मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
सुवास भट्ट काठमाडाैं
२o८२ भदौ २३ सोमबार o८:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

९० हजार निजामती कर्मचारीमा भेटिएनन् सर्वोत्कृष्ट

छनोट प्रक्रिया पारदर्शी नहुँदा १० वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन मुस्किल

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार o८:१५:oo

निजामती सेवा नियमावलीमै हरेक वर्ष सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार दिनेसम्बन्धी व्यवस्था छ । तर, सरकारले एक दशकदेखि सर्वोत्कृष्ट कर्मचारी भेटेको छैन । ०७३ देखि यो पुरस्कार प्रदान गरिएको छैन । विज्ञहरूका अनुसार छनोट प्रक्रिया पारदर्शी नहुँदा सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकिएको हो । 

आइतबार सरकारले २२औँ निजामती सेवा दिवस, २०८२ समारोह आयोजना गरेको थियो । यही दिवसमा पुरस्कार प्रदान गर्ने अभ्यास छ । तर, आइतबार पुरस्कार घोषणा भएन । निजामती सेवा नियमावली, २०५० को दफा ११६ मा निजामती सेवा दिवसको अवसरमा सरकारले प्रत्येक वर्ष निजामती सेवा पुरस्कार वितरण गर्ने व्यवस्था छ । 

निजामती सेवा नियमावलीमा एकजनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था छ । यस्तै, सर्वोत्कृष्टलाई दुई लाख, उत्कृष्टहरूलाई जनही एक लाख र निजामती पुरस्कार पाउनेलाई जनही ५० हजारका दरले नगद रकम दिने व्यवस्था नियमावलीमा छ । 

निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखाना (निजामती) का अनुसार अहिले करिब ९० हजार निजामती कर्मचारी वैयक्तिक सूचना प्रणाली (पिआइएस) मा आबद्ध छन् । तर, यतिका ठुलो संगठनमा सरकारले दशकदेखि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले आइतबार पुरस्कार घोषणा नभएको र यसै साता घोषणा हुने दाबी गरे । ‘निजामती सेवा दिवसकै दिन पुरस्कार घोषणा हुने नियमावलीको व्यवस्था र अभ्यास भए पनि आइतबार घोषणा भने भएन । यसपटक निजामती सेवा दिवसलाई सप्ताहव्यापी मनाउने तयारी छ । यसैअनुसार पुरस्कार घोषणा गर्ने गृहकार्य भइरहेको छ,’ उनले भने । पुरस्कार छनोटसम्बन्धी समितिले काम गरिरहेको र निर्णय भएपछि घोषणा हुने उनको भनाइ छ । 

पुरस्कार सिफारिस गर्न मुख्यसचिवको अध्यक्षतामा कानुन सचिव, नेपाल सरकारले तोकेको अर्का एक सचिव, सेवा अवकाश भएका कुनै एक सचिव सदस्य र सामान्य प्रशासन सचिव सदस्य हुने नियमावलीको व्यवस्थाबमोजिम यसपटक पनि समिति गठन भएको छ । यही समितिले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने व्यवस्था छ । 

यसका लागि सर्वोत्कृष्ट निजामती पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, पछिल्ले १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कार सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नगरिएकोलगायतका मापदण्ड छन् ।

त्यस्तै, उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, पछिल्लो १० वर्षमा कुनै पनि विभागीय सजाय नपाएकोलगायतका व्यवस्था छन् । निजामती सेवा पुरस्कारको दाबी गर्ने सर्तहरू पनि नियमावलीमा छन् । 

आइतबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभाहलमा निजामती सेवा दिवसको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अघिल्लो वर्ष उत्कृष्ट निजामती पुरस्कार प्राप्त गर्ने १० जना र निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीलाई ताम्रपत्रसहित सम्मान गरे ।

 पुरस्कार वितरण थितिमाथि अनेकौँ प्रश्न 
निजामती पुरस्कार वितरणको थितिमाथि विगतदेखि नै अनेकौँ प्रश्न उठ्दै आएका छन् । पुरस्कार पाउने कर्मचारीको छनोट वस्तुनिष्ठ र वैज्ञानिक नभएको तथा पाउनुपर्नेले नपाएको र अयोग्यले पाएका भन्दै यसमाथि प्रश्न उठ्दै आएका छन् । पुरस्कार छनोटमा दलगत, नातावाद, कृपावाद र चाकडीप्रथा झाँगिएकामा प्रशासनभित्रै आलोचना हुने गरेको छ ।

 ०६१ देखि निजामती सेवा दिवस मनाउन थालिएकामा २१ वर्षमा चारजना कर्मचारीले मात्र सर्वोत्कृष्ट निजामती पुरस्कार पाएका छन् । ०७३ मा सर्वोत्कृष्ट निजामती पुरस्कार तत्कालीन सचिव शान्तराज सुवेदी (हाल अवकाश) ले पाएका थिए । त्यसयता यो शीर्षकमा कसैले पनि पुरस्कार पाएको छैन । पहिलो सर्वोत्कृष्ट निजामती पुरस्कार ०६८ मा सूर्यप्रसाद गौतम (हाल सचिवबाट अवकाश) ले पाएका थिए । तर, पुरस्कारपछि आफ्नी पत्नीको लोक सेवा आयोग परीक्षाको कापी आफैँ जाँच गरेको भन्दै उनी तीव्र विवादमा परेका थिए ।

प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल वस्तुनिष्ठ मूल्यांकनको कमी तथा कार्यसम्पादन र योगदानको कदर गर्ने परिपाटी नहुँदा पुरस्कार वितरण विवादरहित हुन नसकेको बताउँछन् । ‘श्रीमान्ले श्रीमतीलाई पुरस्कार सिफारिस गर्ने, आफ्नै पितालाई पुरस्कार दिनेजस्ता बेथिति विगतमा देखिए,’ उनी भन्छन्, ‘पुरस्कार वितरणमा नातावाद, कृपावाद, शक्तिको पहुँच र दलीय निकटतालगायत हाबी भएपछि विवादित भएको छ ।’ यस्ता बेथितिले पुरस्कारको गरिमा नै घट्न पुगेको उनी बताउँछन् । स्पष्ट मापदण्ड, वस्तुगत–वैज्ञानिक मूल्यांकन पद्धति र तेस्रो पक्ष मूल्यांकनसमेतका आधारमा दिँदा मात्र पुरस्कारले न्याय पाउने र गरिमा बढ्ने उनको मत छ ।  

कालीप्रसाद पराजुली, प्रवक्ता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

निजामती सेवा दिवसकै दिन पुरस्कार घोषणा हुने नियमावलीको व्यवस्था र अभ्यास भए पनि आइतबार घोषणा भने भएन । यसपटक निजामती सेवा दिवसलाई सप्ताहव्यापी मनाउने तयारी छ । यसैअनुसार पुरस्कार घोषणा गर्ने गृहकार्य भइरहेको छ ।

काशीराज दाहाल
अध्यक्ष, प्रशासन सुधार आयोग 

श्रीमान्ले श्रीमतीलाई पुरस्कार सिफारिस गर्ने, आफ्नै पितालाई पुरस्कार दिनेजस्ता बेथिति विगतमा देखिए । पुरस्कार वितरणमा नातावाद, कृपावाद, शक्तिको पहुँच र दलीय निकटतालगायत हाबी भएपछि विवादित भएको छ ।