
सुनसरीको इटहरीमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको हो।
आक्रोशित प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गर्दै प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। उनीहरुले कार्यालयभित्रका सामान तोडफोड गर्नुका साथै कागजपत्र बाहिर फ्याँकेका छन्। केही सामान निकालेर जलाउँदा पूर्ववश्चिम राजमार्ग अवरूद्ध बनेको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा दुवैतर्फ केही घाइते भएका छन्।
सुनसरीका सिडिओ कुमार मिश्रकाअनुसार अर्को सूचना नभएसम्मका लागि उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोक, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथै पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रभित्र, पश्चिममा कलंकी मोडदेखि जनता बस्तीभित्र कर्फ्यु आदेश जारी भएको हो।