
नेपाली बजारमा अमेरिकी डलरको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक डलरको खरिद मूल्य १४०.९३ रुपैयाँ र बिक्री मूल्य १४१.५३ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । यसअघि १४ भदौमा डलरको खरिद मूल्य १४०.८२ रुपैयाँ र बिक्री मूल्य १४१.४२ रुपैयाँ थियो । त्यसपछि घटेको डलरको मूल्य शनिबार पुन: बढेर नयाँ विन्दुमा पुगेको हो ।
अहिले अमेरिकाले भारतीय वस्तुको आयातमा लाग्ने करको दर बढाएर ५० प्रतिशत पुर्याएको छ । अमेरिकाले गत २७ अगस्ट (११ भदौ)देखि भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाउन सुरु गरेको छ । त्यसअघि अगस्ट १ देखि २५ प्रतिशत कर लगाइरहेको थियो । अहिले त्यो थप बढाएर ५० प्रतिशत पुर्याइएको छ ।
भारतको वैदेशिक व्यापारमा अमेरिकाको महŒवपूर्ण हिस्सा छ । त्यो अवस्थामा अमेरिकाले कर बढाएपछि भारतको अमेरिकासँगको व्यापार प्रभावित जोखिम बढेको छ । त्यसपछि अहिले भारतमा भएको विदेशी लगानी फिर्ता भइरहेको छ । सोही कारण भारतमा डलरको मूल्य बढ्न गई नेपालमा पनि बढेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछनन् ।
नेपाली मुद्रा भारतीय मुद्राासँग पेग (विनिमयदर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ । अहिले भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य स्वत: बढेको हो । डलरको मूल्य बढ्नु भनेको भारतीय र नेपाली मुद्रा कमजोर हुनु पनि हो ।
नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वत: बढ्न गएको बताए ।
‘नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि बढ्छ,’ उनले भने, ‘अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशत कर लगाउन सुरु गरेको छ । त्यसपछि भारतबाट क्यापिटल फ्लाइट (लगानी फिर्ता) हुन सुरु गरेपछि डलरको माग बढेको छ । त्यसले गर्दा भारतमा डलरको मूल्य बढेको छ । त्यसपछि नेपालमा पनि स्वत: यसको मूल्य बढेको हो ।’
डलरको मूल्य बढेपछि विदेशी मुद्रामा हुने आम्दानी बढ्नेछ । तर, आयात भने महँगो हुनेछ । यसैगरी नेपालले तिर्ने वैदेशिक ऋण पनि महँगो हुनेछ । त्यसले गर्दा डलरको मूल्य बढेको अवस्थामा वैदेशिक ऋणको दायित्व पनि महँगो पर्नेछ ।