Skip This
संघर्ष समिति बनाएर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न दबाब
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार o७:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

संघर्ष समिति बनाएर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न दबाब

नियमित सञ्चालनमा नआए उपनिर्वाचन बहिष्कार गर्ने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o७:३९:oo

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारलाई दबाब दिन सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँको नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ ।आइतबार सिद्धार्थनगर नगरपालिकामा भएको बैठकले उद्योगी, जनप्रतिनिधि र स्थानीय बासिन्दालाई समेटेर संघर्ष समिति गठन गरिएको नगर प्रमुख खाँले जानकारी दिए ।

उनका अनुसार समितिको सहसंयोजकमा सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी र सदस्यहरूमा सिद्धार्थनगर होटेल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् ।

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली सदस्य छन् । समितिले एक हप्ताभित्रमा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पारेर सार्वजनिक गर्ने संयोजक खाँले जानकारी दिए । 

उपचुनाव बहिष्कारसम्मका कार्यक्रम गर्न संघर्ष समितिलाई दबाब
बैठकमा सहभागी उद्योगी–व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले विमानस्थलबाट नियमित रूपले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा नआए आगामी कात्तिक १७ मा तोकिएको रुपन्देही– ३ को उपनिर्वाचन बहिष्कार गर्नुपर्ने धारणा राखेका थिए ।

नगर प्रमुख खाँले आफैँले नेतृत्व लिएर जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए । ‘अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलमा आवश्यक कार्यालय खुलेका छैनन्, सरकारले हाम्रो कुरा केही गरे पनि सुनेन,’ उनले भने, ‘यदि यो विमानस्थल अझै पनि सञ्चालन हुँदैन भने उपनिर्वाचन बहिष्कार गरेर जानुपर्छ ।’ उनले उपचुनाव बहिष्कारको सन्देश लिएर नगरभित्रका प्रत्येक घरमा पुग्न तयार रहेको पनि बताएका थिए । 

उपप्रमुख उमा अधिकारीले उपनिर्वाचन नजिकिँदै जाँदा सबै दलका ठुला नेता रुपन्देही आउने भएकाले पहिलो चरणमा ती नेतालाई भेटेर छलफल गरी दबाब सिर्जना गर्नुपर्ने बताइन् । ‘भन्सार र एयरपोर्ट बन्द गरेर आन्दोलन गर्ने होइन्,’ उनले भनिन्, ‘अन्य माध्यमबाट दबाब दिऔँ, तर जसरी हुन्छ, विमानस्थल चल्नुपर्छ,’ अधिकारीले भनिन् । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जान लागेकाले विमानस्थलको विषयलाई पहिलो एजेन्डा बनाएर लैजानुपर्ने बताए । संघका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले विमानस्थल चलाउन आवश्यक कार्यालय खोलिनुपर्ने बताए ।

सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आन्दोलनको विकल्प नभएको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारकै इच्छाशक्ति नहुँदा नियमित सञ्चालनमा नआएको बताए । सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले आउँदा दिनमा भन्सार नाका र विमानस्थल बन्द गरेर आन्दोलन गर्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले सरकारले सुविधा दिँदासमेत विमान कम्पनी आकर्षित नभएकाबारे अध्ययन गर्न जरुरी रहेको बताए ।