
तीनपटकको विश्वकप विजेता उत्तर कोरियासँग ११–० ले पराजित भएपछि नेपालको एफसी यू–२० एसियन कपको यात्रा छनोट चरणमै सीमित भएको छ । समूह ‘ए’को विजेताका रूपमा उत्तर कोरियाले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कप प्रतियोगितामा स्थान पक्का गरेको छ । साबिक विजेता उत्तर कोरियाले समूहका तीनवटै खेल जितेको छ । भुटानमा सञ्चालित छनोटमा उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० र आयोजक भुटानलाई १०–० ले हराएर आफ्नो शक्ति देखाएको थियो ।
एसियन कपमा स्थान पक्का गर्न नेपालले बलियो प्रतिद्वन्द्वी उत्तर कोरियालाई हराउँदा पनि काफी थियो । तर, फराकिलो हारले नेपालको एसियन कप खेल्ने सपना अधुरो रह्यो । नेपाल खेल अवधिभर निरीह नै देखियो । नेपालका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियासँग कम गोल खाने रणनीति अपनाएका थिए । नेपालका डिफेन्डर विपक्षीको आक्रमण रोक्नमै व्यस्त देखिए ।
डिफेन्सिभ खेल्ने योजना बनाएका नेपालका प्रशिक्षक गुरुङले उत्तर कोरियाविरुद्ध टोलीमा चार परिवर्तन गर्दै ५–३–२ को बलियो रक्षात्मक फर्मेसन प्रयोग गरेका थिए । तर, नेपालले कुनै पनि समय विपक्षी पोस्टमा आक्रमण बुन्न सकेन । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा उत्तर कोरियाले पहिलो हाफमा पाँच तथा दोस्रो हाफमा थप ६ गोल गरेको थियो । नेपालकी गोलरक्षक लीला जोशीले केही सुन्दर प्रहार रोक्दा नेपालले थप गोल बेहोर्नुपरेन ।
कोरियाका दुई खेलाडीले ह्याट्रिक गरे । क्योङ एक्लैले पाँच तथा चोई जोङ गुमले तीन गोल गरेका थिए । नेपालका प्रशिक्षक गुरुङले बलियो उत्तर कोरियासँग सोचेभन्दा धेरै गोल बेहोरेको बताए । उनले रक्षात्मक खेलमा पनि सफल नभएको प्रतिक्रिया दिए । ‘उत्तर कोरिया बलियो टोली हो । रक्षात्मक खेल खेले पनि धेरै गोल भयो,’ उनले भने ।’
विपक्षीको गोल रोक्ने योजना सफल भएन
यामप्रसाद गुरुङ, प्रशिक्षक, नेपाल
उत्तर कोरियाविरुद्धको खेलमा गोल रोक्ने योजना बनाएका थियौँ । तर, धेरै गोल व्यहोर्न पुग्यौँ । समग्रमा कम गोल खाने योजना थियो । विपक्षीविरुद्ध रक्षात्मक खेल्ने योजना थियो । तर, उनीहरूले धेरै हाई प्रेसिङ खेल खेले । राम्रो टिमसँग खेल्दा खेलाडीलाई गाह्रो भयो । बलियो टिमसँग खेलाडीले धेरै राम्रो खेलेका छन् ।
सन् २००४ मा १९–० को हार
उत्तर कोरियासँग नेपाल पहिलोपटक फराकिलो अन्तरले पराजित भएको होइन् । सन् २००४ मा नेपालले एएफसी यू–१९ महिला एसियन च्याम्पियनसिप प्रतियोगिताको अन्तिम चरण खेलेको थियो । एसियन फुटबल महासंघ (एएफसी)ले त्यसवेला छनोट नभएर सिधै सहभागी टोलीलाई एसियन कप खेलाउने प्रावधान बनाएको थियो । यसै प्रावधानअनुसार नेपालले सिधै अन्तिम चरण खेल्ने मौका पाएको थियो ।
नेपाल समूह ‘डी’मा थियो । यस समूहमा उत्तर कोरिया, थाइल्यान्ड र उज्वेकिस्तान थिए । नेपालको पहिलो खेल नै उत्तर कोरियासँग थियो । जसमा नेपाल १९–० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल थाइल्यान्डसँग ६–१ र उज्वेकिस्तानबाट ४–१ ले पराजित भयो । नेपालले २१ वर्षअघि खेलेको एसियन कपमा कुल २९ गोल व्यहोर्दा दुई गोल मात्र विपक्षीविरुद्ध गरेको थियो ।
शीर्ष स्थानमा उत्तर कोरिया
तीनवटै खेलमा सानदार जित निकालेको उत्तर कोरिया समूह ‘ए’मा ९ अंकका साथ एसियन कपमा छनोट भयो । नेपालले तीन खेलमा चार अंक जोड्दै दोस्रो स्थान रक्षा गरेको छ । नेपालले उत्कृष्ट उपविजेताका रूपमा एसियन कप स्थान पक्का गर्ने अवसरसमेत गुमाएको छ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो । ३८ सेकेन्डमै गोल गरे पनि नेपालले भुटानसँग अंक बाँडेको थियो । दोस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को जित हासिल गरेको थियो । नेपालले नयाँ प्रतिद्वन्द्वी साउदी अरेबियामाथि जित निकाल्दा खेलकै अन्तिम मिनेटमा गोल गरेको हो ।
भारत र बंगलादेश छनोट
दक्षिण एसियाबाट बंगलादेश र भारत एएफसी महिला यू–२० एसियन कपमा छनोट भएका छन् । छनोटअन्तर्गत आइतबार समूह ‘एच’को अन्तिम खेलमा दक्षिण कोरियासँग ६–१ ले पराजित भए पनि बंगलादेश छनोट चरण पार गर्न सफल रह्यो । यो समूहबाट दक्षिण कोरिया अपराजित रहँदै सिधै छनोट भयो । दक्षिण कोरियाले ९ अंक जोड्यो ।
बंगलादेश शीर्ष तीन उत्कृष्ट उपविजेता बन्दै एसियन कपमा छनोट भएको हो । बंगलादेशले लाओसलाई ३–१ र टिमोर लिस्टेलाई ८–० ले हराएको थियो । विपक्षी पोस्टमा १२ गोल गरेको बंगलादेशले सात गोल खायो । यसैगरी, भारतले समूह ‘डी’को अन्तिम खेलमा म्यानमारलाई १–० ले हराउँदै एसियन कपमा स्थान पक्का गरेको छ । भारत प्रतियोगिताभर अपराजित रह्यो । इन्डोनेसियासँग गोलरहित बराबरी खेलेको भारतले तुर्केमिस्तानलाई ७–० ले पराजित गरेको थियो ।