मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o७:o४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फर्किए प्रधानमन्त्री ओली 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o७:o४:oo

पाँचदिने चीन भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी ओली बुधबार स्वदेश फर्किएका छन् । चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलन तथा बुधबारै बेइजिङमा जापानमाथि चीनको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सैन्य परेडमा समेत सहभागी भई उनी स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङलगायत अन्य विदेशी समकक्षीसँग भेटवार्ता गरेका थिए । ती भेटमा नेपालका प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको जनाएको छ । ‘यस भ्रमणको मूल उद्देश्य चीनको तियान्जिन सहरमा आयोजित एससिओ शिखर सम्मेलनमा भाग लिई सो संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नुका साथै सोमार्फत नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्नु रहेको थियो,’ परराष्ट्रले भनेको छ ।

प्रधानमन्त्री ओलीले चीन पुगेकै दिन १४ भदौमा चिनियाँ राष्ट्रपति सीसँग तियान्जिनमा भेटवार्ता गरेका थिए । दुईपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल भएको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै त्यसबारेमा भारत र चीनले गरेको सहमतिप्रति आपत्ति जनाएका थिए ।

‘बिआरआईअन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उहाँले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरणजस्ता क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्रीले अनुरोध गर्नुभयो,’ सीसँगको भेटवार्ताबारे परराष्ट्रले दोहोर्‍याएको छ, ‘नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबिच हालै भएको समझदारीप्रति प्रधानमन्त्रीज्यूले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।’ 

चीनका राष्ट्रपति सीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिएको परराष्ट्रले जनाएको छ । चीनले संयुक्त राष्ट्रसंघ र सांघाई सहयोग संगठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि सीको भनाइ थियो । सीले दुई देशबिच सहमति भएका उच्च गुणस्तरीय बिआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने दोहोर्‍याए ।

चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडीआइ)लाई नेपालले सहयोग गरेको , जिडिआईको ग्रुप अफ फ्रेन्ड्समा नेपाल रहेको तर बाँकी चिनियाँ पहलकदमीलाई नेपालले समर्थन नगरेको परराष्ट्र सचिब राईले बताए । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिबारे परराष्ट्रसचिव अमृतबहादुर राईले भने, हामीले जे भनेका हौँ, यही नै हुन्छ । बाँकी कुरा हुँदैन ।

एससिओका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र/सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले १५ भदौमा सम्बोधन गरेका थिए । उनले एससिओको सदस्यता दाबी गर्दै नियममा आधारित बहुपक्षीयताको भविष्य–विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्नेमा जोड दिएका थिए । 

प्रधानमन्त्रीले रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा नेपाल–रुस सम्बन्ध अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल गरेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

परराष्ट्रसचिव राईले रुसी राष्ट्रपतिसँग रुसी सेनामा रहेका नेपालीबारे प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपतिसँग कुरा राखेको सञ्चारकर्मीसँग बताए । ‘कुरा राख्नुभएको छ । तर, विस्तृतभन्दा पनि कूटनीतिक रूपमा यो विषयको समाधान गर्ने भन्ने भएको छ,’ राईले भने ।

जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका राष्ट्रपति थोन्ग्लोउन सिसउलिथसँगको भेटमा संस्कृति, कृषि र जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारे छलफल गरेका छन् । उनीहरूबिच भूपरिवेष्टित विकासोन्मुख मुलुक तथा अतिकम विकसित मुलुकका हित प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने सहमति भयो । 

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजुसँग भएको भेटमा दुवै नेताहरूले कृषि, पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीसँगपनि छलफल गरेका थिए । प्रधानमन्त्री ओली र मोदीबिच राष्ट्रपति सीले आयोजना गरेको रात्रिभोजका क्रममा भेट भएको थियो ।

प्रधानमन्त्रीले मंगलबार बेइजिङ पुगेपछि उपराष्ट्रपति हान झेनसँग द्विपक्षीय भेट गरे । चिनियाँ कम्युनिस्ट पार्टीको वरीयतामा पोलिटब्युरो सदस्य मात्रै रहेका उपराष्ट्रपति झेङले प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । ‘चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग भएको द्विपक्षीय भेटघाट र वार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग भएको वार्ताबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको छ,’ परराष्ट्रले भनेको छ ।  प्रधानमन्त्री ओली बुधबार चीन सरकारद्वारा बेइजिङमा जापानविरुद्ध चीनले विजय हासिल गरेको ८०औँ वर्षमा आयोजित सैन्य परेडमा सहभागी भए । 

छुटाउनुभयो की ?