मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २५ आइतबार o८:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सानो पार्टीमा ठुलो रडाको : नेपाल–खनाल कलहबारे छलफल गर्न भदौमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार o८:२o:oo

एकीकृत समाजवादीको आकारभन्दा नेताहरूको कलह ठुलो देखिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । उनीहरूको कलहको प्रत्यक्ष असर तल्लो तहका कार्यकर्तासम्म देखिएको छ । गत निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय पार्टीसम्म बन्न सकेन ।

दुई नेताबिचको विवाद पेचिलो बन्दै गएपछि एकीकृत समाजवादीले छलफल गर्न स्थायीदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ । स्थायी समिति ४ भदौमा, पोलिटब्युरो ५ मा र केन्द्रीय कमिटी ७ र ८ भदौमा बस्ने गरी बोलाइएको महासचिव घनश्याम भुसालले बताए । स्थायी समिति र पोलिटब्युरो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा र केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बोलाइएको छ ।

नेता खनालले सचिवालयमा आफूले पेस गरेको ६ बुँदे प्रस्तावमाथि छलफल गर्न बैठकको माग गरेका थिए । उनले लिखित प्रस्तावमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि पार्टी नेतृत्वमा बस्न नहुने भन्दै मार्गप्रशस्त गर्न अध्यक्ष नेपाललाई घुमाउरो पारामा सुझाव दिएको सचिवालयका एक नेताले जानकारी दिए । खनालले आफूले सचिवालयमा राखेको प्रस्तावबारेमा के भयो भनेर अध्यक्ष नेपालसँग प्रत्यक्ष प्रश्न गरेका छन् । नेपालसँग शनिबार भएको भेटमा खनालले सचिवालय बैठकमा प्रस्तुत गरेको आफ्नो लिखित प्रस्तावबारे जिज्ञासा राखेका हुन् । भेटमा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता प्रमेश हमाल, महासचिव भुसाल सहभागी थिए ।

‘सचिवालयमा मैले राखेको प्रस्तावको बारेमा के भयो ? त्यसलाई तपाईले कसरी लिनुहुन्छ ?’ खनालले नेपाललाई गरेको प्रश्न उद्धृत गर्दै एक नेताले भने । जवाफमा नेपालले आफू जनकपुरबाट फर्केपछि पुन: बसेर कुरा गर्ने बताएका छन् । ‘म अहिले जनकपुर जानु छ, फर्केर आएपछि फेरि बसौँला,’ नेपालको भनाइ उद्धृत गर्दैै ती नेताले भने । 

वरिष्ठ उपाध्यक्ष पाण्डेको समन्वयमा नेपाल र खनालबिच छलफल भएको थियो । पाण्डेले सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको बताए । ‘सौहार्र्दपूर्ण वातावरणमा छलफल भयो । कुराकानी सकारात्मक छ, असमझदारीलाई समझदारीमा परिणत गर्न एकताबद्ध भएर अगाडि बढ्न सरसल्लाह भयो । कुराकानी फेरि हुन्छ,’ पाण्डेले नयाँ पत्रिकासँग भने । छलफलपछि नेपाल जनकपुर हिँडेका थिए भने खनालले वरिष्ठ नेता वामदेव गौतमसँग लामो कुराकानी गरेका थिए ।

केही समय सेलाएको शीर्ष नेताहरूको विवाद अनेरास्ववियू र युवा संघमा फेरि प्रकट भयो । दुवै संगठनमा दुवै पक्षले समानान्तर गतिविधि गर्न थाले । अनेरास्ववियू र युवा संघको विवाद मिलाउन अध्यक्षले चासो नदिएको, पार्टीको विभागलाई पूर्णता नदिएको र पार्टी सचिवालयमा छलफल नै नगरी माओवादीसँग पार्टी एकता गर्दा के हुन्छ भनेर तल्ला कमिटीसँग राय लिएपछि नेपालसँग खनाल–भुसाल पक्ष रुष्ट बनेको एक नेताले बताए । ‘पार्टीको सचिवालयमा छलफल नै नगरी तल्ला कमिटीमा माओवादीसँग पार्टी एकता गर्दा के हुन्छ भन्ने राय लिएपछि नेतृत्वसँग असन्तुष्टि बढेको छ । त्यसको प्रभाव पनि खनालमा परेको हुन सक्छ,’ ती नेताले भने, ‘विभागहरू गठन भएका छैनन् । अखिल र युवासंघको विवाद मिलाउन पनि अध्यक्षले उदासीनता देखाउनुभएको छ ।’

अध्यक्ष नेपालसँग झाँक्रीको तिक्तता
एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीसँग पनि अध्यक्ष नेपालको हार्दिक सम्बन्ध छैन । युवा संघको कार्यक्रममा पतञ्जली जग्गा प्रकरणबारे झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै सिनो काँधमा बोकेर हिँड्न नसकिने बताएपछि विवाद चुलिएको थियो । पार्टीले झाँक्रीलाई कारबाही गर्ने मनसाय राखेर दुईपटक स्पष्टीकरण नै सोधेको थियो । यद्यपि, नेतृ झाँक्रीले आफूले दिएको अभिव्यक्ति गलत भएको स्विकारेकी छिन् । एकीकृत समाजवादीका सांसद प्रेम आले नेतृत्वसँगै रुष्ट छन् । उनले पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनाल दुवैको सार्वजनिक आलोचना गर्दै आएका छन् । 

झलनाथ–वामदेवबिच चार वर्षपछि चार घण्टा छलफल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमले चार वर्षपछि चार घण्टा लामो छलफल गरेका छन् । केही समयअघि मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका गौतम खनाललाई भेट्न शनिबार खनालनिवास डल्लु पुगेका हुन् । विगतदेखि वर्तमान र आगामी योजनासम्मका विषयमा कुराकानी भएको गौतमले बताए । दुवै नेताले पार्टी निर्माणमा खेलेको भूमिका र त्यसवेलामा अप्ठ्यारो अवस्थाको स्मरण गरेका थिए । ‘विगतमा पार्टी निर्माणदेखि अहिलेको अवस्था र आगामी योजनाबारे लामो कुराकानी भयो । कसरी पार्टी विकास गरियो भन्ने विषयमा लामै कुरा भयो,’ भेटपछि गौतमले भने, ‘चार वर्षपछि भेट भयो । विगतका सहकार्यको पनि स्मरण गरियो ।’

एकीकृत समाजवादी स्थापना भएपछि खनाल र गौतमबिच भेट भएको थिएन । गत २ साउनमा पार्टी एकता घोषणा सभामा खनाल र गौतमबिच सामूहिक भेट भएको थियो । त्यहीवेला खनालले गौतमलाई भेटको निम्तो दिएका थिए । एमालेबाट विद्रोह गरेर खनाल एकीकृत समाजवादी लागेका थिए भने गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरेका थिए । पार्टीको तत्कालीन समस्याका बारेमा भन्दा पनि समग्र राजनीतिको विषयमा छलफल भएको गौतमले बताए । अध्यक्ष नेपाल र सम्मानित नेताबिचको विवादबारे सोधिएको प्रश्नमा गौतमले प्रतिप्रश्न गर्दै भने, ‘पार्टी सामूहिक नेतृत्वबाट सञ्चालन हुन्छ, सामूहिक नेतृत्व कायम नगर्ने हो भने पार्टी चल्न सक्दैन । आपसमा नेताहरू झगडा गरे पार्टी कहाँ पुग्छ ?’

नेताले आफ्ना विषय कमिटीमा स्पष्टसँग भन्नुपर्ने गौतमले बताए । ‘कहिलेकाहीँ रिस उठ्न सक्छ । तर, नेताहरूले रिस बाहिर पोख्नु हुँदैन । आफ्नो कमिटीमा भन्नुपर्छ । त्यसले पार्टीलाई ऊर्जा प्रदान हुन्छ । अन्तरपार्टी संघर्ष पनि हुन्छ । अन्तरपार्टी संघर्षले नै पार्टीलाई बलियो बनाउँछ,’ उनले भने । खनालको सचिवालयले समसायिक विषयमा छलफल भएको जनाएको छ । ‘उहाँहरूबिच समसामयिक विषयमा छलफल भयो । विगतका सहकार्य, पार्टी निर्माण गर्दाका विषयदेखि आगामी कार्यक्रमसम्मका विषयमा कुराकानी भयो,’ खनालका स्वकीयसचिव कृष्ण भट्टराईले भने ।