्न अस्वीकार गरे । यद्यपि, चीनका विदेशमन्त्री वाङ यीको सोल भ्रमणका क्रममा चीनको बृहत्तर अडान स्पष्ट गरे । उनले दक्षिण कोरियालाई ‘वास्तविक रणनीतिक स्वायत्तता’ अपनाउन र ‘गुटगत टकराव वा कुनै एक पक्ष लिने कार्य’बाट बच्न आग्रह गरे । अझ महत्वपूर्ण कुरा त वाङले आणविक निःशस्त्रीकरणको कुनै उल्लेख गरेनन् र सोलको बहुपक्षीय शान्ति पहललाई समर्थन पनि गरेनन् । बरु उनले कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण सहअस्तित्वको कुरा गरे । यो दृष्टिकोणले बेइजिङलाई प्रायद्वीप कूटनीतिको मुख्य आधारका रूपमा आणविक निःशस्त्रीकरणलाई निरन्तरता दिनुको सट्टा दुई अलग कोरियाली राज्यको यथार्थलाई स्वीकार गर्ने दिशातिर अघि बढाएको देखिन्छ ।
वाङले ‘जापानी दक्षिणपन्थी शक्तिले इतिहासको गतिलाई उल्ट्याउने प्रयास’विरुद्ध चेतावनी दिँदै ‘जापानी सैन्यवादलाई फेरि कहिल्यै उठ्न नदिन’ आग्रह गरे । जापानको मुख्य रक्षा बजेट कीर्तिमानी ९.०४ ट्रिलियन येन (५६.७ अर्ब डलर) पुगेको छ, जबकि जापानले रक्षा–सम्बन्धित फराकिलो खर्च तोकिएको समयभन्दा अगाडि नै कुल गार्हस्थ उत्पादनको दुई प्रतिशतको लक्ष्यमा पुगेको जनाएको छ । यो सैन्य विस्तारलाई नयाँ रक्षा सम्बन्धित करमार्फत वित्तीय नीतिमा पनि समावेश गरिँदै छ । यस परिवर्तनको गतिले प्योङयाङलाई आक्रोशित बनाएको छ, किम यो जोङले जापानलाई चेतावनी दिँदै भनिन् कि कुनै पनि ‘गलत निर्णय’ले ‘विनाशकारी प्रहार’ निम्त्याउनेछ ।
वासिंटनको प्रतिबद्धतालाई लिएर देखिएको अनिश्चितताको फाइदा उठाउँदै जापानले आफ्नो सैन्य सामान्यीकरणलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ । हतियार निर्यातसम्बन्धी खुकुला नियम र रक्षा ठेकेदार मित्सुबिसी हेभी इन्डस्ट्रिज, कावासाकी हेभी इन्डस्ट्रिज र आइएचआईसँगको गहिरिँदो सहकार्यले जापान अझ स्वतन्त्र कदम चाल्नका लागि संस्थागत आधार तयार गरिरहेको संकेत गर्छ । सोलले पनि आफ्नो रणनीतिमा पुनर्विचार गरिरहेको छ । सिओलले अमेरिकी गठबन्धनलाई बलियो स्वतन्त्र रक्षा क्षमताले परिपूरकको रूपमा सघाउनुपर्ने तर्क गर्यो ।
यसरी उदाउँदो नयाँ व्यवस्थाको केन्द्रमा एउटा भूराजनीतिक त्रिकोण रहेको छ, गठबन्धनलाई केवल ‘लेनदेनको वस्तु’का रूपमा हेर्ने अमेरिका, अमेरिकी प्रतिबद्धताबारे बढ्दो अनिश्चितताबिच स्थायी सैन्य स्वायत्ततातर्फ तीव्र गतिमा अघि बढिरहेको जापान र टोकियोको दक्षिणपन्थी झुकावको प्रतिरोध गर्दै आफ्ना सीमावर्ती क्षेत्रमा स्थिरता कायम गरिरहेको चीन । यी शक्तिको बीचमा परेको दक्षिण कोरिया वासिंटनको अप्रत्याशित व्यवहार, बेइजिङको आर्थिक प्रभाव र टोकियोको तीव्र सैन्यीकरणका चुनौतीबिच सन्तुलन मिलाउन बाध्य हुँदै गएको छ ।
यो अनिश्चितता निकै गहिरो छ । यदि प्योङयाङसँग ट्रम्पको मेलमिलापको प्रयास केवल ‘नाटक’मा सीमित रह्यो भने उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर अघि बढिरहनेछ, किनभने बेइजिङ र मस्कोले उसलाई अर्थपूर्ण बाह्य दबाबबाट जोगाइरहनेछन् । यदि सोलमाथि वासिंटनमाथिको दबाब सफल भयो भने दक्षिण कोरिया हर्मुज जलमार्गदेखि ताइबानको सम्भावित संकटसम्मका अमेरिकाका युद्धमा अझ गहिरो गरी तानिन सक्छ । टोकियोको सैन्यीकरण प्रक्रियालाई नियन्त्रण गरिएन भने युद्धपछिको क्षेत्रीय सुरक्षा संरचनामा परिवर्तन आउन सक्छ ।
(जियाङ चाइना इन्स्टिच्युटका संस्थापक निर्देशक तथा अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ता हुन् ।)
अलजजिराबाट