
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यसविसले पोखरा निन्जाजको सामना गर्नेछ । पोखरामा आयोजना हुने लिग शुक्रबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो दिनअन्तर्गत दोस्रो खेलमा साबिक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने लिग २८ भदौसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा चल्नेछ ।
प्रतियोगितामा कर्णालीसहित ललितपुर, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखराले गरी ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सहभागी टोलीले एकल राउन्ड रोविनका आधारमा एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष दुई स्थानमा रहने टोलीबिच फाइनल खेल हुने आयोजकले जनाएको छ । लिगका लागि १८ जना विदेशी खेलाडी आबद्ध भएका छन् पोखराले तेस्रो विदेशी खेलाडीका रूपमा रोमानियाकी ३२ वर्षीया एनामारिया बेरडिल्ला भिœयाएको छ ।