मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी पुस्ताको विरोध : ‘भैँसी लड्यो है माया भिरबाट हेर, हाम्रो ट्याक्स है माया गै गयो लौ खेर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १४:४५:oo

देशव्यापी रूपमा आन्दोलनको क्रम चलिरहेको जेन–जी पुस्ताको बागलुङमा पनि विरोध र्‍यालीसहित आन्दोलन भएको छ । यहाँका सयौँ युवाले विभिन्न नारा  लगाउँदै बजार परिक्रमा गरेका छन् । उनीहरूले ‘भैँसी लड्यो है माया भिरबाट हेर, हाम्रो ट्याक्स है माया गै गयो लौ खेर’  ‘भ्रष्टाचार धपाऔँ, देश बचाऔँ, घुस लिने ? नलिने, मेरो करले चल्छ तिम्रो घर, नजलाउ हाम्रो भविष्यको घर’लगायतका नारा लगाउँदै विरोध गरेका थिए ।

बागलुङको लोकतान्त्रिक चोकमा आयोजित विरोध सभा बागलुङ बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमै आएर समापन गरिएको थियो । करिब दुई सय युवाहरूको सहभागीले विरोध जनाएको थियो । यहाँका युवाहरू विरोश क्षेत्री, अभिषेक कटुवाल, ओमकार सुवेदी, हिमाल कँडेललगायतका युवाहरूको नेतृत्वमा सयौँ युवाहरू सडकमा उत्रिएका छन् । ड्युटीमा खटिएका प्रहरीलाई पुष्पगुच्छा प्रदान गर्दै युवाहरूले आन्दोलनको सुरुवात गरेका थिए । 

आन्दोलनमा विभिन्न क्याम्पसका विद्यार्थी, स्वतन्त्र युवा तथा विद्यार्थी नेताहरूसमेत सहभागी थिए भने जेन–जी आन्दोलनमा पाका युवाहरूसमेत समर्थन गर्न पुगेका थिए ।

लोकतान्त्रिक चोकमा जम्मा भएका युवाहरूले प्लेकार्डसहित समिट चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः लोकतान्त्रिक चोकमा पुगेर आन्दोलन समापन गरेका थिए । उनीहरूले देशमा भ्रष्टाचार बढेको, करको दुरुपयोग बढेकोलगायत लेखेका प्लेकार्डसहितको नारा लगाएका थिए ।