मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
प्रेम गौतम काठमाडाैं
२o८२ भदौ १८ बुधबार o७:o१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी एकताका लागि प्रचण्ड–माधव परामर्शमा

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o७:o१:oo
  • माओवादीको उपत्यका विशेष प्रदेश कमिटी र एकीकृत समाजवादीको उपत्यका प्रदेश कमिटीका अगुवा नेताहरूसँग प्रचण्ड र नेपालले गरे छलफल

प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकता प्रक्रिया अघि बढाउने गरी परामर्श थालेका छन् । प्रचण्ड र नेपालले मंगलबार दुवै पार्टीको उपत्यका प्रदेशस्तरीय नेताहरूसँग एकताको विषयमा सुझाव लिएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश कमिटी र एकीकृत समाजवादीको उपत्यका प्रदेश कमिटीका अगुवा नेताहरूसँग प्रचण्ड र नेपालले परामर्श गरेका हुन् । 

शीर्ष नेताहरूबिच एकता छलफल बाक्लिएको वेला दुवै पार्टीका प्रदेशस्तरीय नेताहरूले कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिएका छन् । एकताअघि विचार, सिद्धान्त, संगठन र भावनात्मक पक्षलाई ख्याल गर्न उनीहरूको सुझाव छ । साथै, विगतमा पनि सँगै काम गरेकाले पार्टी एकतामा जाँदा समस्या नहुने प्रदेशस्तरीय नेताहरूको सुझाव छ । यद्यपि, दुवै पार्टीमा कतिपय नेताहरूको नेतृत्वप्रति आन्तरिक असन्तुष्टि पनि छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा सहभागी माओवादी महासचिव देव गुरुङले विचार मिल्ने सबै शक्तिसँग एकता गरेर जाने बताए । ‘विचार मिलेपछि छुट्टाछुट्टै रहिरहनुपर्छ भन्ने छैन । विचार मिल्नेहरू ढिलोचाँडो एक ठाउँमा आउनैपर्छ, हामी छलफलमै छौँ,’ उनले भने । 

एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले पार्टी पुनर्गठनकै वेलादेखि एकताको चर्चा हुँदै आएको र अहिले पनि छलफल भइरहेको बताए । यद्यपि, माओवादीसँग एकताको टुंगो भने लागिनसकेको उनले बताए । ‘पार्टी पुनर्गठनदेखि नै एकता भन्दै आएका छौँ । र, अहिले पनि भनिरहेका छौँ । एकताका लागि वैचारिक विषय र राजनीतिक लाइन मिल्नुपर्छ । नीतिगत विषय स्पष्ट भएपछि संगठनात्मक रूपमा छलफल हुन्छ,’ उनले भने । 

गत निर्वाचनअघि नै माओवादी र एकीकृत समाजवादीले एकता संयोजक समिति गठन गर्ने तयारी गरेका थिए । तर, त्यति वेला समिति गठन हुन सकेको थिएन । नेता हमालका अनुसार दुई पार्टीबिचको सहकार्य कसरी अगाडि बढाउने भन्ने विषयमा प्रदेशगत रूपमा छलफल भैरहेको छ । र, सोही क्रममा उपत्यकास्तरीय छलफल भएको उनले जनाए ।

मंगलबारको छलफलमा सहभागी एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार छलफल सकारात्मक छ । ‘हामी एकता प्रक्रियामै छौँ, आजको छलफल पनि सकारात्मक छ । विचार, सिद्धान्त र भावनात्मक रूपमा एकता गर्न सुझाव आएको छ,’ उनले भने ।

पार्टी एकताको आवश्यकता, आधारभूत सर्त र आगामी कदमबारे छलफल भएको उनले बताए । समाजवादको स्थापनाका लागि पनि एकताको विकल्प छैन भन्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ । ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू, दक्षिणपन्थी यथास्थितिवादी धार र दलाल पुँजीपतिहरूले कम्युनिस्ट र क्रान्तिकारी शक्तिहरूलाई फुटाउन हरसम्भव प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा समाजवादको स्थापनाका लागि पनि एकताको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

रायमाझीका अनुसार प्रदेशस्तरीय नेताहरूले विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, संगठन र भावनात्मक विषयमा ध्यान दिन सुझाव दिएका छन् । ‘विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, संगठन र सौहार्दतामा सहमति आवश्यक पर्छ तथा ती आधारमा सहमति जुटेपछि एकता अवश्य सम्भव हुन्छ भन्ने सुझाव छ,’ उनले भने, ‘नियमित छलफल गरिरहेका छौँ । आगामी दिनमा एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्दै गएको छ ।’ 

छलफलको प्रारम्भमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वामपन्थी एकताको आवश्यकता औँल्याउँदै विचार, सिद्धान्त र भावनात्मक रूपमा तलसम्मै छलफल गरेर जानुपर्ने बताए । ‘हामी छलफलमै छौँ । विचार, सिद्धान्त र भावनात्मक रूपमा एकरूपता हुन्छ । मत मिल्छ भने एकता गरेर जान सकिन्छ । तलसम्मै छलफल गर्नुपर्छ । नेकपा निर्माणमा त्यो अभ्यास नभएकाले दुर्घटना व्यहोर्नुपर्‍यो । त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै रायमाझीले भने । नेपालले छलफल प्रारम्भ गरेपछि उपत्यकास्तरीय अगुवा नेताहरूले सुझाव दिएका थिए । 

प्राय: सबैले एकताको पक्षमा सुझाव दिएपछि छलफलको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले पहिला पनि एउटै पार्टीमा रहेर काम गरेको भन्दै तत्काल एकता गरेर जाँदा फरक नपर्ने बताएका थिए । ‘पहिला पनि हामी एउटै पार्टीमा थियौँ । अब पनि एकता गर्दा फरक पर्दैन । विगतमा एउटै संगठनमा रहेर काम गरेको अनुभव छ । संगठनात्मक रूपमा पनि समस्या पर्दैन । समाजवादी दिशामा अगाडि बढ्ने विषयमा पनि हामीबिच धेरै समानता छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै रायमाझीले सुनाए । 

नेताहरूका अनुसार एकताका लागि एकीकृत समाजवादीले प्रदेशगत रूपमा राय संकलन गरेको छ । विचार, सिद्धान्त, संगठन र भावनात्मक रूपमा एकता गर्नुपर्ने धेरैको सुझाव छ । वैज्ञानिक समाजवादलाई मुख्य लक्ष्य बनाएर पार्टी एकताको गृहकार्य थालिएको नेताहरूले बताएका छन् । 

समाजवादी मोर्चामा भएका चारवटै दल र प्रभु साहको आजपालाई पनि एकता प्रक्रियामा सहभागी गराउने तयारी रहेको छ । माओवादीले गत साउनमा बसेको स्थायी समिति बैठकबाट एकताको निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले यही भदौ अन्तिममा बैठक बोलाएको छ । एकता प्रक्रियाको विषयमा विप्लव नेतृत्वको नेकपाले पनि केन्द्रीय समिति बैठकबाट निर्णय गर्दै छ । २२ भदौमा केन्द्रीय समिति बैठक बस्दै छ । महिन्द्रराय यादव नेतृत्वको नेसपाले एकताको निर्णय गरिसकेको छ । 

नेताहरूका अनुसार एकताको क्रममा माओवादीले माओवाद छाड्नेछ भने पार्टीको नाम पनि नयाँ राखिनेछ । प्रचण्ड र नेपाल पार्टी अध्यक्ष हुनेछन् । संसदीय दलको नेता प्रचण्ड हुनेछन् । यद्यपि, पदको विषयले छलफलमा प्रवेश नपाएको नेताहरू दाबी गर्छन् । वामपन्थी एकता र ध्रुवीकरणका लागि समाजवादी मोर्चाका दलहरूबिचको एकता कोशेढुंगा साबित हुने नेताहरूले दाबी गरेका छन् । पाँच पार्टी एकता हुँदा प्रतिनिधिसभामा ४३ सांसद हुन्छन् । माओवादीका ३२, एकीकृत समाजवादीका १० र अजपाका १ सांसद छन् ।

नेकपा कालमा प्रचण्ड र नेपाल एउटै समूहमा थिए । ओलीले असंवैधानिक रूपमा संसद् विघटन गर्दा प्रचण्ड–नेपाल समूहले देशव्यापी विरोध गरेको थियो । सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किए । नेपालले एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेका हुन् । नेकपा कालदेखि नै प्रचण्ड र नेपालले निरन्तर सहकार्य गर्दै आएका छन् । दुवै दल हाल समाजवादी मोर्चामा समेत छन् । 

झलनाथ–घनश्याम पक्ष छुट्टै छलफलमा
एकता प्रक्रिया अघि बढेको वेला एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालपक्षीय नेताहरूले माओवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा देखिएका छन् । माओवादीसँग एकता गरे पनि धेरै नेता तथा कार्यकर्ता एकता प्रक्रियामा सहभागी नहुने निष्कर्ष उनीहरूको छ । गत आइतबार मात्रै एकीकृत समाजवादीका ५० केन्द्रीय सदस्य बानेश्वरमा भेला भएर पार्टीमा आधिकारिक छलफलसमेत नगरी एकता प्रक्रिया अघि बढाएकोमा असन्तुष्टि जनाएका थिए । छलफलमा नेताहरू जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विजय पौडेल, हरि पराजुली, धर्म निरौला, केदार सञ्जेल, प्रेमल खनाल, प्रमोद शर्मा, लक्ष्मण लम्साल, नरेश शाही, हिरेन्द्र शाही, दामोदर अर्याल, अशेष घिमिरे, विजय गुरुङ, सुवास खतिवडा, दीपक पौडेल, गोपाल बराल, सीता ओझा, सीमा रिजाल, सुशील भट्टराईलगायत ५० जना नेता सहभागी थिए । केन्द्रमा संस्थागत निर्णय नगरी प्रदेशमा एकताका लागि राय माग्ने काम भएको र सीमित नेतासँग मात्र राय मागिएको गुनासो उनीहरूको थियो ।